दसैँको यात्रा सहज बनाउन निर्देशन

काठमाडौँ, असोज १८ गते ।  संसद्को सुशासन तथा अनुमगन समितिले दसैँमा उपत्यकाबाहिर जाने यात्रुको सहज आवागमनको व्यवस्था मिलाउन सरकार र यातायात व्यवसायीलाई निर्देशन दिएको छ ।  समितिले यातायात व्यवस्था विभाग र यातायात व्यवसायीसँगको छलफलपछि यात्रुलाई सहज रूपमा यात्रा गर्ने व्यवस्था गर्न निर्देशन दिएको हो ।
समितिले यातायात व्यवस्था विभागलाई भाडादर तथा यात्रुको सुरक्षाका विषयमा अनुगमन गर्न आग्रह गरेको छ ।  यातायात व्यवसायीलाई सरकारले तोकेको भाडादरमा यात्रा गराउने प्रतिबद्धताअनुसार काम गर्न समितिले निर्देशन दिएको छ ।  
समितिसँगको छलफलमा यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले विभागीय मन्त्रीसँगको छलफलपछि मध्यपश्चिम र सुदूरपश्चिमका लागि अग्रिम टिकट बुकिङ खुला गरिएको बताउनुभयो ।  
काठमाडौँबाट बाहिर जाने मुख्य नाकाहरूमा विभागको टोली अनुगमनका लागि परिचालन भएको पनि श्रेष्ठले बताउनुभयो ।  उहाँले बीपी राजमार्गमा यात्रुलाई बढी भाडा असुल भएकोबारे आवश्यक अनुगमन तीव्र पारिएको बताउनुभयो । dashain tour
समितिमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका कार्यवाहक अध्यक्ष डोलनाथ खनालले महासङ्घले सरकारले तोकेको मापदण्डका आधारमा सहज रूपमा यात्रुलाई आवागमनको व्यवस्था गर्ने बताउनुभयो ।  सिट क्षमताभन्दा बढी यात्रु बोक्न पाउनुपर्ने माग गर्दै आएका व्यवसायीले आइतबार सरकारको विभागीय मन्त्रीसँगको छलफलपछि तोकेको भाडादर र मापदण्डमा यात्रु बोक्न राजी भएका थिए ।  
महासङ्घका महासचिव सरोज सिटौलाले समस्याका बीच यातायात व्यवसायीले जनतालाई सेवा दिइरहेको बताउनुभयो ।  सरकारले बजेटमार्फत यसअघि छुट दिएको करको रकम पनि व्यवसायीले तिर्नुपर्ने अवस्था रहेको भन्दै सिटौलाले पूर्ववत् व्यवस्था गर्न माग गर्नुभयो ।  
छलफलमा सांसद सुशीला नेपालले क्षमताभन्दा बढी यात्रु राखेर सवारी चलाइएका कारण दुर्घटना बढिरहेको भन्दै सिट सङ्ख्या बराबर यात्रु बोक्न माग गर्नुभयो ।  नेपालले दसँै तिहारमा यात्रुको सहज आवतजावतको व्यवस्था सरकारले मिलाउनुपर्ने बताउनुभयो ।
सांसद दिलनाथ गिरीले यातायात व्यवसायीले सर्तबिना नै जनतालाई सेवा दिनुपर्ने बताउनुभयो ।  सांसद जनकराज जोशीले आठ लाखभन्दा बढी जनता उपत्यकाबाहिर जानुपर्ने भए पनि टिकट अभावमा समस्या भएको बताउनुभयो ।  जोशीले यात्रुलाई सहज रूपमा गन्तव्यमा पुग्ने व्यवस्थाका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो ।  
सांसद हर्कबोल राईले बीपी राजमार्गमा यातायात व्यवसायीले तोकिएको भन्दा बढी भाडा लिएको भन्दै अनुगमनमा प्रश्न उठाउनुभयो ।  राईले यातायात व्यवस्था विभागले मुख्य नाकामा अनुगमन गरेको भने पनि प्रभावकारी नभएको बताउनुभयो ।  सांसद मिलनकुमारी राजवंशीले यात्रुलाई टिकट नै मुख्य समस्या भएको बताउनुभयो ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना