सूचनामा पहुँचको प्रत्याभूति

raj kumar dhungelराजकुमार ढुङ्गेल 

 

सूचना प्रविधिको क्षेत्रमा हामी धेरै विकसित भएका छौँ ।  एक दशक पहिलेसम्म महिनौ महिना लाग्ने सूचनाको जानकारी मिनेट मिनेटमा पाइरहेका छौँ ।  विश्वका कुनै पनि कुना काप्चामा सेकेन्ड भरमै कुरा गर्न तथा जानकारी लिन सक्ने स्थितिमा पुगिसकेका छौँ ।  नेपालको कुल जनसङ्ख्या दुई करोड ६४ लाख ९४ हजार पाँच सय चारमध्ये कुल जनसङ्ख्याको ३० दशमलव ७० प्रतिशत अर्थात् ८१ लाख ३३ हजार ८१३ जनाको पहुँचमा इन्टरनेट सेवा पुगेको छ ।  विभिन्न माध्यमको प्रयोग गरी इन्टरनेट, टेलिफोन र मोबाइल प्रयोग गर्नेको सङ्ख्या दिन प्रतिदिन बढिरहेको छ ।  मोबाइल फोनबाट इन्टरनेट प्रयोग गर्नेको सङ्ख्या ७६ लाख ८१ हजार तीन सय ९२ रहेको छ ।  २०६८ माघ महिनामा कुल जनसङ्ख्याको १५ दशमलव ७५ प्रतिशत अर्थात् ४१ लाख ८९ हजार जनाले मात्र इन्टरनेट प्रयोग गरेका थिए तर पछिल्लो दुई वर्षमा करिब १५ प्रतिशत इन्टरनेट सेवा प्रयोग गर्ने थपिएका छन् ।  यो तथ्याङ्कले पछिल्लो समय इन्टरनेट सेवाको प्रयोग गरी सूचना र सञ्चारको उपयोग गर्नेको सङ्ख्या दिन प्रतिदिन थपिइरहेको बताउँछ ।   
तथापि नेपाल सूचना र प्रविधिको विश्व विकास परिसूचकमा १ सय ४२औँ स्थानमा रहेको छ ।  विकास परिसूचकमा नेपालभन्दा पछाडि आठ मुलुकमात्र रहेका छन् ।  नेपालमा भएको सूचना र प्रविधिको विकास दक्षिण एसियाली मुलुकमा सबैभन्दा कम रहेको छ ।  सूचना र प्रविधिको प्रयोगमा अगाडि रहेका १० मुलुकमध्ये स्वीडेन, लक्जेम्बर्ग, दक्षिण कोरिया, डेनमार्क, नेदरल्यान्ड, आइसल्यान्ड, स्वीट्जरल्यान्ड, जापान, नर्वे र बेलायत छन् ।  बीसौँ शताब्दीका बेलायती प्रख्यात गणितज्ञ तथा दार्शनिक स्व. वेद्ण्डरसेलले एकाइसौँ शताब्दी सूचना र प्रविधिको शताब्दी भनी घोषणा गर्नुभएको थियो ।  यो तथ्य आज सत्य सावित हुँदै गइरहेको छ ।  
नेपालमा वि.सं. २०२८ मा जनगणनामा तथ्याङ्क राख्ने कार्यका लागि भाडामा कम्प्युटरको प्रयोग भएको थियो तर अहिले कम्प्युटर सरकारी गैरसरकारी सङ्घ संस्था, घर, व्यापारिक केन्द्र, विद्यालयमा प्रयोग हुनथालिसकेका छन् ।  कम्प्युटरको प्रयोगमा वृद्धि भई देशमा स्तरीय सञ्चार नेटवर्कको विकास, निजी क्षेत्रबाट इन्टरनेट, इमेल सेवाको सुरुवात, व्यापारिक क्षेत्रमा अत्यधिक प्रयोगमा ल्याउने सकिने प्रविधिको समेत विकास भइरहेको छ ।  समयको विकास क्रमसँगै हुलाक सेवाबाट सुरु भएको सञ्चार प्रविधि अहिले वैज्ञानिक तरिकाले विकास र विस्तार भइरहेको छ ।  
प्रतिफल स्वरूप टेलिफोन, फ्याक्स, इमेल, इन्टरनेटलगायतका वैज्ञानिक आविष्कारले जीवन सहज र विश्व नै सुगम बनाएका छन् तर पनि हामिले जसरी प्रविधिको प्रयोग गर्नुपर्ने हो, त्यसरी गरिरहेका छैनौँ ।  हामीलाई कुनै पनि नयाँ कुरा पाउँदा त्यसलाई चलाइरहन मन लाग्नु स्वाभाविक हो तर चौबीसै घण्टा त्यसलाई मात्र चलाइरहनु तथा गलत प्रयोग गर्नु चाहिँ दुव्र्यसनी हो ।  हामी अहिले फेसबुक, मोबाइलको दुव्र्यसनीमा फसेका छौँ ।  
एक मिनेट मोबाइल वा इन्टरनेट भएन भने हामीलाई के नभए नभएजस्तो अनुभव भइरहन्छ ।  यसले हामीमा परर्निभरता बढाएको छ ।  हामी जतिखेर पनि फेसबुकमा झुण्डिइरहेका हुन्छौँ, हेर्न मिल्ने, नमिल्ने तस्बिर ‘पोष्ट’ गरिरहेका हुन्छौँ ।  हामीले पोष्ट गरेका तस्बिरले कति सूचना तथा ज्ञान दिइरहेको छ, त्यसमा हाम्रो ध्यान छैन, केवल रमाइलोको लागि मात्र यो काम गरिरहेका हुन्छौँ ।  यसले के देखाउँछ भने हामी भर्खर भर्खर प्रविधिको परीक्षण कालमा छौँ र परीक्षण गरिरहेका छौँ ।  हामीले दैनिकजसो घण्टौँ समय फेसबुकलगायतका सामाजिक सञ्जालमा व्यतीत गरिरहेका हुन्छौँ र उत्पादनशील समय खेर फालिरहेका छौँ ।  यसले के सङ्केत गर्छ भने हामी सूचना र प्रविधिको सही उपयोग गर्न नसक्दा बेरोजगार भइरहेका छौँ ।  
पछिल्लो समयमा सामाजिक सञ्जालको प्रयोग गर्नेमा विद्यार्थीहरू अधिक देखिन्छन् ।  प्रविधिको सही प्रयोग गर्न नसक्दा विद्यार्थी खराब बाटोमा लाग्ने सम्भावना हुन्छ ।  अध्ययन गर्नुपर्ने समयमा अनावश्यक रूपमा सामाजिक सञ्जाल, मनोरञ्जनका खेल वा भिडियो हेरेर बस्नाले उनीहरूको अध्ययन के होला ? केहीले त प्रविधिलाई आफ्नो अध्ययनसँग जोडेर पनि चलाइरहेका होलान् तर अधिकांशले त्यसो गरिरहेका छैनन् ।  केवल रमाइलोको लागि मात्र उपयोग गरिरहेका छन् ।  
यसले गर्दा उनीहरूको अध्ययनमा गम्भीर असर पर्ने देखिन्छ ।  सामान्य हिसाब गर्न, लेख्न पनि कम्प्युटर या मोबाइलकै प्रयोग गरिहाल्ने गर्दा हामीमा सिर्जनशीलताको समेत ह्रास हुँदैछ ।  फेसबुक चलाउँदा आजको काम के हो त्यो पनि बिर्सन्छौँ, खाजा खानुपर्ने समय पनि बिर्सन्छौँ ।  यसले हामी प्रविधिको प्रयोगको नाममा कता गइरहेका छौँ ? के गरिरहेका छौँ ? भन्ने देखाउँछ ।  विज्ञान र प्रविधिको सही प्रयोग गर्न नसक्दा हामी मानसिक रूपमा अपाङ्ग भइरहेका छौँ, आर्थिक र शैक्षिक रूपमा अपाङ्ग भइरहेका छौँ ।  यसले हाम्रो भविष्य बन्ने होइन भत्किने सङ्केत गरिरहेको छ ।  
विश्वका शक्तिशाली देशहरू प्रविधिको सदुपयोग गरेर त्यो हैसियतमा पुगेका हुन् ।  हामी भने चौबीसै घण्टा मोबाइल हातमा राखेर पैसा र समय खर्च गरिरहेका छौँ ।  प्रविधिलाई मनोरञ्जनको साधनका रूपमा प्रयोग गरिरहेका छौँ ।  सिर्जना, अवसरको खोजी, सहयोगका लागि होइन, कसैलाई ब्ल्याकमेलिङ (ठगी) गर्न, पीडा दिन यसको प्रयोग गर्छौं ।  यसै गरे प्रविधिले हाम्रो समाजलाई कता लैजाला ? हेक्का राख्नुपर्छ, प्रविधिका नराम्राभन्दा राम्रा कुरा धेरै छन्, त्यो हामीले प्रयोग गर्ने कलामा भरपर्छ ।  त्यसैले सही समयमा सही कामको लागि प्रविधिको प्रयोग गर्नुपर्छ ।  प्रविधिलाई आर्थिक, सामाजिक, शैक्षिक समृद्धिसँग जोड्नुपर्छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना