सर्वसाधारण पीडा पोख्छन्–दसैँ दशा, तिहार पीडा

देवबहादुर कुँवर

काठमाडौँ, कात्तिक ६ गते  ।  राजधानीबाट गोरखाको आरुघाटसम्म पुग्न ठमेलका राजु खनालले सात सयको सट्टा एक हजार तीन सय रुपियाँ टिकट भाडा तिरे  ।   तर पनि उनले बसमा सिट पाएनन् उभिएर एक दिन लामो  यात्रा पार गरी आरुघाट पुगे ।  दसँै मनाएर फर्किदा पनि त्यही दशा दोहोरियो ।  टिकट लिएको बसको बीच बाटोमा पाता भाँचिएपछि यात्रुले खचाखच भरिएको अर्को बसमा उभेर यात्रा गर्नुप¥यो ।  यस पटकको दसैँमा निकै जोखिम मोलेर आवातजावत गर्नुप¥यो उहाँले भन्नुभयो– सामान्य परिवारका लागि यस्तो चाडवाड नआएकै राम्रो ।  
यस्तै, पीडाका बीचमा दसँै मनाएर सुदूरपश्चिमको बैतडीबाट राजधानी आइपुगेका राजेन्द्र पनेरु यतिवेला सबैलाई दसैँ लाग्दो रहेछ भन्नुहुन्छ ।  दसैँ मनाउन करिब ३० घण्टा बसको ग्यालरीमा बसेर गृह जिल्ला बैतडी पुगेका पनेरुलाई राजधानी फर्किंदा पनि त्यस्तै सास्ती भयो ।  जाँदा जे जस्तो दुःख कष्ट भयो, फर्किदा पनि त्यस्तै ।  श्रीमती बच्चा बच्ची सबैको विचल्ली, के दसैँ मनाउनु थियो दुःख र पीडा मात्र उहाँले पीडा पोख्नुभयो ।
काठमाडौंबाट चितवन करिब पाँच घण्टामा नै पुगिन्छ बसमा ।  तर, यो दसैँमा एक दिन नै लाग्यो ।  राजमार्गमा सवारी साधनको बाक्लो चापसँंगै बन्दै गरेको नारायणघाट– मुग्लिन सडक खण्डले यात्रुको सातो नै उडायो ।  लामो दूरीको यात्रा, दिक्क लाग्दो जाम र विजोग अवस्थाको सडक देख्दा दसैँ मनाउन घर जाँदै गरेका यात्रुलाई पनि किन आयो भन्ने जस्तै लाग्थ्यो ।  
यी घटनाहरूबाट प्रष्ट हुन्छ, चाडपर्वहरू सामान्य नेपालीहरूका लागि महँगा र खर्चिला मात्र होइन दुःख, पीडा र यातनाको भारीसमेत बन्नथालेका छन् ।  वर्ष दिनमा एकपटक आउने यस्ता महान चाडवाड तथा पर्वहरूले सर्वसाधारणलाई निकै सास्ती दिने गरेको छ ।   यस्तै दुःख र पीडाको भारी बनेको छ महान चाड वडा दसैँ ।  दसैँमा नयाँ लुगा लगाउनु र मीठो मसिनो खानु अनिवार्य जस्तै भएको छ ।  
यस वर्षको वडा दसैँ पनि धेरैजसो नेपालीलाई दुःख र पीडाको भारी बोकाएर गएको छ ।  विशेष गरी दसैँमा सबैजना कर्मथलोबाट जन्मघर (गाउँ) फकिर्ने भएकाले दसैँलाई महान चाडसँगै महìवपूर्ण अवसरका रूपमा लिने भएकाले दसैँ दुःख बन्दै गएको समाजशास्त्रीहरू बताउँछन् ।  दसैँलाई सबैले रमाइलो चाडपर्वका रूपमा नभई ‘कमाउने’ अवसरका रूपमा लिने गरेको पाइन्छ ।  कतिपयले दसैँलाई दशाको रूपमा समेत लिने गरेका छन् ।
समाजशास्त्री चिरञ्जीवी आचार्य मानव जीवनशैलीमा आएको परिवर्तन र आधुनिक समाजको विकाससँगै चाडवाडहरू महँगो र खर्चिलो बन्दै गएको बताउनुहुन्छ ।  वर्ष दिनमा एक पटक मनाइएने यस्ता चाडवाड तथा धार्मिक जात्रा र पर्वहरूले सुखशान्ति तथा मनोकांक्षा पूरा गर्नुभन्दा पनि दुःखको भारी बन्नथाले ।  बढ्दो विलासितासँगै समय पनि महँगिदै गयो ।  जस्ले पनि दसैँलाई कमाउने अवसर र मौकाको रूपमा प्रयोग गर्न थाले उहाँले थप्नुभयो ।
दसैँ तिहारको बेला लामो दूरीको यात्रा गर्ने सर्वसाधारणका लागि ठूलो समस्या र दिक्क लाग्दो अवस्था राजमार्ग छेरछाउमा सञ्चालित होटल र रेस्टुराहरू बन्ने गरेका छन् ।  एक बोतल पानीको ५० रुपियाँ, एक थाली सेट खाजा नास्ताको पाँच सय रुपियाँँ, एक पोका चाउचाउको ३५ रुपियाँ छोइ नसक्नु मूल्य ।  खाना ताजा हो या बासी खुट्याउन गाह्रो ।  एउटै होटलमा २५ वटा बस रोकेको अवस्था, मान्छेले खचाखच होटलभित्र खु्ट्टो टेक्नेसमेत ठाउँ हँुदैन ।  
यस्तो दिक्क लाग्दो अवस्था देख्दा दसैँ मनाउन घर फर्किनहरूलाई दुःख र पीडा सहनुबाहेक अरू के नै हुन्छ ।  दसैँको मुखमा ताजा र सफा भनिएका परिकारहरू नै शङ्काको घेरामा यतिसम्म कि एउटा होटल र रेस्टुराँ नजिक अन्य पसल र रेस्टुराँ नै भेटिँदैन ।  अनिवार्य रूपमा मन लागी नलागी सोही ठाउँँमा खानैपर्ने बाध्यकारी व्यववस्था राजमार्ग छेउछाउका होटल रेस्टुराँहरूमा ।  
यात्रुलाई यस्तो बाध्यकारी बनाउने कार्यमा बस चालकको नै मुख्य भूमिका रहेको पाइन्छ ।  कमिसनको लोभमा चालकहरूले यात्रुले खचाखच भरिएकै होटल तथा रेस्टुराँमा नै बस रोक्ने गरेको पाइयो  ।  चालक सहचालकले यसरी एक बस रोकेबापत एउटा होटलबाट जनही पाँचदेखि सातहजार कमिसन लिने गरेका छन् ।  
यस्तै, किसिमको व्यवहार  गर्ने होटल तथा रेस्टुराँ व्यवसायी र बस चालकलाई कुनै कारवाही नै भएको पाइँदैन ।  उल्टै नखाउभन्दा पनि खाए खा नखाए घिच भने जस्तै जसरी नि खानैपर्ने हुन्छ, अर्को ठाउँमा बस नै नरोक्ने भएकाले यात्रुका लागि दसैँमा राजमार्गको यात्रा निकै पीडादायी बन्ने गरेको छ ।  सामान्य आयस्रोत भएकाहरूका लागि दसैँमा घर फर्किनु नै गाह्रो छ ।  यातायातको सास्ती, चर्को महँगी, दान दक्षिणा, नयाँ न्यानो, मीठो मसिनोले गर्दा सामान्य आयस्रोत भएका नेपालीहरूका लागि दसैँ दशा नै बन्ने गरेको छ ।  
दसैँमा यातायातको सास्ती ः
कर्मभूमिबाट जन्म घर फर्किनेहरूमा सबैभन्दा बढी दसैँको समयमा नै हो ।  नेपाल प्रहरीको तथ्याङ्क अनुसार, दसैँमा काठमाडौं उपत्यकाबाट मात्र २० लाख मान्छे घर फर्किन्छन् ।  पैसा हुने त्यसमा पनि केही सीमित व्यक्तिहरू मात्र हवाई सेवा प्रयोग गर्छन् ।  तर, धेरैजसोको घर फर्किने विकल्प भनेको नै सार्वजनिक यातायात हो ।  दसैँमा यो सङ्ख्या ह्वात्तै बढ्ने भएकाले सर्वसाधारणले यातायातको निकै सास्ती बेहोर्नुपर्ने हुन्छ ।  निकै कठिन र जोखिमपूर्ण यात्रा गरेर घर फर्किनुपर्ने बाध्यता छ ।  जसका कारण सहरको बसाई गाउँ फर्किदा निकै कष्टकर हुने गर्छ ।  
खर्चिलो र तडकभडक ः
दसैँ दिनप्रति दिन खर्चिलो र तडक भडक बन्दै गएको छ ।  दसैँमा नै नयाँ र राम्रो लुगा लगाउनुपर्ने, मासु खान खसी, बोका, राँगा काट्नैपर्ने र देवी देउतालाई बली दिनैपर्ने अनौठो र बाध्यकारी परम्पराका कारण दसैँ खर्चिलो र तडक भडक बन्दै गएको हो ।  दसैँमा चोरी गरेर भए पनि मिठो मसिनो खानपर्ने चलनले दसैँ खर्चिलो बन्दै गएको छ ।  मान्यजनबाट टिका थापेर आशीर्वाद ग्रहण गर्नेभन्दा पनि टीका थापेर पैसा थुपार्ने प्रचलन हावी भएको छ ।  घर परिवारले सबैले नयाँ कपडा लगाउनुपर्ने, दसैँ करिब एक हप्तासम्म मनाउनुपर्ने जस्ता प्रचलनले यसलाई महँगो बनाएको हो ।  
सार्वजनिक यातायातमा लुट ः
नारायणघाट मुङ्लिङ सडक खण्डलाई देखाउँदै यातायात व्यवसायीले यस पटक अग्रिम टिकट बुकिङ ढिलो गरी सुरु गरे ।  करिब एक हप्तापछि बसको अभाव देखाउँदै बुकिङ सेवा पनि बन्द गरे ।  बुकिङ बन्द गरेसँगै थप बस सेवाका लागि एक सय लिटर निःशुल्क इन्धनको माग गरे ।  विद्यार्थीलाई सहुलियत समेत नदिने भने ।  यस पछाडिको मुख्य कारण जसरी हुन्छ यात्रुलाई दुःख र सास्ती दिएर पैसा कमाउने ध्येय नै थियो ।  यस्तो लुट कि निर्धारित शुल्कभन्दा बढी भाडा उठाउने, नदिए यात्रुलाई बीचबाटोमा अलपत्र पर्ने गरी ओराल्ने समस्या यस पटक दोहोरिए ।  अष्टमीको दिनदेखि पूर्णिमाको दिनसम्म टिकट काउन्टर पूर्ण रूपमा बन्द गरे ।  आकास्मिक काउन्टरसमेत खोलेनन् ।  सरकारले बस चलाउँछुभन्दा विरोध गरे ।  यातायात व्यवसायीहरूको यस्तो बेथिति नियन्त्रण गर्न राज्य नै मुकदर्शक बन्नुप¥यो ।  पीडित यात्रुको गुनासोका आधारमा ट्राफिक प्रहरीले धेरै सवारी कारवाही गरी बढी भाडा फिर्तासमेत गराएको छ ।  
राजमार्गका होटल र रेस्टुरा ः
 फोकटमा मीठो मीठो र ताजा खाना खाने बसका चालक र सहचालकलाई राजमार्गमा सञ्चालित होटल तथा रेस्टुराँ सञ्चालकहरूले ज्वाइँको व्यवहार गर्ने तर, पैसा तिरेर बासी खाना खाने यात्रुमाथि श्रीमती भगाई लिने जारको जस्तो व्यवहार देखाउने गरेको पाइयो ।  चर्को मूल्य, बासी खाना, रुखो बोली सुन्दा त रिस नै उठ्ने ।  दसैँको कमिसन लिन बस चालकले यात्रुमाथि यत्रो अपराध गर्ने गरेका हुन् ।  बसचालकले कमिसनको लोभमा होटल तथा रेस्टुराँहरूलाई लुटेर खाऔं भन्दै यात्रुलाई यस्तो समस्यामा अल्झाउने गरेका छन् ।  विशेष गरी धादिङ, चितवन र नवलपरासी–बुटवलक्षेत्रमा यस्तो समस्या रहेको छ ।  स्थानीय प्रशासनले वर्षमा एक पटक दसैँअगाडि एक पटक अनुगमनका नाममा यस्ता होटल तथा रेस्टुराँहरूमा छड्के चेकजाँच गरे पनि केही दिनपछि जस्ताको त्यस्तै हुन्छन् ।  बीच बाटोमा मदिरा सेवन गरी बसभित्र होहल्ला तथा झैझगडा गर्नेहरूको समस्या पनि दसैँमा नै बढी हुने गरेको पाइयो ।  
बढ्दो कालाबजारी ः
चाडवाडमा कालोबजारी सहरमा मात्र नभई ग्रामीण क्षेत्रमा पनि त्यतिकै रहेको पाइयो ।  चामल, चिनी, चिउरामा मात्र नभई सामान्य धुप र रक्सीमा समेत कालोबजारी गरेको पाइयो ।  तिहारमा झन् यो समस्या विकराल बन्छ ।  यतिसम्म कि मिठाइ पसलहरूले पनि विभिन्न अखाद्य वस्तु र कलर मिसाएर बनाइएका बासी परिकार बिक्री वितरण गर्ने, दैनिक उपभोग्य वस्तु दाल, तेल, चिनी, मैदा जस्ता वस्तुको कालोबजारी गराई मूल्य बढाउने गर्छन् ।   
निरीह जनता ः
आम नेपालीको संस्कृति नै यस्तो बनिसक्यो कि आफूलाई सुविधा भए अन्यको वास्तै नगर्ने ।  चाडवाडका नाममा प्रत्येक पाइला पिच्छे यस्तो विकृति र बेथिति छ तर कसैले मुख खोल्दैन्न ।  सबैजना तै चुप मै चुप ।  फर्किंदा रित्तो फर्किनुपर्छ भन्दै काठमाडौंबाट रसुवा जाँदै गरेको एक माइक्रोले साविक भाडा दरभन्दा दोब्बर रकम उठाउदा पनि कोही बोलेनन् ।  उल्टै जसरी नि पुग्नु छ भन्दै भाडा दरका विषयमा बुझ्न गएको ट्राफिक प्रहरीलाई फर्काइदिए ।  यस्तो मुकदर्शक बन्नेहरूका कारण राजमार्गका होटल तथा रेस्टुराँको ठगी धन्दा हाबी भएको पर्यटन व्यवसायी दिनेश पाण्डे बताउनुुहुन्छ ।  
अनुगमन तथा कारवाहीको अभाव ः
सरकारले स्थानीय प्रशासनबाट नियमित बजार अनुगमन तथा चेकजाँच गर्ने गरेको पाइन्छ ।  सर्वसाधारण उपभोक्ता सरकारको अनुगमन नै प्रभावकारी नभएको बताउँछन् ।  अनुगमन हुन्छ तर कारवाही हुँदैन, दसैँ र तिहारमा यो समस्या निकै विकराल बन्ने गरेको छ ।  कालोबजारी, अतिरिक्त मूल्य लिने उद्योग व्यापारी र सार्वजनिक यातायातमा मनपरी भाडा असुल गर्नेविरुद्ध कडा कारवाही गर्नसक्ने व्यवस्था छ तर कार्यान्वयन भएको पाइँदैन ।  चाडपर्व भड्िकला र खर्चिला भएकै कारणले पनि बजार मूल्य एक्कासि बढेको बुझाइ अर्थशास्त्रीहरूको छ ।  जब कुनै वस्तुको माग बढ्छ मूल्य पनि बढ्छ अर्थशास्त्री लक्ष्मण घिमिरेले भन्नुभयो, बजार सन्तुलित बनाउन राज्यको उपस्थिति प्रभावकारी हुनुप¥यो ।
महँगो बली प्रथा ः
देवी देउतालाई भाकलका नाममा बली दिने प्रचलनले पनि दसैँ खर्चिलो भएको हो ।  राँगा, बोका, चराचरुङ्गी बली दिने प्रथाले दसैँ खर्चिलो भएको हो ।  सामान्य नेपालीको आयस्रोतले धान्न नसक्ने गरी पशुपक्षीको मूल्य बढेको छ ।  तर पनि सकी नसकी बली चढाउनै पर्ने भएकाले यो समस्या आएको हो ।  पशुपक्षी अधिकारकर्मीहरूले मनोकांक्षा पूरा गर्ने नाममा पशुबली अत्यका लागि विभिन्न पहल गरे पनि सफल हुनसकेको छैन ।  धार्मिक मठ मन्दिरहरूमा पशुबली रोकिने हो भने पनि दसैँ कम खर्चिलो हुने भनाई सर्वसाधारणको छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना