कार्यालय समयको लचकता

मीना मरासिनी




लुट प्रणालीबाट सुरु भएको सार्वजनिक प्रशासनको इतिहास विड्रो विल्सनको राजनीति प्रशासन द्विविभाजन, फ्रेड रिग्सको राजनीति प्रशासन अन्तरसम्बन्धको अवधारणा हुँदै सार्वजनिक व्यवस्थापन र नयाँ सार्वजनिक सेवाको नवीनतम अवधारणासम्म आइपुगेको छ ।  यसअघि सार्वजनिक सेवालाई सरकारले प्रदान गर्ने सेवाको रूपमा मात्र बुझ्ने गरिएकोमा नयाँ अवधारणाको विकाससँगै सार्वजनिक प्रशासनको क्षेत्र व्यापक बन्दैछ र निजी सरोकारका हरेक क्षेत्रमा सार्वजनिक प्रशासनको भूमिकाको अस्तित्व खोजिँदैछ ।  सार्वजनिक प्रशासनलाई परिवर्तन व्यवस्थापनका लागि सक्षम बनाउन तथा नागरिकका आवश्यकता र भावनाको सम्बोधन गर्नसक्ने बनाउनका लागि नयाँ व्यवस्थापकीय पद्धतिको अवलम्बन गर्दै यसलाई युगानुकूल बनाउनु आवश्यक छ ।  गुणचक्र, सङ्गठन तथा व्यवस्थापन पद्धति, छरितो व्यवस्थापन तथा निरन्तर सुधार विधि, चेप्टो सङ्गठन, ३६० डिग्री मूल्याङ्कन, विद्युतीय शासनजस्ता व्यवस्थापकीय विधिको अनुशरण सार्वजनिक प्रशासनमा अनिवार्यजस्तै बनिसकेको छ ।  यीसँगै सार्वजनिक प्रशासनलाई कार्यमैत्री, समावेशी, लचिलो, कार्यमूलक बनाउनका लागि अर्को व्यवस्थापकीय विधि आवश्यक छ, त्यो हो कार्यालय समयको लचकता ।  
कार्यालय समयको लचकता अर्थात् लचक कार्यसमय
(यसलाई फ्लेक्सी टाइम भनिन्छ) अवधारणाको सुरुआत जर्मनीमा पचासको दशकमा भएको थियो ।  खासगरी महिलालाई सार्वजनिक सेवामा आकर्षित गर्न तथा कार्यालय समयमा हुने सवारी चापलाई घटाएर वातावरण प्रदूषण नियन्त्रण गर्न भन्दै कार्यालय समयको लचकताको अवधारणा ल्याइएको थियो ।  फ्लेक्सी टाइमको अवलम्बनसँगै त्यहाँको सार्वजनिक प्रशासन समावेशी र छरितो बन्नुका साथै कार्यसम्पादनमा समेत सहजता आएको थियो ।  यसमा कर्मचारीलाई निश्चित कार्यघण्टामा कार्यालयमा अनिवार्य उपस्थित हुनैपर्ने र त्यसबाहेकको अरू कार्यालय समयमा आफ्नो अनुकूल पारेर काममा उपस्थित हुने सुविधा उपलब्ध हुन्छ ।  यसो हुँदा कर्मचारीले आफ्नो दैनिक कार्यघण्टा र कार्यसमयमा छनोटको अवसर पाउँछ ।  
हामीकहाँ सरकारी कार्यालयहरूमा वर्षका तीन महिनाबाहेक अरू नौ महिना कार्यालय समय बिहान १० देखि बेलुका ५ बजेसम्म छ भने कात्तिक १५ देखि माघ १५ सम्म कार्यालय समय बिहान १० देखि बेलुका ४ बजेसम्म कार्यालय तोकिएको छ ।  यो सरकारी कार्यालय समयलाई प्रायः धेरैजसो अन्य गैरसरकारी तथा निजी कार्यालयले पनि अवलम्बन गरेका हुन्छन् ।  सरकारी निकायमा विद्युतीय हाजिरीको अवलम्बनसँगै कार्यालय समयमा १५ मिनेट ढिलो पुग्दासमेत कारबाही भोग्नुपर्ने वा आधा दिनको बिदा जनाउनुपर्ने अवस्था छ ।  कार्यालय बिदा हुने निर्धारित समयभन्दा केही मिनेट अघिमात्रै घर फर्किंदासमेत अवस्था यस्तै छ ।  कार्यालयसँगै घरको काम पनि गर्ने बाध्यतामा रहेका कामकाजी महिलालाई बिहान कार्यालय समयभन्दा केही अघि कार्यालय गएर आफूलार्ई सुम्पिएको सबै काम सकेर साँझ निर्धारित समयभन्दा केही अगाडि नै घर फर्किन्छु भन्न पाउने अवस्था छैन ।  कार्यालयको १०–०५ समयावधिको कठोर पालना गर्नैपर्ने, कामभन्दा हाजिरीलाई बढी महŒव दिने र कार्यालय सबै कर्मचारी एउटै समयमा उपस्थित हुनैपर्ने विद्यमान व्यवस्थाका कारण कतिपय कार्यालयमा बस्ने ठाउँको समेत अभाव हुने, कम्प्युटर र अरू सामान पनि नपुग्ने र केही कर्मचारी बेकम्मा हुने वा कार्यालयभित्र कर्मचारीकै भीडसमेत हुनसक्छ ।  लचिलो कार्यसमय अवलम्बन गरिएमा कहिले कर्मचारीको भीड त कहिले कर्मचारीको अभावमा कामै नहुने अवस्था आउँदैन ।  त्यस्तै कार्यालयका स्रोतसाधनको पनि समुचित प्रयोग हुन्छ अर्थात् सीमित स्रोत साधनको मद्दतले अधिकतम कार्यसम्पादन हासिल हुन्छ ।  
कार्यालय समयको लचकता कर्मचारीको कार्यसम्पादनमा वृद्धि गर्ने उपाय मात्र होइन बाह्य वातावरण व्यवस्थापनको पनि एउटा कडी बन्नसक्छ ।  अफिस समयमा हुने ट्राफिक जामका कारण कर्मचारी तोकिएको समयमा कार्यालय पुग्न नसक्ने मात्र होइन कहिलेकाहीँ सवारीजामको निहुँ पारेर ठग्ने प्रवृत्ति पनि बढिरहेको छ ।  लचिलो कार्यसमय अपनाउने हो भने एकै समयमा सडक प्रयोग गर्ने मानिसको सङ्ख्या घट्छ र यसले सवारी चाप घटाउँछ र वातावरण प्रदूषण नियन्त्रणमा पनि सघाउ पुग्छ ।  लचिलो कार्यसमयको अर्को फाइदा सेवामा समावेशीकरण पनि हो ।  कसिलो समयको कारण बाध्यतावश सार्वजनिक सेवामा जान नपाएका महिलालगायतका वर्गलाई सेवामा आबद्ध गर्ने एउटा उपाय लचिलो कार्यसमय पनि हुनसक्छ तर नेपालको निजामती सेवामा राणाकालीन समयदेखि नै लागु भएको कार्यालय समय अद्यापि प्रयोगमा छ ।  सार्वजनिक बिदामा वृद्धि गर्दै कर्मचारीलाई विभिन्न प्रकारका बिदा दिने गरिए पनि सार्वजनिक प्रशासनमा लचिलो कार्यसमयको व्यवस्था छैन ।  
सार्वजनिक प्रशासन आफैंमा नागरिक र सरकारबीचको सेतु हो र यो सरकारको सफलता असफलताको मुख्य निर्णायक हो ।  त्यसैले पनि सार्वजनिक प्रशासनलाई बढी सक्षम, समयानुकूल र उत्पादनमूलक बनाउनका लागि नयाँ व्यवस्थापकीय पद्धतिको अवलम्बन आवश्यक छ ।  त्यसका लागि प्रशासन र राजनीतिबीचको सम्बन्ध र सीमाको स्पष्ट किटानसँगै कार्यालय समयको लचकता जस्ता उदार व्यवस्थापकीय विधिको प्रयोग अपरिहार्य बनिसकेको छ ।  लचिलो कार्यसमयको अवलम्बनले सार्वजनिक सेवामा महिला सहभागितालाई बढाउने, सार्वजनिक सेवालाई समावेशी बनाउनुका साथै कर्मचारीको कार्यसम्पादन स्तरमा समेत वृद्धि गर्दछ ।  लचिलो कार्यसमयको अवलम्बन महिला सहभागिता तथा सशक्तीकरणको एउटा कडी बन्न सक्छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना