बडा दसैँ आजबाट सुरु

ghatasthapanaकाठमाडौँ, असोज १५ गते ।  प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडा दसैँ आजदेखि सुरु भएको छ ।  यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन मनाइन्छ ।  बडा दसैँको पहिलो दिन आज घर घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ ।  आजैदेखि दसैँ घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।
आज बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्पक राखेर त्यसमाथि जौ (यव) रोपिन्छ ।   यसलाई जमरा राख्ने  भनिन्छ ।  जौको अङ्कुर दुर्गादेवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसँगै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ ।
जमरामा जौ बाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिनुभयो ।  कुल परम्परा र स्थान विशेषानुसार अन्य अन्न जौसँगै रोप्ने चलन पनि देशका विभिन्न भागमा छ ।
आजैको दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो ।  आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजयादशमीका दिनमा दुर्गादेवीको प्रसाद ग्रहण गरिन्छ ।  आज घटस्थापनाको साइत बिहान ८ बजेर ३५ मिनेटमा शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
दुर्गादेवीका तीन रूप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा गरिन्छ ।  महाकाली शक्तिको, महालक्ष्मी धनधान्य र ऐश्वर्यको एवम् महासरस्वती विद्या तथा बुद्धिको प्रतीकका रुपमा पूजाआजा एवम् आराधना गर्ने परम्परा नेपाली समाजमा छ ।
दुर्गादेवीले आसुरी एवम् राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै पूजाआराधना गर्ने शास्त्रीय नियम छ ।  “दुर्गा पूजा र दसैँ पर्व कुनै जात एवम् धर्मविशेषको भनी शास्त्रीय रूपमा प्रमाण छैन, यो मानव मात्रको कल्याणका पक्षमा काम गर्ने शक्तिको प्रतीकका रुपमा मनाइन्छ”– धर्मशास्त्रविद् एवम् समितिका अध्यक्ष गौतमले भन्नुभयो ।  दसैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ ।
नवरात्र भनेर समेत चिनिने दसैँ यस वर्ष तिथिको घटबढ नरहेकाले १० रात्रि र ११ दिनको छ ।   विगत केही वर्षमा तिथि टुटी सामान्य अवस्थामा हुनुपर्ने नौ रात्रि पनि दसैँमा नपरेकाले राष्ट्रलाई नै नराम्रो प्रभाव परेकामा  यस वर्ष १० रात्रि र ११ दिनको संयोग घटस्थापनादेखि विजयादशमीसम्म जुरेकाले यसको फल समग्र राष्ट्रलाई नै राम्रो हुने नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ फलित ज्योतिषका सहप्राध्यापक डा. माधवप्रसाद पाण्डेले बताउनुभयो ।  “असोज १६ गते आइतबार र असोज १७ गते सोमबार दुवै दिन द्वितीयामै सूर्योदय हुँदैछ, यसरी यस वर्ष तिथि बढेको छ”, पाण्डेले भन्नुभयो ।
आज विधिपूर्वक घरघरमा आह्वान गरी पूजाआराधना गरिने दुर्गादेवीलाई असोज २५ गते विजयादशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादका  रूपमा टीका, जमरा र पूmल प्रसाद ग्रहण गरिन्छ ।  असोज २५ गते देवी विसर्जनको साइत बिहान ८ बजेर २५ मिनेटमा रहेको समितिले जनाएको छ ।  टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि भने असोज २५ गते ८  बजेर ४५ मिनेटको साइत उत्तम रहेको अध्यक्ष गौतमले बताउनुभयो ।
विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म आफ्ना मान्यजनबाट देवीको प्रसाद र आशीर्वाद ग्रहण गरिन्छ ।  पूर्णिमाका दिन धनधान्यकी प्रतीक महालक्ष्मीको व्रत बसी रात्रिमा जाग्राम रहेर पूजा लगाई ऐश्वर्य प्राप्तिको कामना गरिन्छ ।  यस दिन जाग्राम बस्ने मानिसलाई लक्ष्मीले धन धान्य दिई सम्पन्न बनाइदिने धार्मिक विश्वास छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना