Saturday, 25th May 2013

बेराजगारी तथा खडेरीका कारण सप्तरीका युवा विदेश पलायन

सप्तरी, जेठ ११ गते । बढ्दो बेराजगारी तथा खडेरीका कारण सप्तरीबाट युवा विदेश पलायन हुने क्रम दिन प्रतिदिन बढदै गएको छ ।
    चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा सप्तरीका ११ हजार १ सय ५० जनाले जिल्ला प्रशासन कार्यालयबाट राहदानी बनाएका छन् । जिल्ला प्रशासन कार्यालयका नायव सुब्बा होम प्रसाद दाहालले दिएका जानकारी अनुसार चालु आवको साउन देखि चैत्र मसान्त सम्ममा सप्तरीका ११ हजार १ सय ५० जना बेरोजगार युवाहरुले दु्रत तथा साधारण राहदानी बनाएका छन् । जसमा ५ हजार ७ सय ६ जनाले एमआरपी अर्थात दु्रत गतीको राहदानी र ५ हजार ४ सय ४४ जनाले साधारण राहदानी बनाएको नासु दाहालले जानकारी दिए ।    
    चालु आर्थिक वर्षको बैशाख महिनासम्ममा ११ हजार ८ सय जना भन्दा बढीले राहदानी लिएको कार्यालयले जनाएका छ । बढदो बेरोजगारी तथा खडेरीका कारण यहाँका युवाहरु विदेश पलायन हुने क्रममा दिनप्रतिदिन बढदै गएको नायव सुब्बा दाहालको भनाइ छ । गत वर्ष करिब ११ हजार जनाले राहदानी  लिएका थिए भने गत वर्षको तुलनामा चालु आ.व. को ९ महिनामै त्यो भन्दा बढी युवाहरुले राहदानी लिएका छन्
    समयमा वर्षा नहुँदा यस वर्ष सप्तरी सहितका तराईको जिल्लाहरुमा खडेरी भएका कारण रोजगारीका लागि दिनहुँ राहदानी लिने युवाहरुको भीँड लाग्ने गरेको  जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ । खडेरीका कारण दिनहुँ ५० देखि १ सय जनाले राहदानी बनाउने आउने गरेको बताउँदै नासु दाहालले हाल महिनाको एक डेढ हजार युवाहरु राहदानी बनाउन आउने गरेको जानकारी दिए ।
    चालु आ.व.को ९ महिनाको अवधिमा राहदानी वापत ३ करोड १९ लाख राजस्व असुली भएको प्रशासन कार्यालयको लेखा शाखाले जानकारी दिएको छ ।

हाम्रा प्रकाशनहरु:

गोरखापत्र दैनिकThe Rising Nepal Newspaperमधुपर्कयुबामंचमुना