Saturday, 25th May 2013

पाँच करोडको लागतमा भौतिक पूर्वाधार निर्माण

नेपालगन्ज, जेठ ११ गते  । नेपाल नेत्र ज्योति सङ्घ, बाँकेको मातहतमा यहाँ सञ्चालित फत्तेबाल आँखा अस्पतालमा रु पाँच करोडको लागतमा भौतिक पूर्वाधार निर्माण हुने भएको छ ।
     सङ्घले जारी गरेको वार्षिक प्रतिवेदनअनुसार नेपालस्थित भारतीय राजदूतावासको आर्थिक सहयोगमा जिल्ला विकास समितिमार्पmत अस्पतालमा शल्यक्रिया, बिरामी कक्ष र चिकित्सक आवासगृह निर्माण गरिनेछ ।
    ती पूर्वाधार निर्माणका लागि दूतावासले माग गरेको अनुमानित लागत सङ्घले जिविसमार्पmत पठाइसकेको र त्यसमाथिको आवश्यक गृहकार्य सकिएपछि दूतावासले बजेट उपलब्ध गराउने जनाइएको छ ।
    यसअघि सङ्घले आप्mनो आन्तरिक स्रोत रु दुई करोड ५० लाखको लागतमा सुविधा सम्पन्न अत्याधुनिक बहिरङ्ग विभाग निर्माण गरेको अस्पतालका प्रबन्धक कौशलकुमार वर्माले जानकारी गराउनुभयो ।
    प्रगति प्रतिवेदनमा भनिएको छ – “सो आँखा अस्पतालले विगत २५ वर्षको अवधिमा करिब १४ लाख बिरामीलाई बहिरङ्ग तथा एक लाख ६० हजारको आँखाको शल्यक्रिया गरेको छ ।”
    विसं २०४३ मा स्थापित सो अस्पतालले मध्यपश्चिमको बाँके, बर्दिया, जाजरकोट, सुर्खेत, दैलेख र डोल्पा जिल्लामा आँखा उपचार सेवा पु¥याउँदै आएको छ ।
    कुल १५० शय्या क्षमताको सो अस्पतालमा मध्यपश्चिमाञ्चलका प्रायः सबै जिल्ला र भारतबाट समेत बिरामीहरु उपचारका लागि आउने गरेको जनाइएको छ ।
    अस्पतालले आँखाका बिरामीलाई निःशुल्क उपचार सेवा दिने उद्देश्यले निःशुल्क  शल्यक्रिया तथा आँखा जाँच र उपचार शिविरसमेत सञ्चालन गर्दै आएको प्रबन्धक वर्माको भनाइ छ ।
    यसैगरी, सङ्घको आर्थिक प्रगति प्रतिवेदनअनुसार चालु आर्थिक वर्ष २०६९–७० का लागि  सङ्घले रु साढे चार करोड रकम विनियोजन गरेको छ । यसमा अस्पतालको भौतिक पूर्वाधार निर्माण, अत्याधुनिक उपचार प्रविधि सेवा र प्रशासनिक खर्चलाई प्राथमिकतामा राखिएको छ । रासस

हाम्रा प्रकाशनहरु:

गोरखापत्र दैनिकThe Rising Nepal Newspaperमधुपर्कयुबामंचमुना