दशैँ : देश जोड्ने अपेक्षा

dharmendra jhaधर्मेन्द्र झा

वर्तमान सत्ता गठबन्धन अस्तित्वमा आएको दुई महिना बितिसकेको छ ।  सरकार गठन हुँदा मधेसी दलसँग गरिएको सम्झौताको कार्यान्वयन सरकारका लागि अहिले पहिलो प्राथमिकताको विषय हो ।  यही सम्झौताअनुसार सरकार अहिले दुई कार्यमा खटिएको छ तर यथोचित रूपमा सफल हुनसकेको सङ्केत मिलेको छैन ।  ती दुई कार्यमध्ये पहिलो हो, मधेस आन्दोलनका सन्दर्भमा आन्दोलनकारीमाथि लागेको मुद्दा फिर्ता र दोस्रो, संविधानमा आवश्यक संशोधन ।  संविधान संशोधनका सन्दर्भमा मधेसी दलले सरकारलाई लामो सूची बुझाएको कुरा प्रकाशमा आएको छ ।  अरु कुरा त सामान्य विचार विमर्शपछि समाधान होला नै तर सबभन्दा ठूलो समस्या प्रदेश सीमाङ्कन हेरफेरको हो ।  यो विषय अहिले जटिल बनेको छ ।  खासमा मुद्दा फिर्ता र सीमाङ्कन हेरफेरको विषय संविधान संशोधनसँग प्रत्यक्ष जोडिएको छ ।  यस विषयमा सम्बोधनका लागि सम्बद्ध सबैको सहमति आवश्यक छ तर सहमतिको वातावरण तयार हुन नसक्नु दुखद छ ।  सरकार अहिले यस विषयमा उचित वातावरण निर्माणका लागि आन्तरिकमा क्रियाशील रहेको बुझिए पनि उल्लेख्य परिणाम सार्वजनिक हुन सकेको छैन ।  यसका अतिरिक्त सरकारसामु तेर्सिएको अर्को जटिल कार्यभार हो, निर्वाचनको उपयुक्त वातावरणको निर्माण ।  यस दिशैँमा पनि अहिलेसम्म केही विशेष अनुभूति हुन सकेको छैन ।  निर्वाचन आयोगसँग सम्बन्धित विधेयक संसद्मा प्रस्तुत् हुनु र स्थानीय निकाय पुनर्संरचना आयोगलाई नयाँ निर्देशन दिइनु भने सकारात्मक हो ।  यस्तै सरकारको अर्को चुनौती हो, परराष्ट्र, विशेष गरी छिमेक, सम्बन्धमा सन्तुलन निर्माण ।  देशका सामु उपस्थित यी यस्ता ज्वलन्त समस्या हुन् जसको शीघ्र समाधान आवश्यक छ ।  यी यस्ता समस्या हुन् जसले देशबासीमा मनोवैज्ञानिक रूपमा विभाजनको रेखा कोरेको छ ।  अहिले स्वीकार्नैपर्छ, आमजनता मानसिक रूपमा विभाजित छन् र यसका लागि  उल्लेखित अवस्थाले कारक तìवको भूमिका निर्वाह गरिरहेका छन् ।     
सरकार गठनलगत्तै दुईजना उपप्रधानमन्त्रीले प्रधानमन्त्रीको विशेष दूतका रूपमा दक्षिण र उत्तरको भ्रमण गरे ।  सायद  उल्लेखित मधेसलगायतका विविध समस्या समाधानका लागि आवश्यक साँचो खोज्नु त्यस्तो भ्रमणको उद्देश्य थियो ।  धेरैलाई लाग्न सक्छ मधेस समस्याको समाधानको सन्दर्भमा उत्तरको के चासो छ ? तर उत्तरलाई विश्वासमा नलिएसम्म मधेस समस्या समाधानको प्रयासले सार्थकता प्राप्त गर्न नसक्ने एकथरि विज्ञको धारणा छ, जो निकै विचारणीय छ ।  छिमेकीलाई  विश्वासमा लिने रणनीतिअनुरूप नै प्रधानमन्त्रीका दूतले उत्तर र दक्षिणको भ्रमण गरेका हुन् भन्नेमा शङ्का छैन ।  धेरै विश्लेषकको मत छ, मधेमा दक्षिणको सरोकार बढी छ त्यसैले मधेसका दलहरूसँग दक्षिण राम्रो सम्बन्ध कायम गरेर आफ्नो स्वार्थ सिद्ध गर्न चाहन्छ ।  गहिरिएर विश्लेषण गरेका खण्डमा भन्न सकिन्छ, यो आंशिक सत्य मात्र हो ।  सीमा जोडिएको भूभागमा सुरक्षा सरोकारलाई अस्वाविक मान्न सकिँदैन ।  यो यथार्थ उत्तर र दक्षिण दुवैतिर लागू हुन्छ ।  यो अलग कुरा हो कि नेपालले आफ्नो भूमिमा कुन खेलाडीलाई कति र कसरी खेल्न दिन्छ ? यसको विश्लेषण आवश्यक छ ।  अर्काथरि विश्लेषकका अनुसार मधेसमा उत्तरको चासो पनि कम छैन ।  उत्तर र दक्षिणको विश्व परिवेशको प्रतिस्पर्धी राजनीतिको उपस्थितिमा मधेसमा उत्तरको चासो छैन वा गौण छ भनेर मानियो भने नेपाली राजनीतिका लागि प्रत्युत्पादक ठहरिन सक्छ ।  यही प्रतिस्पर्धी राजनीतिका कारण उत्तर दक्षिणी सीमासम्म र दक्षिण उत्तरी सीमासम्म आफ्नो उपस्थिति चाहन्छ ।  निश्चय पनि यस अवस्थामा नेपालको भूराजनीति प्रभावित हुन पुगेको छ ।  यस्तोमा छिमेकीबीच सन्तुलनको सम्बन्ध निर्माण अपरिहार्य छ ।  सायद छिमेकीलाई विश्वासमा लिन सकिए नेपालको तत्कालका समस्या सम्बोधन हुन असहज हुने छैन ।  
नेपालका आमजनता शान्तिकामी हुन् ।  शान्तिका अग्रदूत बुद्ध र महाज्ञानी विदेहको भूमिका जनता अशान्तिका विरोधी हुन् ।  तर दुर्भाग्य, यस भूमिको पछिल्लो कालखण्डको राजनीति अशान्त र स्वार्थी बन्न पुगेको छ ।  यसैको परिणाम हो वर्तमानको अराजक अवस्था ।   उल्लेखित सबैखाले समस्याको कारण राजनीतिकर्मीको कमजोरी हो भनेर भनियो भने त्यो अस्वाभाविक हुने छैन ।  नेपाली राजनीतिकर्मीको अदूरदर्शिता र क्षणिक स्वार्थका कारण नेपाल र नेपाली प्रताडित बन्न पुगेकोमा शङ्का छैन ।  नेपालको पछिल्लो समयको अवस्था मूल्याङ्कन गर्ने हो भने अवस्था निकै कहालीलाग्दो छ भन्न सकिन्छ ।  राजनीतिक दलबीच दूरी बढेको छ ।  जनस्तरको सम्बन्धको धाँजा फाटेको छ ।  जनता एकअर्कासँग टाढिएका छन् ।  यसो नहुँदो हो त उल्लेखित समस्याग्रस्त अवस्थाहरूको सिर्जना हुँदैनथ्यो ।  फलतः राष्ट्रिय एकता कमजोर बन्न पुगेको छ र ‘खेल्न’ खोज्नेहरू आफ्ना लागि अनुकूल भूमिको निर्माण गर्न तल्लीन छन् भनेर मूल्याङ्कन गरियो भने त्यो अनर्गल हुने छैन ।  यस प्रतिकूल अवस्थामा आफ्ना समस्याको समाधान नेपाल र नेपाली स्वयंले गर्न सक्नुपर्दछ ।  यसको विकल्प छैन ।   शान्तिका पक्षमा हामी स्वयंबाटै अग्रसरता लिइनुपर्छ ।  पछिल्लो समयमा यहाँका बासिन्दालाई आम नेपालीभन्दा हिमाली, पहाडी र मधेसीका रूपमा बढी चिन्न थालिएको छ र दुर्भाग्य आमनेपालीलाई यही उपाधीहरू प्रियकर बन्न थालेका छन् ।  परिचय र पहिचानका सीमा खुम्चिँदै छन् ।  नेपालको राजनीति अहिले यही धारबाट निर्देशित छ ।   सत्तासमीकरणको निर्माण र राष्ट्रिय राजनीतिको सञ्चालनको आधार यस्तै विचार र दृष्टिकोणहरू बन्न पुगेका छन् ।  मुलुकका सामु देखिएको अहिलेको जटिल समस्याको समाधान नेपालीले गर्न सक्छन् र यसको प्रारम्भ बिन्दु संविधान संशोधन हुन सक्छ ।  तर यसका लागि दलबीच समन्वय हुन नसक्नु दुखद छ ।  प्रश्न उठ्छ, आखिर दलहरू किन एक ठाउँमा आउन सकिरहेका छैनन ? देशको समस्या समाधान गर्न किन सबै एकमत छैनन ? किन सबै आफ्नै मूल्यमा मात्रै समस्याको सम्बोधन चाहन्छन् ? सबै शक्ति सबैतिर फर्केर समस्याको सम्बोधन हुन सक्दैन ।  यो यथार्थ थाहा हुँदाहुँदै पनि नेपाली राजनीतिक शक्तिहरू असाध्य समाधान खोज्ने नौटंकीमा किन व्यस्त छन् ? यी सबै प्रश्नका उत्तर देशबासीले चाहेका छन् ।  यी प्रश्नको उत्तरप्राप्तिमा दुर्गा भवानी सहायकसिद्ध हुन सकून् ।   
यो समय नवरथाको हो ।  नेपालीको महान् पर्व दशैं जारी छ ।  विजया दशमीअन्तर्गतका पाँचवटा पूजा सम्पन्न भइसकेका छन् ।  आज षष्ठी हो ।  देवीको पूजा क्रमशः विस्तारित बन्दै मूल दशैंतर्फ प्रवेश गर्दैछ ।  दशैंको महान् पर्वलाई असत्यमाथि सत्यको विजयपर्वका रूपमा स्वीकारिन्छ ।  तर यो पर्वको महìव यतिमा मात्र सीमित छैन ।  व्यावहारिक जीवनमा हेर्ने हो भने यस पर्वको महìव परिवार जोड्नेसँग पनि छ ।  दशैंको अवसरमा प्रत्येक नेपाली आफ्नो परिवारमा एकत्रित हुन्छन् र एकअर्कामा समाहित हुने प्रयत्न गर्छन् ।  टाढाटाढा रहेका परिवारका सदस्य एक ठाउँमा जम्मा हुन्छन् र सबै रागद्वेष बिर्सेर एकअर्काका लागि सहयोगी हात बढाउँदै नयाँ भविष्यको निर्माणमा सक्रिय हुन्छन् ।  परिवारका सदस्यको कल्याण र उन्नति सबैको अभीष्ट हुन्छ ।  वास्तवमा यो पर्वले पारिवारिक संवादको वातावरण पनि निर्माण गर्दछ जहाँ सबै छलफलमा सहभागी हुन्छन् ।  दशैँ पर्वले हामीलाई वर्षौंदेखि पारम्परिक रूपमा यही पाठ पढाउँदै आएको छ ।  निश्चय पनि यो देश हामी सबै एकत्रित हुने साझा थलो हो र आमनेपाली जनता वृहद् परिवारका सदस्य ।  तर दशैंले हामीलाई एकत्रित हुन र एकअर्काको सुखदुःखमा एकाकार हुन किन सिकाउन सकिरहेको छैन ? के दशैँले आफ्नो पारम्परिक महìव गुमाउँदैछ ? यसपटकको दशैंले परिवार जोड्ने आफ्नो पारम्परिक महìव कायम गर्न सकोस् ।  दलबीचको बढ्दो दूरी कम हुन सकोस् ।  जनस्तरको खाडल पुर्न सकोस् ।  आपसमा संवादको वातावरण निर्माण गर्न सकोस् ।  दशैंका अवसरमा आम नेपाली एकअर्कामा समाहित हुन सकून् ।  यति हुन सके माथि उल्लेख गरिएका स्वरूपको जस्तोसुकै समस्या पनि समाधान हुन सक्छ र देश जोडिन सक्छ ।  यसपटकको दशैंले राष्ट्रिय एकता प्रवद्र्धन गरी देशका सबैखाले समस्याको समाधान गर्न शक्ति प्रदान गर्न सकोस् ।  







थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना