खसी जोखेर बेच्दा किसानलाई धेरै नाफा




रत्ननगर (चितवन), असोज २० गते । चितवनको विकट गाविस चन्डिभञ्याङ–६ रहिबुङकी दीपा चेपाङले दुई वर्ष अघिको दसैँमा एउटा खसीलाई हचुवामा बेच्नुभयो ।

व्यापारीले भाउ कसे । उहाँलाई पनि पैसाको खाँचो थियो र रु सात हजारमा बेच्न बाध्य हुनुभयो । व्यापारीले त्यही खसी रु चार हजार नाफा गरेर रु ११ हजारमा बेच्यो ।

त्यति नै समयको र उत्रै खसीलाई पोहर साल उही मूल्यमा जोखेर बेच्दा रु नौ हजार आयो । “हचुवामा बेच्दा किसान मर्ने रहेछ,” दीपाले आफ्नो विगत सम्झँदै भन्नुभयो – “अब त मरे पनि हचुवामा बेच्दिनँ ।”

गाउँमा हचुवामा किन्न व्यापारी यसपालि पनि नआएका होइनन् तर उहाँले यसपालि दसैँको मुखमा आफ्नो घरमा भएका २१ वटा खसी गाउँबाट झारेर राजमार्गस्थित कालीखोला ल्याउनुभयो ।

त्यहीँ व्यापारी आए । अनि जोखेर किलोका हिसाबले खसी लिएर गए । “श्रमको मूल्य पाएपछि ढुक्कै,” दीपाले हर्षित हुँदै भन्नुभयो, “अब अरु किसानलाई पनि हचुवामा खसी नदिनुस् भन्छु ।”

गाउँघरमा पालिने कुनै पनि वस्तुमा श्रम लगानी बढी हुन्छ । अतिरिक्त मूल्य तथा श्रमको मूल्य समेत बाहिर जान पाउँदैन । आफैँ मालिक आफैँ श्रमिक भएपछि किसानलाई जोखेर बेच्दा केही न केही फाइदै हुन्छ ।

गाउँका किसान सोझा हुन्छन् । उनीहरुको दसैँको गर्जाे टार्न त्यही खसी बेच्नुपर्छ । बिकेन भने दसैँ मान्न पाइँदैन । अनि सस्तोमा भने पनि दिनुपर्ने बाध्यता हुन्छ ।

हचुवामा भन्दा जोखेर बेच्दा कम्तीमा रु दुई हजारदेखि दुई ५ सयसम्म एउटै फाइदा हुने दीपाको अनुभव छ । दीपाले पोहरसाल आठ क्विन्टलको २४ वटा खसी बेचेर रु तीन लाख १५ हजार कमाउनुभयो । यसपालि अलि साना २१ वटा खसीको रु दुई लाख बढी पैसा लिनुभयो ।

उहाँकै भनाइमा लागेर मङ्गलबार चितवनको नारायणगढ मुग्लिन सडकखण्डमा पर्ने कालीखोलामा दसैँको चार वटा जखमले खसी डो¥याउँदै चन्डिभञ्याङ–६ आदमाराका कुमार चेपाङ आउनुभयो । “करिब रु २०÷२२ हजार लाग्या’थ्यो, अहिले झन्डै रु ४५ हजार आयो,” कुमारले खुसी व्यक्त गर्नुभयो ।

हचुवामा नदिई उहाँले जोखेरै खसी पठाउनुभयो । कुमार घरमा २० वटा भएकामध्ये १० वटा खसी अर्काे दसैँका लागि तयार पार्दै हुनुहुन्छ ।

“हेफर इन्टरनेसनल र दियालो परिवारले दुई बाख्रा दिएपछि खसीबाख्रा पालेको हूँ, राम्रै भयो,” कुमारले भन्नुभयो – “बजार समेत उहाँहरुले नै मिलाइदिनु भयो, हामी चेपाङलाई ठूलो गुन भो ।”

किसानको जागिर भनेकै खसीबाख्रापालन भएको बताउने कुमार भन्नुहुन्छ, “जोखेर मालअनुसार पैसा पाउँदा खुसी छु ।”

गाउँका विपन्न चेपाङसहित गुरुङ, तामाङलाई अहिले एकत्रित गराएर यहाँ सहकारी स्थापना गरिएको छ । आठसय घरधुरीमध्ये झन्डै ६०० जना सहकारीमा आएका छन् । उनीहरुमध्ये अधिकांशले बाख्रापालन थालेका छन् ।

उनीहरुसँग बुनु चेपाङ रु ७० हजार कमाउने योजनाका साथ छ वटा खसी लिएर बजार आउनुभएको छ । विपन्न गोरीमायाँ एउटा खसी च्यापेर बजार आइपुग्नुभयो । गनमायाँ गुरुङ तीन वटा खसी बेचेर दसैँको जोहो गर्दै हुनुहुन्छ । हचुवामा नभई जोखेर उहाँहरुले खसी दिनुभयो ।

सहकारीमार्फत नै मूल्य निर्धारण गरी तौलेर मात्रै खसी बेच्ने व्यवस्था यहाँ मिलाइएको चन्डिभञ्याङ सामाजिक उद्यमी महिला सहकारी संस्थाकी अध्यक्ष रश्मी गुरुङ बताउनुहुन्छ । उहाँका अनुसार गाविसमा एक हजार ६०० बाख्रापालक छन् ।

त्यसमध्ये यसपालि दसैँमा ८०० खसी बिक्रीका लागि तयार छन् । अहिलेसम्म सहकारीमार्फत २५६ वटा खसी बेचेर गाउँले किसानले रु २३ लाख ७६ हजार आम्दानी गरेको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । व्यापारीमार्फत किलोको रु पाँच सहकारीले लिन्छ । किसानलाई कति पनि शुल्क नलाग्ने भएकाले यहाँका किसानले श्रमको शतप्रतिशत मूल्य पाएका छन् ।

पहाडी क्षेत्रका खसी चिल्ला, रसिला र कसिला हुन्छन् । अन्न कम खाने र घाँसमा आधारित पशुपालन हुने हुँदा बोसो पनि कम हुन्छ । पुष्ट हुने र चिसो ठाउँमा रहेकाले रोग पनि कम लाग्छ ।

यस्तै खसी व्यापारीले मन पराउँछ । लैजाँदा पनि नघट्ने र मासु पनि मिठो हुने भएकाले सहरका खसीभन्दा गाउँका खसी मनपराउने गरेको व्यापारी कविराज गुरुङको भनाइ छ ।

खसी किन्न कालीखोला आइपुगेका व्यापारी राजकुमार गुरुङले दुई समूहमा खसी उठाएको बताउनुभयो । उहाँका अनुसार हचुवामा किन्दा व्यापारीलाई बढी फाइदा हुन्छ । भुँडी बढी छ, दुब्लो छ, रोगी छ भन्दा केही सस्तोमा पाइन्थो, किलो जोखेर किन्दा सबै जोख्नुपर्ने भएकाले कम फाइदा हुने राजकुमारको अनुभव छ ।

यहाँ बढीमा ३७० प्रतिकिलो किनेको खसी काठमाडौँमा आफूले रु ४२५ सम्ममा बिक्री गरेको अर्का व्यापारी कविराज गुरुङले बताउनुभयो ।

चितवनको सिद्धी, कोराक, शक्तिखोर, कविलासलगायत क्षेत्रका बाख्रापालक किसान समेत अहिले सचेत हुन थालेका छन् । विपन्न परिवार दसैँमा ज्याला मजदुरी गर्ने र ऋणमा दसैँ मान्नेमा समेत बाख्रापालनले परिवर्तन ल्याइदिएको छ ।

चालिसदेखि ८० वटासम्म बाख्रापालन गर्दै आएका सिद्धिका विविमायाँ चेपाङ, इन्द्रमायाँ चेपाङ, जैमायाँ चेपाङ पनि हचुवामा खसी बिक्री बन्द गरेर श्रमको उचित मूल्य लिन थालेका छन् । जैमायाँले यसपालि खसी मात्रै १९ वटा जोखेरै बेच्नुभयो ।

यसपालिको दसैँमा यहाँ प्रतिकिलो २३० देखि २०७ सम्ममा खसी बिक्री हुँदै आएको किसानकी सहयोगी सुनिता शेर्पा बताउनुहुन्छ ।

कृषिविज्ञ तथा हेफरका राष्ट्रिय निर्देशक डा शुभनारायण महतो यसैगरी बाख्रापालन फस्टाउने हो भने नेपाल सरकारको खसीबोका आयात प्रतिस्थापन गर्ने योजना केही वर्षमा सफल हुने बताउनुहुन्छ ।

तौलिएर बेच्दा करिब २५ प्रतिशत किसानले फाइदा पाउने महतो बताउनुहुन्छ । “राम्रो गरे विदेश जानुपर्दैन भन्ने उदाहरण हो,” उहाँले भन्नुभयो ।

अर्का विज्ञ तथा पशु चिकित्सक डा तीर्थ रेग्मीका अनुसार गाउँमा किसानले खसीको मासुमा प्रतिकेजी करिब २०० लागत लगाउँछन् । त्यसको ७० देखि ८० प्रतिशत लागत आफ्नै श्रमको हुन्छ । बाँकी करिब २०÷३० प्रतिशत अन्य लगानी हुन्छ ।

किसानले श्रमको उचित मूल्य पाओस् भनेर सहकारीमार्फत बजारीकरणमा लागेको रेग्मीले बताउनुभयो । जिल्ला पशुसेवा कार्यालय चितवनका प्रमुख डा रामकुमार कार्की पछिल्लो समयमा चितवनका पहाडी क्षेत्रमा बाख्रापालन फस्टाएको बताउँदै जिल्लामा सबै गरेर दुई लाख बाख्रा पालिएको बताउनुहुन्छ ।

पछिल्लो समयमा व्यावसायिक पालन र उन्नत नश्लको बाख्रापालनमा समेत किसान आकर्षित भएकाले आम्दानीमा वृद्धि हुँदै गएको उहाँको अनुभव छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना