त्रिभुवन विश्वविद्यालयको निकास

ramesh shresthaप्रा.डा. रमेश श्रेष्ठ




 नेपालमा उच्च शिक्षाको सुरुवातको सिलसिलामा वि.सं. २०१२ मा सङ्गठित भई त्रिभुवन विश्वविद्यालय (त्रि.वि.) को विधिवत स्थापना वि.सं. २०१६ मा भयो ।  विगत ६ दशकमा त्रि.वि.ले निकै लामो समयसम्म नेपालको एकमात्र विश्वविद्यालय हुने गौरव पायो ।  निकै आरोह–अवरोह खेप्दै आएको नेपालको सबैभन्दा पुरानो र ठूलो विश्वविद्यालय यही हो ।  त्रि.वि. मा एक हजार जति स्नातक, स्नातकोत्तर एवं विद्यावारिधि शैक्षिक विषयको अध्यापन हुनेगर्छ ।  वि.सं. २०७१÷२०७२ मा दुई लाख ९८ हजार ९९० विद्यार्थी अध्ययनरत थिए ।  यसमा लगभग १५ हजारभन्दा बढी प्राध्यापक, प्रशासनिक तथा सहयोगी कर्मचारी काम गर्छन् ।  यस तथ्याङ्कको आधारमा यो विश्वको ठूलो विश्वविद्यालयमध्ये नवौँ स्थानमा पर्छ ।  यसका अधिराज्यभरि ६० वटा आङ्गिक क्याम्पस छन् भने सम्बन्धन प्राप्त अन्य क्याम्पस ९३१ वटा छन् ।  साथै, ३९ वटा केन्द्रीय विभाग, चार वटा अनुसन्धान केन्द्र, एउटा प्राकृतिक विज्ञान सङ्ग्राहलयको अलावा अन्य आवश्यक निकाय छन् ।  
त्रि.वि. को कीर्तिपुरमा तीन हजार ४२ रोपनीमा फैलिएकोे जग्गामा केन्द्रीय कार्यालय तथा विश्वविद्यालय क्याम्पस रहेको छ ।  भौतिक सम्पत्ति हेर्ने हो भने नेपालभरि फैलिएको आङ्गिक क्याम्पस अत्यन्त महŒवपूर्ण स्थानमा अवस्थित रहेका छन् ।  वर्तमान समयमा जग्गाको मात्र मूल्याङ्कन गर्ने हो भने पनि नेपालभरि कुनै एउटै निकायसँंग रहेको सम्पत्ति सबैभन्दा बढी सम्भवतः त्रिभुवन विश्वविद्यालयसँगै हुनुपर्छ ।  यी सबै तथ्यको सही मूल्याङ्कन गर्ने हो भने, त्रिभुवन विश्वविद्यालय एउटा ठूलो साम्राज्य नै जस्तो लाग्छ तर अर्को दुःखद तथ्य यो ठूलो साम्राज्य पतनतिर अग्रसर हुने डर छ ।  त्यसकारण, त्रि.वि. लाई माया गर्ने सचेत सबै नेपाली नागरिक एवं सरोकारवाला निकाय र विशेषगरी वर्तमान कार्यकारी परिषद्ले अब एक क्षण पनि विलम्ब नगरी सकारात्मक नीति अवलम्बन गर्नुपर्ने देखिन्छ ।  त्रि.वि. लाई विकास र माया गर्न सक्ने मानिसको कमी छैन तर तिनीहरूलाई त्यहाँ काम गर्ने मौका दिइएको छैन र सम्भवतः दिइदैन पनि ।
त्रिभुवन विश्वविद्यालयमा विद्यमान सामान्य समस्या मात्र पहिचान गरेर सच्याएको अवस्थामा पनि अन्य महŒवपूर्ण समस्या आफैँ समाधान हुने थिए ।  
१. खस्कँदो शैक्षिक स्तर ः कुनै समयमा त्रि.वि. को शिक्षा गुणस्तरीय थियो तर अहिले यसको स्तर निकै खस्केको पाइन्छ ।  यसका केही प्रमुख कारण हुन्ः
(क) प्रध्यापकहरूको भर्तीमा त्रुटिः प्रध्यापकहरूको भर्ती त्रि.वि. सेवा आयोगले निर्धारण गरेको न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्र, केही घण्टाको लिखित परीक्षा र सामान्य अन्तर्वार्ताको आधारबाट छनोटबाट गरिन्छ र कुनै अभिमुखीकरण तथा तालिमविना कक्षा लिने गराइन्छ, जसले गर्दा शैक्षिक गुणस्तरमा निकै ठूलो प्रभाव परेको छ ।  वास्तवमा शिक्षण पेसा हुने भएकोले छनोट प्रक्रिया यति मात्र भएर पुग्दैन र सम्बन्धित अन्य थप ज्ञान र परीक्षा हुनुपर्छ ।  
(ख) आंशिक शिक्षक तथा शिक्षण सहायकः चाकडी, चापलुसी, राजनीतिक दबाब आदिबाट असङ्ख्य आंशिक शिक्षक तथा शिक्षण सहायकहरूको नियुक्ति भएको छ ।  यी शिक्षकहरू अर्को जागिर नपाउन्जेल त्रि.वि. मा पढाएर बस्ने र पूर्ण रूपले उत्तरदायी नहुने परिपाटीले पनि गुणस्तरीय शिक्षा प्रदान गर्न सक्दैनन वा गर्दैनन् ।
(ग) प्राध्यापकहरू समयसापेक्ष परिमार्जित नहुनुः अधिकांश प्राध्यापकले त्रि.वि. मा स्थायी जागिर पाइसकेपछि आफूलाई आउने र मनपर्ने एकाध विषय मात्र पढाउने गर्छन् र पाठ्यक्रममा भएको अरू विषय पढाउन प¥यो भने निकै गाह्रो मान्छन् ।  कुनै पनि विषयमा हरपल नयाँ नौला कुरा आइरहन्छन् तर यसबारे धेरैलाई कुनै ज्ञान नै छैन जसको प्रमुख कारण आफूलाई समयसापेक्ष परिमार्जित नगर्नु नै हो ।  अझ भन्ने हो भने दस बीस वर्ष पुरानो झुत्रो भइसकेको आफूले पढ्दा बनाएको पर्चाको सहयोगबाट पढाउने गरेका प्राध्यापकहरूको नमुना त्रि.वि. मा थुप्रै पाइन्छ ।
(घ) पाठ्यक्रममा समस्याः समयसमयमा पाठ्यक्रममा केही फेरबदल गरेको जस्तो त देखिन्छ तर खासै समयसापेक्ष गुणस्तरीय परिमार्जित पाठ्यक्रम तयार गर्न सकेकोे छैन ।  अनि पाठ्यक्रम तयार गर्ने पनि उही प्राध्यापकहरू हुन्छन्, जो आफैँलाई पनि परिमार्जित गर्न नै चाहँदैनन् ।  
(ङ) पाठ्यक्रम समयमा नसकिनेः पाठ्यक्रम समयमा नसकिने पुरानै रोगको साथै नतिजा प्रकाशनको ढिलासुस्तीको पनि ठूलै समस्याले गर्दा विद्यार्थी निकै आजित भइसकेका छन् ।
(च) प्राध्यापक अन्य स्थानमा काम गर्न जाने ः थुप्रै प्राध्यापकहरू त्रि.वि. को आङ्गिक क्याम्पसमा जिम्मेवारीसाथ काम नगरीकन अन्य निजी क्याम्पसमा बढी उत्तरदायी भई कार्य गर्ने प्रवृत्ति धेरै छ ।  यस प्रकारको अनियमितता रोक्न त्रि.वि. एकदम असक्षम देखिन्छ ।  
यी केही कारणमा अब एकक्षण पनि विलम्ब नगरीकन जिम्मेवार व्यक्तिले यी समस्याको सम्बोधन तथा समाधान गरी हाल्नुपर्छ ।  
२. अनुसन्धानमा समस्याः विश्वविद्यालयको मुख्य उद्देश्य पठनपाठन भए पनि अनुसन्धान पनि एउटा अर्को अपरिहार्य विधानै हो ।  प्रायः अनुसन्धानका शोधपत्र प्रथमतः प्रमाणपत्र प्राप्त गर्ने, अनि त्यसपछि दराजमा थन्क्याउने सिवाय केही हुन सकेनन् ।  कक्षा लिन अल्छी गर्ने प्राध्यापकहरूले अनुसन्धानको नारा लगाई न त अनुसन्धान गर्छन् न त पढाउने काम नै गर्छन् ।  त्यसकारण, अब यो क्षेत्रमा आवश्यक सुधार गरिहाल्नुपर्ने भएको छ ।
३. प्रशासनमा समस्याः कुनै पनि संस्थाको समुन्नतिको लागि प्रबल प्रशासनको आवश्यकता भए पनि यहाँ अधिकांश कर्मचारी आफ्नो कामप्रति बफादार छैनन् वा राम्ररी गर्न जान्दैनन् ।  सम्भवतः यसको कारण सेवा भर्नामा नमिलेको, चाकडी तथा राजनीतिक भागबण्डा र दबाबबाट आएका कर्मचारीको अधिकतम सङ्ख्या नै हो ।  
४. प्रतिस्पर्धाः बहुविश्वविद्यालय तथा विदेशी शैक्षिक संस्थाहरूको बिगबिगी भएको समयमा त्रि.वि. ले अत्यन्तै संवेदनशील हुनुपर्ने समय आएको छ ।  त्रि.वि. को सम्बन्धनबाट निजी क्याम्पस अहिले ९३१ वटा छन् र थप धमाधम खुलिरहेका छन् तर त्रि.वि. को आङ्गिक क्याम्पसमा विद्यार्थीको सङ्ख्या घटिरहेको छ भने निजी क्याम्पसमा चाप बढिरहेको छ ।  
५. त्रि.वि. का अन्य विश्वविद्यालय तथा संस्थासँग भएका सम्झौताः त्रि.वि. ले अन्य विश्वविद्यालय तथा नेपालभित्रै सरकारी गैरसरकारी संस्थासँंग गरेको थुप्रै सम्झौताबाट संस्थाको हितमा काम गराउन सम्झौताको जाँच, संशोधन तथा पुनर्विचार गर्नुपर्छ ।
६. तलबः लगभग साढे एक दशक अघिसम्म पनि निजामती तथा अन्य कर्मचारीकोभन्दा प्राध्यापकहरूको तलब भत्ता अलि बढी हुने परम्परा थियो ।  अन्तर्राष्ट्रिय क्षेत्रमा पनि यही परम्परा छ ।  नेपाल सरकारका माथिल्ला श्रेणीका कर्मचारीलाई यातायातका लागि गाडी, उचित कार्यकक्ष तथा अन्य सुविधा प्राप्त छन्, जुन सोही सरहका त्रि.वि. का प्राध्यायकहरूलाई छैन ।  यस्तो असमान भेदभावको कारण के हो ? सानो परिवारको अवश्यकता पनि पूरा गर्न नसकिने खालको तलबमा गुजारा गर्नुपर्ने तथा केही न्यूनतम सुविधाबाट वञ्चित प्राध्यापकहरूलाई अन्य आयस्रोतको खोजी गर्नुपर्ने भएपछि उनीहरू कसरी आफ्नो काममा दत्तचित्त हुन सक्छन् ? त्यसकारण, यस सवालमा पनि ध्यान दिनु अपरिहार्य भएको छ ।  पदानुसार प्राध्यापकहरूलाई कमसेकम गाडीको व्यवस्था गर्न नसके पनि केही भत्ता दिनसके पनि राम्रो हुने थियो ।
७. नियुक्तिमा राजनीतिक भागबन्डाः त्रि.वि. का महŒवपूर्ण पदमा व्यक्तिको दक्षताभन्दा बढी राजनीतिक संलग्नताको आधारमा नियुक्ति भएको कारणले गर्दा निजहरू आफ्नो कामभन्दा बढी राजनीतिक दलप्रति बफादार हुनु स्वाभाविकै हो ।  केही ठूला दलहरूका व्यक्तिहरूले मात्र नियुक्ति पाउने परीपाटीको अन्त्य जरुरी छ ।  
 ८. पाटन क्याम्पस तथा पद्मकन्या क्याम्पसः त्रि.वि. मातहत पुराना र प्रख्यात यी दुई क्याम्पसको दूराअवस्थाले त्रिभुवन विश्वविद्यालयका अन्य ६० वटा आङ्गिक क्याम्पसहरूको प्रतिनिधित्व गरेको छ ।  यसमा तत्काल सुधार जरुरी छ ।  
९. अनुसन्धान केन्द्रः लगभग चार÷पाँच दशकअघि स्थापना भएका चार वटा अनुसन्धान केन्द्रको नाम सुन्दा त कानलाई निकै आनन्ददायक हुन्छ ।  जम्मा १५८ जनाको जनशक्ति यी अनुसन्धान केन्द्रहरूमा कार्यरत छन् ।  बुझेअनुसार सुरु–सुरुमा राम्रै काम गरे पनि अब त्रि.वि. लाई यिनीहरू सेतो हात्ती सरह भएका छन् ।  
१०. प्राकृतिक विज्ञान सङ्ग्रहालयः वि.सं. २०३१ मा स्थापित यस सङ्ग्रहालय सुरुको समयमा त राम्रै थियो तर विगत दुई दशक त्रि.वि. ले जस्तै यसले पनि दूरावस्था भोग्नुप¥यो ।  कमजोर प्रशासन, संस्थाभन्दा व्यक्तिको विकासमा बढी केन्द्रित हुनु आदि नै यसको कारक तŒव हुन् तर विगत तीन वर्षमा सामान्य केही समस्या मात्र सच्याउँदा पनि सङ्ग्रहालयले जुन विकास गर्न सक्यो त्यो नमुना नै भएको छ ।  
विगत तीन वर्षमा जम्मा २३ वटा हुलाक टिकट सङ्ग्रहालयको लोगोसहित हुलाक सेवा विभागद्वारा प्रकाशित भयो, जसबाट नेपाल सरकारलाई १९ करोड रुपियाँको राजस्व सङ्कलन गर्नमा सहयोग पुग्यो ।  
(लेखक प्राकृतिक विज्ञान सङ्ग्राहलयका प्रमुख हुनुहुन्छ )

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना