पर्वहरूले ल्याउने खुसी र उमङ्ग

gorkarnaगोकर्ण अर्याल



हाम्रा ठूला र महान् चाड पर्वहरू सबै नेपालीका घर आँगनमा प्रवेश गरिसकेका छन् ।  यसको प्रभाव सहर बजारमा देखिन थालिसकेको छ ।  विशेष किनमेलसँगै आआफ्ना गाउँघर फर्किनेहरूको भीडभाड छ ।  त्यस्तै हवाई तथा बसको टिकट बुकिङ गरेर बसेका कतिपय मानिस आआफ्नो ठाउँ पुगेर आफन्तलाई भेट्ने प्रतिक्षा गरिरहेका छन् ।  विदेशमा रहेका समेत यही मेसोमा होलान् ।  चाडवाड भन्नासाथ राम्रो लगाउने, मीठो खाने, अघिपछिभन्दा अलि बढी नै खर्च गरेर मनोरञ्जन लिने प्रवृत्ति छ ।  यो क्रमलाई सबै क्षेत्र र वर्गले अनुशरण गरिहेको पाइन्छ तर त्यत्तिमा मात्र यस्ता चाडवाडलाई सीमित राखिनु हँुदैन ।  आआफ्ना परम्परा र रीतिरिवाजलाई निरन्तरता दिने पनि हो ।  त्यस अनुरूप देवी देवतालाई सम्झने, पूजापाठ गर्ने हो ।  यसले समाजलाई सुसंस्कृत र मर्यादित तुल्याउन सहयोग पुग्छ ।  
यतिबेला आधुनिकताको नाउँमा यस्ता पर्वको महŒव र विशेषता कमजोर हँुदै जानथालेका छन ।  मनोरञ्जनका नाउँमा देखासिकी र आडम्बरी ढङ्गबाट पर्व मनाउने चलनले हाम्रा धेरै चाडवाड खर्चिला हुन पुगेका छन् ।  यसलाई अनुशासित र मर्यादित बनाउनुपर्छ भन्ने आवाज कमजोर हुँदै जानथालेका छन् ।  प्रत्येक नेपालीले एक आपसमा खुसी र उमङ्ग साटासाट गर्दै गच्छे र रीतिरिवाज अनुसार मनाइँदै आइएका हरेक पर्वका आफ्नै मौलिक विशेषता छन् ।  यसलाई निरन्तरता दिनु पनि मौलिक संस्कृतिको परिचय दिनु हो ।  हाम्रा पर्वमध्ये दशैँ, तिहार, छठ र ल्होसार विशेष रूपमा मनाइन्छन् ।  यिनलाई सबैले सहज र सरल रूपमा मनाउन सक्ने अवस्था निर्माण भयो भने मात्र यस्ता पर्वले निरन्तरताका साथ महŒव पाउँछन् ।  
हामीले मनाउने सबैभन्दा ठूलो चाड दशैँ सुरु भइसकेको छ ।  यसको रौनकता नेपाली समाजमा विशेष किसिमको छ ।  यस अवसरमा सरकारले पनि लामो बिदा दिने गरेकाले कतिपयका लागि घुमघामका लागि समय उपलब्ध हुन्छ ।  विशेष गरेर मान्यजनबाट टीका थापेर आशिर्वाद लिने दशैँको महŒव समाजमा ठूलो छ ।  मान्यजनको हातबाट टीका थाप्न भनेर टाढाटाढाबाट मानिसहरू भेला हुने गर्छन् ।  यो वर्ष दिनसम्म भेट नभएका परिवारका सदस्य एक ठाउँमा भेला भएर खुसी साट्ने अवसर पनि हो ।  यतिबेला त समाज धेरै हदसम्म फराकिलो र परिवर्तशील बनिसकेको छ ।  दशैँ आयो खाउँला पिउँला कहाँ पाउँला भन्नेजस्तो अवस्था कमैमा होला ।  उतिबेला जस्तो खान लाउनको लागि दशैँ नै कुर्नुपर्ने स्थिति धेरैलाई नहुनु पर्छ तर समाज एकनासको छैन र सबैको एउटै हैसियत पनि छैन ।  हाम्रो समाज आर्थिक हिसाबले अहिले तीन तहमा वर्गीकृत छ ।  उच्च, मध्यम र निम्नवर्ग ।  उच्च वर्गको समाज हरेक चाड पर्वलाई विलासितामा मनाउने गरिहेको छ ।  उसलाई आर्थिक व्यवस्थापनसँग कुनै सरोकार छैन ।  खर्च गर्ने कार्यक्रम र अवसर मात्र चाहिएको छ ।  मध्यमवर्गलाई आफ्नो क्षमताअनुसार यस्ता पर्व उत्सव मान्नु, मनाउनु छ र यस्ता चाडपर्वको सांस्कृतिक महŒव र विशेषता धान्नु पनि छ ।  यो वर्गलाई पनि यस्ता पर्व मान्न मनाउन धौधौकै स्थिति छ ।  समाज परिवर्तनसँगै खर्चिलो पनि बनिरहेको छ ।  समाजको निम्नवर्ग अहिले पनि यस्ता पर्व कसरी मान्ने मनाउने भन्ने पिरलोमा छ ।  वास्तवमा दशैँ आयो कहाँ पाउँला भन्ने स्थितिमा नै छ ।  कतिपयका लागि दशैँ दशा बनिरहेको छ ।  दशैँ मान्नको लागि ऋण लिनुपर्ने र दशैँ मानेपछि ऋण तिर्न विदेशिनुपर्ने अवस्थामा बाँचेको समाजलाई राज्यको कुनै नीति कार्यक्रमले छुनसकेको छैन ।  गरिब गुरुवा र निम्छरो वर्ग र समुदायले पनि यस किसिमका चाडवाड मान्न सक्ने अवस्था हुनुपर्ने हो ।  त्यस्ता वर्गका लागि सेवा र सुविधायुक्त बजार व्यवस्था भएमा राम्रो हुने थियो ।  राज्यले त्यस किसिमको बजार व्यवस्था गर्न नसक्दा निम्नस्तरका व्यक्ति मारमा पर्ने गरेका छन् ।  निम्नवर्गले पनि सम्पन्नवर्ग र समुदायले किनमेल गर्ने बजारमा जानुपर्ने बाध्यताले ऋणमा डुबाएको छ ।  सामान्य वर्ग र समुदायले यस्ता पर्व मान्न धौधौ पर्ने अवस्था आइसकेको छ ।  यसैले गर्दा कतिपयका लागि आयो दशैँ ढोल बजाइ, गयो दशैँ ऋण बोकाइ भनेझैँ हुने गरेको छ ।  वास्तवमा यो सद्भावपूर्ण पर्व हो, यसलाई यही रूपमा मनाउने परिपाटी बसाल्नुपर्छ ।  सबैले आआफ्नो हैसियत र क्षमताअनुसार मान्ने र मनाउन सक्ने अवस्थाले नै यस्ता पर्वको टिकाउ र महŒव बढेर जान्छ ।  आफूभन्दा ठूलाबाट आशिर्वाद लिने पर्वलाई तडकभडकमा परिवर्तन गर्नु ठीक होइन ।  यस्ता पर्वले समाज तथा परिवारमा आपसी सद्भाव र स्नेह साट्ने काममा महŒवपूर्ण सहयोग उपलब्ध गराएका हुन्छन् ।  यसले नै सद्भाव र एकतापूर्ण समाज निर्माणमा सहयोग पु¥याउँछ ।  
पछिल्लो चरणमा यस्ता पर्व उत्सव भड्किलो र खर्चिलो बनाउँदा यसले अनियमितता र भ्रष्टाचारलाई मलजल पुगिरहेको छ ।  अनैतिक र अनियमित तवरले सम्पत्ति आर्जन गर्नेका लागि खर्च गर्ने अवसर यिनै चाडवाड हुने गरेका छन् ।  हाम्रो समाज पनि त्यस्तै छ– अरूले घोडा चड्यो भनेर आफू धुरी चढ्न जाने ।  यस किसिमको अनावश्यक प्रतिस्पर्धाले समाजलाई असन्तोषी र दुःखी तुल्याएको छ ।  घाँटी हेरी हाड निल्नु भन्ने मान्यताअनुसार आफ्नो औकातले धान्ने किसिमले पर्व मान्ने मनाउने गरेमा सबै खुसी र सन्तुष्ट हुने अवस्था रहन्छ ।  कसले कत्रो खसी किन्यो ? कसले कहाँ बजार ग¥यो ? दक्षिणा कति दियो वा कसले कति खर्च ग¥यो भन्ने दाँजेर सद्भावपूर्ण रूपमा मनाइने पर्वलाई कमजोर बनाउने काम भइरहेको छ ।  सद्भावपूर्ण पर्वको महŒव र विशेषतालाई बुझेर मनाउने संस्कार र संस्कृतिको विकास गराउनुपर्छ ।  निश्चय पनि यी कुरालाई मनन गरियो भने त्यसले समाजमा खुसी र उमङ्ग ल्याउने मात्र होइन, जीवन्तता पनि पाउन सक्छ ।  
अहिले हरेक कार्य त्यसको मर्म र भावना अनुरूपभन्दा पनि देखासिकीबाट हुने गरेका छन् ।  यसको प्रभाव सहरी क्षेत्रमा बढी नै देखिनथालेको छ ।  प्रायः सहर बजारमा यस्ता पर्व उत्सव भावना र सद्भावमाभन्दा पनि कृत्रिमता र देखासिकीमा हुनथालेका छन् ।  यस्ता कार्यले अपनत्व कायम गर्न सक्दैन ।  हाँसीखुसी मान्ने मनाउने अवस्थाले नै समाजलाई खुसी र आनन्दी तुल्याउने मात्र होइन, समाजलाई सकारात्मक दिशामा अगाडि बढाउनमा समेत सहयोग पुग्छ ।  चाडवाडका नाममा फजुल खर्च गर्ने प्रवृत्तिलाई नियन्त्रण गर्ने कार्यमा समाजका अगुवा पनि लाग्नुपर्छ ।  यस्ता पर्व सबैले सधैँ मनाउन सक्ने अवस्था निर्माण गर्नुपर्छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना