खर्च कटौतीले संसद्मा मासिक ५६ लाख बचत

नारायण काफ्ले

काठमाडौँ, असोज १९ गते ।  खर्च कटौती योजना लागू भएपछि संसद्को प्रशासनिक खर्च मासिक ५६ लाख रुपियाँ कम भएको छ ।  कर्मचारी, सांसद र अन्य उपस्थितलाई समेत दिइँदै आएको खाना कुपन, चिया तथा खाजा व्यवस्थापन कटौती भएपछि सचिवालयको मासिक खर्च ५६ लाख ३७ हजार ९९० रुपियाँ बचत भएको हो ।
संसद्मा खाना र खाजाको कुपन दुरुपयोग भएको भन्दै सांसदहरूलाई बैठक बसेको दिनमा खानाको पैसा बैङ्कमा उपलब्ध गराउने निर्णय भएको थियो ।  प्रमुख राजनीतिक दलहरूसँगको परामर्शमा सभामुख ओनसरी घर्तीले साउन ३२ गते खाना, खाजा, तथा चियामा हुने खर्च समेत कटौती गर्ने निर्णय गर्नुभएको थियो ।  
संसद् सचिवालयले सार्वजनिक गरेको मासिक खर्च विवरण अनुसार खर्च कटौतीपछि भदौ महिनामा सचिवालयको खर्च सात लाख ६२ हजार ४८३ रुपियाँ भएको छ ।  अघिल्लो वर्ष भदौ महिनामा सचिवालयको खर्च ६४ लाख ४७३ रहेको थियो ।  अघिल्लो वर्षको भदौ महिनाको तुलनामा सचिवालयको मासिक खर्च ५६ लाख ३७ हजार ९९० रुपियाँ बचत भएको हो ।  सभामुख ओनसरी घर्तीका प्रेस सल्लाहकार बबिन शर्माले सभामुखको अग्रसरतामा खर्च कटौतीका लागि भएको प्रयास अनुसार सचिवालयको प्रशासनिक खर्च कटौती भएको बताउनुभयो ।  
सचिवालयको विवरणअनुसार भदौमा संसदीय समितिमा दुई लाख ४५ हजार ८०० रुपियाँ बैठक सञ्चालनको खर्च भएको छ ।  यस्तै दलहरूको संसदीय दल व्यवस्थापन खर्च भदौमा चार लाख ८८ हजार ६६६ भएको छ ।  सचिवालयतर्फ भदौमा २८ हजार १७ रुपियाँ खर्च भएको छ ।  bachat
सबैभन्दा बढी खर्च कटौती समितिको भएको छ ।  अघिल्लो वर्ष भदौ महिनामा समितिको खर्च ५८ लाख ९७ हजार ४६२ थियो ।  खर्च कटौती लागू भएपछिको पहिलो महिनामा दुई लाख ४५ हजार ८०० रुपियाँ बैठक सञ्चालनको खर्च भएको हो ।  समितिको बैठक खर्च ५५ लाख ५१ हजारले कमी भएको छ ।  यस्तै अघिल्लो वर्ष भदौमा संसदीय दल व्यवस्थापन खर्च पाँच लाख ६९ हजार ५९५ खर्च भएको छ ।  सचिवालयको तर्फको खर्च भने अघिल्लो वर्षपछि ३३ हजार ४१३ थियो ।
सभामुखको निर्देशनपछि संसदीय समितिले चियाका लागि सेल्फ सर्भिसको व्यवस्था सुरु गरिसकेका छन् ।  ५९५ सांसद कायम रहेको सभामा एकै दिनको खानाको कुपन ३७ सयसम्म वितरण भएको तथ्य पाइएपछि कुपन प्रणाली बन्द भएको थियो ।  कुपन प्रणाली बन्द भएसँगै सांसदहरूलाई संसद् र संसदीय समिति बैठकमा उपस्थिति जनाएअनुसार भत्ता र खाना खाजाको रकम बैङ्कमार्फत नै उपलब्ध गराइएको छ ।  सांसदले खाना खर्च बापत प्रतिबैठक चार सय रुपियाँ पाउने गरेका छन् ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना