भुटानी शिविरमा दसैँको चहलपहल भएन




दमक (झापा), असोज २७ गते । झापा र मोरङ जिल्लामा बस्दै आएका भुटानी शरणार्थीमा बडादसैँको खासै रौनक छाएको छैन ।

शिविर आसपासका क्षेत्रमा बडादसैँको बेग्लै रौनक छाइरहेका बेला झापाको दमक–५ स्थित बेलडाँगी शरणार्थी शिविरमा भने खासै चहलपहल छैन ।

शरणागत भुटानी शरणार्थीलाई सन् २००८ देखि तेस्रो देश पुनर्वास गराएपछि शिविरमा दसैँजस्ता चाडपर्वको रौनक घट्दै गएको हो । दमक बेलडाँगी–१ हटनम्बर ३७ का वृद्ध मेकमान तामाङका अनुसार ठूलो सङ्ख्यामा शिविर खाली हँुदै गएपछि दसैँ चाड नै खल्लो हुँदै गएको छ । “परिवारका लागि चाडबाड आएको भन्दा नआएकै जाति हुने गरेको छ ।” बुधबार शिविरको छाप्रोमा भेटिएका तामाङले भन्नुभयो – “परिवार नै तितरवितर छ, दसैँ साह्रै खल्लो लाग्छ ।” उहाँकी श्रीमती र केही सन्तान युरोप र अमेरिका पुगेपछि एक्लो जीवन झन्झटिलो बनेको उहाँको अनुभव छ ।

तामाङ जस्तै शिविरमा आश्रित अधिकांश शरणार्थीका आफन्त तथा परिवारहरु अमेरिकालगायत अस्टे«लिया र युरोपका आठवटा मुलुकमा एक लाख बढी सङ्ख्यामा पुनर्वास भइसकेका छन् ।

बेलडाँगी शिविरका दुर्गामान सन्यासीलाई समेत यो दसैँ अघिल्ला दसैँभन्दा उजाड भएको बताउनुहुन्छ । चाडपर्वले परिवारमा सद्भाव र उमङ्ग आउनुपर्नेमा सिङ्गो परिवार बिछोडिएपछि शिविरमा दसैँजस्ता चाड खल्लो बन्दै गएको सन्यासीको बुझाइ छ ।
सन्यासीका अनुसार आफ्नै देश, आफ्नै शैली, आफ्नै बारी सबै थोक थियो भुटानमा । तर नेपाल लखेटिएपछि छानो फाटोको झुप्रो र दाताले दिएको राहतबाहेक केही छैन । सन्यासीले भन्नुभयो – “जसोतसो संस्कार त धान्नै प¥यो । औपचारिक मात्र भए पनि पर्व मनाउनै प¥यो नि ?” उहाँले दसैँंमा पनि खल्लो मन लिएर टीका जमरा थाप्नु बाध्यता नै रहेको गुनासो गर्नुभयो ।

यसैगरी शरणार्थी डिल्लीराम सुवेदी, इन्द्रकुमार प्रधान, दुर्गामाया प्रधानलाई पनि जब पर्वहरु आउँछन्, उमङ्गभन्दा निराशाले मन किच्ने गरेको अनुभव सुनाउनुहुन्छ । केही वर्षअघिसम्म त फाटेको छानोमुनि आफन्तको साथमा दसैँं मनाउँदा पनि मन जोडिन्थ्यो । तर परिवार नै विभाजित हुँदै तेस्रो मुलुक जान थालेपछि त शिविरमा रहेका शरणार्थीलाई यी पर्वहरु पिरका पर्याय बन्ने गरेका उहाँहरुको धारणा छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना