सयौं विगाह बगरमा केरा खेती फस्टायो

kera
टंकबहादुर क्षेत्री सर्लाही, कात्तिक ५ गते । सर्लाही र रौतहट जिल्लाको सीमा वागमती नदीले बनाएको सयौं विगाह बगरमा किसानले व्यवसायिक केरा खेती गर्न थालेका छन् ।
जिल्लाको दक्षिणी पश्चिम क्षेत्रमा पर्ने मानपुर, सुन्दरपुर चोहर्वा, हजरिया, हरकठवा लगायत गाविसस्थित वागमती नदी र एकादसी खोलाबीचको सयौं विगाह बगरमा किसानले केरा खेती गरिरहेको जिल्ला कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत एवं कृषि सेवा केन्द्र बरहथवाका प्रमुख देवानन्द रायले जानकारी दिनुभयो ।
‘अहिले बागमती नदी र एकादशी खोलाबीच बनेको बगरमा आँखाले हेर्दा नभ्याउने गरी केरा खेती विस्तार भएको छ’, कृषि प्रसार अधिकृत रायले भन्नुभयो, ‘बगरमा केरा खेती बढी फस्टाउने भएकाले किसानहरू त्यसतर्फ थप आकर्षित भएका छन् हालसम्म तीनसय विगाह भन्दा बढी क्षेत्रफलमा केरा खेती भईसकेको छ, यो क्रम वर्सेनि बढ्दै गएको छ ।’
पूर्व–पश्चिम राजमार्गबाट १५ किलोमिटर दक्षिण लागेपछि वागमती किनारमा देखिने केरा खेती भारतीय सीमा क्षेत्रसम्म लमतन्न ढंगले विस्तार भएको छ । ‘२०५० सालमा बागमती नदीमा आएको बाढीले उक्त क्षेत्रको हजारौं विगाह खेतीयोग्य जमिन बगर बनाउनुका साथै मानव बस्ती समेत विस्थापित गरेको थियो’ मानपुर गाविसका समाजसेवी रामविश्वास रायले भन्नुभयो, ‘अहिले वागमती नदीले बगर बनाएको जमिनमा सर्लाही र रौतहटतर्फका किसानले बढीजसो केरा खेती सूरु गरेका छन् ।’
रौतहट जिल्ला लक्ष्मिपुर गाविस निवासी लालकुमारी देवीले आफूले सर्लाहीतर्फको वागमतीको बगरमा केरा खेती गरिरहेको बताउनुभयो । ‘म दैनिक विहान घरबाट वागमतीमा डुंगा चढेर खेती स्याहार गर्न सर्लाहीतर्फ आउने र साँझ फर्किने गरेको छु’, लालकुमारीले भन्नुभयो, ‘सबैले केरा खेती सूरु गरेपछि मैले पनि सोही खेती सूरु गरेको छु ।’
कसैलै २ कठ्ठा त कसैले ४ कठ्ठा अनि कसैले विगौं विगाहमा केरा खेती गरिरहेको कृषि प्रसार अधिकृत रायले जानकारी दिनुभयो । पछिल्लो समय जिल्लाभर मालभोग, मुंग्रे, झप्रि, घिउ लगायत जातको केरा खेती विस्तार हुँदै गएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना