फिरङ्गीको नेपाली हिज्जे

kedarकेदार वाशिष्ठ


‘‘नेपाली भाषामा अरू भाषाबाट आएका शब्दलाई ती शब्दको मूल स्रोतको हिज्जे व्यवस्था खोजी गर्नतिर नलागी नेपाली भाषाको आफ्नै वर्णविन्यास अनुरूप व्यवस्थापन गर्नु उपयुक्त हुन्छ’’– केदार वाशिष्ठ
नेपाली भाषामा हिज्जे विवाद बेलाबेलामा बल्झिइ रहने गरेको छ ।  स्रोतका आधारमा नेपाली भाषाका शब्दहरू तत्सम, तद्भव र आगन्तुक गरी तीन किसिमका छन् ।  तिनको हिज्जे व्यवस्था पनि बेग्लाबेग्लै छन् ।  संस्कृतबाहेक अरू भाषाबाट आएका आगन्तुक शब्दलाई नेपाली भाषाको नियममा व्यवस्थित गरेर हिज्जे व्यवस्था मिलाउने एकथरी मत छ ।  अर्काथरी भन्छन्– आगन्तुक शब्दको मूल स्रोत खोजेर त्यही अनुसार लेख्नु पर्छ ।  यस सन्दर्भमा नेपाली भाषाका शब्दलाई चाहिँ विभिन्न भाषाले कसरी हिज्जे व्यवस्था मिलाएका छन् भनेर पनि अध्ययन गर्नु जरुरी देखिन्छ ।  यस आलेखमा नेपालमा युरोपेली भाषाका शब्दको आगमन र उनीहरूका भाषामा गएका नेपाली भाषाका शब्दलाई उनीहरूले दिएको शब्दानुशासनको दायरा नेपाली भाषासँग ठ्याक्कै मिल्ने छ कि छैन भनेर हालसम्म प्राप्त स्रोतलाई सुरुआतबाट हेरिएको छ ।

फिरङ्गी शब्दले युरोपेली नागरिक र भाषा दुवैलाई जनाउँछ ।  नेपाली र युरोपेली दुवै लेखन परम्पराले यसलाई पुष्टि गरेका छन् ।  हालसम्म प्राप्त स्रोतका आधारमा नेपालमा प्रताप मल्लले सन् १६५४ जनवरी १४ मा लेखाएका विभिन्न १५ भाषाका अक्षरहरूमा लेखिएका अटम, विन्टर र हाइभ तीनवटा शब्द नेपाली भाषामा सबैभन्दा पहिले प्रयोग भएका फिरङ्गी आखर (अक्षर) हुन् ।  यसमा सुरुमा १४ भाषाका अक्षरमा लेखिएको र १६६२ मा फिरङ्गी अक्षर थपिएको भन्ने पनि मत रहेको छ ।  जे भए पनि सुरुमा नेपाल आउने प्रायः सबै फिरङ्गीले यसको उल्लेख गर्ने गरेका छन् ।  ती शब्द नेपाल आउने पहिलो फिरङ्गी पादरी काब्राल (१६२८) बाट जानेर लेखाइएका थिए भन्ने र लेखिएको मितिभन्दा आठ वर्षपछि १६६२ मा नेपाल आएका अर्का पादरी गु्रएबरबाट जानेर थपिएको भन्ने दुई थरी पाइन्छ ।  पछि नेपाल र बेलायत बीच युद्ध भएपछि पुराना कवि यदुनाथ पोखरेलले त्यस शब्दको नेपाली भाषामा साहित्यिक प्रयोग पनि गरे–
फिरंगी हटाई लुटिपीटी चाँडो,
पुगी आज गंगा पखाल्नु छ खाँडो ।  

 सुरुमा नेपाल आउने फिरङ्गीमा इसाई पादरी थिए ।  त्यस्ता पादरीमा पनि जेसुइट र केपुचियन दुई परम्पराका थिए ।  तिनीहरू विभिन्न देशका हुन्थे तर रोमबाट परिचालित हुन्थे ।  उनीहरूको सम्पर्कको भाषा मुख्यतः ल्याटिन हुने गरेको थियो ।  तर उनीहरू जर्मन, फ्रान्सेली, स्पेनिस, अङ्ग्रेजी भाषाका ज्ञाता हुन्थे ।  रोमबाट आएका पादरी तिब्बत हुँदै वा तिब्बत जाँदा नेपालमा आएका थिए ।  त्यसको सुरुआत १७ औं शताब्दीबाट भएको हो ।  केही पादरी नेपालमा पनि धर्म प्रचारमा मिसन खडा गरेर बसेका थिए ।  कतिपय पत्राचार र लेखनी उनीहरूका आफ्नै भाषामा हुन्थे ।  त्यसैले नेपाल र नेपालीबारे लेखिएका उनीहरूका कागजात युरोपका प्रायः सबै भाषामा हुन्थे ।

फिरिङ्गी पादरी काब्राल १६२८ मा तिब्बतबाट भारतको बङ्गाल फर्कंदा नेपाल भएर फर्केका थिए ।  उनले हुग्लीबाट लेखेको पत्रमा नेपाल यात्रा तिब्बत जाने सजिलो बाटो खोज्नु रहेको र त्यस्तो सजिलो बाटो नेपालबाट हुने उनले बताएका थिए ।  त्यस पत्रमा नेपाल र नेपाली भाषाका शब्द उनले प्रयोग गरेर युरोपमा पु¥याएका थिए ।  काब्रालपछि नेपाल आउने ग्रुबर हुन् ।  उनले नेपाललाई ‘नेक्बाल’ भनेर लेखेका थिए भने उनका समकालीन अर्का युरोपेली टाभर्निएले ‘नुपाल’ लेखे ।  पछिका अरूले नेपाललाई ‘नेवपाल’ र ‘नेक्पाल’ जस्ता शब्दले चिनाएका थिए ।  तर ठाउँ भने काठमाडौं उपत्यका नै रहेको थियो ।  उनीहरू आउँदा पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेका थिएनन् ।  

देवनागरी लिपिमा नै फिरङ्गी शब्द नै प्रयोग गरेर युरोपमा प्रचार गर्ने चाहिँ कासिआनो बेलिगत्ति हुन् ।  उनले लेखेको नेपाली भाषाको हालसम्म प्राप्त पहिलो व्याकरण अल्फाबेटम ब्रह्मानिकम (१७७१) मा फीरंगीलाई प्रो युरोपेअस र फीरंगीस्तानलाई युरोप रिजोनेस भनेको पाइन्छ ।  त्योभन्दा अघि १७५९ मा नै अगोस्तियानी आन्तोनियो जिओर्जीले अल्फाबेटम तिबेतानम (१७५८) मा देवनागरी लिपिमा नै नेपाली भाषाका शब्दहरू युरोपमा ल्याटिन भाषासँग छपाइ सकेका थिए ।

 १७८६ मा नेपाल अधिराज्यको विवरण लेख्ने पादरी जुसेप्पेले ‘मक्वानपुर’ (मकवानपुर), ‘क्याठमान्डु’
(ऋबतजmबलमग–काठमाडौं), ‘ललित पत्तन’ (ललित पाटन), ‘भातगान’ (भादगाउँ वा भक्तपुर), ‘किरातस’ (किरात), ‘तिमी’ (ठिमी), ‘पाली’ (बरन्डा), ‘गोर्चा’ (न्यचुअजब–गोर्खा), ‘सिम्बी’ (स्वयम्भु), ‘देलमेर्देन साह’ (दलमर्दन शाह), ‘किर्तिपुर÷सिर्तिपुर (ऋष्चतष्उगच–कीर्तिपुर), ‘लम्जी’ (ीबmवष्–लमजुङ) आदि शब्दको प्रयोग गरेका छन् ।

 यस्ता शब्दहरूको प्रयोगमा भेदको अध्ययन १८९८ मा नेपाल आएका फ्रान्सेली (फिरङ्गी शब्दको वास्तविक प्रयोग फ्राङ्कोबाट भएको र त्यो फ्रान्सेलीलाई जनाउने मानिएको छ, तर फिरङ्गी शब्दको प्रयोग भएको बेला कुनै फ्रान्सेली आएको अनुमान मात्र गरिएको छ) सिल्भाँ लेभीले गरेका छन् ।  उनले उनीअघि नेपाल आएका युरोपेलीहरूले विभिन्न भाषामा नेपालको र नेपालका विभिन्न ठाउँको नामको लेखाइमा फरक देखाएका छन् ।  नेपाल हिन्दू अधिराज्यको इतिहास नामक पुस्तकमा उनले लेखेका छन्– यस आश्चर्यलाग्दो भवनले यस सहरको नाम परिवर्तन गरिदियो ।  त्यस समयदेखि यसको नाम ‘काष्ठमण्डप’ (काठको मण्डप) रह्यो, बोलीचालीको भाषामा चाहिँ काठमाडौं भनिने भएको हुनाले युरोपेलीहरूले ‘काडमेण्डू’ (ग्रुबर), ‘काटमाण्डू’ (जर्जी), ‘खाटमाण्डू (कर्कप्याट्रिक), ‘काठमाडू’ (ह्यामिल्टन) आदि भने ।  

 सिल्भाँ लेभीले नेपाली भाषाका मात्र होइन नेवारी भाषाका एउटै नाममा पनि फिरङ्गी भाषाका उच्चारण र लेखाइमा भिन्नता रहेको देखाए ।  उदाहरणका लागि पत्तनबाट पाटन बनेको उनले ठम्याए ।  तर यसको नेवारी भाषाको नाममा द होसार पन्नाको चिहान (काठमाडौंमा रहेको) मा ‘यला देश’ लेखिएको उनले पाए, जसलाई जर्जीले ‘हेला देसी’ राइटले ‘येलाँ देसी’ लेखेको पाए ।  उनले फिरङ्गी मात्र होइन अरू भाषामा पनि यसको प्रयोगको अध्ययन गरेका छन् ।  जस अनुसार तिब्बतीमा ‘ये–रान’, चिनियामा ‘ये–लेङ’ भगवान्लालले ‘तिन्य–ला’ आदि प्रयोग गरेको उनले उल्लेख गरेको पाइन्छ ।  त्यस्तै, भक्तपुरलाई ‘कुइ–पो’ (जर्जी) र ‘खोपो देशे’ (कर्कप्याट्रिक) भनेको लेभीले उल्लेख गरेका छन् ।

नेपाली भाषालाई पनि फिरङ्गी भाषामा विभिन्न नामले चिनाइएको छ ।  सर्वप्रथम नेपाली भाषाका शब्दलाई ल्याटिन भाषाको पुस्तक अल्फाबेटम तिबेतानम (१७५९) मा देवनागरी लिपिमा नै छाप्ने अगस्तियानी जिओर्जीले नेपाली भाषालाई ‘नेक्बालेस्निस’ भनेका छन् ।  त्यसपछि अमादुच्चीले ‘नेपालेन्सिस’, बेलिगात्तिले ‘पर्वतानियम’ र ‘नेपालेन्सिस’ (१७७१), कर्कप्याट्रिकले ‘पर्वती भाषा’
(१८११), पादरी क्यारेले ‘नेपाली भाषा’ (?), फ्रान्सिस बुखानन हेमिल्टनले ‘पर्वतीया’ र ‘खस भाषा’ (१८१९), एटनले ‘नेपाली भाषा (१८२०), क्याम्पवेलले ‘खस कुरा (१८६६), जोन बिम्बस्ले ‘नेपालिज (१८६७), केगलले ‘हिमाली भाषिका’ (१८७५), ड्यानियल राइटले ‘पर्वती’ (१८७७), हजसनले ‘पर्वत्तीय भाषा’ वा ‘खस भाषा’, ‘पर्वतिया’, ‘पहाडिया’ (१८८०), टर्नबुलले ‘नेपाली’ अर्थात् ‘गोर्खाली’ वा ‘पर्वते’ (१८८७) र नेपाली भाषाको पहिलो शब्दकोश लेख्ने टर्नरले ‘खस कुरा’, ‘गोर्खाली’ र ‘पर्वतिया’ हुँदै ‘नेपाली’ (१९३१) नै भनेका छन् ।  टर्नरले नेपाली भाषाको तुलनात्मक र व्युत्पत्तिमूलक शब्दकोशमा नेपाली शब्द लेख्दा एउटै शब्दलाई भिन्नाभिन्नै रूपमा रोमनमा लेखेका छन् ।

 सिल्भाँ लेभीका अनुसार नेपाली नाम युरोपमा जाँदा ‘नेक्बाल’ वा ‘केक्पाल’ उच्चारण वा छपाइका कारण परिवर्तन भएको हुन सक्छ ।  उनले प ९ए० र ब ९द्य० को उच्चारणको भेदले त्यस्तो लेखिएको हुन सक्ने अनुमान उनको छ ।  त्यसैगरी ऋ र इ अक्षरको आकारले गर्दा छाप्दा भ्रम भएको पनि हुन सक्छ ।  ग्रुबरले ‘नुपाल’ लेख्नु र उनका समकालीन टाभर्निएले ‘नेवपाल’ लेख्नु दुवै ग् र भ्इ को उच्चारण भेदले गर्दा भएको हुन सक्छ भन्ने उनको अनुमान छ ।  जे भए पनि भाषाको लेखनमा उच्चारणलाई प्राथमिकता उनीहरूले दिने गरेको यसबाट स्पष्ट हुन्छ ।

हाल आएर पनि युरोपेली भाषामा नेपाली भाषालाई बेग्लाबेग्लै नामले चिनाइने गरेको पाइन्छ ।  पृथ्वीनारायणले काठमाडौं उपत्यका (तत्कालीन नेपाल) माथि विजय हासिल गरेपछि गोरखाबाट राजधानी काठमाडौं सारे तर नेपालको विस्तार काठमाडौं खाल्डोभन्दा बाहिर गरे ।  पृथ्वी नारायणका सेना गोरखाली थिए र तिनले खस कुरा बोल्थे ।  गोरखाको राज्य विस्तार भएसँगै उनीहरूले बोल्ने भाषा पनि विस्तार भयो ।  त्यसपछि नेपालको सम्पर्कमा आउने फिरङ्गीले नेपाली वा पर्वते वा खस कुरालाई गोरखाली भाषाका रूपमा पनि चिनाउन थाले ।  भारतीय तथा बेलायती सेनामा गोरखा रेजिमेन्टको स्थापना भएपछि त उनीहरूलाई सिकाउने भाषाको औपचारिक नाम नै गोरखाली राखिदिए ।  तथापि फिरङ्गीस्तानका धेरै भाषामा विभिन्न किसिमले नेपाली नाम रहेको भाषाकै रूपमा प्रचार भइसकेको थियो ।  

फिरङ्गी भाषामा गोरखा र गोरखालीको विशेष महìव रहेको पाइन्छ ।  भारतमा राज गरेर बसेको बेलायतको इस्ट इन्डिया कम्पनीका सेनासँग गोरखाली सेना (नेपाली सेना) ले गरेको लडाइँबाट प्रभावित भएर गोरखा रेजिमेन्टको स्थापना गरेर ती सैनिकलाई दिने निर्देशन उनीहरूको आफ्नै भाषामा दिनका लागि नेपाली भाषालाई गोरखा भाषाको रूपमा चिनाउन थाले ।  त्यस सम्बन्धी प्रयोगमा आउने शब्दहरूलाई ‘गुर्खा’, ‘गुर्खाली’ भनेर अङ्ग्रेजी भाषामा चिनाउन थालियो ।  अहिले पनि अङ्ग्रेजी शब्दकोशहरूमा गोरखा र गोरखालीलाई क्रमशः ‘गुर्खा’ र ‘गुर्खाली’ भनेर प्रविष्टि दिइएको पाइन्छ ।

 यसरी नेपाली भाषामा फिरङ्गी शब्द आउने र नेपालीबाट फिरङ्गीस्तानका विभिन्न भाषामा नेपाली भाषाका शब्द जाने क्रम बढेको पाइन्छ ।  सुरुमा नेपालीबाट फिरङ्गी भाषामा गएका शब्दमा व्यक्तिवाचक नाम धेरै छन् ।  व्यक्तिवाचक नाममा पनि व्यक्तिका नाम र स्थानका नामको प्रयोग व्यापक देखिन्छ ।  एउटै ठाउँ वा मानिसको नाम बेग्लाबेग्लै किसिमले लेखेको पाइन्छ ।  नेपाली यसरी भाषामा आएका फिरङ्गीका शब्दलाई नेपाली भाषामा आगन्तुक शब्दका रूपमा राख्ने गरिएको छ ।  आगन्तुक भनेका पाहुना शब्द भएको हुनाले फिरङ्गीका भाषामा गएका नेपाली शब्द पनि उनीहरूका लागि पाहुना शब्द नै हुन्, जसलाई उनीहरूले आफ्नै उच्चारण व्यवस्था अनुसार भाषिक नियममा ढालेर हामी माझ प्रस्तुत गरेका छन् ।  अर्थात् नेपाली भाषाका शब्दलाई उनीहरूको हिज्जेको नियममा लेखेका छन् ।
एकल शब्दको प्रयोगदेखि शब्दकोश परम्परासम्मका यी ऐतिहासिक भाषिक प्रयोगका तथ्यबाट के स्पष्ट हुन्छ भने भाषाका सन्दर्भमा आगमन भएको भाषाको शब्दलाई मूल स्रोतका आधारमा नभई जुन भाषामा गएको हो त्यसै भाषाको उच्चारण बमोजिम हिज्जे निर्धारण गर्ने गरिन्छ ।  नेपाली भाषाका अपरिवर्तनीय नामहरू – देश र भाषाका सन्दर्भमा – पनि युरोपेली भाषामा बेग्लाबेग्लै हिज्जे व्यवस्था गरिँदो रहेछ ।  यो भाषाको ध्वनि, वर्णव्यवस्था तथा लिपिचिह्नको व्यवस्थाका आधारमा निर्देशित भएको हो ।  कुनै एक भाषामा अर्को भाषाका कतिपय वर्ण नहुन सक्छन् र कतिपय अवस्थामा एउटै वर्णका विविध रूप हुन सक्छन् ।  यस अवस्थामा कुन वर्णलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा जुन भाषामा अर्को भाषाबाट शब्द गएका छन् त्यही भाषाको शब्दानुशासनले व्यवस्थित गर्दछ ।  
यस आधारमा नेपाली भाषामा अरू भाषाबाट आएका शब्दलाई ती शब्दको मूल स्रोतको हिज्जे व्यवस्था खोजी गर्नतिर नलागी नेपाली भाषाको आफ्नै वर्ण विन्यास अनुरूप व्यवस्थापन गर्नु उपयुक्त हुने देखिन्छ ।  बरु तिनका लागि कस्तो हिज्जे व्यवस्था गर्ने भन्ने नियमन गर्नु जरुरी छ ।  यसले भाषालाई सरल, सहज त बनाउँछ नै हरेक भाषाका शब्दको मूल स्रोत खोजी गर्नका लागि हरेक भाषाका शब्दकोशको किन्नु र राख्नुपर्ने आर्थिक र भौतिक भारसमेत भाषाका प्रयोक्ताले व्यहोर्नु पर्दैन ।  प्रायोगिक तथा समाज भाषा विज्ञानको अर्थलाई पनि यसले सकार्छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना