Friday, 25th July 2014

जनताका सपना

Share this post
FaceBook  Twitter  Mixx.mn     

प्रकाशप्रसाद उपाध्याय,
जनताको सेवा गर्न भनी राजनीतिमा ओर्लनेहरू अभ्यस्त हुन्छन् उनीहरूलाई मीठा–मीठा सपना देखाउन । जनता पनि आफ्ना नेताहरूका कुरा सुनेर लट्ठ हुने गर्छन् । यथार्थ त्यतिबेला स्पष्ट हुन्छ जब ती कुरा अर्थ न बर्थ....प्रमाणित हुन्छन् ।
वर्तमान सन्दर्भमा जनताले जुन ६० वर्षदेखि गणतन्त्रको सपना देख्दै आएका थिए, त्यो आज राजनीतिज्ञहरूका सतरञ्जका खेलसरह भइरहेका देख्दा मनमा विरक्तिको भाव प्रकट हुने गर्छ । किनभने देशमा गणतन्त्रको आगमनले सपनाका सौदागरहरूको संख्या मात्र बढाएन, उनीहरूले जनतालाई आ–आफ्नै किसिमले सपना देखाउन थाले र त्यसलाई सतरञ्जका गोटीका रूपमा सञ्चालन गर्न लागे । नेपाली जनताको एक वर्गलाई मधेश  प्रदेशको सपना देखाइएको छ त अर्कोलाई पहिचानसहितको संघीयताको त तेस्रोलाई खस प्रदेशको । जबकि आज तीन करोड नेपाली जनताको एक मात्र सपना छ — गणतन्त्र संस्थागत भएको हेर्नु । आकांक्षा छ–चैनले बस्न, खान र काम गर्न पाउनु ।
उनीहरूको गणतन्त्रको सपना पूरा भएपछि अब प्रबल चाहना नै छ यसलाई संस्थागत गर्ने दस्तावेजको जसलाई संविधान भनिन्छ, जुन देशको पहिलो संविधानसभाले दिन सकेन । अब दोस्रोका लागि भइरहेको कसरत कति प्रभावशाली र फलदायी हुने हो त्यसको भविष्यवाणी गर्ने क्षमता सम्भवतः कुनै ज्योतिषीमा पनि छैन होला । तापनि यसैका लागि प्रयास गरिंदैछ, सपना देखाइँदैछ र हामी पनि पुनः नयाँ निर्वाचनको प्रतीक्षा गरिरहेछौं । मङ्सिरमा भनिएको चुनावको महिना अब सरेर जेठ २२ गते सरेको छ । राजनीतिज्ञहरूका भावी नौटंकीले यसलाई अरू कति सार्ने हो भन्नसक्ने अवस्था छैन । किनभने गणतन्त्रको नाउँमा बखेडातन्त्रले स्थान पाउँदैछ । विगत पाँच वर्षमा गणतन्त्रलाई संस्थागत गर्ने नाउँमा मञ्चन गरिएका नाटक, नौटंकी र बखेडाहरूबाट उनीहरू आजीत भइसकेका छन् । जनता गणतन्त्रको नाउँमा बखेडातन्त्र हेर्ने चाहना राख्दैनन् ।
जनता प्रजातन्त्रमा लागेसरहको ग्रहण गणतन्त्रमाथि लागेको हेर्न चाहँदैनन् । किनभने यसका लागि धेरैले बलिदान गरेका छन् । यो एक लामो संघर्षको परिणाम हो । एउटा सपनाले साकार रूप पाएको प्रतिरूप हो । २०४२ सालमा राजधानीका अनेक प्रमुख स्थलमा बम विस्फोटन भएको र ‘गणतन्त्रको स्थापना गर’ भन्ने नारा गुञ्जेदेखि नै उनीहरूले गणतन्त्रको परिकल्पना गर्न थाले । गणतन्त्रले हामीलाई पनि त्यसै प्रकारको स्वतन्त्रता, समान हक–अधिकार र प्रगतिको सुख प्रदान गर्नेछ, जस्तो हाम्रो छिमेकी देशका जनताले उपभोग गर्दै आएका छन् भन्ने कुराले उनीहरूलाई गणतन्त्रप्रति आकर्षित र उत्साहित बनायो । उनीहरूको यस सपनालाई ०६२ –०६३ को जन आन्दोलनले साकार रूप प्रदान ग¥यो ।  त्यसै अनुसार उनीहरूले संविधानसभाको निर्वाचनमा ठूलो उत्साहले भाग लिए र गणतन्त्रको बाटोलाई सहज तुल्याए । गणतन्त्रको आगमनमा उनीहरू हर्षले नाच्न थाले तर आजका दिनमा उनीहरूका हर्ष र उल्लास पानीको फोकासरह किन विलीन हुँदै गएका छन्, नेतागणले सोच्ने बेला आएको छ ।  

जनता सपना होइन, मीठामीठा कुरा होइन, यथार्थ हेर्न र भोग्न चाहन्छन् । राजधानीको सडक मेलम्चीको पानीबाट पखालिने सपना देखाइएका जनता आज पानीका लागि काकाकुलको जीवन बिताउन बाध्य भइरहेका छन् भने र देशलाई सिंगापुर बनाउने सपना देखाउनेहरू एउटा संविधान दिन असक्षम बनेका छन् र अहिले राजनीतिक सहमति खोज्ने नाउँमा अनेक नाटक गरेर पनि एक चुनावी सरकारको गठन गर्न सकिरहेका छैनन् र यसका लागि प्रधानन्याधीशको शरणमा पुगेका छन् । न्यायिक स्वतन्त्रता र स्वच्छताको जीवन बिताउँदै क्रियाशील रहेका न्यायमूर्तिको छविलाई राजनीतिक पदका कारण दाउमा पारिएको छ । उनले चुनावी सरकारको मन्त्रिपरिषद्का अध्यक्षको पदभार सम्हालेमा संविधानसभाको निर्वाचन उनका लागि अग्निपरीक्षा प्रमाणित हुनेछ । उनको निष्पक्षता उनको छविको मापदण्ड बन्नेछ ।  
हालसालै सर्वोच्च अदालतद्वारा वरिष्ठ अधिवक्ता उपाधि प्रदान गर्न आयोजित समारोहमा उनले कानून व्यवसायीहरूलाई न्यायिक स्वच्छन्दता, शुद्धता, समाजप्रतिको जिम्मेवारीबोध, सदाचार र निष्ठाको पक्षमा उभिन गरेको आग्रहले जनतामा उनी आफ्नो कामकर्तव्यप्रति सजग र सचेत रहेका सन्देश प्रवाहित गरेको छ र अब जनता यो हेर्न उत्सुक छन् कि उनका भावी क्रियाकलापमा यी कुराको पालना गर्न उनी स्वयम् कत्ति सक्षम हुन्छन् ।
संविधान निर्माण संविधानसभाबाटै हुने भएकाले संविधानसभाको निर्वाचन आजको तात्कालिक आवश्यकता हो । जसको सम्पादन अब उनको काँधमा पर्ने भएको छ । विगतमा संविधान निर्माणका लागि विभिन्न बुँदा विवादका विषय भए । सहमति खोज्ने नाउँमा नेपाली जनताले अनेक नाटक र नौटंकी देखे र संविधानसभाका अन्तिम दिनमा जातीय पहिचानसहितको संघीयता जस्ता प्रश्नले उत्पन्न गरेको बखेडा र विगत नौ महिनाका राजनीतिक कसरतका कारण जनतालाई देश बखेडातन्त्रको मार्गमा अग्रसर भएको अनुभव गराइरह्यो ।
शताब्दिऔंदेखि विभिन्न कालखण्डमा साम्प्रदायिक सद्भाव र आपसी प्रेमबाट रमाइरहेका र सुखदुःखमा सहभागी भई बसेका नेपाली जनता जातीय पहिचानसहितको संघीयता जस्ता प्रश्नलाई संविधान निर्माणमा बाधकका रूपमा हेर्दछन् । उनीहरूमा आजपर्यन्त विद्यमान सद्भाव, स्नेह र विश्वासको चित्र विगत साता बौद्ध क्षेत्रमा मनाइएको अजिमा पूजामा हेर्न पाइयो, जहाँ बौद्ध क्षेत्रका लामा, तामाङ, शेर्पा मात्र होइन, नेवार र क्षेत्री ब्राह्मण  समुदायको पनि भक्तिपूर्ण सहभागिता थियो । त्यहाँ विभिन्न सम्प्रदायको उपस्थितिले कसैप्रति न त भेदभावको चित्र प्रस्तुत गर्दै थियो न विद्वेषको । सबैको मुखमा भक्तिको भाव थियो । एकअर्काप्रति हँसिलो अनुहारका साथ व्यक्त अभिवादनको स्वरले साम्प्रदायिक सद्भावको गंगा प्रवाहित गरिरहेको थियो ।
 देश गणतन्त्र भएपछि राजनीतिज्ञहरूले जनतामाझ धाक देखाउन विभाजन, विवाद र बखेडाको जुन जाल फैलाए, त्यसले पार्टीसमेत प्रभावित भयो । साम्प्रदायिक आधारमा पार्टी टुक्र्याउँदै जनतालाई समेत जातिगत, साम्प्रदायिक र क्षेत्रीय आधारमा जसरी छुट्याउने प्रयास गरिंदैेछ । योे नेपाली जनताका सपना र आकांक्षा अनुकूल नभएकोले उनीहरू सामु गणतन्त्रको एउटा उदेकलाग्दो चित्र प्रकट भइरहेको छ जुन उनीहरूको चाहना अनुसार छैन । जनताको चाहना यस्तो गणतन्त्रको छ जसमा राष्ट्रिय अखण्डता अक्षुण्ण होस्, देशमा बाह्य हस्तक्षेप बन्द होस्, देश औद्योगिक क्रान्तिको मार्गमा अग्रसर होस् र साम्प्रदायिक सद्भाव र एकताले सुख शान्तिको वातावरण कायम गरोस् । उनीहरू यस्तो संविधानको आकांक्षा राख्दछन् जसले देशमा सुशासन ल्याओस्, साम्प्रदायिक सद्भाव बढाओस्, दण्डहीनताको वातावरण समाप्त गरोस् र जनताको जीवनलाई सहज बनाओस् ।

हाम्रा प्रकाशनहरु:

गोरखापत्र दैनिकThe Rising Nepal Newspaperमधुपर्कयुबामंचमुना