असदको सत्ता सिरियाका लागि अभिशाप

Ram prashadरामप्रसाद आचार्य  

 

सिरिया इतिहासकै सबैभन्दा सङ्कटपूर्ण अवस्थामा पुगेको छ ।  विदेशी शक्ति केन्द्रको खेल मैदान बनेको यो मुलुकमा शान्तिको आशा समाप्त भई फेरि भीषण युद्ध सुरु भएको छ ।  अमेरिका र रुसको पहलमा भएको पछिल्लो युद्धविराम एक साता पनि टिक्न सकेन ।
युद्धविराम भङ्ग भएको एक सातामै ५०० भन्दा सर्वसाधारण हवाई आक्रमणमा मारिए ।  सिरियाको प्रमुख औद्योगिक तथा व्यापारिक सहर अलेप्पोको सबैभन्दा ठूलो अस्पतालसमेत सुरक्षित भएन ।  अस्पतालमा हवाई आक्रमण हुँदा बिरामी र चिकित्सक मारिए, धेरै घाइते भए, अस्पताल क्षतिग्रस्त भएको छ ।  त्यहाँ कहीँकतै मानवीय समवेदना देखिएन ।  
युद्धविरामको पालना सरकारी पक्ष र विपक्षी दुवैबाट भएन ।  युद्धमा फसेका स्थानीय बासिन्दालाई राहत सामग्री पु¥याउन गरिएको युद्धविराम बीचमै भङ्ग भयो ।  युद्ध पीडितका लागि सहायता सामग्री बोकेका गाडी र सहायताकर्मी नै हवाई आक्रमणको शिकार बने ।  यो घटनासँगै संयुक्त राष्ट्रसङ्घले असुरक्षाका कारण देखाइ मानवीय सहायता कार्यक्रम नै स्थगित गरी सहायताकर्मीलाई फिर्ता बोलाएको छ ।  युद्ध पीडित एकातिर हवाई आक्रमण र गोलाबारीको शिकार भइरहेका छन् भने अर्कातिर भोकमरीले खान नपाएर मरिरहेका छन् ।  अलेप्पोलगायतका सहर तथा ग्रामीण बस्तीको जनजीवन तहसनहस भएको छ ।  त्यहाँ चरम मानवीय सङ्कट उत्पन्न भएको छ ।  मानवीय सहायता सामग्री, सहायताकर्मी तथा अधिकारकर्मी कोही पनि त्यहाँ जान सकेका छैनन्, जसले गर्दा त्यहाँ मानवताविरोधी गतिविधिले सीमा नाघेको छ ।  
चरम सत्तामोहमा फसेको निरङ्कुश सिरियाली नेतृत्वको हठका कारण अहिले मुलुक आन्तरिक र बाह्य दुवै आक्रमणको निशाना बनेको छ ।  यही कमजोरी अवस्थाको मौका छोपी सुन्नी इस्लामिक विद्रोही समूह ‘आईएस स्टेट’ ले सरिया कानुनसहितको चरम इस्लामिक राज्य बनाउने भन्दै पछिल्ला दिनमा त्यहाँ थप हिंसात्मक गतिविधि बढाउनुका साथै केही सहर र ग्रामीण बस्ती कब्जा जमाएर जनतालाई आतङ्कित बनाएको छ ।  सिरियाका लागि यो अर्को खतराको विषय बनेको छ ।  यस्तो स्थितिमा सिरियाली नेतृत्व मुलुक र जनता बचाउनतर्फ लागेन ।  सरकारले आईएस स्टेटको आतङ्क रोक्न पहल गर्नुपर्नेमा चासो देखाएको छैन ।  नेतृत्वलाई आईएस स्टेटको आतङ्कभन्दा पनि आफ्नो सत्ता कसरी टिकाउने भन्ने चिन्ता छ ।  
राष्ट्रपति हटाउने भन्दै साढे पाँच वर्षअघि सुरु भएको आन्दोलन चरम हिंसात्मक बनेको छ ।  मुलुक नै गृहयुद्धमा होमिँदा पनि राष्ट्रपति बसर अल असदको सत्तामोह कत्ति पनि कमी आएको छैन ।  आन्दोलनकारीलाई राष्ट्रविरोध तŒव र आतङ्कवादीको संज्ञा दिएर चरम सैनिक दमन गरेका असदलाई मुलुक रगतको आहालमा डुब्दा पनि सत्तामोहमा कुनै कमी नआउनु रहस्यको विषय बनेको छ ।  
सरकारको चरम दमनबाट आजित आन्दोलनकारी चाहिँ विदेशी सैन्य हस्तक्षेप गराएर भए पनि असदको सत्ता जसरी पनि ढाल्ने निष्कर्षमा पुगी विदेशी हस्तक्षेपलाई आह्वान गरिरहेका छन् ।  दुवै पक्ष एकले अर्कालाई सिध्याउने षड्यन्त्रमा लागेका छन् ।  अहिले दुवै पक्ष हार न जितको अवस्थामा छन् ।  समस्याको राजनीतिक निकासका लागि दुवै पक्ष गम्भीर बनेका छैनन् ।  
विगत साढे पाँच वर्षदेखि जारी सिरियाको हिंसात्मक आन्दोलन सफल हुने लक्षण देखिएको छैन ।  यो आन्दोलन यति लामो समय लम्बिएला भन्ने धेरैलाई लागेको थिएन ।  अरब क्रान्तिबाट उत्साहित भएर सन् २०११ को मार्चदेखि सिरियाली विपक्षी दलहरूले निरङ्कुश राष्ट्रपति असदलाई सत्ताबाट हटाएर मुलुकमा समावेशी लोकतान्त्रिक शासन व्यवस्था गरी शान्ति कायम गर्ने सपना बोकेर आन्दोेलन थालेका हुन् तर असदको सत्ता ट्युनेसिया, इजिप्ट, लिविया र यमनमा जस्तो गरी छिटो ढाल्न सकिएन र ढलेन ।  विपक्षीले चलाएको लोकतान्त्रिक आन्दोलन कमजोर बन्दै गएपछि पश्चिमी मुलुकले हतियार र डलर सहयोग गरिरहेका छन् ।  सरकारी पक्ष चरम दमनमा उत्रेपछि बाध्य भएर विपक्षीले पनि हतियार उठाए ।  दुवै पक्षले हतियार चलाउन थालेपछि जनआन्दोलन भीषण गृहयुद्धमा परिणत भयो, जसले गर्दा यो अवधिमा करिब तीन लाख मानिसको ज्यान गुमाइसकेका छन् भने लाखौँ घाइते भएका छन् ।  ४८ लाखभन्दा बढी मानिस ज्यान जोगाउन विस्थापित भई छिमेकी मुलुकमा शरण लिइरहेका छन् भने ६५ लाखभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित भएका छन् ।  शरणार्थी र विस्थापित हुनेमा आधाभन्दा धेरै बालबालिका महिला र वृद्धवृद्धा छन् ।  उनीहरूको अवस्था अत्यन्तै दयनीय बनेको छ ।  युद्धमा अर्बौं डलरको भौतिक क्षतिसमेत भएको छ तर पनि अहिलेसम्म गृद्धयुद्ध रोकिने कुनै सङ्केत देखिएको छैन ।  मुलुक चरम अराजकतामा गएको मौका छोपी आईएस स्टेटले अर्को आतङ्क मच्चाइरहेको छ, जसले गर्दा सिरियाको अस्तित्व नै सङ्कटमा पर्ने अवस्था उत्पन्न भएको छ ।
सिरियाली सङ्कट समाधान गर्न यसअघि संयुक्त राष्ट्रसङ्घ र अरब लिगले मध्यस्थताका लागि पटक–पटक प्रयास गरे तर सफलता मिलेन ।  आफूविरुद्धको आन्दोलनले यतिधेरै जनधनको क्षति पुगिसक्दा पनि र सारा विश्व समुदायले विरोध गर्दा पनि कुनै पनि हालतमा पनि सत्ता नछाड्ने असदको अडानले सबैलाई चिन्तित बनाएको छ ।  सरकार र आन्दोलनकारीबीचको वार्ता सफल नहुनु र दुवै पक्ष आआफ्नो अडानबाट कत्ति पनि लचक नहुनुले समस्या झन् बल्झिँदै गएको छ ।  सरकारले सैन्यशक्ति लगाएर व्यापक दमन गर्दागर्दै पनि आन्दोलन रोकिएको छैन ।  आन्दोलनकारीविरुद्ध रासायनिक हतियारले समेत आक्रमण गरी नरसंहार गरेपछि असदको झन् चर्को विरोध भएको छ ।  
आन्दोलनले सत्ता परिवर्तन गर्न नसक्दा सरकार झन् बढी दमनमा उत्रेको छ ।  सरकारले आन्दोलनकारीका माग सम्बोधन गर्नुको सट्टा आन्दोलन दबाउन सम्पूर्ण राज्यशक्तिको चरम दुरूपयोग गरेको छ ।  जसरी पनि आन्दोलन दबाएर छाड्ने भन्दै असदले सेनालाई आन्दोलन दबाउन पूर्ण अधिकार दिएकाले सैनिक दमनले पनि चर्को रूप लिएको हो ।  
पैतृक विरासतमा सन् २००० देखि सत्तामा आएका असदको निरङ्कुश सत्ताले जनताको लोकतान्त्रिक परिवर्तनको भावना र चाहनालाई बेवास्ता गर्दै आएको छ ।  आन्दोलनको दबाबले कुनै हालतमा पनि सत्ता नछाड्ने असदको जिद्दी नै अहिलेसम्मको विनाशका लागि प्रमुख कारण बनेको छ ।  लोकतन्त्रका लागि आन्दोलनमा होमिएका सिरियालीका लागि यो अत्यन्तै पीडादायक र दुःखद घटना बनेको छ ।  
कुनै पनि शासकले जनतालाई लोकतान्त्रिक अधिकार नदिनु भनेको अन्ततः आफ्नै खुट्टामा वञ्चरो हान्नु हो ।  यो कुरालाई आत्मसात् गरी जारी गृहयुद्ध समाप्त गरी थप हिंसा र विध्वंश हुनबाट मुलुकलाई जोगाउन हो भने असदले आन्दोलनकारीको माग सम्बोधन गर्न जरुरी छ ।  सरकार र आन्दोलनरत दुवै पक्षले युद्ध रोकी शान्तिवार्ता गरी समस्याको उचित समाधान निकाल्नुको विकल्प छैन ।  
सिरियाली नेतृत्वको अतिवादले गर्दा नै अहिले मुलुकको थुप्रै भूभाग आईएस स्टेटको नियन्त्रणमा गएको छ ।  आईएस स्टेटलाई समाप्त नपार्ने हो भने यसले सिरियालाई त तहसनहस बनाउँछ नै क्षेत्रीय शान्ति र सुरक्षा समेत खलबलिने अवस्था आउने छ ।  त्यसैले आईएस स्टेटको आतङ्क समाप्त पार्न सबै मिलेर काम गर्नुको विकल्प छैन ।  आतङ्कवादलाई सबै मिलेर समाप्त नपार्ने हो भने कोही पनि सुरक्षित हुन सकिँदैन ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना