बडादशैंमा पुजिने उपत्यकाका शक्तिपीठ

saroj acharyaसरोज आचार्य


आश्विन शुक्ल प्रतिपदाका दिन शनिवारबाट घरघरमा घटस्थापना गरेर बडादशैँ मनाइँदैछ ।  चैत, माघ, आषाढ र आश्विन शुक्लमा पर्ने चार नवरात्रमध्ये यो शरद्कालीन नवरात्रमा गरिएको देवी पूजा सबै नवरात्रभन्दा राम्रो मानिन्छ ।
घटस्थापनादेखि नौ दिनसम्म नौ देवीको आराधना गर्दा आफूमा शक्ति प्राप्त हुन्छ ।  भगवान् रामचन्द्र र पाण्डव लगायतले पनि आफ्नो विजयका लागि देवीको आराधना गरेको प्रसङ्ग यो पर्वसँग जोडिएको छ ।
डा. माधव भट्टराई भन्नुहुन्छ– घटस्थापना गर्दा कलशमा कुण्ड तीर्थका जललाई कलशमा राखेर देवी आह्वान गर्दा स्थान सफा चोखो हुनुपर्छ, जमरा राख्दा जौकै राख्नुपर्छ भन्ने शास्त्रमा छ ।  नौ दिनसम्म देवीको उपाशना गरेर देवी स्तोत्र सप्तसती चण्डी पारायण गर्दा शक्ति प्राप्त हुन्छ ।  यो शक्तिको उपाशना गर्ने पर्व हो ।  नवरात्रमा पूजा अर्चना र दर्शन गरिने काठमाडौं उपत्यका र आसपासका प्रमुख शक्तिपीठका बारेमा यहाँ चर्चा गरिएको छ ।  
नरदेवी
प्रमुख शक्ति पीठमा काठमाडौँको नरदेवीलाई लिइन्छ ।  महालक्ष्मीबाट सपना भए अनुसार कलिगत संवत् ३८२५ मा यो पीठ राजा गुणकामदेवले स्थापना गरेका हुन् ।  उहिल्यै नरबलि पनि दिइने पीठका रूपमा नरदेवीलाई बुझिए पनि यसको लिखित प्रमाण कतै पाइएको छैन ।  राजा अमर मल्लले प्रत्येक बाह्रवर्षमा पिशाच चतुर्दशीका दिन यी देवगणको नाच समेत देखाउने प्रबन्ध गरेका थिए ।  देवमाला वंशावलीमा पीठमा तान्त्रोक्त विधिवाट पूजा हुने पीठका रूपमा व्याख्या गरिएको छ ।  मनोरथ पूर्ण गराउने देवीका रूपमा नरदेवीलाई लिइन्छ ।
भद्रकाली
खेतमा रोइरहेकी बालिकालाई किसानले फुल्याउँदा पनि रुन नछोडेपछि तिमीलाई  रोटी (लु मधी) दिउँला भनेपछि बालिका प्रशन्न भई अन्तरध्यान भइन् ।  रोटी सुन बन्यो भन्ने कुरा कलिगत संवत् ३८२५ मा राजा गुणकामदेवलाई अवगत भयो र यिनै राजाले पीठ स्थापना गरिदिए ।  यिनै देवीलाई भद्रकाली शक्तिका रूपमा पूजिन्छ ।  राजाले देवी आह्वान गर्दा देवी साक्षात् प्रकट भई यहीँ विलय भएको भन्ने कथन छ ।  सुनको रोटी जस्तै देखिने बेसार दलेको रोटी यहाँ चढाउने चलन अझै छ ।
भक्तपुर नवदुर्गा
शुम्भ निशुम्भ राक्षस वध गरेपछि बासको खोजीमा अष्टमातृका उन्मत्त भई हिमालयतर्फ जानलाग्दा एक तान्त्रिकले साधना गरी राखेको इतिहास छ ।  नालाबाट भक्तपुर जाने बटुवालाई खान थालेपछि तान्त्रिकले वशमा पारी आइन्दा यसो नगर्ने वाचा गराई राखियो ।  तान्त्रिक मरेपछि अष्टमातृका हिँडिन् ।  पछि तान्त्रिकका पुरोहितले हेर्दा सुङ्गुर खाइरहेको अवस्थामा भेटियो ।  यहीँ पुरोहितले देवी स्थापना गरी राखिदिए ।  यी देवीलाई सुङ्गुर चढ्छ ।  प्रमुख शक्ति पीठका रूपमा रहेको नवदुर्गा भक्तपुरको भित्री नगरमा छ ।  कोजाग्रत पूर्णिमाका दिन राष्ट्र प्रमुखबाट यहाँ पूजा हुने गरेको छ ।
राजराजेश्वरी पशुपति
नवदुर्गाका पूर्णकदका मूर्ति रहेको राजराजेश्वरी पीठलाई नवदुर्गा पीठ पनि भनिन्छ ।  विद्या महात्रिपुरासुन्दरीको यन्त्र यस देवीको अगाडि छ ।  वि.सं १४६४ मा राजा जयधर्मदेवका पालामा यो पीठको स्थापना भएको हो ।  यस पीठमा पूर्व जन्मको अनुहारको छायाँ देखिने विश्वास गरिने इनार पनि छ ।  आफ्नो अनुहार नराम्रो देखेर राजकाजमा असर पर्ला भनेर राजा शङ्करदेवले इनार छोपेर ठूलो शिवलिङ्ग स्थापना गरेपछि विराटेश्वरका नामले पुजिँदै आएको छ ।  यहाँ कर्माचार्य थरका पुजारी रहने व्यवस्था छ ।  पुजारी पुरुषोत्तम कर्माचार्यका अनुसार यो पीठमा नित्य पूजा गर्दा मनोकामना पूरा हुन्छ ।  बडादशैँमा यहाँ विशेष होम भई होमको प्रसाद लिइने चलन छ ।  नवदुर्गाका पूर्णकदका मूर्ति रहेको यो पीठ आर्यघाट ताम्रगङ्गा छेउमा छ ।
बगलामुखी पाटन
सत्ययुगमा भयङ्कर आँधी तुफानबाट चराचर जगत्को विनाश हुन लागेपछि भगवान् बिष्णुले त्रिपुरासुन्दरीको तपस्या गर्नुभयो ।  जलक्रिडा गरिरहेकी त्रिपुराको शरीरबाट पहेँलो ज्वाला प्रकट भयो ।  त्यही तेजबाट बगला प्रकट हुनुभयो र तुफान शान्त पार्नुभयो ।  बगला दश महाविद्यामध्येकी एक हुनुहन्छ ।  बगला बृहस्पति स्वामी राशिकी रहनुभएकाले बिहीबार यहाँ पूजा गर्ने चलन छ ।  सबै कुलदेवताका देवीका रूपमा पनि बगलालाई पुजिन्छ ।  बडादशैँमा यहाँ दोपाया चौपाया बलि दिनेको भिडभाड हुन्छ ।
दक्षिणकाली
काठमाडौँको फर्पिङस्थित दक्षिणकाली वास्तवमा चामुण्डादेवी हुन् ।  नरसिंही भगवती, इन्द«ायणी, वाराही, वैष्णवी, कुमारी, माहेश्वरी, ब्राह्मी देवीका प्रतिमा पनि यहाँ चामुण्डादेवीकी रक्षिकाका रूपमा रहेका छन् ।  राजा प्रताप मल्ललाई सपनामा यहाँ मूर्ति बनाई अर्चना गर भनेकोले यसपछि मात्र यहाँ देवीको प्रतिमा तथा मन्दिर रहेको भनिन्छ ।  साक्षात्देवीको रूपमा यो पीठलाई लिइन्छ ।  कुल वंशको रक्षाका लागि बडादशैँ बाहेक अन्य दिन पनि यहाँ भक्तजनको आगमन हुन्छ ।
वनकाली
काठमाडौँको गौशालामा रहेको वनकाली पशुपतिनाथसँग सम्बन्ध छ ।  पशुपतिनाथको श्री मुहारमा दन्तविन्यास बनाउन लागेका कालीगढ भकाभक मर्न थाले, कुहिएका लासबाट माहामारी चल्यो ।  भूतप्रेतको दोषबाट यसो हुन गएको ठानेर भूतप्रेत हटाउन अनुष्ठान गरियो तर पनि अन्य विघ्न रोकिएन ।  वनकाली स्थापना गरेर आराधना गरेपछि विघ्न शान्त भयो ।  कलिगत संवत् ३४८९ मा राजा शिवदेवको समयमा देवताहरुको युद्ध हुँदा शास्त्रोक्त स्वरूपको यो मूर्ति बनाई स्थापना गरेको इतिहास छ ।  अष्टभूजा भगवतीको मूर्ति छ ।  देवमाला वंशावलीमा  युद्धमा सत्यको जितका लागि यी देवी स्थापना गरिएको उल्लेख छ ।  वनकालीलाई मनोरथ पूरा गराउने देवीका रूपमा पुजिन्छ ।
कङ्केश्वरी
काठमाडौँ विष्णुमती नदी किनारमा कङ्केश्वरी पीठ छ ।  सूर्यवंशी राजा गुणकामदेवलाई महालक्ष्मीले सपनामा अह्राए बमोजिम कलिगत संवत् ३८३५ मा कान्तिपुर सहर स्थापना गरेका थिए ।  कान्तिपुर नगरको रक्षार्थ कङ्केश्वरी पीठको स्थापना भएको हो ।  राजा अमर मल्लले १२ वर्षमा देवीको नाच नचाउने प्रबन्ध गरेका थिए ।  नेपाल संवत् ५८० मा गरिएको यो व्यवस्था अनुसार एकपटक नाच नचाउँदा मानिसको बलि चढ्न जाँदा अनर्थ हुन गयो र यसपछि नाच देखाउन बन्द
गरियो ।  देवी प्रत्यक्ष भएकीले जनरल कृष्णबहादुर कुँवर, जनरल गगनसिंह, जीवनारायण मानन्धर, सेते दमाइ, उजिर कसाइँले मन्दिरको मर्मत र देवीलाई गहना अर्पण गरेको देवमाला वंशावलीमा छ ।
गुह्येश्वरी
हिमवत् खण्डमा पार्वती गुप्त भएको छिद्र, नेपाल माहात्म्यमा सतीदेवीको अङ्ग पतन भएको स्थान भनिएको छ ।  मेरुतन्त्रमा सतीदेवीको गुह्य अङ्ग पतन भएको पीठ भनिएको छ ।  राजा पताप मल्लले मन्दिर जीर्णोद्दार गर्दा महाकाली, चण्डी, परमेश्वरी, गुह्येश्वरी नाम दिएर पीठ जीर्णोद्धार गरेको अभिलेख छ ।  भारतको कामरुकामाख्याको स्वरूपमा यो पीठलाई लिइन्छ ।  हिमवत् खण्डमा गुह्येश्वरी जत्तिकै कल्याणदायी, भक्तको मनोरथ पूरा गर्ने पीठ अन्यत्र छैन भनिएको छ ।
पुरानो गुह्येश्वरी गोलढुङ्गा
महादेवले कालकुट वीष सेवन गरेर छटपटाउँदै चिसो ठाउँ खोज्दै गोसाइँकुण्ड जानुभयो ।  फर्कंदा पार्वती पनि साथै आउनुभयो ।  गोलढुङ्गा आइपुग्दा पार्वतीलाई रजस्वला भयो ।  रजस्वलाका समयमा महादेवसँग हिँड्न नहुने भई चार दिन यही गोलढुङ्गामा विश्राम गर्नुभयो ।  यही स्थानलाई गुह्येश्वरी पीठका रूपमा पुज्न थालियो ।  श्लेषमान्तक वन मुन्तिरको गुह्येश्वरी पत्ता नलागुन्जेल यही गोलढुङ्गाकै पीठलाई गुह्येश्वरी मानिँदै आएको थियो ।  नवरात्रकाबेला शाही राजपरिवारको आगमन हुन थालेपछि श्लेषमान्तक वनको गुह्येश्वरी चर्चामा रहन पुग्यो ।  पुरानो गुह्येश्वरीमा साधना गर्दा मनोरथ पूरा हुन्छ भनेरै यहाँ प्रेम सफल होस् भन्दै प्रेमी प्रेमिका आउँछन् भने मुद्दा मामलामा न्याय मिलोस्, निरोगी होइयोस् र धनधान्य होस् भन्ने कामना यहाँ भक्तजनले गर्छन् ।
मैतिदेवी
मैतिदेवीलाई पञ्चकुमारी पनि भनिन्छ ।  स्वयं उत्पत्ति भएको देवीका रूपमा मैतिदेवीलाई मानिन्छ ।  फलाम छुवाउँदा पारसमणि हुने पीठका रूपमा लिइन्छ ।  पारसमणि फुटेर मयुर बनेको र मयुरलाई कुनै बदमासले ढुङ्गा हानि धपाइदिएको कथन यो पीठसँग जोडिएको छ ।  यहाँ मयुर कुण्ड पनि छ ।  यही कुण्डमा शुद्ध भएर देवीको दर्शन गर्ने चलन उहिल्यै थियो ।  गोरखा मनोकामना दर्शन गरेपछि मैतिदेवीको दर्शन गर्नैपर्छ भनिन्छ ।
भुवनेश्वरी, पशुपति
यहाँ देवीको मूर्ति छैन, प्रतीकात्मक यन्त्र छ ।  कर्माचार्य पुजारी बाहेक अन्यले यहाँ प्रवेश पाउँदैनन् ।  लिच्छवी राजा शिवदेवले यो मन्दिर निर्माण गरेका हुन् ।  नरेन्द« मल्लले वि.सं १५८६ मा मन्दिरको जीर्णोद्धार गरेका थिए ।  बडादशैँका बेला विशेष नवरात्र पूजा हुने देवस्थलमा यो पीठ पनि पर्छ ।  
कङ्कालीमाइ पुरानो नैकाप
सिम्रौनगढमा राजा नान्यदेवका वंशज राजा हरिसिंहदेवका पालाका रानी देवलदेवीले भक्तपुरमा शरणमा आउँदा साथमा तुलजा भवानी
ल्याइन् ।  देवलदेवी यहीँ रानी भएर बसेपछि उनैले भक्तपुर दरवारमा तलेजु स्थापना गरिन् ।  कालान्तरमा पाटन र काठमाडौंका दरवारमा पनि तलेजु स्थापना भई तलेजुको पूजा अर्चना थालियो ।  यिनै रानी देवलदेवीबाट काठमाडौँको पश्चिम पुरानो नैकापमा सिम्रौनगढको कङ्काली माईको आह्वान गरी पीठ निर्माण गरिन् भन्ने किंवदन्ती छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना