सार्कको ग्रहण मोक्षका लागि पहल

 balkrishna prasadबालकृष्ण प्रसाद



दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मा यसपाली फेरि ग्रहण लागेको छ ।  सार्कको अध्यक्षको नाताले नेपाल शिखर सम्मेलन निर्धारित मितिमै सम्पन्न गर्न उपयुक्त वातावरण बनाउन विशेष भूमिका निर्वाह गर्ने बेला आएको छ ।  संविधान कार्यान्वयनको आन्तरिक झमेलामा फसेको नेपालका लागि दक्षिण एसियाका दुई ठूला राष्ट्र भारत र पाकिस्तानसँग व्यवहार गर्नु कम चुनौतीपूर्ण काम होइन तर अध्यक्षको हैसियतमा नेपालले सबै सदस्य राष्ट्रलाई सार्क चार्टरको भावना अनुरुप हिँडाउन पहल गर्नु जिम्मेवारी निर्वाहकै कार्य अन्तर्गत आउँछ ।  सार्क भावनालाई मिच्ने, कुल्चिने र अड्डी व्यवहारले कसैलाई फाइदा पुग्ने छैन ।
    पाकिस्तानको इस्लामाबादमा आगामी कात्तिक २४ र २५ गते (नोभेम्बर ९ र १० तारिख) आयोजना हुने सार्कको १९औँ शिखर सम्मेलनमा भारत भाग नलिने घोषणाले सार्क क्षेत्रमा अन्योल छाएको छ ।  क्षेत्रीय सहयोग र समझदारी वृद्धि गर्दै दक्षिण एसियामा साझा मञ्चको रुपमा विकसित सार्कको कुनै एउटा सदस्य देशले शिखर सम्मेलनमा सहभागिता नजनाउने औपचारिक सूचना दिएपछि सम्मेलन स्थगित हुने व्यवस्था छ ।  भारतसँगै बङ्गलादेश, भुटान र अफगानिस्तानले इस्लामाबादमा हुने शिखर सम्मेलनमा सहभागी नहुने सूचना सार्कको अध्यक्षता गरिरहेको नेपाललाई असोज १२ गते औपचारिक जानकारी दिएपछि कूटनीतिक वृत्तमा चिन्ता बढेको हो ।
    पाकिस्तानले क्षेत्रीयस्तरमै सीमापार आतङ्कवादलाई प्रश्रय दिएको आरोप भारतद्वारा जारी विज्ञप्तिमा औँल्याइएको छ ।  यस्तो बेला सार्क शिखर सम्मेलन सफल नहुने हुँदा त्यसमा सहभागी हुन नसक्ने कुरा भारतले बताउँदै आएको छ ।  भारतले आफ्नो पक्षमा सार्क सदस्य राष्ट्र समक्ष लबिङ गरेको परिणाम बङ्गलादेश, भुटान र अफगानिस्तानले पनि सो शिखर सम्मेलनमा भाग नलिने जनाउ दिएका हुन् ।      
जबकि पाकिस्तानले भारतले लगाएको आरोपलाई अस्वीकार गर्दै आएको छ ।  पाकिस्तानका विदेश मन्त्रालयका प्रवक्ता मोहम्मद नफिस जकारियाले निर्धारित समयमै सार्क शिखर सम्मेलन हुने बताइरहँदा भारतका विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले सीमापार आतङ्कवादी आक्रमण बढेको र एक राष्ट्रले अर्काको आन्तरिक मामिलामा हस्तक्षेप गरिरहेको स्थितिमा इस्लामाबादमा हुने सार्क सम्मेलन सफल हुन नसक्ने अवस्था उत्पन्न भएकोमा भारत सम्मेलनमा सहभागी नहुने ट्विट गर्नुभयो ।  भारत प्रशासित कस्मिरको उरीमा हालै १८ भारतीय सैनिकको मृत्यु भएको घटनालाई लिएर भारत क्रुद्ध बनेको छ ।  सो घटनामा २० सैनिक घाइते भएका थिए ।  यो घटनापछि नै भारत र पाकिस्तानबीच चिसोपना बढेको पाइन्छ ।  अलइण्डिया रेडियोका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उरी घटनापश्चात् पाकिस्तानलाई विश्व समुदायबाट एक्लाउने बताउनुभयो ।  उहाँले गएका चार महिनामा भारतीय सुरक्षा फौजले एक सय दश जना आतङ्कवादी समूहका सदस्यले युद्धबिरामको रेखालाई कस्मिर इलाका काटेको आरोप पनि लगाउनुभएको छ ।  
उता पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफले कस्मिरमा भइरहेको अत्याचारबाट विश्व समुदायको ध्यान हटाउन भारतले आफ्ना बारेमा दुष्प्रचार गरेको आरोप लगाउनुभएको छ ।  भारतले पटक–पटक पाकिस्तानलाई आतङ्कवादीलाई सघाएको आरोप लगाउनु ठीक नभएको उहाँको जिकिर छ ।
उरीको सैनिक अखडामा भएको आतङ्कवादी हमलापछि तनाव झेल्दै आएको भारतले सीमास्थित नियन्त्रण रेखामा सर्जिकल स्ट्राइक सैनिक कारबाही गरेको छ ।  भारतीय सेनाका लेफ्टिनेन्ट जनरल रणवीर सिंहले आतङ्कवादीहरुको इलाकामा आक्रमण गरेको दाबी गर्नुभएको छ ।  जबकि पाकिस्तानले सो भनाइको खण्डन गरेको छ ।  भारतले जानाजान गरेको आक्रमणमा पाकिस्तानका दुई सैनिकको मृत्यु भएको पाकिस्तानी अधिकारीले जनाएका छन् ।  यो घटनापश्चात् भारत र पाकिस्तानबीच युद्धको आशङ्का बढ्नु स्वाभाविक छ ।  
भारत पाकिस्तानबीचको विवादका कारण यसअघि पनि सार्क सम्मेलन प्रभावित हुँदै, सर्दै आएको थियो तर शिखर सम्मेलनका बखत दुई देशका नेताबीच द्विपक्षीय छलफलपछि स्थिति सामान्य बन्दै आएको उदाहरणले गर्दा नेपालले सम्मेलन अवरुद्ध हुन नदिन दुवैतर्फ संवाद थाल्नु जरुरी भइसकेको छ ।  सार्कको अध्यक्ष, महासचिव र सचिवालय नेपालमा रहेको कारण यो क्षेत्रीय सङ्गठनलाई कसरी संरक्षण गरी साझा हितमा डो¥याउने चुनौती तेर्सिएको छ ।  सार्क स्थापनाको ३१ वर्षे इतिहासमा विभिन्न कारणले हालसम्म १८ वटा शिखर सम्मेलन मात्र हुनु विडम्बना नै रहेको छ ।
हरेक वर्ष हुनुपर्ने शिखर सम्मेलन सार्क सदस्य राष्ट्रको कारण नै दुई–दुई वर्षमा हुनथालेको हो ।  दक्षिण एसियामा तनावकै कारण ११औँ शिखर सम्मेलन सन् २००२ मा काठमाडौँमै चार वर्षमा सम्पन्न भएको थियो ।  दुई वर्षअघि २०७१ मङ्सिर ९ र १० गते काठमाडौँमा सार्कको १८औँ शिखर सम्मेलन सम्पन्न भएको थियो ।  नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले भारत र पाकिस्तानका प्रधानमन्त्री नरेन्द्र मोदी र नवाज सरिफबीच वार्ता गराउन पहल गरेपछि भारतीय र पाकिस्तानी प्रधानमन्त्रीले हात मिलाउनुभएको थियो ।  त्यो क्षण देशी विदेशी मिडियाका लागि महŒवपूर्ण ‘कभरेज प्वाइन्ट’ को रुपमा आएको थियो ।  तनावपूर्ण अवस्थामै भारत र पाकिस्तान शिखर सम्मेलनमा सहभागी भए पनि दुवैका लागि नेपाल सहयोग अभिवृद्धिका निम्ति उपयुक्त अवसरको रुपमा देखापरेको थियो ।  
अहिले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालका निम्ति पनि सार्कको अध्यक्षको हैसियतले महŒवपूर्ण अवसर आएको छ ।  यो बेला दुवैबीच समन्वय स्थापित गरी शिखर सम्मेलन सम्पन्न गराउनसके कोइरालाभन्दा बढी दाहाल सफल देखिनसक्नु हुनेछ ।  शान्ति र स्थिरताको बाटोमा आफैँ सङ्घर्ष गरिरहेको नेपालले सार्कलाई गति प्रदान गर्न अहिलसम्मको अवस्था काबुभित्रै रहेकोले यसमा प्रयास थाल्नु समयोचित हुनेछ ।
नेपालको पोखरामा चैतको पहिलो साता सम्पन्न सार्क परराष्ट्र मन्त्रीस्तरीय बैठकमा पाकिस्तानमा निर्धारित मितिमै सम्मलन गर्ने सहमति हुँदा सम्मेलनले फड्को मार्ने विश्वास गरिएको थियो तर आजको द्विपक्षीय तनावको शिकार सार्क बन्न लागेको अवस्थामा परराष्ट्र मन्त्री डा. प्रकाशशरण महतको भूमिका पनि महŒवपूर्ण हुने देखिन्छ ।  डा. महतले पनि आफ्नो तहबाट दुवै देशका विदेश मन्त्रीसँगसँगै सदस्य अन्य राष्ट्रसँग सार्कको उपादेयता, सम्मेलनको फाइदा र सम्भावनाबारेमा छलफल गर्दा निश्चय नै सफलता हात लाग्ने सम्भावना छ ।  दक्षिण एसियाको साझा मञ्चलाई यसमा आबद्ध राष्ट्रलाई समेट्न र लक्ष्य अनुसार अगाडि बढाउनु सकियो भने फाइदै फाइदा उठाउन सकिने अवस्था सिर्जना गर्न सकिन्छ ।
सम्मेलनलाई निश्चित समय र दायरामा टुङ्ग्याउन यसअघि भारतका विदेशमन्त्री सुस्मा स्वराज र पाकिस्तानका प्रधानमन्त्रीका परराष्ट्र सल्लाहाकार सरताज अजिजसँग भएको कुराकानीले सकारात्मक परिणाम देखाउने आशा गरिरहँदा अहिले कस्मिरको उरी घटनापछि विकसित राजनीतिले दुवै देशबीच शीतयुद्धको अवस्था उत्पन्न हुनु परिस्थितिको विवशता भए पनि कठिन अवस्थामा पनि कूटनीतिलाई व्यवस्थित ढङ्गले परिचालन गर्न सक्नु बुद्धिमान कूटनीतिज्ञको लक्षण हो ।  आशा गरौँ नेपालको प्रयासले दक्षिण एसियामा तनाव घटाउने र सद्भाव बढाउने काम समयमै भयो भने हाम्रो लागि पनि यो उपलब्धिमूलक नै हुनेछ ।   

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना