Thursday, 23rd May 2013

अन्सारीको संयोजकत्वमा न्यायिक छानविन आयोग गठन

काठमाडौँ, जेठ ९ गते । मन्त्रिपरिषद्को विहिवारको बैठकले गत जेठ ६ गते सप्तरीमा हत्या गरिएका पूर्व सभासद् सदरुल मियाँ हकको हत्याबारे छानविन गर्न सर्वोच्च अदालतका पूर्व न्यायाधीश ताहिर अलि अन्सारीको संयोजकत्वमा न्यायिक छानविन आयोग गठन गरेको छ ।

आयोगको सदस्यहरुमा नायव महान्यायाधिवक्ता सूर्यप्रसाद कोइराला र अतिरिक्त प्रहरी महानिरीक्षक दिनकर शम्शेर राणा रहनुभएको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री माधव प्रसाद पौडेलले जानकारी दिनुभयो ।

बैठकले हकको हत्यामा संलग्नलाई कारवाही गर्न कुनै कसर बाँकी नराख्ने निर्णय गर्दै सो विषयलाई लिएर भइरहेका राजमार्ग अवरोध खुला गर्न र शान्तिसुरक्षा कायम गर्न सहयोग गर्न सम्बद्ध सबै पक्षसँग आग्रह गरेको छ ।

मुसलमान समुदायसँग यसअघि भएका सहमति र सम्झौता कार्यान्वयन गर्न सरकार प्रतिवद्ध रहेको दोहो¥याउँदै प्रवक्ता पौडेलले सो समुदायको सुरक्षाका लागि सरकार गम्भीर रहेको बताउनुभयो ।

पुर्व सभासद् हकका आश्रित परिवारलाई राहत स्वरुप दश लाख रुपैयाँ दिने निर्णय समेत बैठकले गरेको छ ।

यसैगरी राष्ट्रिय योजना आयोगको रिक्त उपाध्यक्ष पदमा पूर्व सचिव डा. रवीन्द्र कुमार शाक्यलाई नियुक्त गर्ने र जर्मन सरकारबाट नेपाल सरकारलाइ दिइने एक अर्ब ५८ करोड रुपैयाँ बराबरको सहयोग लिन अर्थ मन्त्रालयका सचिव वा सहसचिवलाई अख्तियारी दिने निर्णय गरिएको छ ।

आजैका मितिदेखि लागू हुने गरी सुकुम्बासी समस्या समाधान आयोग र त्यसका जिल्ला समितिहरु विघटन गरी आयोगका पदाधिकारी र कर्मचारीहरुलाई पदमुक्त गर्ने तथा आयोगको केन्द्रीय कार्यालयमा रहेका कागजातहरु भूमिसुधार मन्त्रालयलाई जिम्मा लगाउने तथा जिल्लाका कागजातहरु जिल्लास्थित भूमिसुधार कार्यालयलाई जिम्मा लगाउने निर्णय बैठकले गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो सञ्चालनसम्बन्धी निर्देशिका र क्यासिनोसम्बन्धी निर्देशिकालाई विधेयक समितिमा पठाउने, विभिन्न अदालतहरुका लागि आवश्यक चार सय आठ जनशक्तिका लागि दरवन्दी सिर्जना गर्नेे र गणतन्त्र किर्गिजस्तानसँग कुटनीतिक सम्बन्ध स्थापना गर्ने निर्णय पनि बैठकले गरेको छ ।

      नेपाली सेनाका उपरथी पवनबहादुर पाँडेको कार्यकाल सात महिना १७ दिन थप्ने, नेपाली सेनाको प्राविधिक महा सेनानीहरु डा. सुरेन्द्र कुमार सिंह र बीरेन्द्र थापाको पदावधि थप गर्ने, चिनियाँ जनमुक्ति सेनाको निमन्त्रणामा प्रधानसेनापति गौरवशम्शेर जबराले यही जेठ ३० गतेदेखि ६ गतेसम्म गर्नुहुने चीन भ्रमणलाई स्विकृति दिने निर्णय पनि गरिएको छ । रासस

हाम्रा प्रकाशनहरु:

गोरखापत्र दैनिकThe Rising Nepal Newspaperमधुपर्कयुबामंचमुना