बसबाट खसेको सात महिने बच्चा सकुशल भेटियो
भैरहवा, जेठ ८ गते । गुडिरहेको बसभित्र निदाएर बिउँझिंदा काखमा रहेको बच्चा भेटिएन भने बाबुआमालाई कस्तो होला ? अझ खेल्दाखेल्दै बसको झ्यालबाट बच्चा राजमार्गको सडक किनारमा खस्यो भने......। झट्ट सुन्दा आश्चर्य लाग्न सक्छ, यस्तै घटना व्यहोरेका एक दम्पत्तीले आफ्नो ७ महिने बालकलाई सकुशल भेटाएका छन् ।
घटना हो, मंगलबार रातिको । रुपन्देहीको बुटवल नगरपालिका ११ मिलनटोलका विकास मित्तल र ममता मित्तल आफन्तको बिहेभोज मानेर काठमाडौंबाट घर फर्कंदै थिए । रिजर्भ गरिएको लु १ ख ६९४७ नम्बरको बसमा सबै मित्तलकै आफन्त थिए । रातिको समयमा बस आफ्नै सुरमा गुड्दै थियो ।
दुई दिनसम्म बिहेको दौडधूप र गर्मीका कारण सबै थकित थिए । झ्याल खोलेर हावा लिंदै उनीहरु झुल्न थाले । मित्तल दम्पत्तीको साथमा सात महिने छोरो पनि थियो । पहिलो सन्तान, त्यसमाथि छोरो । छोरो खेलाउँदै रहेका उनीहरुलाई पनि निद्रा लाग्यो । आमा ममताको काखमा रहेको छोरो निदाउन थाल्यो । छोरो निदाएपछि बाबुआमा पनि सिटमै निदाए ।
बुधबार बिहान ६ बजेतिर बस मुग्लिङ कटेर नवलपरासीको दलदलेमा पुग्यो । त्यहाँ सवारी जाम भएकाले बस रोकियो । हल्लाखल्ला भएपछि बसभित्र सिटमा निदाएका यात्रु बिउँझिए । मित्तल दम्पत्तीको पनि आँखा खुल्यो । आँखा खुल्ने बित्तिकै दुवैजना झसँग भए, काखमा रहेको छोरो छैन । अरु आफन्तको सिटमा गयो कि भनेर अघिपछि हेरे । तर अहँ छोरो देखिंदैन । बसभित्र खैलीबैली भयो । सिटमुनी कतै खेल्दैछ कि भनेर सबैले यताउता हेरे । बालक कतैपनि छैन । सबैजना रोइकराई गर्न थाले । पक्कै झ्यालबाट खस्यो, लौ के भयो....भन्दै सबै डराए । हतारहतार बस फर्काएर उनीहरु नवलपरासीबाट काठमाडौंतिर फर्किए ।
प्रहरीलाई छुट्टै तनाव
चितवनको फिस्लिङ नजिकै सुनसान राजमार्ग । वरपर नजिक बस्ती छैन । जंगल र झाडी मात्र । रातको साढे १२ बजे त्यस्तो सुनसान ठाउँको सडक कुनामा एउटा बच्चा रोइरहेको छ । काठमाडौंबाट नारायणगढतिर आइरहेका एक ट्रक चालकले त्यो दृश्य देखे । उनले ट्रक रोके । बच्चालाई बोके र नजिकै मझिमटार प्रहरी चौकीमा लगेर बुझाए ।
सुनसान जंगलमा भर्खरको बच्चा भेटिएको खबर पाएर प्रहरी पनि झसँग भए । ‘त्यो ठाउँ बढी दुर्घटना हुने र कसैकसैले आत्महत्या गर्ने गरेको क्षेत्र पनि हो, त्यसैले हामीले धेरै कोणबाट आशंका गर्यौं”– इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक तुलसी भट्टराईले भन्नुभयो–“हामीले रातभर अनुसन्धान गर्यौं, तर यो दुवै घटना भएको देखिएन ।”
नवलपरासीको दलदलेमा पुगेपछि मात्र छोरो हराएको पत्तो पाएका बाबुआमा र आफन्त बुधबार बिहान रुवाबासी गर्दै मुग्लिन आइपुगे । त्यहाँ प्रहरीलाई घटनाको बेलिबिस्तार लगाए । फिस्लिङ नजिकै सडकमा राति एउटा बच्चा बेबारिसे अवस्थामा फेला परेको चितवन प्रहरीले थाहा पाइसकेका थिए । पक्कै यिनीहरुकै बच्चा हुनुपर्छ भनेर प्रहरीले गजुरीमा पठाइदिए ।
हतार हतार गजुरी पुग्दा मित्तल दम्पत्तीले देखे–सानो छोरो प्रहरीसित खेलिरहेको । हर्षले सबैका आँखा रसाए । छोरोलाई काखमा लिएर म्वाई खाए । बाबुआमाको काख पाएपछि बालक पनि दंग प¥यो । उनीहरुले प्रहरीलाई धन्यवाद दिए । प्रहरीले बच्चालाई यसरी खेलाँची नगर्न सचेत गरायो ।
गुडिरहेको बसबाट खस्दा समेत बच्चा सकुशल भेटिएकोमा प्रहरी, बाबुआमा र आफन्त सबै चकित भएका छन् ।
More Articles...
- अझै खेताला शिक्षक...
- श्रीमती बेच्नेलाई २० बर्ष कैद
- मागेको भरले पुगेन चेपाङ बालबालिकाको स्याहार
- पैसा दोब्बर गरिदिने भन्दै ठगी गर्ने पक्राउ
- कारबाहीमा परेको विद्यालयमा नै आयोगको परीक्षा केन्द्र
- आकाश गड्याङगुडु गर्न थालेपछि झोला बोकेर ज्यान जोगाउन भाग्छन् विद्यार्थी
- काँग्रेसले गठन गरेको विभागमा परिवर्तन हुदैनः सभापति कोइराला
- पूर्वसभासद् सदरुल मियाँको हत्या
- राष्ट्रिय खेल घोषणा नहुँदा खेलाडी चिन्तित
- सतिसालजस्तै उभिए जनकवि नेत्रलाल
धेरैले पढेको
- सुनको भाउ घट्यो
- सन् २०१५ सम्ममा नेपालको आफ्नै भूउपग्रह !
- अध्यापन अनुमतिपत्र नै नभएका माओवादी कार्यकर्ताहरुलाई शिक्षकमा नियुक्ति दिने निर्णय
- अख्तियारध्दारा २२ जना विरुध्द विशेष अदालतमा मुद्दा
- प्रधानमन्त्रीकै वेबसाइटमा गम्भीर त्रुटि
- सरकारी सेवामा ४८ प्रतिशत आरक्षणको व्यवस्था गरिने
- शिवा हासमीकी हत्या काण्ड नयाँ मोडमा
- अनलाइन बैंकिङ्ग खतरामा
- प्रधानमन्त्री भट्टराईको आधिकारिक ट्वीटर
- काँग्रेस सभापति कोइराला उमेदवारी फिर्ता लिन तयार रहेको खुलासा
हाम्रा प्रकाशनहरु:








