सरगरमाथा क्षेत्रमा पर्यटकको चहलपहल शुरु


सल्लेरी समाचारदाता, सल्लेरी, असोज १४ गते । असोज महिनाको शुरुवातसँगै सगरमाथा क्षेत्रमा पर्यटकको चहलपहल शुरु भएको छ । तीन वर्षको तुलनामा यस वर्षको अटम सिजनको शुरुवात मै उल्लेख्य पर्यटकको चहलपहल बढेको हो ।
पर्यटकीय क्षेत्र चौंरीखर्क गाविसको लुक्ला बजार, फाक्दिङ, जोरसल्ले क्षेत्रमा विदेशी पर्यटकको आवतजावत बढेको जोरसल्लेका होटल व्यवसायी दावाजाङ्मु शेर्पाले बताउनुभयो । त्यसैगरी नाम्चे गाविसको नाम्चेबजार, ठमो, थामे, थामेतेङ लगायतका क्षेत्रमा पनि विगत ३ वर्षको तुलनामा यस वर्ष पर्यटकको आवतजावत केही बढेको ठमोका होटल व्यवसायी मिङ्माछम्जी शेर्पाले बताउनुभयो ।
उता खुम्जुङ गाविसको ग्रीनभ्याली, फोर्चे, मछेर्मो, गोक्यो, ठाङनाक, जोङला, स्याङबोचे, पाङबोचे, दिङबुचे, फेरिचे, छुकुङ, लबुचे र गोरक्सेपमा पनि पहिलेको वर्षभन्दा यस वर्ष पर्यटकहरूको चहलपहल बढेको होटल जोङ्ला ईनका प्रोपाइटर आङनुरु शेर्पाले बताउनुभयो ।
पर्यटकीय सिजनको सबैभन्दा उत्तम सिजन मानिएको अटम सिजनमा सगरमाथा क्षेत्रमा सबैभन्दा बढी पर्यटकहरू आउने भएपनि भूकम्पले गर्दा अघिल्लो वर्ष उल्लेख्य रुपमा पर्यटक नआएको पर्यटन व्यवसायीको भनाई छ ।
पर्यटन प्रहरी कार्यालय लुक्लाका अनुसार अहिले काठमाडौंबाट तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा दैनिक १ सय ५० देखि २०० जनासम्म पर्यटकहरु सगरमाथा क्षेत्रको भ्रमणमा जाने गरेका छन् । त्यसैगरी दोलखाको जीरी हुँदै दैनिक १५ देखि २० जनासम्म पर्यटकहरु पैदल हिडेर सगरमाथा क्षेत्रको भ्रमणमा जाने गरेका छन् ।
भूकम्पपछि तङ्ग्रीदै गरेको सगरमाथा क्षेत्रको पर्यटन व्यवसाय अघिल्लो वर्षभन्दा यस वर्ष सन्तोषजनक रहने स्थानीय पर्यटन व्यवसायीको भनाई छ । ‘अटम सिजनको शुरुवातमै सगरमाथा क्षेत्रमा विदेशी पर्यटकको चहलपहल सन्तोषजन भएकाले यस वर्ष पहिलेको वर्षभन्दा धेरै पर्यटकहरु खुम्बु क्षेत्रमा घुम्न आउने विश्वास गर्न सकिने अवस्था छ’ होटल एभ्रेष्टभ्यूका कर्मचारी कर्मनन्द राईले भन्नुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना