मूल नभए धाराको के काम

laxmi upadhyayलक्ष्मीप्रसाद उपाध्याय




नेपालमा देशभर छ हजारभन्दा बढी खोलानाला रहेका तथ्य सार्वजनिक भएका छन् ।  सानातिना पानीका मूलको सङ्ख्या हालसम्म कुनै अध्ययन, अनुसन्धान हुन सकेको छैन ।  तथापि सहरी क्षेत्रका केही सीमित जनसङ्ख्या बाहेक अधिकांश ग्रामीण बासिन्दाले शुद्ध खानेपानीको उपभोग गर्न पाएका छैनन् ।  अझै ग्रामीण क्षेत्रका बासिन्दा खोलानालाको पानी पिउन बाध्य छन् भने कुवा, इनारको पानी पिउनु भाग्यकै कुरा पनि मानिन्छ ।  कतिपय स्थानमा निर्माण सम्पन्न भएका खानेपानी योजनाका धारामा पानी चुहिन छाडेको छ ।  गाउँ बस्तीतिर डुल्दा घर घरमा धारा देखिन्छन् तर ती धारामा पानी आउन छोडेको वर्षाैं भइसकेको विभिन्न अध्ययनले नै देखाएको छ ।  यसको प्रमुख कारण हो, मूल सुक्नु ।  मूल नै सुकेपछि टयाङ्की र धारा जतिसुकै गुणस्तरीय र आकर्षक बनाए पनि पानी आउने कुरा सम्भव भएन ।  जथाभावी रूपमा भइरहेको वन फडानी, पानीको मूल वरिपरि सिमेन्टको प्रयोगलगायतका केही स्थानीय तहमा देखिएका क्रियाकलापले पानीका मूल सुक्न थालेको छन् ।  पछिल्लो चरणमा जलवायु परिवर्तनको असरले पानीका स्रोतहरू निकै प्रभावित हुन थालेपछि त सानातिना मूलहरू सुक्ने दर निकै बढिरहेको छ ।  जलवायु परिवर्तनको असरले ती सबै योजनामा चुनौती थपिदिएको छ ।  
विकसित मुलुकमा खानेपानी आयोजना निर्माण गर्दा लामो समयसम्मको पानीको मूलको अवस्था, पानीको मात्रा, सुख्खा अनि बर्खाको समयमा पानीको मात्राको निरन्तरता लगायतको सूक्ष्म अध्ययन गर्ने गरिन्छ ।  आयोजना दिगो रूपमा सञ्चालन हुने भएमा मात्र अगाडि बढाइन्छ नत्र विकल्प खोजिन्छ तर नेपालमा यस्तो अभ्यास हुने गरेको पाइँदैन ।  राजनीतिक दबाब र स्वार्थमा आयोजना निर्माण हुने भएकाले पनि यस्तो अवस्था भोग्नु परिरहेको होला ।  देशभर निर्माण भइसकेका तर पानीको आपूर्ति बन्द भएका खानेपानीका संरचना थुप्रै छन् ।  अर्बाैं रुपियाँ खर्च गरेर निर्माण भएका खानेपानी आयोजनाको संरचनाको कुनै उपयोग भएको देखिँदैन ।  ती संरचनाबाट पानी आपूर्ति हुन नसकेपछि ठूलो जनसङ्ख्याको हिस्सा पुनः कुवा, खोलाको धमिलो र फोहोर पानी पिउन बाध्य हुन थालेका छन् ।  
यही अवस्थालाई ध्यानमा राखेर हाल नमुना कार्यक्रमको रूपमा भू तथा जलाधार संरक्षण विभागअन्तर्गत पानीको मूलको संरक्षण गर्नका लागि एउटा छुट्टै आयोजना सञ्चालनमा आएको छ ।  विद्यमान पानीको स्रोतको भरपर्दो र दिगो रूपमा व्यवस्थापन गर्न पर्वतीय जलाधारहरूको जलवायु परिवर्तन समानुकूलन आयोजनाले मूलको संरक्षणमा ध्यान दिन थालेको छ ।  आयोजनाले पश्चिम सेतीको तल्लो क्षेत्र तथा बुढी गङ्गा जलाधार क्षेत्रमा पर्ने बझाड, अछाम, बाजुरा, डोटी, डडेल्धुरा र बैतडी जिल्लाका सयौँ पानीको मूल संरक्षण गर्ने कार्य गरिरहेको छ ।  
पानीको मूलदेखि धारासम्मको दिगो संरक्षण र व्यवस्थापन गर्ने अभियानलाई केही जिल्लामा मात्र सीमित गरिनु हुँदैन, ती जिल्लाको अनुभव र अध्ययनलाई देशव्यापी नाराका रूपमा रूपान्तरण गर्न जरुरी छ ।  पानीको मुहान र स्रोतको संरक्षण नगरेर डाँडामा पानी ट्याङ्की र बस्तीमा जतिसुकै गुणस्तरयुक्त धारामा जति महँंगो टुटी जोडिए पनि पानी झर्न सक्दैन ।  खानेपानी आयोजनाको दिगोपन र सफलता ठूला ट्याङ्की र पक्की टुटीमा जोडिएको हुँदैन ।  धाराको सम्बन्ध मूलसँग हुन्छ र मूलको संरक्षण गरे के हिउँद के बर्खा, के सुख्खा– बाह्रैमास पानीको सुविधा उपभोग गर्न पाइन्छ ।  यही कुरालाई दृष्टिगत गरी सरकारले निर्माण गरेको जलवायु परिवर्तन समानुकूलन राष्ट्रिय रणनीतिको समग्र उद्देश्य एकीकृत जलस्रोत र पारिस्थिकीय प्रणालीमा आधारित पद्धतिको निर्माण गर्ने तथा सङ्कट्टापन्न समुदायहरूलाई उपयुक्त जलवायु समानुकूलन उपायहरू अवलम्बन गराउनु पनि हो ।  कार्यक्रम तथा योजनाहरूमा विद्यमान पानीको मूल संरक्षण गर्नदेखि लिएर घर आँगनमा धारा निर्माणसम्म समेटिनु जरुरी छ ।  खानेपानी योजनाको तर्जुमा गर्दा नै पानीको मूल अनि धारा निर्माणका लागि विस्तृत अध्ययन हुनु आवश्यक छ ।  तब मात्र पानीको धनी भनेर चिनिने देशका आम नागरिकले दीर्घकालसम्म खानेपानीको सेवा लिन सक्ने छन् ।  पहिले पानीको मूल हेरौं, तिनको दिगो संरक्षण अभियान सञ्चालन गरौँ अनि खानेपानीको टयाङ्की, धारा निर्माण गरौँ ।  तब पो आजको विकास पुस्तौँ पुस्तासम्मलाई टिक्छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना