बलि पशुको कि पशुत्वको ?

 suraj rawatसुरज राउत






नेपालमा सबैभन्दा बढी र उल्लासमय तवरले मनाइने दसैँपर्वमा विविध शक्तिपीठलगायत घरघरमा बलि दिने गरिन्छ ।  ‘बलि’ शब्दको वास्तविक अर्थ र यसको मर्मको ज्ञान भने सायदै बलि दिनेलाई छैन ।  बलिको महिमा जान्दा हुन् त तिनले विविध प्रकारका भाकल राख्ने नै थिएनन् र पशुबलि दिने थिएनन् ।  धर्ममा बलिको अर्थ ‘त्याग गर्नु’ हो, त्यस्तो त्याग कुनै पशुको ज्यानको आहुति दिनु भन्ने चाहिँ होइन ।  बरु मनमा भएका पशुजन्य विकारलाई त्याग गर्नु भन्ने सन्देश धर्मको हो तर पुस्तौँदेखि मानिसले पशुजन्य विकारको बलिको अर्थलाई गलत बुझिदिए र वास्तविक पशुलाई नै बलि दिनथाले ।  यस्तो बलिबाट मानवजातिलाई कुनै किसिमको कल्याण हुने सम्भावना नै छैन किनकि उसले एउटा निहत्था र निमुखा पशुलाई त बलि चढाइदेला तर मनमा भएका पशुवत विचार ज्यूँका त्यूँ नै रहन्छन् ।  पशुबलि गर्दा मनमा क्रुरताको संस्कारले अझ प्रश्रय पाउँछ र उक्त क्रुरताले अन्ततः कुनै समयमा ऊ स्वयंलाई नै हानी पु¥याउँछ ।  आफूलाई फाइदा हुने लालसाले अर्कोको ज्यानको आहुति दिनाले मनमा बेमतलवीपन वा स्वार्थी भावना पनि मौलाउँछ ।  
ईश्वर वा भगवान्लाई आफ्ना कुनै पनि सृष्टिको ज्यानको आहुति लिने इच्छा हुँदो होला र ? ईश्वरलाई त मानिसका भौतिक इच्छासँग लगाव हुनसक्छ ।  उसले सृष्टि गर्छ र प्रकृतिका मायाले पालनपोषणदेखि मृत्युसम्मको कार्य गर्छ ।  ईश्वर भौतिक मायाभन्दा धेरै पर रहेको हुन्छ तर मानवले परमसत्य के हो, आफू को हुँ र केका लागि यस धर्तीमा अवतरित भएको हुँ भन्ने कुराको ख्याल गर्दैन ।  अधिकांश मानिस कारणका पनि कारण जान्न मतलव नै गर्दैनन् ।  आफ्नो भौतिक लाभका लागि अन्य प्राणीको ज्यानको रत्ति पनि मूल्य नराख्ने मानिस धेरै स्वार्थी देखिन्छ ।  हिंसा र हत्याले मनमा क्रुरतालाई अझ बलियो पार्छ ।  अनि यही मानवका मनमा जमेको क्रुरताले कुनै दिन मानवजातिलाई नै नटोक्ला पनि भन्न सकिन्न ।  धार्मिक आस्था अलग कुरा हो, यसमा कसैले धावा बोल्न मिल्दैन र पाइँदैन पनि ।  बरु सक्दो यसको जगेर्ना गर्नुपर्छ ।  किनकि विश्वमा देश चिनाउने एक गतिलो र दह्रिलो माध्यम संस्कृति पनि हो तर धर्म वा संस्कृतिसँग आएका कुरीति वा कुसंस्कारलाई केलाउनुपर्छ र तिनलाई पन्छाउँदै धर्म र संस्कृतिको जगेर्ना गर्नुपर्छ ।  
धर्म तथा संस्कृतिअन्तर्गत उत्सव मनाउनुपर्छ तर धर्म तथा संस्कृतिका नाममा जब हामी कुनै जनावर वा प्राणी हिंसा गरेर दङ्ग पर्छौं, रमाउँछौँ त्यहिँनेर हामी चुक्छौँ ।  के हिंसारहित चाड वा उत्सव मनाउन
सकिँदैन ? एउटा प्राणीजातिको उत्सव वा खुसीका लागि अर्को प्राणी वा जिवात्माले किन आफ्नो ज्यानको आहुति दिनुपर्ने ? हामी आफैँ बुद्ध हाम्रो देशमा जन्मिएका हौँ भनेर विश्वसामु नारा लगाउँछौँ तर क्रुरतापूर्वक प्राणी हिंसा गर्छौं, किन ? गौतम बुद्धले त प्रेम, करुणा र अहिंसा आदि सिकाएर जानुभयो तर हामीले भने क्रुरतापूर्वक करुणा नै नराखी अझ धर्मकै नाममा प्राणी हिंसा गरिदियौँ ! हाम्रो यस्तो व्यवहारले साम्प्रदायिक धर्म त फस्टाउन सक्ला तर मानवको वास्तविक धर्म स्थापित हुनसक्दैन ।  कुनै जनावरलाई चार हात खुट्टा, मुख बाँधेर क्रुरतापूर्वक हत्या गरेर असत्यमाथि विजय गरेँ वा देवीलाई अर्पण गरेँ भन्नु कत्तिको बुद्धिमत्ता हो र कहाँसम्म न्यायसङ्गत हो ? हरेक प्राणीभित्र एउटा आत्माको बास हुन्छ, जब आत्मा हुन्छ त उसका पनि मनका समवेदना हुन्छन्, आफ्ना बालबच्चा तथा साथी हुन्छन् ।  त्यसलाई मानिसले पटक्कै महसुस गर्दैन ।  जब हामी सर्वश्रेष्ठ जिव भएर जन्मिएका छौँ भने हाम्रो व्यवहार किन यति तुच्छ ?
जिब्राको स्वाद मेटाउनका लागि होस्, चाहे औषधि बनाउन वा अनुसन्धान गर्नका लागि मानिसले आफू अनुकूल प्राणी नियन्त्रण गरिरहेको छ ।  मानिसभन्दा शक्तिशाली कुनै प्राणीको अस्तित्व रह्यो अनि तिनले मानिसमाथि आफ्नो प्रभुत्व जमाउन आफू अनुकूलका लागि मानवको छानी–छानी प्रयोग गर्न थाले भने मानवले के गर्ला ? अतः मानिसले सम्पूर्ण प्राणीको भावना बुझ्न सक्ने, प्रकृति संवद्र्धनलाई आफ्नो दायित्व ठान्ने तथा ब्रह्माण्डको रहस्यलाई बुझ्न सक्ने क्षमता राख्न सक्नुपर्छ ।  चाडवाड, मेला तथा जात्रा आदिका नाममा प्राणी हिंसा कदाचित गर्नुहुँदैन ।  क्रुर तरिकाले पशुवध गर्ने अनि दानवलाई बध गरेँ भन्नु त मुर्खता नै हो ।  तसर्थ हरेक नेपालीले आफ्ना गाउँठाउँमा हुने गरेका संस्कृति र धर्मलाई बलिरहित बनाऊँ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना