Wednesday, 1st October 2014

उपत्यकामा बिहानको हिँडडुल र शारीरिक अभ्यास थप जोखिमपूर्ण

काठमाडौँ, असोज १५ गते  । काठमाडौँ उपत्यकामा बिहानको हिँडडुल र शारीरिक अभ्यास थप जोखिमपूर्ण बनेको छ ।
बिहान र बेलुकाको समयमा धुलोको कण अधिक देखिएको हुँदा उपत्यकावासीले प्रायः बिहानको समयमा गरिराखेको मर्निङवाक (बिहानको हिँडडुल) जोखिममा परेको हो ।
काठमाडौँ उपत्यकाको खस्कँदोे वातावरणीय प्रदूषणका बारेमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको छ महिनाको अवधिमा गरेको मापन अनुसन्धानमा सो नतिजा देखिएको हो । परिषद्का सदस्य सचिव डा खेमबहादुर कार्कीले अनुसन्धान नतिजाका बारेमा जानकारी दिँदै भन्नुभयो, बिहान ६ बजेदेखि ९ बजेसम्म उपत्यकाको वायुमा फोक्सोसम्म सिधै पस्न सक्ने धुलाका कणको मात्रा मापदण्डभन्दा करिब दुईगुणा बढी पाइयो ।
बाह्य वायुमा पाइने २.५ माइक्रोमिटर (पिएम २.५) भन्दा कम आकारका धुलोका कणहरू सास लिँदा सोझै फोक्सोमा पुग्छन् । नेपालमा २.५ माइक्रोमिटरसम्मको धुलोको कणको मात्रा ४० माइक्रो ग्राम प्रतिघनमिटरसम्मलाई सामान्य मानिन्छ । अध्ययनबाट उपत्यकाको बिहानको हावामा धुलोको कणको मात्रा ८०.५ माइक्रो ग्राम प्रतिघनमिटर भेटिएको सदस्य सचिव डा कार्कीले जानकारी दिनुभयो ।
विसं २०७० को फागुन महिनादेखि विसं २०७१ को साउन महिनासम्म सो अध्ययन गरिएको थियो । अध्ययनमा बाह्य वायुमा पाइने २.५ माइक्रोमिटरभन्दा कम आकारका धुलोका कण बिहान ५ बजेदेखि लगातार बढ्दै जाने र बिहान ९ बजेसम्म अधिक रहने देखिएको थियो । यसपछि विस्तारै घट्दै गए पनि साँझ ६ बजेदेखि ९ बजेसम्म फेरि बढ्दै जाने क्रम पाइएको थियो ।
प्रायः बिहान र बेलुकीको यही समयमा प्रायः मानिस शारीरिक अभ्यासका लागि घर बाहिर निस्कने गर्दछन् । सदस्य सचिव कार्कीले भन्नुभयो, उपत्यकावासीलाई अध्ययनको नतिजाले श्वासप्रश्वास, मुटु, आँखा र छालाका रोग थप बढ्ने जोखिम बढाएको छ ।
अर्काेतिर मुटु, मधुमेह र क्यान्सर रोग रोगथामका लागि अनिवार्यरुपमा शारीरिक अभ्यासको जरुरी पर्दछ । उहाँले अब शारीरिक अभ्यासको लागि उपयुक्त समय र तरिकामा परिवर्तन गर्न जरुरी रहेको बताउनुभयो ।
हरेक १५÷१५ मिनेटको पिएम २.५ को मात्रा मापन गर्ने गरी काठमाडौँको पुतलीसडक, भक्तपुरको जगाती र भीमसेनस्थान र ललितपुरको महालक्ष्मीस्थानमा लाइट स्क्याटर रियल टाइम एरोसोल मोनिटरिङ्ग प्रविधिमा आधारित ई स्याम्पलर भन्ने यन्त्रको प्रयोग गरिएको थियो ।
सदस्य सचिव डा कार्कीका अनुसार उच्च प्रविधिमा आधारित सो यन्त्रको प्रयोग गरी नेपालमा पहिलो पटक २४ घण्टाको लगातार पिएमलाई मापन गरिएको थियो । यन्त्रले स्वचालित रुपमा मापन गरेको तथ्याङ्कलाई कम्युटरको सफ्टवेयरमको सहायताले विश्लेषण गरिएको थियो ।
डा कार्कीले तीनवटा स्टेसनको छ महिनाको औसत मात्रा ४६ माइक्रोग्राम प्रतिघनमिटर रहेको देखिएको जानकारी दिनुभयो । यसैगरी विद्युत् भार कटौतीको समयमा पनि पिएम २.५ मात्रा ३० देखि ४० प्रतिशतसम्मले वृद्धि भएको देखिएको प्रतिवेदनले जनाएको छ । परिषद्ले अगामी दिनमा वर्षभरिको उपत्यकाको बाह्य वायुको अवस्थाको विस्तृत अध्ययन गर्ने पनि जनाएको छ ।
अध्ययनले छ महिनाको अवधिको मापनअनुसार मासिक औसत फागनु महिनामा सबैभन्दा उच्च अर्थात् ७०.५ माइक्रो ग्राम प्रतिघनमिटर र साउन महिनामा सबैभन्दा कम ९.९ माइक्रोग्राम प्रतिघनमिटर धुलोको कण पाइएको देखाएको छ । मनसुनका कारण साउन महिनामा कम भएको अध्ययनले देखाएको छ ।
डा कार्कीले भन्नुभयो “यो अध्ययनले सम्पूर्ण नेपालको बाह्य वायुको जानकारी दिन सक्दैन तर उपत्यकाको आधिकारिक जानकारी दिन्छ यसको आधारमा नीति बन्नु जरुरी छ ।”
रासस

हाम्रा प्रकाशनहरु:

गोरखापत्र दैनिकThe Rising Nepal Newspaperमधुपर्कयुबामंचमुना