कस्तोे मासु ?

Prakash budhathokiडा. प्रकाश बुढाथोकी


चाडपर्वको बेला खानपिनमा गुलियो, अमिलो, पिरो, नुनिलो, चिल्लो र मासुको मात्रा बढी भएको आहार तथा मद्यपान र धूमपान, विहार र निद्रामा असन्तुलन हुन गई स्वास्थ्यमा गडबड भएको देखिन्छ ।  नियमित खानपानको असंयम, अनिद्रा आदिले नियमित गर्ने गरेको शारीरिक श्रम, व्यायाम पनि कम हुन्छ, जसले गर्दा अपच, अमिलो, झुसिलो डकार, वायुले पेट ढुस्स आउने, फुल्ने, आऊँ, पखाला, रिँगटा लाग्ने, आँखा पोल्ने बिझाउने, रातो हुने, वान्ता हुने, खानामा अरुचि हुने, चिडचिडाहट, ज्वरो, हैजा, कमलपित्त, ग्याष्ट्रिक, आमाशय र आन्द्राको घाउ अल्सर, उच्च रक्तचाप, मुटु, मिर्गौला, कलेजो सम्बन्धी, मधुमेह इत्यादिको खतरा बढ्ने हुन्छ ।
बढी चिल्लो, मसालेदार र सही ढङ्गले नपकाइएका खानाले कोलेस्ट्रोल, रक्तचाप, युरिक एसिड र सुगर लाग्ने सम्भावना बढाउँछ भने लागिसकेकालाई त झनै खतरा हुन्छ ।  मासुसँगै बोसो र छालासहित भए ट्राइग्लेसेराइड, खराब कोलेस्ट्रोल बढ्ने लगायतका विभिन्न आपत्कालीन तथा दीर्घकालीन समस्या आउँछ ।  सेकुवा र पोलिएको मासुले श्वासप्रश्वास र फोक्सोमा एलर्जी, पाचन प्रणालीमा क्यान्सर निम्त्याउँछ ।  चिल्लो बढी र पानी कम हुँदा माइग्रेन बल्झन सक्छ ।  नपाकेको मासु खाँदा नाम्ले जुका वा कीरा, फित्ते जुका, ब्रुसेलोसिस, टि.बी. जस्ता रोग लाग्न सक्छ ।  फ्रिजका खाद्यपदार्थ नतताई त्यत्तिकै खादा टाइफाइडलगायतका रोग, रुघाखोकी ,ब्रोन्काइटिस हुनसक्छ ।  बोसोयुक्त मासु यसै हानिकारक हुन्छ, त्यसमा हालिने प्राणी तथा सूर्यमुखी तेलले मुटु, मसलाले कलेजो र नुनले मिर्गाेलालाई प्रत्यक्ष असर गर्छ ।
  विश्व खाद्य तथा कृषि सङ्गठनका अनुसार प्रतिव्यक्ति आम्दानी कम भए पनि अन्य मुलुकको तुलनामा नेपालीले धेरै मासु खान्छन् ।  एक नेपालीले वार्षिक औसत १० किलो मासु खान्छ तर नियमित नभएर चाडवाडमा मात्र ।  नेपालमा वार्षिक १५ अर्बभन्दा बढी रुपियाँको मासु आयात हुने सरकारी तथ्याङ्क छ, जुन सुन, पेट्रोलियम पदार्थ र सवारी साधनपछाडिको सबैभन्दा बढी रकम हो ।  कृषिप्रधान नेपालमा ८० प्रतिशत बढी चौपाया भारतबाट आयात हुन्छन् ।  
 स्वास्थ्यका दृष्टिले हेर्ने हो भने राँगा, खसी, बङ्गुर आदिको रातो मासुभन्दा कुखुरा, माछा आदिको सेतो मासु राम्रो हुन्छ किनभने कोलेस्ट्रोलको मात्रा सेतो मासुमा कम हुन्छ ।  माछाका परिकार खानाले शरीरको तौल घट्नुको साथै कोलेस्ट्रोलको मात्रा घटाउन सहयोग मिल्छ ।  कुखुराको मासुमा क्याल्सियम तथा पोटासियम बढी पाइने भएकाले यो अन्य मासुभन्दा राम्रो मानिन्छ ।  चाडवाडमा अनियमित र अनियन्त्रित जीवनशैली, मासु तथा मदिरा सेवनका कारण ‘होली डे हार्ट सिन्ड्रोम’ अर्थात् मुटुको धड्कन बेताल हुने, छिटोछिटो चल्ने र हर्टफेल भई अस्पताल पुग्ने अत्यधिक हुन्छन् ।  कलेजो, मस्तिष्क, फोक्सो, मिर्गाेला आदिमा रातोमासुको तुलनामा पाँच गुणा बढी कोलेस्ट्रोल हुन्छ ।  रगत जमाएर भुटेर खाँदा नुनको मात्रा बढी हुन्छ र रक्तचाप बढाउँछ ।  काँचो वा उचित तापक्रममा नपकाई खाँदा विभिन्न रोग जस्तै सुङगुर, बुङ्गुरबाट फित्ते कीरा तथा अन्यबाट टोक्सोप्लाज्मा गोन्डिलले आक्रमण गर्नसक्छ ।  काँचो मासुले विभिन्न किसिमका जुका, नाम्ले कीरा तथा रोगका जिवाणु सार्ने सम्भावना हुन्छ ।  बङ्गुरको मासु खाँदा नाम्ले किरा र मस्तिष्कमा पुगे छारे रोग हुन्छ ।  भुटुवा, पकुवा, कबाब र झोल हालेको मासु पकाइखाने गर्नुका साथै भँुडी, कलेजो, बोसेआन्द्रा, रकतीकान, हेकुलाको भरुवा पनि खाइन्छ ।  हिजोआज समय तथा झन्झट व्यहोर्न नचाहनेले ससेज, सलामी, मिन्स, विगस, वेकोन आदिलाई स्न्याक्सको विकल्पको रूपमा प्रयोग गर्छन् ।
 नियमित खाइरहेका औषधि खान बिर्सदा हृदयाघात, पक्षाघातलगायतका जटिलता आउन सक्छन् ।  दिनहुँ एक घण्टा परिश्रम पर्ने गरी हिँडुन, व्यायाम वा योग गर्न तथा सक्रिय क्रियाकलाप गर्न भुल्न हँुदैन ।  किनभने भर्खर समस्या सुरु भएका, उमेर पुगेका र वंशाणुगत दृष्टिले खतरा भएकालाई रोगले च्याप्ने बेला चाडवाड हो ।
  एकातिर प्रोटिनको मात्रा ज्यादै कम भएको र सङ्क्रमित बुढा, थारा, रोगी चौपायाको मासु बनाइन्छ भने अर्कोतिर रोग नलागेका र मासु उपभोगका लागि योग्य चौपाया पनि परम्परागत रूपमा वध गर्ने, सडक–पेटी, नालीमा मासु खुला राखिँदा अस्वस्थकर भई जनस्वास्थ्यमा प्रतिकूल असर पर्ने गरेको छ ।  त्यसैमा झन् मासु बिक्रेताले बिक्री नभएका मासु लामो समयसम्म फ्रिजमा राख्नाले र खुला रूपमा एक ठाउँबाट अर्को ठाउँमा पु¥याउनाले झन् सङ्क्रमित हुने गरेको देखिन्छ ।  त्यसै त नियमित मासु सेवन गर्नेमा मोटोपना, उच्चरक्तचाप, मिर्गौला, मुटुका रोग, आन्द्रा र कलेजोको खराबी हुन्छ भने बढी मासु र बोसो होस भनेर पशुलाई सङ्गिनी सुई, गर्भवतीलाई खुवाइने आइरन चक्की कुखुरालाई खुवाइदा, पशुमा जथाभावी जबरजस्ती औषधि प्रयोगले मानिसमा सुपरबग उत्पन्न हुनसक्छ ।  मासुमा एउटा ब्याक्टेरिया भए सात घण्टामा २० लाख बढी पुग्छ ।  मासुलाई ५ देखि ६३ डिग्री सेल्सियसमा राख्न हुँदैन ।  खाद्यपदार्थलाई भरिसक्ये तातोपानी नभए सफा पानीले पर्याप्त पखाल्ने, माछामासु तथा सागसब्जीलाई भिन्दाभिन्दै भाँडाकुँडा, प्रेसर कुकरमा नभए अन्य भाडामा भए पनि राम्ररी पकाउने र पकाउनुअघि र पकाएपछि बढीमा २ घण्टासम्म मात्र भण्डारण गर्ने तथा सफा गर्ने, पकाउने सबैले साबुनपानीले हात धुनुपर्छ ।  मासुसँगै सागपात, फलफूल, फाइबर, दही, सलाद र प्रशस्त पानी खाँदा त्यसमा हुने रेशा वा फाइबरले कोलेस्ट्रोल घटाउँछ, पाचन प्रणाली राम्रो बनाउँछ ।  भोक लागेको बेला खानेकुराको जत्ति महत्व हुन्छ, खाना खाइसकेपछि ब्रस गर्नुलाई पनि उत्ति नै महŒव दिनुपर्छ ।  
  अन्तमा, उपभोक्तासम्म स्वस्थ र स्वच्छ मासु पु¥याउने तथा स्वास्थ्य जनचेतना दिने दायित्व राज्यको हो भने स्वस्थकर पकाइ र सेवन गर्ने काम हाम्रो हो ।  जीवित पशुको स्वास्थ्य सुनिश्चित गर्न पशु स्वास्थ्य तथा पशु सेवा ऐन र मासुको गुणस्तर सुनिश्चित गर्न पशु वधशाला तथा मासु जाँच ऐन र नियम कार्यान्वयन नभई सरकार आफ्नो दायित्वबाट चुकिरहेको अवस्थामा आफ्नो स्वास्थ्यका लागि हामी आफू नै सचेत हुनु जरुरी छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना