जाम र दुर्घटना घटाउने उपाय

Madhav sharmaमाधव शर्मा



हिजो आज राजधानी काठमाडौँ ट्राफिक (सडक सवारी) जामले सर्वसाधारणको दैनिकीमा धेरै असर पारेको छ ।  यातायात व्यवस्थापनमा दख्खल राख्नेदेखि लिएर समस्या भोगेकाहरूले ट्राफिक जाम न्यूनीकरण गर्ने विविध उपाय पनि प्रस्तुत गरेका छन् ।  त्यसैगरी सडकमा यातायात दुर्घटना पनि बाक्लै हुने गरेको छ ।  नगर क्षेत्रमा दुईपाङ्ग्रेका कारण हुने दुर्घटना र दुईपाङ्ग्रे दुर्घटना अरू साधनभन्दा धेरै छ तर अस्वाभाविक दुर्घटना वा टार्न सक्ने दुर्घटना वास्तवमा दुर्घटनाको परिभाषामा कति पर्छ, पर्दैन यसमा भने सबैले सोच्नुपर्ने अवस्था छ ।  
काठमाडौँ उपत्यकामा ट्राफिक जाम तथा दुर्घटनाहरू सामान्यभन्दा सामान्य ट्राफिक नियमको लापरबाहीले धेरै निम्त्याउने गरेको देखिन्छ ।  मोटरसाइकल, स्कुटर चलाउनेहरूलाई त्यस्ता साधन बिक्रेताहरूले पहिले नै एउटा मनोवैज्ञानिक असर पु¥याएका हुन्छन् ।  काठमाडौँमा ट्राफिक जामको समस्या छ, “दुईपाङ्ग्रे” भए ट्राफिक जामको अवस्थामा पनि यसो घुसाएर समयमा गन्तव्यमा पुग्न सकिन्छ ।  यसरी मानसिकरूपले मोटर किन्न वा सार्वजनिक यातायातमा समयमा पुग्न सकिन्न भन्ने पारिएको छ ।  परिणामत दुईपाङ्ग्रे सवारी साधन भनेको कहीँ पनि ब्रेक लगाउन नपर्ने, ट्राफिक जाममा जहाँ घुसाए पनि, फुटपाथमा दौडाए पनि, दुई ठूला यातायातको चेपमा पसाए पनि हुन्छ भन्ने मनोविज्ञान ती सवारी चालकमा विद्यमान छ ।  तिनले चलाउने दुईपाङ्ग्रे सावरी साधनमा ब्रेक पनि छ, ब्रेक लगाउन पर्छ भन्नेसम्मको ज्ञान न त सिकाउने
‘इस्टिच्युट’ ले तिनलाई दिएको छ न त ‘ट्रायल’ लिने र लाइसेन्स दिने संस्थाले नै दिएको छ ।  अनि जहाँ खाली छ त्यहीँबाट उछिनपाछिन गर्नु त उनीहरूको स्वभाविक काम भएको छ ।  तिनलाई ट्राफिक नियम उल्लङ्घन गरेको हो भन्नेसम्मको हेक्का छैन ।  यस्तो अवस्थामा ट्राफिक जामको त कुरै छोडौँ भयानक दुर्घटनाहरू नहुने कुरै भएन ।  कमसेकम दुईपाङ्ग्रे सवारी चालकलाई कतातर्फबाट ओभरटेक गर्नु ट्राफिक नियम उल्लङ्घन हो भन्नेसम्म शिक्षा सडकमा बसेर ट्राफिकसँग सरोकारवालाले अभियानका रूपमा चलाए मात्र पनि दुर्घटनामा निकै कमी आउनेछ ।  
तर गर्ने कसले ? ड्राइभिङ सिकाउनेहरू निश्चित रकम लिएपछि स्टेयरिङ समाउन र स्टार्ट गर्न सिकाएपछि आफ्नो काम सकिएको ठान्ने ।  ट्राफिक प्रहरीलाई कार्यबोझ यस्तो छ कि तिनले नियन्त्रणात्मकभन्दा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सक्ने अवस्था छैन ।  
यस्तै सामान्य अर्को कुरा, प्रायशः दुईपाङ्ग्रे सवारी साधनमा दायाँबायाँ मोड्ने ‘इण्डिकेटर लाइट’ काम सकिएपछि आफैँ स्वतः निभ्दैन ।  त्यसलाई हातले निभाउनु पर्छ तर सवारी चालकको बेहोसीमा एक ठाउँमा बालेको उक्त इण्डिकेटर लाइट अनावश्यक ठाउँमा पनि बलिरहेको हुन्छ ।  यसले गर्दा पनि दुर्घटना भएका छन् ।  यसका लागि इण्डिकेटर निभाउन स्मरण गराउने आवाज आउने प्रविधि मोटर साइकलहरूमा जडान गर्नुपर्ने नियम आवश्यक छ ।  यो सस्तो सामान्य प्रविधि जडानले पनि दुर्घटना रोक्न ठूलो मद्दत पुग्नेछ ।  जहाँसम्म ट्राफिक जाम कम गर्ने कुरा छ त्यसका लागि हाललाई सामान्यतया गर्नुपर्ने सानातिना काममा बायाँतर्फ मोडिने सवारी साधनहरूलाई कुनै पनि हालतमा निर्वाध रूपमा गन्तव्यसम्म जान दिने अवस्था हो ।  यो सामान्य अवस्था पनि छैन ।  बायाँ मोडको ठीक अगाडि सडकमा सार्वजनिक यातायात रोक्ने, यात्रु ओराल्ने र चढाउने काम गर्दा त्यो निर्वाध गन्तव्यको अवस्था रोकिएको छ ।  कतिपय अवस्थामा दायाँ र सीधा जाने सार्वजनिक यातायातका साधनहरूले समेत यात्रु चढाउने, ओराल्नेजस्तो बाहना गरी यस ठाउँमा अत्यन्त धिमा गतिमा सवारी साधन गुडिरहेको जस्तो गरेर निर्वाध बायाँ जाने अन्य साधनहरूलाई अवरोध गरेको पाइन्छ ।  यस्तो काम रुटमा चल्ने सार्वजनिक सवारी साधनले प्रायशः गर्छन् तर ट्राफिक प्रहरीले देखेको नदेख्यै गरेको पाइन्छ ।  
तसर्थ बायाँ मोडभन्दा अगाडि सार्वजनिक यातायातको साधन रोक्न नपाउने सानो नियमले ठूलो समस्या समाधान हुन सक्छ ।  “लेन अनुशासन” को गल्तीमा सर्वसाधारण सवारी चालकलाई गर्ने कारबाही सार्वजनिक यातायात चालकलाई नगर्दा ट्राफिक जाम बढेको छ ।  त्यसैगरी वैकल्पिक बाटो भएका ठाउँका चौबाटोमा दायाँ मोड्न निषेध गरेमा पनि सडक जाम धेरै कम हुन सक्छ ।  अरू जाम कम गर्नका लागि बेलुका निश्चित बजेबाट बिहान ६ बजेसम्मको समयमा बाहेक सम्पूर्ण ढुवानीका साधनजस्तै ट्रक, ट्रिपर, टयाङ्कर, मिनिट्रक, खाद्यान्न ढुवानी गर्ने सानासाना भ्यान र ट्याक्टरलाई सडकमा गुड्न रोक्न सकेमा पनि धेरै मात्रामा जाम कम हुन्छ ।  
यस्तै साना झिना मसिना कुरामध्ये सडकमा भएका सामान्य खाल्डाखुल्डीलाई समयमै तत्काल मर्मत सम्भार गरी सडकलाई पूर्ण क्षमतामा सञ्चालन योग्य बनाउनु पनि एक हो ।  निर्माण सामग्रीहरू सडकमै थुपार्ने, फुटपाथमा तरकारी फलफूल बेच्न दिने मात्र होइन सिरक डसना र फर्म बेच्ने पसलले फुटपाथलाई नै शोरुम बनाउने, छड पाइप बेच्ने, फुटपाथलाई नै गोदाम बनाउने अनि टायर ट्युब मर्मत गर्नेले फुटपाथमा नै पुराना टायर थुपार्ने, सोलार हिटर र ग्रील उद्यमीहरूले फुटपाथलाई तयारी सामानको बिक्री कक्षमा परिणत गर्ने गरेको कारण पैदल यात्री मूल सडकमा हिँड्न बाध्य भई दुर्घटना झेल्नु परेको छ ।  यस्तो अवस्थामा सवारी चालकलाई मात्र दुर्घटना गराउने कारक ठान्ने होइन, त्यस्ता दुर्घटना गराउने प्राथमिक कारक तìवहरूलाई पनि सँगसँगै कारबाही गर्ने कानुनी व्यवस्था आवश्यक देखिन्छ ।  
सडक जाम कम हुनु भनेको दुर्घटना पनि कम हुनु हो ।  जामका कारण अतिरिक्त समय व्यतित हुने हँुदा उक्त समयलाई भ्याउन सवारी साधनको गति बढाएर चलाउँदा नै धेरै दुर्घटनाहरू हुने गरेको छ ।  स–साना कुरामा मात्र ध्यान दिएमा पनि काठमाडौँ उपत्यकाको ट्राफिक जाम कम गर्न र दुर्घटनालाई न्यूनीकरण गर्न सकिन्छ भन्ने सोच्न आवश्यक छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना