अन्तर्राष्ट्रिय एट ए साइड फुटबलको तयारी पूरा

राममणि दहाल, हेटौँडा, असोज ३० गते । रोटरी क्लब अफ मकवानपुरको आयोजनामा यही कात्तिक २ गतेदेखि हेटौंडामा सञ्चालन हुने अन्तर्राष्ट्रिय रोटरी कप एट ए साइड फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । 

करीब ४० बर्ष उमेर समूह माथिका खेलाडीको सहभागिता रहने खेलका लागि सिद्धार्थ मावि हेटौँटाको चौर मर्मतको काम सकिएको र विदेशी टिम आउने क्रम सुरु भएको छ । गत बर्षबाट सुरु भएको ४० बर्ष माथिको यस प्रतियोगिता यस बर्षबाट अन्तराष्ट्रियस्तरमा हुन लागेको हो ।
बङ्गलादेश र भारतसहित १२ वटा टिमको सहभागिता रहने भएको छ । कात्तिक २ गतेबाट ६ गतेसम्म हुने दोस्रो रोटरी कप एट ए साइड फुटबल प्रतियोगितामा बङ्गलादेश र भारतसंगै ध्रुवतारा भेट्रान्स चितवन, सानोगौचरण नाइट किङ, वीरगञ्ज युनाइटेड पर्सा, चःपुर भेट्रान ११ रौतहट, वीरगञ्ज यूथ एकेडेमी पर्सा, बगर भाई खलक पोखरा, मदन भण्डारी स्पोर्टस् एकेडेमी काठमाण्डौं, महाबीर क्लव हेटौंडा, क्लव मोसिस काठमाण्डौं र आयोजक रोटरी क्लव अफ मकवानपुरको सहभागिता रहनेछ ।
नेपाली टिममा पुराना राष्ट्रिय टोलीमा आबद्ध भएर खेलिसकेका खेलाडीहरु सहभागी हुने आयोजक रोटरी क्लवका अध्यक्ष ज्योतिरत्न बज्राचार्यले जानकारी दिनुभयो ।
प्रतियोगिता नकाउटको आधारमा सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले नगद ४० हजार रुपियाँ र उपविजेताले नगद २० हजार रुपियाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । विजेता र उपविजेतालाई नगद पुरस्कारको प्रायोजन हेटौंडा स्कुल अफ म्यानेजमेन्टले गर्नेछ । प्रत्येक खेलमा म्यान अफ दी म्याच, उत्कृष्ट खेलाडी, म्यान अफ दी सिरिज, उत्कृष्ट खेलाडी तथा सर्वाधिक गोलकर्तालाई समेत पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताको उद्घाटनको दिन आयोजक रोटरी क्लव अफ मकवानपुर र रोट¥याक्ट क्लब अफ मकवानपुरको बीचमा मैत्रीपूर्ण खेल हुनेछ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना