सुधार आफैबाट सुरु गर्नुपर्छ

uddhav p bhattaraiउद्धवप्रसाद भटृराई “चैतन्यदीप”


धर्मले मानिसलाई ज्ञानी, सभ्य, सु–संस्कृत एवं चरित्रवान् बन्न प्रेरणा गर्छ ।  सभ्यको अर्थ विकसित तथा उन्नतिवान् भन्ने कुरा बुझाउँछ भने सु–सांस्कृतिक भन्नाले नैतिक एवं चारित्रिक रूपले सम्पन्न मनुष्य समाजलाई जनाउँछ ।  कुनै पनि व्यक्ति देश वा समाजले यही कुराको निरन्तर आसा गरेको हुन्छ ।  सनातन वैदिक हिन्दु धर्म–संस्कृतिले समाजलाई सभ्य, सु–सांस्कृतिक, विकसित, शान्तिपूर्ण, समृद्धशाली एवंं चरित्रवान् मानव बन्न सिकाउँदै आएको छ ।  यसको अर्थ बाहिरी संसारको वातावरणलाई पुष्ट र उन्नतिवान बनाउँदै जीवनको आन्तरिक पक्षलाई पवित्र बनाई स्वच्छ जीवनशैलीको निर्माण गरी जागरुक, सुखी र आनन्दित आत्माको पक्षमा मिलन गराउने कारक तìवको रूपमा सनातन वैदिक धर्मको प्रचार एवं प्रसार हुँदै आएको हो ।  
समाजमा सच्चा ज्ञान, शिक्षा र चेतनाको स्तरमा जागरण ल्याइ मानवलाई सच्चा चरित्रको बाटो देखाउने उद्देश्य नै धर्म साधनको प्रयोग हो तर धर्मको नाममा केही यस्ता विकृति एवं विसङ्गतिहरू पनि समाजमा घुस्न पुगे जसले धर्मको मार्गलाई नै धुमिल बनाउँदै लगेको कुरा हामी सामु प्रस्ट छ ।  धर्म विरोधी र अनावश्यक परिपाटीहरूको परिशोधन एवं परिवर्तन गर्दै लग्नुपर्नेमा सो नभई समाजले यसलाई ख्यालै नगरी अगाडि बढेको कारणले पनि यस्तो भएको हो ।  जसको परिणाम आज धर्मको महानता विरुद्ध नै एकथरि समाज खनिन पुगेको देखिन्छ ।  अधकल्चो शिक्षा एवं अज्ञानताबाट उत्पन्न समाजले धर्मको नाममा केही अन्धपरम्परा, अन्धविश्वास र अन्धधार्मिक क्रियाकलापहरू गराउँदै आएको छ ।  विगतमा चलेको सतीप्रथा र दासदासी प्रथा अहिले बन्द भए पनि त्यत्तिबेला धर्मको नाममा चलेको थियो ।  अरू यस्ता थुप्रै अन्धविश्वास हाम्रो समाजमा धर्मको नाममा व्याप्त छन्, जसमा जातिपाती, भेदभाव, पशुबलि, अन्याय, शोषणजस्ता कुराहरू समाजबाट अझै हट्न सकेका छैनन् ।  
पशुबलि प्रथाको सन्दर्भमा आज हिन्दु धर्मालम्बी समुदायबीच पक्ष–विपक्षमा विशेष चर्चा परिचर्चा हुन थालिसकेका छन् ।  बलिप्रथा वास्तवमा सनातन वैदिक धर्म–संस्कृतिमा उल्लेख भएको कुरा हो ।  यसैले सोही अनुरूप शास्त्र मान्यतालाई मानेर धर्म साधना एवं कार्यमा बलि दिने चलन भएको पाइन्छ ।  अब बलि केको दिने भन्ने सबाल मात्र चर्चा हुनसक्छ ।  बलिको अर्थ समर्पण वा त्याग पनि हो ।  समर्पण नगरिकन संसारमा कुनै पनि भोको प्राणी वा मानिसको पेट भरिँदैन ।  अर्थात् कुनै पनि प्राणी तुष्ट पुष्ट हुन सक्दैन ।  त्यसैले खाना खानु पनि एक किसिमको बलि हो ।  अरूलाई खुवाउनु पनि बलि हो ।  बलि दिनु भगवान वा आत्मालाई चढाउनु हो ।  चढाएको कुरा कसैले खान्छ भने त्यो बलि भयो ।  मासु कसैले खान्छ भने उसले आफ्नै देवतालाई पहिला चढाउँछ अनि आफैंँले खान्छ, त्यहाँ पनि बलि भयो ।  यसैले बलि दिनु सत्य कुरा हो ।  यसको अर्थ पशुलाई नै बलि दिनुपर्छ भन्ने होइन ।  आज समाजमा भएको पशुबलि चाहिँ प्रथाको रूपमा चल्न गएको हो ।  यो अर्धसत्य कुरा हो ।  किनकि आज समाजमा कसैले मासु खान्छन्, कसैले खाँदैनन्, यो उनीहरूको आ–आफ्नो प्रवृत्तिको कुरा हो ।  निवृत्तिमा यसको कुनै अर्थ र चिन्तन हुन्न ।  प्रवृत्तिमा प्राणी आफू बाँच्छ ।  निवृत्तिमा प्राणी अरूलाई बचाउँछ ।  यसमा विवाद गर्नुको कुनै अर्थ हुने छैन ।  निवृत्तिको मार्गमा हिँड्नेका लागि उसको आफ्नो नियम र परिवेश छ ।  प्रवृत्तिको मार्गमा हिँड्नेका लागि समाज, राष्ट्र र विश्वको नियम एवं अनुशासन नै प्रमुख हुन्छ ।  समाजले जुन नियम कानुन बनायो त्यही नियमलाई अङ्गीकार गर्नु मनुष्यको कर्तव्य हुन आउँछ ।  कुनै अधार्मिक कार्य, विकृति र विसङ्गतिलाई हटाउनु छ भने समाज र देशको कानुन परिवर्तन गरेर पनि हटाउन सकिन्छ तर समष्टि सत्यको नियमलाई भने कसैले पनि हटाउन सक्दैन ।  
शिक्षा, ज्ञान, सत्य, अहिंसा, इमानदारी, दया, प्रेम, करुणा, सत्सङ्ग, कर्तव्य भन्ने कुरा उकालो लाग्ने बाटा हुन् ।  उकालो बाटो हिँड्न गाह्रो हुन्छ ।  हिंसा, अशान्ति, अज्ञानता, मनोमानी विचार, भोग, ईष्र्या, द्वेषको बाटो ओरालो हुन् ।  जसमा हिँड्न सजिलो हुन्छ ।  यसैले मानिसहरू सजिलो बाटो हिँड्न रुचाउँछन् ।  बिग्रन सजिलो छ, तर सप्रिन धेरै गाह्रो हुन्छ ।  यसैले संसारमा मानिसहरू धर्म गरेजस्तो गरेर पाप नै बढी गरिरहेका हुन्छन् ।  मानिसको मन सुकर्मभन्दा कुकर्मतिर बढी लालायित हुन्छ ।  किनकि जीवनको दुईवटा बाटा छन्, एउटा बाह्य र अर्को अन्तरजगत् ।  जब मन इन्द्रियहरूको पछाडि हिँड्छ, तब ऊ जहिले पनि बाहिरमुखी मार्गमा विचरण गर्छ ।  जब मन आत्मा अर्थात् अन्तरमुखी हुन्छ, तब मात्र उसको बाटो अन्तरजगत्तर्फ जान्छ ।  अन्तर्जगत्को मार्ग उकालो हो ।  यसमा हिँड्न कठिनाइ हुन्छ ।  यदि मनुष्य कठिनाइलाई नै जीवनको वास्तविकता सम्झन थाल्छ भने तब ऊ धर्मको बाटोमा पाइला चाल्न थाल्छ ।  बाहिरमुखी जीव इन्द्रियहरूको वशमा हुन्छ र उसले इन्द्रियले गर्ने कार्यलाई सत्य मान्छ, तब ऊ गलत कार्य पनि गर्न सक्छ ।  यसैले शिक्षा, ज्ञान र इन्द्रिय निग्रहरूपी साधनाको जरुरत परेको हो ।  जीव सदा बाह्यमुखी विचार भएकोले उसले धर्मभन्दा कर्मकाण्डलाई बढी पत्याउँछ, चेतनालाई भन्दा जडलाई बढी पूजा गर्छ, धन्यलाई भन्दा धनलाई बढी मान्छ ।  निर्माणभन्दा विध्वंसलाई प्रश्रय गर्छ ।  पे्रेम र करुणाभन्दा घृणा र तिरस्कारलाई स्वीकार गर्छ ।  निस्वार्थलाई भन्दा स्वार्थको सहारा बढी लिन्छ ।  किनकि मनुष्य एउटा जीव हो, ऊ काम, क्रोध र लोभको बलमा भएकोले देवता बन्न सकेको हुँदैन त्यसैले उसमा कमी कमजोरी हुन्छ ।  
हरेक व्यक्तिले आफूलाई सुधार्न चाहन्छ तर ऊ सुध्रिन सकेको हुँदैन ।  यही यथार्थ हो ।  जो आफूलाई सुधार गरेर परिष्कृत एवं उदाहरणीय व्यक्तित्वको रूपमा समाजमा देखापर्छ, तब उसको प्रभावले मात्र विस्तारै सुध्र्रिन थाल्छ ।  त्यसैले अरूलाई सुधार्नुभन्दा पहिले आफू सुध्रिन जरुरी छ ।  सुधार आफैँबाट सुरु गर्नुपर्छ ।  मानिसको स्वभाव आफू सुध्रिनुभन्दा अरूलाई सुधार गर्ने अभियानमा नै बढी समय खर्च गर्छ ।  यसले परिवर्तनको सट्टा मानिस–मानिसबीचको सम्बन्धमा आँच पुग्छ ।  यसैले संसारमा शान्तिको सट्टा अशान्ति बढिरहेको हुन्छ ।  धर्म–संस्कृतिको सट्टा भौतिक सुख–सुविधा एवं भोगविलाशमा मानिसको मन आकर्षित भइरहेको हुन्छ ।  ज्यादा भौतिकवादीको लागि धर्म पाखण्ड, ढोङ्ग र अन्धविश्वास जस्तो लाग्छ ।  किनकि धर्म सूक्ष्मतामा छ, भौतिक कुरा स्थुल छ ।  सूक्ष्म प्रत्यक्ष देखिँदैन तर भौतिक स्थुल भएकोले प्रत्यक्ष देखिन्छ ।  संसारमा धेरैजसो मानिस स्थुल बुद्धियुक्त हुन्छन् ।  कमै मानिस मात्र सूक्ष्मबुद्धिले युक्त हुन्छन् ।  यसैले बाहिरी आँखाबाट हेर्दा संसारमा धर्म–संस्कृति भन्ने कुरा विवादित र तरङ्गित अवस्थामा रहेको हो कि जस्तो देखिन्छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना