नेपालमा हाब्रेको सङ्ख्या वृद्धि

लक्ष्मीप्रसाद उपाध्याय

काठमाडौँ, कात्तिक १  गते ।  विश्वमै दुर्लभ र लोपोन्मुख मानिएको रेडपान्डा (हाब्रे) को संरक्षणमा स्थानीय समुदायको सक्रिय र प्रभावकारी भूमिका बढ्न थालेपछि नेपालमा यसको सङ्ख्यामा वृद्धि हुन थालेको छ ।  
पछिल्लो समयमा कञ्चनजङ्गा संरक्षित क्षेत्र र त्यस वरपरका सामुदायिक वनमा यसको सङ्ख्या बाक्लो रूपमा देखिन थालेको छ ।  रेडपान्डाको संरक्षणका लागि स्थानीय समुदाय जागरुक भएपछि चोरीशिकार नियन्त्रण हुँदै र बासस्थानमा सुधार हुँदै जाँदा रेडपान्डाको सङ्ख्यामा पछिल्लो समय वृद्धि भएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ ।  
विभागका उपमहानिर्देशक शेरसिंह ठगुन्नाका अनुसार नेपालको पूर्वी भेग कञ्चनजङ्गा संरक्षण क्षेत्र, लामटाङ र मकालु वरुण क्षेत्रमा रेडपान्डाको सङ्ख्या बढी पाइने गरेको र सरकारले पनि ती क्षेत्रलाई केन्द्रित गरी संरक्षणमुखी क्रियाकलाप सञ्चालन गरिरहेकाले पछिल्ला दिनमा यसको सङ्ख्यामा वृद्धि भइरहेको छ ।  
विशेषगरी इलाम, ताप्लेजुङ र पाँचथरमा यसको सङ्ख्या अधिक देखिन थालेको छ ।  त्यस क्षेत्रमा विभाग र रेडपान्डा नेटवर्कले संरक्षणका विभिन्न क्रियाकलाप प्रभावकारी रूपमा सञ्चालन गरिरहेको छ ।  उपमहानिर्देशक ठगुन्नाका अनुसार संरक्षण क्षेत्रभित्र र संरक्षण क्षेत्र बाहिरका सामुदायिक वनमा पनि रेडपान्डाको सङ्ख्या निकै बढी देखिन थालेको छन् ।  
कञ्चनजङ्गा संरक्षण क्षेत्रमा प्रमुख संरक्षण अधिकृत हेमराज आचार्यका अनुसार हाल नेपालमा यसको सङ्ख्या एक हजारभन्दा बढी रहेको अनुमान गरिएको छ ।  नेपाल, भारत, चीन, भुटान र बर्मामा मात्र रेड पान्डा पाइने गरेको छ ।   red panda
हाल रेडपान्डा नेटवर्कले नेपालमा ताप्लेजुङ, इलाम र पाँचथरका २७ वटा गाउँ विकास समितिमा रेडपान्डा संरक्षणका लागि काम गरिरहेको छ ।   
दुई हजार दुई सय मिटरदेखि चार हजार मिटर उचाइसम्मको १० डिग्रीदेखि २५ डिग्री सेल्सियस तापक्रममा रहेको गुराँस, मालिङ्गो, निगालोको जङ्गल र पानीको मुहान नजिक भएको स्थानमा यसको बासस्थान मानिन्छ ।  एक्लै बस्न रुचाउने रेडपान्डा मानिस देख्दा झन् रोचक ढङ्गले हेरिरहने भएकाले यसको शिकार गर्न सजिलो हुने हुँदा चोरीशिकार यसको संरक्षणमा ठूलो चुनौती देखिएको छ ।  
यसले आहारका रूपमा ७० प्रतिशत मालिङ्गो र निगालोको पात, १३ प्रतिशत टुसा प्रयोग गर्ने गर्छ भने बाँकी अन्य आहारका रूपमा प्रयोग गर्ने गरेको छ ।  यसको बासस्थान र आहारमा देखिएको चुनौतीलाई कम गर्न तीन जिल्लाका २७ वटा गाविसमा वन अभिवावक कार्यकर्ता निर्माण गरी ती अभिभावकलाई तालिम, सचेतना शिक्षा दिने गरिएको छ ।  नेटवर्कले रेडपान्डा संरक्षणमा थप सहजता र विश्वसनीयता ल्याउनका लागि मोबाइल एप्स प्रविधिको सुरुवात गरेको रेडपान्डा नेटवर्क संरक्षण संयोजक पेम्मा शेर्पाले जानकारी दिनुभयो ।  
हाल सामुदायिक वनले मालिङ्गो र निगालोलाई प्रयोग गरी विभिन्न आयआर्जनका काम गर्न थालेपछि यसको आहार र बासस्थानमा केही चुनौती देखिएको विभागले जनाएको छ ।  संसारमा यसको सङ्ख्या एकदमै न्यून छ ।  यसको बारेमा धेरै अध्ययन अनुसन्धान पनि हुन सकेको छैन ।  देख्दा माम्सहारी जस्तो लागे पनि शाकाहारी प्राणी भएकाले यसको बासस्थान, आहारमा सन्तुलन कायम गर्न सकिएन भने यो लोप हुँदैजाने सम्भावना रहेको छ ।  
आगलागी, वन फडानी, शिकारी कुकुरको प्रयोग गरी मार्ने प्रवृति बढ्दै जानु, सडकलगायतका पूर्वाधार निर्माण, निगालोको अत्याधिक प्रयोग, सामुदायिक वनभित्र भेडी गोठ र गाईभैँसीका गोठ राख्ने प्रचलन अझै कायम हुनुले पनि यसको बासस्थानमा चुनौती थपिएको कञ्चनजङ्गा संरक्षण क्षेत्रका संरक्षण अधिकृत आचार्यले बताउनुभयो ।  
अत्यन्तै दुर्लभ वन्यजन्तु भएकाले यसको शिकार गरेमा वा मारेमा एक वर्षदेखि १० वर्षसम्म कैदको सजाय हुने व्यवस्था राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनले गरेको भए पनि अज्ञानता र रेडपान्डाको महìव नबुझेकाले चोरीशिकार बढ्दै गइरहेको बताइएको छ ।   

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना