दक्षिण एसियामाथि कालो बादल

pradip nepalप्रदीप नेपाल

 

भारत, केन्द्रमा छ दक्षिण एसियामा ।  दक्षिण एसियाली राजनीतिमा पनि भारत केन्द्रमै छ ।  यसमा कसैले गुनासो गर्नुको कुनै अर्थ हुँदैन ।  दुुईटा तìव छन् भारत केन्द्र हुनुमा ।  एउटा त्यसको अवस्थिति ।  अर्को त्यसको तागत ।  वरिपरिका साना राष्ट्रहरूबाट घेरिएको छ भारत ।  त्यसैले त्यो मध्यविन्दु हुन पुगेको हो ।  त्यसकोे सामरिक शक्तिलाई चुनौती दिने अर्को कुनै राष्ट्र दक्षिण एसियामा छैन ।  दुबै हिसाबले दक्षिण एसियाको केन्द्र भएपछि भारत राम्रो हुँदा छिमेकी मुलुकलाई पनि राम्रो हुन्छ ।  त्यो नराम्रो भयो भने छिमेकी मुलुक र तिनका नागरिकले पनि चिताइनसक्नुको दुःख पाउँछन् ।  यति कुरा बुझ्ने राजनेता रहेनछन् भारतमा ।  त्यसैले त्यो अहिले नराम्रो भएको छ र भारत नराम्रो भएको हुनाले नै अहिले दक्षिण एसियामा अविश्वास, तनाव र झगडा बढेको छ ।  भारतकै कारण यतिबेला दक्षिण एसियामा शान्ति समाप्त भएको छ ।
हुनत जन्मेदेखि नै भारत कसैको हितार्थी रहेन ।  इष्ट इण्डिया कम्पनीको चेत अहिले पनि भारतीय नेताहरूभित्र चलखेल गरिरहेको छ ।  ‘जीन’ भन्ने कुरो आमा वा बाबुबाट तल ओर्लिंदै जाने मात्रै होइन रहेछ ।  त्यो सामाजिक चेतनासँग पनि सँगसँगै ओरालो झर्दो रहेछ ।  इष्ट इण्डिया कम्पनीका साहुहरूको जस्तै छ बहुसङ्ख्यक भारतीय नेताको चेतना पनि ।  आपूmले जित्नै पर्ने र अरुले हार्नै पर्ने ।  नभन्दै कम्पनीका साहुहरूले जिते र भारतलाई बेलायती सिंहासन मातहतको सबैभन्दा ठूलो राज्य बनाइदिए ।  बेलायती गभर्नर जनरलको पालामा भारतको नक्सामा पाकिस्तान र बङ्गलादेश समेत समाहित  थिए ।  बर्मासहितका उत्तरपूर्वी भारतका साना राज्य पनि थिए, कहिल्यै सूर्य अस्त नहुने बेलायती साम्राज्यको नक्सामा ।  बेलायतीहरू आगो थिए नेपालसँग ।  किनभने नेपालले सधैँ आफ्नो स्वतन्त्रतालाई सुरक्षित राखिरह्यो ।  पटक पटक दक्षिणको आक्रमण र धोका खेप्यो तर नेपालले दक्षिणका सामु कहिल्यै शीर निहुराएन ।  बेलायतले ठान्यो– नेपाल, कहिल्यै सूर्य नअस्ताउने हाम्रो विशाल साम्राज्यको ग्रहण हो ।  नेपालको स्वतन्त्रतालाई आफ्नो ग्रहण सोच्ने ‘जीन’ अहिलेको भारतका बहुसङ्ख्यक नेतामा पनि छ ।  
तर भारतीय नेताले एउटा सच्चाइ बोध गर्न सकेका छैनन् ।  दोस्रो विश्वयुद्धपछि विश्व राजनीतिमा बेलायतको शाख घट्न थाल्यो ।  स्वतन्त्रता आन्दोलन र मुक्ति युद्ध, लहर जसरी उठ्न थाल्यो ।  बाठो बेलायती सिंहासनले अब भारत छोड्नु पर्छ भन्ने सत्य स्वीकार गर्न थाल्यो ।  तर ऊ अविभाजित भारतको पक्षमा थिएन ।  ऊ भारतलाई चिराचिरा पार्ने र त्यो विभाजनलाई कहिल्यै नमेटिने घाउ बनाउन चाहन्थ्यो ।  धर्म र जात थिए बेलायती गभर्नर जनरलको झोलामा ।  प्रतिनिधि पात्र पनि उनीसँगै उभिएका थिए ।  हिन्दू भारतका लागि काश्मिरी शरीर र बेलायती दिमाग बोकेका पण्डित जवाहरलाल नेहरू अनि मुस्लिम पाकिस्तानका लागि जवाहरलालसँग बुद्धिमा प्रतिस्पर्धा गर्ने महमद अलि जिन्ना ।  एउटाको नाम भयो हिन्दुस्तान र अर्कोको नाम रह्यो पाकिस्तान ।  नामकै हिसाबले पनि हिन्दुस्तान र पाकिस्तान झगडिया भए ।  बेलायती साम्राज्यवादको अन्तिम इच्छा पूरा भयो ।  दक्षिण एसियामा त्यसले स्थायी विवादको विषवृक्ष रोपेर गयो ।  भारतका अधिकांश नेताहरू यो सत्य स्वीकार्न चाहँदैनन् ।  धेरैले यसलाई बुझ्दा पनि बुझ्दैनन् ।  भारतको स्वाधीनता महात्मा गान्धीको अहिंसाबाट प्राप्त भएको होइन ।  उहाँको सपनाको स्वाधीनतामाथि आक्रमण गरेर भएको हो ।  त्यसैले उहाँ १९४७ मा भारत स्वाधीन भएको भव्य कार्यक्रमलाई तिरस्कार गरेर नोआखलीका झुप्राहरूमा शोक मनाइरहनुभएको थियो ।  
त्यो विषवृक्षले पाकिस्तान, बङ्गलादेश, नागाल्याण्ड, मिजोरम, मणिपुर जस्ता पूर्वोत्तर भारतीय राज्यलाई दुःख दिने कुरो स्वभाविक थियो ।  किनभने १९४७ अगाडि तिनीहरूको केन्द्र एउटै थियो बेलायतको बकिङ्घम दरबार ।  बेलायतले छिन्नभिन्न पारेका मुलुकसित रिस उठ्ने, त्यहाँका जनतालाई दुःख दिने कुरो त दिल्लीका शासकका लागि स्वाभाविक नै भयो होला ।  तर भारतले नेपाललाई पनि साह्रै सास्ती दियो पहिलेको बेलायती उपनिवेशवादी सरकारले दिए सरह ।  किन ?
किनभने दिल्लीमा अहिले पनि भायसरायको भूत जीवित छ ।  फरक के छ भने गभर्नर जनरलको जीन अहिले राष्ट्रपति होइन प्रधानमन्त्रीको टाउकोमा सुतिरहेको छ ।
भारतका सबै शासक उस्तै हुन् ।  कुरो खुल्नु र नखुल्नु अर्को कुरा हो ।  जवाहरलाल नेहरूले महात्मा गान्धीलाई तिरस्कार गरेर बेलायतले अनुग्रहपूर्वक दिएको विभाजित भारत स्वीकार गर्नुभयोे ।  लगत्तै भारत पाकिस्तानबीच युद्ध भयो ।  युद्धले समस्या समाधान गरेन ।  फेरि पनि युद्ध भयो ।  इन्दिरा गान्धीको अगुवाइमा भएको त्यो युद्धले पाकिस्तानलाई टुक्य्राएर नयाँ राष्ट्र बङ्गलादेश बनायो ।  तर त्यो युद्धले पनि समस्याको टुङ्गो लगाउन सकेन ।  त्यसैले अहिले फेरि युद्धजनित वातावरण बन्दैछ ।  भारत पाकिस्तान दुबै सामरिक सम्झौता गरिरहेका छन् विश्वका बलिया राष्ट्रहरूसँग ।  सिमानामा अस्त्रहरू जम्मा गरिँदैछन् ।  रात्रिकालीन अभ्यास भनेर रातमा आकाशमा जेटहरू उड्न थालेका छन् ।
हुनत मोदी सरकारको स्थापना पश्चात् भारतको सबै छिमेकीसँग सम्बन्ध बिग्रिएको छ ।  हामी नेपाली कँुंडिएर बसेका छौं ।  असी प्रतिशत नेपाली मनमनै भारतलाई सरापिरहेका छन् ।  पाकिस्तानसँगको सम्बन्ध युद्ध होला कि होला किको अवस्थामा छ ।  भारतभित्रै असहिष्णुता, घृणा र तिक्तता बढेको छ ।  मोदी सरकार आएपछि नागरिकको बोल्ने, लेख्ने हक कुण्ठित भएको छ ।  संसारको सबैभन्दा ठूलो प्रजातान्त्रिक मुलुक भनी दाबी गर्ने भारतमा जनताले प्राप्त गर्ने हकहरू हाम्रा नागरिकले पाएभन्दा कम छन् ।  हाम्रो चाहिँ पर्याप्त छ भन्न खोजेको होइन मैले ।  हाम्रो जति पनि नहुनु भनेको एकप्रकारले हुँदै नहुनु हो ।
पाकिस्तानको बारेमा केही लेख्तिनँ ।  किनभने दक्षिण एसियामै भए पनि मेरा लागि पाकिस्तान निकै टाढा छ ।  आपूmलाई पाकिस्तानले इस्लामिक राष्ट्र घोषणा गरेको हुनाले, त्यसको संविधान र कानुनहरू पनि इस्लामिक राष्ट्र अनुकूल नै होलान् ।  इस्लामिक कानुनको सबैभन्दा नराम्रो पक्ष ‘फतवा’ हो मेरा लागि जसले साहित्यकारलाई स्वतन्त्र लेखनको अधिकार समेत दिँदैन ।  लेखकलाई समेत स्वतन्त्रताको हक नदिने इस्लामिक कानुनले नागरिकलाई स्वतन्त्रताको अधिकार देला भन्न सकिने ठाउँ कतै भेटिँदैन ।
भारतमा नरेन्द्र मोदी शासनारुढ भएपछि दिल्लीको चिन्तन पाकिस्तानको जस्तै भएको छ ।  भारतको हिन्दू अतिवादले अहिले पाकिस्तानको इस्लामलाई युद्धको चुनौति दिएको छ ।  दुबै मुलुक आआफ्नो देशमा परमाणु हतियारको उपस्थिति बढेकोमा खुसी छन् ।  भारत पाकिस्तानको विनाश चाहन्छ भने पाकिस्तान पनि भारतलाई एकपटक पराजयको टक्कर दिन चाहन्छ ।  भारत अहिले अमेरिकाको पोल्टामा छ भने पाकिस्तानको आँखा चीनतिर फर्किएको छ ।  
युद्ध भइहाल्छ– यो त म भन्दिनँ तर हामी शान्तिप्रिय नेपाली पनि युद्धको त्रासदीबाट जन्मिने तनावमा बाँच्न बाध्य भएका छौँ ।  भारत र पाकिस्तानबीचको वर्तमान तानातान हानाहानमा पुग्यो भने सबैभन्दा ठूलो जैविक नोक्सानी नेपालले नै बेहोर्नु पर्नेछ ।  किनभने भारत–पाकिस्तानबीच
अहिलेसम्म भएका लडाइँमा अग्रपङ्क्तिको मोर्चामा डट्ने गोर्खाली सेना नै भइआएका छन् र भोलि पनि पहिलो हमलामा नेपालीले नै मारिनु पर्नेछ ।  सन्धिमा त भनिएको छ रे– बेलायत र भारतले, नेपालका मित्रराष्ट्रसँगको युद्धमा गोरखाली सेना प्रयोग गर्न पाउने छैनन् ।  तर भारतले कहिले पो सन्धि सम्झौताका नैतिक बन्धनलाई स्वीकार गरेको छ र ?
यस्तो जटिल परिस्थितिमा नेपालका पछिल्ला प्रधानमन्त्री पुष्पकमल दाहालले जस्तो संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेर आउनुभयो, त्यो आपत्तिजनक मात्र होइन, नेपाल र सिङ्गो दक्षिण एसियाका लागि विनाशकारी पनि छ ।  भारत पाकिस्तान बीच युद्ध भयो भने गोरखाली सेना प्रयोग गरिने छैन भनेर लेखिनु पर्ने दस्तावेजमा, दाहालजीले अन्तर्राष्ट्रिय मुद्दाहरूमा हामी सधैँ भारतको साथ रहने छौं भनेर आफ्नै भाइबन्धुको मृृत्युपत्रमा अग्रिम हस्ताक्षर बुझाएर आउनु भएको छ ।
दाहालजी धेरै अध्ययन पनि गरिरहनु परोइन ।  भर्खरै निस्किएको छ हरिहर बिरहीको आत्मकथा ।  त्यो पनि सबै पढिरहनु पर्दैन ।  बिरहीले उद्दरणको अनुमति पनि दिनुभएको रहेनछ ।  त्यसैले मैले फेसबुकमा टाँसिएको विज्ञापनलाई मात्र यहाँ टाँसेको छु– भारतले सिक्किम कब्जा गरेपछि सिक्किममा गणतन्त्रको आन्दोलन चलाउने नरबहादुर खतिवडाले बीपी कोइरालालाई भनेका रहेछन्– मेरो एउटा अनुरोध छ, भारतीयहरूको कुरा नपत्याउनु होला, यिनले हजुरलाई पनि धोका दिनेछन् ।  भारत त ब्वाँसो पो रहेछ ।  सिक्किम त खाए भने मौका परे नेपाल झन् किन छोड्थे ! हजुरहरू होसियार हुनु होला ।  म यही भन्न आएको हुँ । ’



थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना