जनवाद विनाको राष्ट्रवाद

rajendra kiratiराजेन्द्र किराती


 जनवाद, जनजीविका र राष्ट्रियता स्वाधीन, समृद्ध र न्यायपूर्ण शासन व्यवस्थाका मानक हुन् ।  आधारभूत जनताका राजनीतिक अधिकार सुनिश्चित गर्नु जनवाद हो ।  समानता र सामाजिक न्यायमा आधारित आर्थिक उत्पादन र वितरण नीतिअन्तर्गतको समान र न्यायपूर्ण जीउने प्रक्रिया जनजीविका हो ।  बाह्य तथा आन्तरिक हस्तक्षेपविनाको स्वतन्त्र, स्वाधीन र समृद्ध राज्यरूप नै राष्ट्रियता हो ।  अर्थात् जनवाद, जनजीविका र राष्ट्रियता अन्तरसम्बन्धित पक्ष हुन्  ।  किनकि जनवाद र जनजीविका वा आन्तरिक राष्ट्रियताविनाको राष्ट्रवाद ढोँगी, खोक्रो र भ्रमपूर्ण हुन्छ ।  राष्ट्रवादविनाको जनवाद र जनजीविका पूर्ण हुँदैन ।  त्यसैले राष्ट्रियता, जनवाद र जनजीविकाको केन्द्रीकृत अभिव्यक्ति नै राष्ट्रवाद हो ।  
अर्को राष्ट्रवाद पनि वर्गीय हुन्छ ।  राष्ट्रियताको राजनीतिक चरित्र अग्रगामी यथास्थितिवादी र पश्चगामी हुन्छ ।  यथास्थितिवादी र पश्चगामी शासकहरूले जनवाद र राष्ट्रियतालाई अलग गर्छ ।  क्रान्तिकारीहरूले जनवाद, जनजीविका र राष्ट्रियतालाई अन्तरसम्बन्धित ठान्छन् ।  पश्चगामी तथा यथास्थितिवादीहरूले राष्ट्रियतालाई भूगोल र भावनामा सीमित गर्छ ।  यसलाई आफ्नो अन्यायपूर्ण शासनसत्तालाई टिकाउने ढाल बनाउँछ ।  ढ्याङ्ग्रो ठटाएर हात्ती तर्साएजस्तै राष्ट्रियताको कमलो भावनामा आफ्नो विभेदपूर्ण सत्ता जोगाउने रणनीतिक स्वार्थमा कैद गर्छ, अर्थात् जनतामा इमोशनल ब्ल्याकमेलिङ गर्छ ।
     त्यसैले नेपालका प्रतिगामी र यथास्थितिवादीहरूले राष्ट्रवादलाई विचार र आन्दोलनको रूपमा नभएर भूगोल र भावनामा सीमित गर्दै आएका छन् ।  यो महेन्द्रीय राष्ट्रवादकै पछिल्लो संस्करण हो ।  निरङ्कुश पञ्चायती शासनसत्ता टिकाउने ढाल यही खोक्रो राष्ट्रवाद थियो ।  इमोसनल राष्ट्रवादी चकटीमा सुताएर जनवाद र जनजीविकालाई अपहरण गरियो तर त्यसभित्र चरम निरङ्कुशता, शोषण, अन्याय र विभेद् थियो ।  यसलाई बुझ्न जनतालाई तर आठ दशक लाग्यो ।  अन्त्यमा जनताले खोक्रो राष्ट्रवादी पर्दा भित्रको निरङ्कुशतालाई बुझ्यो पञ्चायत ढाल्यो ।  त्यसैले राष्ट्रवादमा भूगोल र भावना मात्र हुँदैन ।  यो राष्ट्र रहेसम्मको सार्वभौम विचार र निरन्तर आन्दोलन हो ।
पछिल्लो समय एमालेजनले सुनियोजित प्रचारबाजीमा राष्ट्रवादको भावनात्मक ब्ल्याकमेलिङ गरिएको छ ।  घटनाक्रमले ढोँगी राष्ट्रवादीका शुभसाइत जुराएको देखिन्छ ।  कतिलाई भ्रमसमेत परेको छ तर यो महेन्द्रीय राष्ट्रवादभन्दा कमजोर छ ।  महेन्द्रले भूगोल र भावनालाई प्राथमिकतामा राख्दै भारतीय केन्द्रीय राज्यसत्तासँग लडे ।  त्यसबेला नयाँ दिल्लीको सत्ता विभाजित थिएन ।  सिङ्गो भारतसँगको टक्कर थियो ।  यता एमालेजनको राष्ट्रवादमा भूगोल र भावना पनि अटाएको छैन ।  क्रान्तिकारीहरूले भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवाद मुर्दावाद भनेर नारा लगाइरहँदा को विस्तारवाद कस्तो साम्राज्यवाद ? भनेर कटु आलोचना गर्ने एमालेजनको विगत सम्झदा छद्म राष्ट्रवादी ह्याङओभर छर्लङ्ग हुन्छ ।  
सर्वप्रथमतः एमालेको लडाइँ भारतीय राज्यसत्तासँग होइन ।  भारतको केन्द्रीय सत्ता काँग्रेस आईको नियन्त्रणमा छ ।  ओलीको लडाइँ पश्चिमा र काँग्रेस आई लगायतका शक्ति राष्ट्रको आडमा मोदी र प्राविधिक रूपमा सत्तारुढ दल भाजपाविरुद्ध हो ।  संविधान जारी गर्ने सिलसिलामा अमेरिका, युरोपियन युनियन, काङ्ग्रेस आई र रिसर्च याण्ड अन्यालशीस विङ्गले गणतन्त्र र धर्मनिरपेक्षतालाई स्वीकार ग¥यो ।  यसपछि फास्ट ट्रयाकबाट संविधान जारी गरियो ।  यसमा पश्चिमाहरूको क्रिश्चीयनाइजेसन गर्ने स्वार्थ अन्तरनिहीत थियो ।  मोदीले भने सबैलाई समेट्ने नाममा हिन्दु सापेक्ष संविधानको पक्षमा वकालत गरे ।  दूतहरू पठाएर अनेकौँ प्रयत्न भए तर सफल भएन ।  पश्चिमा÷काँगे्रस आई अनि भाजपाबीचको तीव्र अन्तरविरोधको कुइनेटामा एमालेजनको कोरा राष्ट्रवादी पालुवा पलाउने अवसर मिल्यो, जुन ऐतिहासिक अवसर सबैलाई जुर्दैन तर विडम्बना एमालेजनको लामो राजनीतिक इतिहासमा राष्ट्रवादी चीउला कहिल्यै पलाएन ।  एमाले नेताहरू नै एकआपसमा भारतपरस्त भनेर आरोप प्रत्यारोपमा ओर्र्लिएको घटना ताजैछ ।  उनीहरू राष्ट्रवादी भनेर वकालत गरिएको दस्तावेज वा अभिलेख दुर्लभ छ ।  उसले राष्ट्रवादलाई निरन्तर आन्दोलनको रूपमा नभएर प्राविधिक र मौसमी विषय बनाएको छ ।  दलीय स्वार्थमा कैद गरिएको छ ।  असमान सन्धि र सीमा अतिक्रमणमा मौन रहेको छ ।  यसले साँचो अर्थमा उनीहरू हिजो राष्ट्रवादी थिएन आज पनि छैन भन्ने पुष्टी गर्छ ।  किनकि राष्ट्रियता तरकारी र फलफूलजस्तो बेमौसमी र मौसमी हुँदैन ।  यो राष्ट्र रहेसम्म जीवित रहने सार्वभौम आन्दोलन हो ।
दोस्रोः नाकाबन्दीको संवेदनशील र इमोसनल पदावलीमा राष्ट्रियतालाई ब्ल्याकमेलिङ गरिएको छ ।  नाकाबन्दी न्यायपूर्ण र जायज हुनै सक्दैन ।  यो हतियारविनाको युद्ध नै हो ।  यता नाकाबन्दीको प्रकृति पनि फरक–फरक हुन्छ ।  यस मानेमा भारतीय नाकाबन्दीको चरित्रलाई नियाल्नुपर्छ ।  कडा र घोषित नाकाबन्दीमा सामानहरू भित्रिने सम्भावना रहँदैन ।  यता नाकाबन्दीकै बावजुद पनि केही सामन भित्रि नै रह्यो ।  भारतीय प्रधानमन्त्री मोदीले सीमाक्षेत्रमा मधेसवादी दलहरूले गरेको धर्नालाई बहाना बनाएर सामानहरूको अभाव सिर्जना गरेको पक्कै हो ।  अभाव र नाकाबन्दी फरक विषय हो ।  तुलनात्मकरूपमा कडाभन्दा खुकुलो नाकाबन्दीको सामना गर्न सजिलो हुन्छ तर सजिलो कामको सानो परिणामबाट धेरै हौसिनु बेकार हुन्छ ।
तेस्रोः चीनसँगको व्यापार, पारबहन एवं पूर्वाधार विकाससम्बन्धी सम्झौता हुनु राम्रो विषय हो ।  यद्यपि सम्झौताभन्दा यसको व्यावहारिक कार्यान्वयन महŒवपूर्ण पक्ष हुन्छ ।  विगतदेखिकै समस्या यहीँनेर हो ।  दुई पक्षीय हितको रसायन मिलेमा सम्झौता हुने गर्छ ।  यो नियम हो ।  यता यस्तो सम्झौता एमालेजनले मात्रै गर्न सक्ने भन्ने होइन ।  सरकारी सम्झौता जो सरकारमा छ उसैले गर्ने हो ।  अनावश्यक भ्रमको खेती नगर्दा नै राम्रो हुन्थ्यो ।  चिनियाँ विदेश नीति अहस्तक्षेपकारी रहेको छ ।  यसमा माओवादी नेतृत्वको सरकार स्पष्ट छ ।  यो राम्रो पक्ष हो ।  अब चीन विश्व सुपरपावर बन्दैछ ।  पश्चिमा दिल्ली र काठमाडौँमार्फत दक्षिण एसियामा वर्चस्व सुदृढ गर्ने रणनीतिमा छ ।  चीन यो सवालमा असाध्यै सचेत देखिन्छ ।  त्यसैले उसले नेपाललाई सर्वाधिक रणनीतिक महŒव दिएको छ ।  यो एमालेजन या कसैको पहलभन्दा पनि चीन स्वयंले अनुभव गरेको क्षेत्रीय रणनीतिक आवश्यताको परिणाम हो ।
चिनियाँ राष्ट्रपतिको भावी नेपाल भ्रमण यही नीतिको पछिल्लो सिलसिला हो ।  सरकार परिवर्तन भएपछि भ्रमण अन्योलमा पर्छ भन्नु सही कुरा होइन ।  सरकार बदलिएसँगै क्षेत्रीयतथा वैदेशिक रणनीति बदलिन्न ।  भ्रमण स्थगनको प्रतिशोधपूर्ण  र सुनियोजित प्रचारबाजीको स्वयं चीनले खण्डन गरिसकेको छ ।  यो केवल  भ्रमको खेती हो ।  वास्तवमा चीनको रणनीतिक चासो र नेपालको आवश्यताको रसायनले द्विपक्षीय सम्झौता हुनेगर्छ ।  यो कुनै दल वा व्यक्ति विशेषको चामत्कारिक पहल र प्रयत्नको उपज होइन ।  
त्यसैले संयोगवश केही घटनाले एमालेजन राष्ट्रवादी जस्तो देखिए पनि त्यो मण्डले राष्ट्रवादभन्दा कमजोर छ ।  मण्डले राष्ट्रवाद भौगोलिकता र भावनामै केन्द्रित भए पनि सिङ्गो भारतीय शासक वर्गविरुद्ध थियो तर एमालेजनको लडाइँ दिल्लीको केन्द्रीय राज्यसत्तासँग होइन मोदीसँग मात्र हो ।  त्यो पनि अमेरिका, युरोपियन युनियन र काँगे्रस आईको आडमा ।  एउटा समूहको आडमा अर्कोको खरो विरोध गर्दैमा राष्ट्रवादी भइन्न ।  जनवाद र जनजीविका विनाका ेराष्ट्रवाद कोरा, खोक्रो र प्राविधिक हुन्छ ।  आन्तरिक राष्ट्रियताविनाको भौगोलिक राष्ट्रवाद ढोँगी हुन्छ ।  राष्ट्रवाद पश्चगामी÷अग्रगामी र न्यायपूर्ण÷अन्यायपूर्ण हुन्छ ।  राष्ट्रवादको गोलमटोल वकालत गर्नु प्रतिगामी शासनसत्तालाई ढाक्ने पर्दा मात्र  हो ।  एमालेजनको ऐतिहासिक राजनीतिक पृष्ठभूिमले प्रगतिशील राष्ट्रवादको प्रतिनिधित्व गर्दैन ।  बरु उल्टै राष्ट्रघातको विरासत बोकेको छ ।  राष्ट्रवादी विचार मौसमी हुँदैन ।  किनकि अन्तर्राष्ट्रियतावाद स्थापित नभएसम्म राष्ट्रवाद रहन्छ राष्ट्र रहेसम्म हस्तक्षेप वा नियन्त्रण कायम रहन्छ अनि हस्तक्षेप रहेसम्म राष्ट्रवादी आन्दोलन अनिवार्य हुन्छ ।
तसर्थ, भाग्यवश विभिन्न घटनाक्रमको मधुरो छायाँमा एमालेजनले   राष्ट्रवाद माथि इमोसनल ब्ल्याकमेलिङ गर्ने अवसर पाएको सत्य हो ।  यो एमालेका लागि संयोग, अवसर र कागताली जुराइ हो ।  यसले व्यक्तिगत र दलगत फाइदा हुनसक्छ तर राष्ट्रियताको अपव्याख्या भइरहेको छ ।  विगतमा सैद्धान्तिक धरातल नबुझी मोदीलाई देवत्वकरण गर्दा र आज एमालेजनलाई नबुझ्दाको दुष्परिणाम उस्तै नहोला भन्न सकिन्न ।  गहन वस्तुवादी विश्लेषण र मूल्याङ्कनले मात्र सत्यतथ्यको नजिक पुग्न सकिन्छ ।  
कालाबजारी, महँगी, भ्रष्टाचार, कृित्रम अभावजस्ता जनजीविकाको सवालमा एमालेजन अनभिज्ञ रह्यो ।  भूकम्प पीडितहरूले समयमा राहत पाएनन् ।  उनीहरूले घटना विशेष प्राविधिक राष्ट्रवादको प्रायोजित प्रचारमा राजनीतिक भविष्य देख्न थाले तर यसले उल्टै राष्ट्रियताको अपव्याख्या गरिरहेको छ ।  कोरा राष्ट्रवादी रवैया प्रगतिशील राष्ट्रवादभित्र पर्दैन ।  इतिहासको आवश्यता भनेको आन्तरिक राष्ट्रवादको अग्रगामी व्यवस्थापन सहितको प्रगतिशील राष्ट्रवादको हो ।  खोक्रो, पाखण्डी, ढोँगी, भौगोलिक एवं भावनात्मक राष्ट्रवादको होइन ।  यस्तो राष्ट्रवादले साधारण जनतामा भ्रम र द्विविधा पार्न सक्ला, चुनावी माहोल बन्ला तर राष्ट्रियता स्थापित हुँदैन ।  किनकि आन्तरिक जनवाद र जनजीविका सहितको राष्ट्रवाद बाहेक अरू सबै भ्रम र प्रायोजित हल्लाखल्ला मात्र हुन् ।  

लेखकः सूचना तथा सञ्चार मन्त्रालयका सञ्चार सल्लाहकार हुनुहुन्छ ।
 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना