पर्यटन क्षेत्रको विरक्त व्यवहार

chandramani-adhikari-300x300डा. चन्द्रमणि अधिकारी

 

नेपालमा पर्यटनको विकासको प्रारम्भ सन् १९५१ बाट भएको हो ।  त्यसबेला विशेषगरी अमेरिकी नागरिकहरू पर्यटकको रूपमा नेपालमा आउन थालेका थिए ।  सन् १९५६ मा पर्यटनसम्बन्धी राष्ट्रिय योजना परिषद्को स्थापना भएपछि यस क्षेत्रले संस्थागत रूप लियो ।  यस परिषद्ले पहिलोपटक पर्यटन सम्बन्धी पाँच वर्षे योजना तयार ग¥यो ।  त्यसपछि लगत्तै सन् १९५७ नेपाल यातायात विभागअन्तर्गत नागरिक उड्डयन सेवाको थालनी भयो ।  त्यसपछि १९५८ मा नेपाल वायुसेवा निगमको स्थापना भयो ।  अहिले नेपालमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग, पर्यटन बोर्ड र नागरिक उड्डयन प्राधिकरणसमेतका सरकारद्वारा सञ्चालित निकायहरू र पर्यटन उद्यमी तथा व्यवसायीबाट सञ्चालित टान, हान र पाटासमेतका संस्था यस क्षेत्रको प्रवद्र्धनमा लागेका छन् ।  नीतिगत तथा योजनागत दृष्टिले हेर्दा आवधिक योजना र पर्यटन नीति २०६५ ले पर्यटन उद्योगलाई ग्रामीण तहसम्म विस्तार गरी सघन एवं समन्वयात्मक पर्यटकीय विकासका माध्यमबाट नेपाललाई विश्वको प्रमुख गन्तव्यस्थल बनाउने लक्ष्य राखी यस क्षेत्रको विकासलाई रोजगारी सिर्जना, आर्थिक र क्षेत्रीय विकासको प्रमुख आधारको रूपमा विकसित गर्दै यस उद्योगलाई राष्ट्रिय अर्थतन्त्रको मुख्य आधारको रूपमा योगदान गर्न सक्ने तुल्याउन पर्यटनको विविधिकरण र विस्तार गरी प्रतिवर्ष पर्यटक आगमन सङ्ख्या
सन् २०१७ सम्म १० लाख र सन् २०२० सम्म २० लाख पु¥याउने उद्देश्य लिएको देखिन्छ ।  
यस क्षेत्रमा यत्तिका संस्था, निकाय तथा नीतिगत व्यवस्थाहरू हुँदाहुँदै पनि नतिजा भने अपेक्षा गरेअनुरूप छैन ।  सन् १९९० मा २५८ हजार रहेको पर्यटक सङ्ख्या अहिलेसम्म आठ लाख पनि पुग्न नसकेको अवस्थामा आउँदो चार वर्षमा २० लाख पुग्ने लक्षण पनि देखिँदैन ।  पर्यटकको प्रतिदिन औसत खर्च ४६ अमेरिकी डलरबाट माथि गएको छैन ।  पछिल्लो वर्ष त पर्यटन आयको वृद्धिदर नकारात्मक रहनाले कुल गार्हस्थ उत्पादनसँग यसको अनुपात २ दशमलव ५ प्रतिशतबाट २ दशमलव १ प्रतिशतमा झर्न पुग्यो ।  यसरी हेर्दा राज्यले प्रमुख प्राथमिकतामा राखेको क्षेत्रको यस्तो हविगत किन भयो भनेर खोजी गर्नुपर्ने भएको छ ।  पर्यटक नेपालतर्फ किन आकर्षित भइरहेका छैनन् भनेर केलाउँदा विगतमा नेपालमा आएका पर्यटकहरूको प्रकृति तथा हाम्रो उनीहरूप्रतिको विरक्तलाग्दो व्यवहारको पनि लेखाजोखा गर्नु उपयुक्त होला ।  
विगत केलाएर हेर्दा सन् १९६० को दशकमा पर्यटक आगमनमा उच्चदरमा वृद्धि भएको थियो ।  सन् १९६५ मा मात्र ४० प्रतिशतले वृद्धि भयो ।  त्यसबेला एकातिर नेपाल नयाँ गन्तव्यको रूपमा देखा परेको थियो भने अर्कातिर पश्चिमी युवा पुस्तामा हिप्पी प्रवृत्तिको विस्तार भएको थियो ।  हिप्पीहरूको गन्तव्य अमेरिका हुँदै लन्डनदेखि पेरिस, टर्की अनि अफगानिस्थान र काश्मिर हुँदै नेपालसम्म पुगेको थियो र उनीहरू पर्यटकको रूपमा नेपाल आउन रुचाउँथे ।  त्यसको कारण थियो नेपालमा गाँजा र भाँगजस्ता लागूपदार्थको उपभोग गर्न पाइनु ।  उनीहरू यातायातको सस्तो साधन, सस्तो खाना र सस्ता खालका होटलको प्रयोग गर्थे ।  सन् १९७१ मा हिप्पीहरूको जीवनमा आधारित हिन्दी फिल्म हरेकृष्ण हरेरामको निर्माणको छायाङ्कन कार्य काठमाडौँमा गरिएको थियो ।  त्यसैले त्यस किसिमका पर्यटकको सङ्ख्या बढे पनि त्यसले नेपाललाई आर्थिक रूपले खासै योगदान गर्न सकेको थिएन ।  सन् १९७७ मा अफिम, गाँजा र भाँगसमेतको खेती, व्यापार, ओसारपसार र बिक्री वितरणमा प्रतिबन्ध लागेपछि त्यस किसिमका पर्यटकको सङ्ख्यामा कमी आयो ।  सन् १९७० को आधाआधीदेखि १९९० को आधाआधीसम्म नेपालमा बिदा मनाउने, पदयात्रा, एडभेन्चर्स तथा सांस्कृतिक सम्पदाहरूको अवलम्बन गर्ने पर्यटकहरूको बाहुल्यता रह्यो ।  यस्ता पर्यटकलाई तुलनात्मक रूपमा गुणस्तरीय मानिन्छ ।  यस्तो पर्यटनको विस्तार फराकिलो हुन्छ ।  त्यसपछिका समयमा दुई तिहाई स्थान मनोरञ्जन, यात्रा, पदयात्रा, पर्वतारोहण र तीर्थयात्रा गर्ने पर्यटकले लिएका छन् ।  
पछिल्लो कालखण्डमा माओवादीहरूले चलाएको द्वन्द्वले नेपालको पर्यटनको विकाससम्बन्धी गतिलाई रोकिदियो ।  सन् १९९९ को डिसेम्बर महिनामा त्रिभुवन विमानस्थलबाट उडेको इन्डिएन एयरलाइन्सको अपहरणको घटनाले त यसको गतिमा थप अवरोध ल्यायो ।  यसकोणबाट हेर्दा बुझिन्छ, पर्यटकले मूलतः सहजता, सुरक्षा र आनन्द हेर्छन् ।  पर्यटकलाई यता आउ भनेर मात्र हुँदैन, उनीहरूको विश्वास जित्नु पर्छ ।  नेपालको आन्तरिक द्वन्द्व र अन्य घटना परिघटनाले पर्यटकहरूको यी कुराप्रतिको विश्वासमा कमी ल्यायो ।  अर्को प्रमुख कुरा पर्यटकहरूले पाउने सेवा सुविधा र संरचना पनि हो ।  त्यस्ता सुविधामध्येको प्रमुख हो हवाई यात्रासँग जोडिएका सुविधा ।  यस्ता सुविधा र संरचनासम्बन्धी दुईवटा अनुभव यहाँ प्रस्तुत गरिएको छ –
२०७३ साउन ३२ गते त्रिभुवन विमानस्थल हुँदै संयुक्त अधिराज्यको यात्रामा निस्कने क्रममा सुरक्षा जाँचका लागि सामानहरू बकेट (टोकरी) मा राख्नुपर्ने भयो ।  मैले पनि अन्य सामानसहित मेरो ल्यापटप एउटा बकेटमा राखें तर त्यो हरियो रङको प्लास्टिकको बकेट यति कमजोर र लुलो थियो कि दुईहातले समाउँदासमाउँदै पनि एकछेउपट्टि लच्केर मेरो ल्यापटाप झ¥यो ! म ल्यापटप बिग्रियो कि भनेर निकै डराएँ, किनभने मेरो डोको नाम्लो नै त्यही हो ।  विदेशका विमानस्थलहरूमा पनि ल्यापटप त्यसरी नै निकालेर राख्नुपर्छ तर त्यति कमजोर बकेट अन्यत्र देखिएन ।  
अर्को उदाहरण टर्किश विमान दुर्घटना भई धावनमार्गमा अवरोध पुगेपछिका दिनमा धेरै समयसम्म नेपाल आउने यात्रुहरूको लगेज यात्रुको अवतरणसँगै आउन सकेको थिएन ।  त्यसका लागि भोलिपल्ट वा पर्सिपल्टसम्म यात्रुले खोजखबर गरी लिन जानु पथ्र्यो ।  यसो हुँदा पर्यटक तथा अन्य यात्रुलाई कति असुविधा, नोक्सानी र बेहोर्नु परेको थप लागतका विषयमा लेखाजोखा शायदै भएको होला तर त्यसरी नै विदेशी विमानस्थलमा समयमा लगेज नपुग्दा सम्बन्धित पक्षबाट भएको असल व्यवहार भने उदाहरणीय छ ।  अघि उल्लेख गरेको यात्राकै क्रममा हामी कतारको दोहा हुँदै संयुक्त अधिराज्यको बर्मिङ्घमबाट आफ्नो गन्तव्य ग्लास्गो विमानस्थल पुग्यौं ।  त्यहाँ पुगेर सम्बन्धित बेल्टमा आफ्नो लगेजका लागि प्रतीक्षा गर्दै थियौँ, करिब तीस मिनट कुर्दा पनि सामान आएन ।  त्यसपछि विमानस्थलका एक कर्मचारी आएर हामीसँग उडान नम्बर सोधे ।  उडान नम्बर थाहा पाउनासाथ उनले विनम्रतापूर्वक काउन्टरमा बोलाए, ट्याग मागे, विवरण सोधेर कम्प्युटर प्रविष्ट गरी सो सामान आइनपुगेकोले क्षमा माग्दै हामी त्यस दिनको बासका लागि पुग्ने गन्तव्यको पूर्ण विवरणसहित लगेज आउन ढिला भएको बारेको फर्म आफैँले भरिदिए ।  त्यसपछि एउटा पत्र दिँदै सामान भरिसक्ये उही दिन र ढिला भए भोलिपल्ट बिहान हाम्रो असी माईल टाढाको बासस्थानमा विना लागत पु¥याइदिने वचन दिई हामीलाई आफ्नो गन्तव्यमा लाग्न भने, हामी गन्तव्यमा लाग्यौँ ।  भोलिपल्ट बिहान एघार बजे कुनै ताकेता र फोनविना नै लगेज आइपुग्यो ।  यस्ता कुराले यात्रुलाई निकै प्रभावित पार्दो रहेछ ।  
यीबाहेक विमानस्थलमा राखिने सूचना, सूचना सेवा डेस्क, शौचालय सुविधा, सामान ओसार्ने ट्रली व्यवस्थापन, सामान प्राप्त गर्ने बेल्ट तथा त्यसको अनुगमन पनि महìवपूर्ण हँुंदोरहेछ ।  त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल सबै ढङ्गले साँगुरो छ ।  अलि व्यस्त समयमा बेल्टमा सामान आइपुग्दा यात्रु तथा ट्रलीको यति खचाखच घुइँचो हुन्छ कि सामान आएपछि सामान राखेको ट्रली निकाल्नै अप्ठेरो ।  बेलुकी आठ बजेको उडानमा यहाँ आइपुग्दा पटकपटक यही अवस्थाको सामना मैले पनि गरेको छु ।  यसपटक त एकजना स्पेनी पर्यटकले अन्य ट्रली हटाएर मलाई बाहिर आउन सहयोग त गर्नुभयो तर भित्रभित्रै त्यो सहयोगले मलाई गिज्याएझैँ लाग्यो ।  शौचालय अलि सफा त भएछ तर हात ओभाउने विद्युतीय उपकरण चलेको देखिएन ।  यसपछि मैले दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थलदेखि बैककको सुवर्णभूमि, अमेरिकाको डल्लास तथा सिंगापुरको चांँग एयरपोर्ट र त्यहाँको सुविधा सम्झिएँ, कति फरक छ त्यहाँ र यहाँ ।  एकपटक मलाई एउटा वायुसेवाले दिएको प्रिमिएर कार्ड म्यानचेस्टर विमानस्थलमा खसेछ, माइकबाट सूचना गरियो मैले गएर लिएँ तर हामै्र विमानस्थलको अध्यागमनको विवरण भर्ने डेस्कमा छुटेको मेरो कतार एयरको कार्ड मैले पाउन सकिनँ ! मैले आफ्नै देशको नकारात्मक कुराहरूको प्रचार गर्ने उद्देश्यले यी उदाहरणहरू प्रस्तुत गरेको होइन ।  बरु हाम्रा कमीकमजोरी केलाएको हुँ ।  यस्ता कमजोरीहरू सच्याउन सके विज्ञापन लिन सञ्चारमाध्यमहरू धाउनुभन्दा विज्ञापन गरिदिन अनुरोध गर्दै विज्ञापनदाताहरू असल सञ्चार माध्यमहरूतर्फ दौडिएझैँ पर्यटकहरू पनि नेपालतर्फ प्रतिस्पर्धा गरेर कुद्ने थिए ।  
झट्ट सुन्दा झिनामसिना लागे पनि यसक्षेत्रको विकासका लागि धेरै महìव राख्ने यी व्यवहारजन्य कुराहरूको व्यवस्थापनमा समुचित सुधार गर्नसके मात्र पर्यटनको क्षेत्रमा अपेक्षा गरेअनुरूप विकास गर्न सकिन्छ ।  यीमध्ये पहिलोमा पूर्वाधार तथा संरचना निर्माण र दोस्रोमा व्यवहारमा माधुर्य अति आवश्यक पक्ष हुन् भन्ने बुझ्नु पर्छ ।  यसो भएमा यस क्षेत्रको छवि राम्रो हुन्छ, आन्तरिक वाह्य दुवै क्षेत्रमा स्तरीयता देखिन्छ ।  अनि राष्ट्रको गरिमा पनि बढ्छ ।  


थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना