पर्यटनको उत्कृष्ट गन्तव्य बन्दै दाङ

tika basnetटीकाबहादुर बस्नेत


    

दाङ जिल्ला पर्यटकीय गन्तव्यका रूपमा विकास हुनथालेको छ ।  समुद्री सतहबाट होचोमा २१३ मिटर र अग्लोमा दुई हजार ५८ मिटरको उचाइमा रहेको दाङ प्राकृतिक रूपमा मात्र नभई सामाजिक, सांस्कृतिक, आर्थिक र पर्यावरणीय सम्पत्तिले भरिपूर्ण जिल्लामा पर्छ ।  
एसियाकै ठूलो उपत्यका दाङ विश्वमै चर्चित स्वर्गद्वारीको आधारभूमिका रूपमा परिचित छ, भने आदिवासी थारू समुदायको राजधानीका रूपमा महŒवपूर्ण क्षेत्र मानिन्छ ।  विश्वकै अग्लो त्रिशुल स्थापना गरिएको धार्मिक क्षेत्र पाण्डेश्वर मन्दिर धारापानीदेखि प्राकृतिक पर्यटकीय क्षेत्र शिखर सवारीकोटसम्मका अपार सम्पदा रहेको दाङ यसक्षेत्रकै पर्यटकीय हवका रूपमा विकास हुनथालेको छ ।  भौगोलिक सुन्दरता, प्राकृतिक मनोरम दृश्य, चुरे महाभारत क्षेत्रको सौन्दर्य, सुन्दर फाँट, नदी, ताल तलैया र ऐतिहासिक एवं धार्मिक मन्दिर, ऐतिहासिक सांस्कृतिक सम्भावनाका कारण दाङ पटक–पटक चर्चामा समेत आउने गरेको छ तर पर्यटनको उत्कृष्ट सम्भावनायुक्त दाङमा पर्यटन क्षेत्रका कार्यक्रम परिणाममुखी बन्न नसकेको पाइएको छ ।
जिल्लाको पर्यटन प्रवर्धन तथा विकासका लागि वार्षिक दुई करोडभन्दा बढी बजेट खर्च हँुदै आएको जिल्ला विकास समितिको तथ्याङ्क छ ।  निजी क्षेत्र र सरकारी क्षेत्रबाट दाङ पर्यटनका लागि हँुदै आएको लगानीमा एक रूपता नहँुदा बजेट कनिका छरेझैँ हुने गरेको परिणामले देखाउँदै आएको छ ।  पर्यटन क्षेत्रको विकास र विस्तारका लागि मुख्यतया पूर्वाधार क्षेत्रमा सरकारी लगानी न्यून हुनु अनि निजी क्षेत्रलाई विश्वासमा लिन नसक्नु जस्ता समस्याका कारण दाङ पर्यटनले गति लिन सकेको छैन ।  अहिले निजी क्षेत्रले होटेल बाहेक पर्यटकीय क्षेत्रका अन्य विधामा लगानी गर्न नसकेको अवस्था छ ।  होटल व्यवसाय बाहेक अन्य पर्यटकीय विधामा लगानी लगाउँदा तत्काल यसबाट नाफा नहुने भएकाले जोखिम मोलेर यो क्षेत्रमा लगानी गर्न व्यावसायी इच्छुक नदेखिएको दाङ जिल्ला उद्योग वाणिज्य सङ्घका अध्यक्ष हेमराज बञ्जाडेको भनाइ छ ।  
सरकारले जिल्लामा पर्यटकीय विकासका लागि गर्दै आएको लगानीबाट कुनै परिणाम देखिन सकेको छैन ।  वार्षिक रूपमा करिब दुई करोड बजेट पर्यटनका क्षेत्रमा लगानी हँुदै आए पनि त्यसबाट प्रभावकारी परिणाम प्राप्त हुन सकेको देखिँदैन ।  सरकारले नीति तथा कार्यक्रम ल्याउने र आवश्यकीय पूर्वाधारमा लगानी गर्ने भए पनि निजी क्षेत्रले पर्यटनको क्षेत्रमा अपेक्षाकृत लगानी गर्न नसकेको जिल्ला विकास समिति दाङका पर्यटन शाखा प्रमुख डा. गोविन्द आचार्यले बताउनुभयो ।  
सरकारी लगानी, निजी क्षेत्र, समुदायस्तरबाट पर्यटनको क्षेत्रमा उत्साहपूर्ण लगानी भए पनि व्यवस्थित गुरुयोजना तथा आगामी कार्यक्रमको खाका नहँुदा पर्यटनको क्षेत्रमा काम गर्ने निकाय नै अन्योलमा पर्ने गरेका छन् ।  विभिन्न निकायको आआफ्नै कार्यक्रम हँुदा दाङको पर्यटन क्षेत्रले गति लिन नसकेको गुनासो पर्यटनको क्षेत्रमा काम गर्नेहरूको रहँदै आएको छ ।  
व्यवस्थित घरबास कार्यक्रम
केही वर्ष पहिले जिल्ला विकास समितिको पहलमा जिल्लाका विभिन्न स्थानमा होमस्टे अर्थात् घरबास कार्यक्रम सञ्चालन भएका छन् ।  घरबास कार्यक्रमका लागि सौडियारको सिसहनियाँ थारूग्राम, गढवा–२ को अवधिग्राम र लक्ष्मीपुर–७ सवारीकोट मगरग्राम प्रस्ताव गरिएको हो ।  नमूनाको रूपमा घरबास कार्यक्रमलाई अगाडि बढाए पनि सोचे अनुसारको विकास हुन भने नसकेको जिल्ला विकास समितिका पर्यटन शाखा प्रमुख डा. गोविन्द आचार्यले बताउनुभयो ।  
नमूनाका रूपमा विकास गर्नका लागि स्थानीयलाई विभिन्न स्थानको भ्रमण, तालिम, भौतिक पूर्वाधार सहयोग गरेको भए पनि सक्रियता नभएका कारणले विकास हुन नसकेको उहाँले बताउनुभयो ।  सिसहनियाँको थारूग्राम र गढवाको अवधिग्राम अहिले प्रायः बन्द अवस्थामा रहेका छन् भने लक्ष्मीपुर–५ सवारीकोटमा रहेको मगरग्राम भने आंशिक रूपमा सञ्चालनमा रहेका छ ।  स्थानीय परिकार ढिँडो, लोकल कुखुराको मासु, सिन्कीको अचारलगायतका परिकार खानुको साथै सवारीकोटबाट देखिने दाङ उपत्यकाको दृश्यका कारण पर्यटक त्यहाँ पुग्ने गरेका छन् ।  सवारीकोट प्राकृतिक रूपमा सौन्दर्यपूर्ण स्थान भएकाले पनि आन्तरिक तथा बाह्य पर्यटकको आवातजावत भइरहने भएकाले मगरग्राम सञ्चालन भइरहेको छ ।  पर्यटन शिक्षा र चेतनाको अभावमा ग्रामहरूले प्रगति गर्न नसकेको आचार्यको भनाइ छ ।  
यी हुन् पर्यटकीय मठमन्दिर
जिल्लामा धेरै पहिलेदेखि हिन्दु धर्मावलम्बी भएकाले यहाँका धार्मिक स्थलमा हिन्दु धर्मसँग सम्बन्धित निकै पुराना ऐतिहासिक दृष्टिकोणले समेत महŒवपूर्ण धर्मिक सङ्घ संस्था तथा मठमन्दिर रहेका छन् ।  अद्वैत संस्थाको घोराहीको अञ्चल सत्संग र तुलसीपुरको दुधेनामा रहेको जिल्ला सत्संग मन्दिरका साथै जिल्लाका गाउँगाउँमा २५ भन्दा बढी शाखा र उपशाखा रहेका छन् ।  जहाँ विभिन्न समय महासत्संग आयोजना हँुदै आएको छ ।  
यस्तै घोराही–५ अम्बापुरमा रहेको अम्बिकेश्वरी मन्दिरलाई माईथान पनि भन्ने गरिन्छ ।  मन्दिर स्थापना कहिले भएको हो भन्ने उल्लेख नभए पनि १७२८ मा चढाइएको घण्टाले प्राचीन मन्दिर भएको बताउँछ ।  गणेश मन्दिर, शिव मन्दिर, सरस्वती, रामजानकारी, कीर्तन कक्ष, यज्ञमण्डपको साथै बगैँचा र पार्कले मन्दिरलाई सुन्दर बनाएको छ ।  
यस्तै घोराही ११ ट्राफिक चौकमा रहेको ओम शिरडी साई मन्दिर पनि पर्यटन सम्भावनायुक्त क्षेत्र हो ।  जहाँ गणेश मन्दिर, यात्री मन्दिर, यज्ञकुण्ड रहेका छन् ।  यस्तै घोराही–५ को मसिनामा रहेको कालिका मन्दिर भगवती मन्दिर आजभन्दा करिब तीन सय वर्ष पुरानो मन्दिरका रूपमा परिचित छ ।  उता हापुर–९ को नारेवागमा रहेको गढीटाकुरा देवस्थलमा दसँैमा ठूलो मेला लाग्छ ।  
त्यस्तै देउखुरीको गोवरडिहामा रहेको बाघनाथ बाबा मन्दिरलाई पनि महŒवपूर्ण मन्दिरको रूपमा लिइन्छ ।  यसको साथै चैलाहीको डुमडुमवा, हाँसीपुर–४ देवीकोटका रहेको देवीकोट मन्दिर, घोराही–६ को नम च्छु बौद्ध गुम्बा, धर्ना–१ धारापानीस्थित पाण्डवेश्वर मन्दिर, सतवरिया–८ रिहारस्थित बगारबाबा धार्मिक स्थल पर्यटकीय सम्भावनाले युक्त क्षेत्र रहेका छन् ।  
जिल्लाको ढिकपुर–४ नारायणपुर पर्सेनीमा यने बराहक्षेत्र वासुदेव स्थान लरैना, तुलसीपुर–६ मा पर्ने, ब्रह्मकुमारी ईश्वविद्यालय, स्यूजा–८ उजामा रहेको बागेश्वरी मन्दिर, घोराही–७ सेवारमा रहेको बाह्रकुने मन्दिर, तलसीपुर–९ दुधेनामा रहेको राधाकृष्ण कन्दिर, कोइलाबास–२ मा पर्ने रामजानकी मन्दिर, बेला गाविस–२ मा पर्ने समयठान, धर्ना गाविसको सर्रिकोट, उरहरी–२ शितलपुरमा रहेको सिद्धेश्वर शिव मन्दिर, शान्तिनगरको सुन्दरादेवि भगवती मन्दिरलगायतका धार्मिक स्थल पर्यटकीय गन्तव्यका रूपमा रहेका छन् ।
धार्मिक तथा ऐतिहासिक पर्यटकीय क्षेत्र
समुद्र सतहदेखि करिब १८०० मिटर उचाइमा रहेको गढीलेक रामपुर–५ र काभ्रे–३ को बीचमा रहेको छ ।  यसको ऐतिहासिक महŒव पृथ्वीनारायण शाहले गरेको नेपाल एकीकरण अभियानसँग सम्बन्धित छ ।  अभियानका क्रममा बहादुर शाहले नेतृत्व गरेको गोर्खाली फौजले पश्चिम नेपाल तर्फको युद्धको बेला निर्माण गरेको भनिएको छ ।  त्यस्तै बिजौरी–९ मा रहेको छिल्लीकोट समुद्री सतहदेखि १४७५ मिटरको उचाइमा रहेको छ ।  १५औँ शताब्दीमा जुम्लाका चल्ल वंशीय राजाले दाङका दंगीशरण राजाबाट यो क्षेत्र कब्जा गरेर कोट नामबाट शासन गरेको इतिहास रहेको छ ।  यसैगरी फूलबारी गाविसको तुईवाङ उपत्यकाको दक्षिण पश्चिमको पहाडमा रहेको टाकुरा जुम्लीकोट नामको ऐतिहासिक स्थल रहेको छ ।  त्यस्तै हापुर–४ मा धौलुवगिया ऐतिहासिक, धार्मिक र पर्यटकीय दृष्टिकोणले महŒवपूर्ण क्षेत्र रहेको छ ।  चन्द्रकोटे राजा राजगुरु धौलुको नामबाट त्यो क्षेत्र नामकरण गरिएको छ ।  
गोल्टाकुरी–३ बबई नदीको दक्षिणी तटमा रहेको बाह्रबर्डिउन्हक लठ्ठा रहेको छ, भने बिजौरी–८ मा बाँसगढी, हेकुली–८ मा बुलबुल्या, नारायणपुर–८ मा मन्ठो¥या क्षेत्र, लक्ष्मीपुर–५ को सवारीकोट, श्रीगाउँ–९ को सिद्धभवन्तनाथ समाधि, घोराही–४ चौघेराको सिद्धरत्ननाथ पीठ, तुलसीपुर उरहरी सुकौराकोटलगायतका क्षेत्र ऐतिहासिक, पुरातात्वितक महŒवले भरिपूर्ण क्षेत्रका रूपमा रहेका छन् ।  
प्राकृतिक सम्पदा
दाङका पर्यटकीय सम्पदामध्ये प्राकृतिक रूपमा विकास भएका सम्पदा पनि जिल्लामा रहेका छन् ।  जिल्लाका विभिन्न स्थानमा रहेका तालतलैया, दह, गुफा, झरनालाई पर्यटकीय गन्तव्यका रूपमा लिन सकिन्छ ।  रामपुर–८ करमकोटमा रहेको किचेनी दह, तुलसीपुर टरिगाउँस्थित गौरीगाउँ ताल, रामपुर–७ बुकामा रहेको चरिँगे दह, घोराही–८ स्थित ज्यामिरे दह, रामपुर–७ मा रहेको भोटे दह, देउखुरीको जखेरा ताल, हलवार–५ स्थित चमेरे गुफा, स्यूजा–४ मा रहेको धिमधिमे लेक, बङ्गलाचुली लेक, पुरन्धारा–८ मा रहेको पुरन्धारा छहरा, तुलसीपुर–३ स्थित राप्ती शान्ति उद्यानलगायतका प्राकृतिक सम्पदा पर्यटन गन्तव्यका रूपमा रहेका छन् ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना