मुसहर समुदायका विद्यार्थी उच्च शिक्षातर्फ लम्किँदै





महोत्तरी, असोज २२ गते । अतिपिछडिएको मधेसी दलित समुदायका मुसहर जातिका दर्जनाँै विद्यार्थी उच्च शिक्षाका लागि विभिन्न कलेजमा भर्ना भएका छन् ।

विद्यालय जानबाट वञ्चित रहेकामध्ये तराई क्षेत्रका महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, नवलपरासी गरी ११ जिल्लाबाट विभिन्न तहमा जम्मा ६१ जना मुसहर विद्यार्थी उच्च शिक्षाको पहुँचमा पुगेका छन् ।

मुसहर समुदायका लागि काम गरिरहेका भोर नामक गैरसरकारी संस्थाका अनुसार यस शैक्षिक सत्रमा कक्षा ११ मा ५५, कक्षा १२ मा पाँच, स्नातक तहमा एक गरी ६१ जना मुसहर विद्यार्थी निजी तथा सामुदायिक विद्यालयमा अध्ययन गरिरहेका छन् ।

यसरी वर्षाैंदेखि शिक्षाको उज्यालोबाट वञ्चित रहँदै आएका मुसहर समुदायका ६१ जना विद्यार्थी नेपालको इतिहासमै सम्भवतः पहिलोपटक एकैसाथ उच्च शिक्षा हासिल गर्न उच्च माविको दैलोमा पुग्न सफल भएका हुन् ।

शिशु कक्षामा भर्ना भएर ६१ जना विद्यार्थी उच्च शिक्षा हासिलका लागि जानु भनेको ठूलै उपलब्धि रहेको स्थानीय बुद्धिजीवी एवम् शिक्षाप्रेमीहरुको भनाइ छ ।

नेपालका तराई–मधेसमा बसोबास गर्ने अल्पसङ्ख्यक मुसहर समुदायको कुल जनसङ्ख्या छ लाखको हाराहारीमा छ । जसमध्ये ९३ प्रतिशत अशिक्षित रहेका छन् । महिला भने ९९ प्रतिशत नै अशिक्षित रहेका छन् ।

शक्तिहीनको सशक्तीकरणका लागि भोर नामक गैरसरकारी संस्थाले मुसहर समुदायका समग्र उत्थानका लागि गत असारमा दीनाभद्री छात्रवृत्ति कोषको स्थापना गरी हालसम्म रु दुई लाख ५३ हजार ४६८ सङ्कलन गरेको छ ।

उनीहरुलाई उच्च शिक्षाको पढाइ पूरा गर्न अझ रु ३८ लाख छ हजार ५३२ अपुग छ । मुसहर विद्यार्थीलाई उच्च शिक्षाको पढाइ पूरा गर्न भोर संस्थाले अपुग रकम सहयोग गर्न देश विदेशमा रहेका शिक्षाप्रेमीलाई मुसहर जनउत्थान सरोकारवालाले सामूहिक रुपमा अपिल गरेका छन् ।

महोत्तरीको बर्दिबासस्थित मुसहर बस्तीमा सामाजिक परिवर्तनका लागि काम गर्दै गरेका हास्य कलाकार तथा समाजसेवी धर्मुश (सीताराम कट्टेल)ले शिक्षा सर्वाङ्गीण विकासको खाँचो भएकाले मुसहर समुदायको उत्थानका लागि तत्काल उत्प्रेरण र परिणाम आउने कामलाई अगाडि बढाइ काम सुरु गर्नुपर्नेमा जोड दिनुभयो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना