logo
२०७६ चैत्र २९ शनिवार

अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंक र सार्क अर्थमन्त्रीहरुबीच छलफल

अर्थ |
फिचर |


2020-03-25-10822


गोरखापत्र अनलाइन
काठमाडौं, चैत १२ गते । दक्षिण एशियाली राष्ट्रहरुका अर्थमन्त्री तथा अन्य उच्च पदस्थ पदाधिकारी एवं अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकलगायत अन्य अन्तर्राष्ट्रिय वित्तीय संस्थाका उच्च पदस्थ पदाधिकारीबीच कोरोना भाईरसले अर्थतन्त्रमा पारेको प्रभाव सम्बन्धी छलफल भएको छ ।
हहालै विश्वभर फैलिएको कोरोना भाईरसले अर्थतन्त्रमा पारेको एवं पार्न सक्ने प्रभाव र त्यस विषयलाई सम्बोधन गर्ने उपाय बारे आज भिडियो कन्फरेन्स मार्फत् छलफल सम्पन्न भएको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले आफ्नो मन्तव्य दिने क्रममा विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसले नेपालमा परेको असर र नेपाल सरकारले सो को रोकथाम र नियन्त्रणका लागि हालसम्म गरेको प्रयास बारे जानकारी गराउनुभयो ।
उहाँले पर्यटन, निर्माण र रोजगारीको क्षेत्रमा यसले तत्काल असर पारेको तथा अर्थतन्त्रमा दीर्घकालमा नकारात्मक असर पार्न सक्ने धारणा राख्नु हुँदै महामारीको रुपमा फैलिएको यस रोगले सबै वर्ग र तप्कालाई कुनै न कुनै रुपमा प्रभाव पारेको यथार्थसँगै स्वास्थ्य सेवा, सामाजिक सुरक्षा र अर्थतन्त्रलाई टेवा पुग्ने गरी सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरिएको कुरा बताउनुभयो । उहाँले राज्यको क्षमता सीमित हुँदा क्षति पुगेका वास्तविक वर्ग र क्षेत्रलाई तत्काल र ठूलो सहयोग उपलब्ध गराउने विषय चुनौतीपूर्ण रहेको बताउनु भयो । त्यसैले कोरोना प्रभावबाट भएको क्षति परिपूरण गर्न नेपाल जस्ता कम क्षमता र श्रोत भएका मुलुकहरुका लागि अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरुले विशेष सहयोग गर्नुपर्ने तथा क्षेत्रीय सहयोगका सम्भावित सबै संयन्त्र उपयोग गर्नुपर्ने बताउनुभयो ।
उहाँले दक्षिण एशियाली मुलुकहरुको साझा संगठन सार्कलाई पुनर्जीवन दिँदै विद्यमान संस्थागत संरचनाको पूर्ण उपयोग गर्ने, एकापसका व्यापार आपूर्ति प्रणालीलाई निरन्तरता दिने र आवश्यक परे स्वास्थ्य सेवामा थप सहकार्य गर्न सबै राष्ट्रले एक अर्कालाइ सहयोग, साथ र आड भरोसा दिनुपर्ने धारणा समेत राख्नुभयो ।
भिडियो कन्फरेन्समा सहभागीहरुले कोरोना भाईरसको रोकथामका लागि स्वास्थ्य क्षेत्रमा आवश्यक उपकरण तथा सुरक्षाका सामग्रीहरुको व्यवस्था, स्वास्थ्य सेवा प्रणालीको विकास, साना तथा मझौला उद्यमहरु र रोजगारीमा परेको प्रभाव, मौद्रिक तथा वित्त नीतिबीच गर्न सकिने समन्वय र तादम्यता तथा अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरुले गर्नसक्ने सहयोग बारे आ–आफ्नो धारणा राख्नुभएको थयो ।
उक्त छलफलमा अन्तर्राष्ट्रिय मुद्रा कोषका डाईरेक्टर च्याञ्योङ्ग रि, विश्व बैंकका भाईस प्रेसिडेन्ट हार्टविग सेफर, अन्तर्राष्ट्रिय वित्त निगमका भाईस प्रेसिडेन्ट नेना स्टोजोभिक, बहुपक्षीय लगानी प्रत्याभूत संस्थाका भाईस प्रेसिडेन्ट तथा चिफ अपरेटिङ्ग अफिसर एस. विजय आईयरका अतिरिक्त दक्षिण एशियाका राष्ट्रहरुका एक्जुकेटिभ डाईरेक्टरहरु तथा एशियाली विकास बैंक, एशियाली पूर्वाधार लगानी बैंक जस्ता अन्तर्राष्ट्रिय वित्तीय संस्थाका पदाधिकारीको समेत सहभागिता थियो । सो छलफलमा अर्थ सचिव, राजस्व सचिव, नेपाल राष्ट्र बैंकका कायममुकायम गभर्नर, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सह सचिव तथा नेपालस्थित विश्व बैंकका कन्ट्री म्यानेजरको समेत उपस्थिति थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?