फर्पिङको हरिशङ्कर जात्रा

bijay kumar maharjanविजयकुमार महर्जन


काठमाडौँमा प्राचीनकालमा फनपिङ्ग, फनपिं, फलपिंग फर्पिङ हुँदै शिखरनारायणको नामबाट शिखरापुर नगर हाल दक्षिणकाली नगरपालिकाअन्तर्गत छ ।  यहाँ नेपालकै उल्लेखनीय जात्रामध्येको एक हरिशङ्कर जात्रा मनाइन्छ ।  यो जात्रामा शिखरनारायण अर्थात् चार नारायणमध्येको एक शेषनारायणलाई हरि र फर्पिङकै सबैभन्दा प्राचीन गोपालेश्वरलाई शङ्करको रूपमा मानिन्छ ।  श्रीकृष्ण भगवान् नेपाल आएका बखत पशुपतिनाथ, चाँगुनारायण र गोपालेश्वरमा जानु भएको कुरा नेपाल महात्म्यमा उल्लेख पाइन्छ ।  मानिसको मृत्युपश्चात् यमराजले फर्पिङको हरिशङ्कर जात्रा र भक्तपुरको विस्केट जात्रा हेरेका छौ कि छैनौ भनेर प्रश्न गर्छन् भन्ने विश्वास पाइन्छ ।  यो यात्रा प्रत्येक वर्षको भाद्र शुक्ल पूर्णिमाको रातदेखि गणना गरी बाह्रौँ रातमा सम्पन्न गरिन्छ तर यात्राका लागि गर्नु पर्ने विधिविधान भने भाद्र शुक्ल तृतीयाको दिनदेखि नै सुरु गरिन्छ ।  
पौराणिक कथनअनुसार श्रीकृष्णका नाति अनिरुद्रले वाणासुरकी सुपुत्री उषालाई हरण गरेकोले वाणासुर र श्रीकृष्णको युद्ध भएको र वाणासुरलाई युद्धमा शिवजीले सहयोग गरे ।  श्रीकृष्णले सुदर्शन चक्र भेदन गरी वाणासुरलाई मार्ने कुरा ज्ञात भई शिवजीले वाणासुरलाई श्रीकृष्णको शरणमा पठाए ।  त्यसपछि श्रीकृष्ण एवम् शिव एकआपसमा लीन भएको र यसै समयदेखि नै हरिशङ्कर जात्राको सुरुवात भएकोे मानिन्छ ।
फर्पिङमा रहेको गोरखनाथको गुफादेखि उत्तर पश्चिममा प्राचीन खण्डहर भएको एउटा ठाउँ छ । जसलाई फर्पिङका स्थानीय मानिसले वाणासुरको दरबारको अवशेष मान्छन् ।  स्थानीय पाका मानिसहरू हरिशङ्कर जात्राको सुरुवात वाणासुरको पालादेखि भएको विश्वास गर्छन् ।  हाल उक्त स्थान असुरा केभ अर्थात् असुर गुफाका नामले चर्चित छ ।  पहिले पहिले हरिशङ्कर जात्रामा स्थानीयले गोरखनाथ गुफा भन्ने उक्त स्थानमा गएर ३६० पटक भाँटी (एक प्रकारको बाजा) बजाएपछि ९०० जना राक्षस (असुर) हरू आएर खट बोकी दिन्थे भन्ने अनुश्रुति छ ।  उक्त गुफामा तिब्बती बौद्ध धर्मावलम्बीहरू बढी आउँछन् र उनीहरूले यसलाई फर्पिङको असुरा केभ भनेर नै चिन्छन् ।  यसको माथिल्लो डाँडालाई दक्षिणकाली माईको उत्पति स्थलको रूपमा पनि चिनिन्छ ।  पहिलापहिला उक्त स्थानमा मानिसहरू एक्लै जानसमेत डर मान्थे भने हाल यो ठाउँ प्राचीन दक्षिणकाली नामले परिचित छ ।
फर्पिङ नगरमा रहेका सात टोलहरू
(कोटालटोल, कोछुटोल, टिपिटोल, थल्कुटोल, यल्खुटोल, ठठेपटोल, कोठेपटोल) मा क्रमशः गोपालेश्वर, तिलविक्रमेश्वर (कुमारी), कनकेश्वर (दक्षिणकाली), अघोरेश्वर (नीलबाराही), नन्दिकेश्वर (इन्द्रायणी), शिखरेश्वर (शेषनारायण) र सिद्धिगणेश्वर (महालक्ष्मी) को काठको रथ निर्माण गरिन्छ ।  
अभिलेखीय प्रमाणहरूअनुसार फर्पिङको हरिशङ्कर यात्रा नेपालको हरिशङ्कर यात्रामा सबैभन्दा जेठो देखिन्छ ।  किनभने वि.सं. १२९७ (ने.सं. ३६०) मा फर्पिङ टिपिटोलका दगो भारोले कनकेश्वरको खट (दक्षिणकालीको खट)का ढोकाहरू फेरेर मुकुट चढाएको कुरा कनकेश्वरको मुकुटमा अङ्कित अभिलेख उद्धव आचार्यबाट लिखित फर्पिङको ऐतिहासिक परिचय, प्राचीन नेपाल, सङ्ख्या ९८–९९, फागुन २०४३ जेठ पृष्ठ १४ मा उल्लेख भएबाट स्पष्ट हुन्छ ।  यसैगरी नेपालभरकै बोकेर जात्रा गरिने रथमध्ये सबैभन्दा ठूलो रथको जात्रा यहाँ हुन्छ ।
    हरिशङ्कर जात्रामध्ये पनि आश्विन कृष्ण नवमी, दशमी र एकादशीको जात्रालाई विशेषरूपमा लिइन्छ ।  आश्विन कृष्ण नवमीको रातमा गरिने कनकेश्वर (दक्षिणकाली), अघोरेश्वर र नन्दिकेश्वरको रथयात्रालाई  स्थानीय नेवारी भाषामा छोयला बु भन्ने गरिन्छ ।
यसैगरी त्यसको भोलिपल्ट आश्विन कृष्ण दशमीको दिन बिहान मनाइने प्रचण्ड भैरव र स्वच्छन्द रक्त भैरवको जात्रा (घ्याम्पो जात्रा) जुन वि.सं. १८८८ मा हनुमान ढोका राजदरबारमा समेत पु¥याएको र राजा राजेन्द्र वीर विक्रम शाहले दर्शन गरेको कुरा त्रिरत्न सौन्दर्य गाथामा उल्लेख छ ।  जुन दिनलाई स्थानीय नेवारी भाषामा जाःबु भन्ने गरिन्छ ।  यसै रातमा कोठेपटोलमा रहेको सिद्धिगणेश्वर (महालक्ष्मी) को रथ र शिखरेश्वर (शेषनारायण) को रथयात्रा गरी झम्केश्वरी परिक्रमा गराई यथास्थानमा लगेर राखिन्छ ।  
हरिशङ्कर जात्राअन्तर्गत आश्विन कृष्ण एकादशीको दिनलाई मूलजात्रा भनिन्छ ।  यो दिन कोछुटोलमा बनाइएको तिलविक्रमेश्वर(कुमारी) को रथ अगाडि चक्र पूजा गर्ने गरिन्छ जसलाई जात्राको विशेषरूपमा लिन सकिन्छ ।  यस रातको जात्रामा भूत, प्रेत, पिशाच आदिले यात्रामा विघ्न बाधा नगरुन् भनी पशुपति मृगस्थली गोरक्ष पीठका पीर महन्तद्वारा सो मन्दिर अगाडि चक्र पूजा गरिन्छ ।  अवीर, केशरी र चामलको पीठोको रेखी हाली त्रिशूल र चक्रको आकार बनाइन्छ र जाँडले भरिएको नौवटा घ्याम्पा राखेर भैरवको आराधना गरी राँगो र कुखुरा बलि दिएर तन्त्रोक्त विधिपूर्वक चक्र पूजा गरिन्छ ।  डिल्लीरमण रेग्मीद्वारा लिखित मिडियभल नेपाल, भाग–२ को पृष्ठ ५६७ मा काठमाडौँ तथा पाटनको मत्स्येन्द्रनाथको रथ यात्रा, भक्तपुरको विस्केट जात्रा आदि महìवपूर्ण जात्राहरूमा पनि यस प्रकारको चक्र पूजा गर्ने प्रचलन छ भनी उल्लेख छ ।  चक्रपूजा सकिनासाथ तिलविक्रमेश्वर (कुमारी) को रथ बोकी झम्केश्वरी परिक्रमा गराएर यथास्थानमा राख्ने प्रचलन छ ।  यसपछि कोटालटोलमा रहेको गोपालेश्वरको रथलाई झम्केश्वरी मन्दिरको बायाँतर्फ लगेर राखिन्छ ।  गोपालेश्वरको रथ बिसाएपछि कोठेपटोलमा रहेको सिद्धिगणेश्वर(महालक्ष्मी)को रथलाई बोकेर ल्याई ठठेपटोल, भिमसेनस्थान हुँदै झम्केश्वरी घुमाएर कोछुटोलको सुनको हाथा भैरव मन्दिर अगाडि अर्थात् टिपिटोलमा रहेको कङ्केश्वर(दक्षिणकाली) को रथको पूर्वपट्टि लगेर राखिन्छ ।  त्यसपश्चात् ठठेपटोल(नारायणडबली)मा रहेको शिखरेश्वर
(शेषनारायण)को रथलाई बोकेर ल्याई भिमसेनस्थान, झम्केश्वरी परिक्रमा गराएर यात्रा साँङ्गे गर्ने ठूलो ढुङ्गा जसलाई स्थानीय नेवारी भाषामा यान्या ल्वँ भनिन्छ, उक्त लामो ढुङ्गा नघाएर राखिन्छ ।  यो समयमा हरि अर्थात् शेषनारायणको रथ माथि र त्यसको लगत्तै उक्त लामो ढुङ्गाको ठीक तलपट्टि गोपालेश्वरको रथ रहेको हुन्छ ।  अर्थात् हरिशङ्करको रथसँगै हुने गर्छ ।  
यसको भोलिपल्ट द्वादशीका दिन बिहान भएपछि राति बोकिएका चारै रथ र बाँकी तीनवटा रथ परिक्रमा गरी सिन्दुरजात्रा गरिन्छ ।  दिउसो करिब २–३ बजेतिर गोपालेश्वरको रथबाहेक अन्य ६ वटा रथ बोकिन्छ ।  नन्दिकेश्वर (इन्द्रायणी) को रथदेखि शिखरेश्वर(शेषनारायण) को रथसम्म क्रमशः बोकी ल्याएर झम्केश्वरी मन्दिर बायाँतर्फ राखिएको गोपालेश्वरको रथको पछाडि लस्करै राखिन्छ ।  अन्तिममा बोकिने शेषनारायणको रथ कोटालटोलको दथुलाछीमा बाटोमा रहेको महादेवको लिङ्गको माथि राखेपछि हरिशङ्कर हुने र जात्रा सुसम्पन्न हुन्छ भन्ने प्रचलन छ ।  त्यसको भोलिपल्ट त्रयोदशीका दिन लाइन लगाएर राखिएका रथमध्ये सबैभन्दा माथि रहेको गोपालेश्वरको रथ बोकी सातटोल घुमाएर कोटालटोलस्थित हालको नित्यनाथ वस्ती नजिकको सडकमा राखी योमरीले खन्याएर पूजाआजा गरी आफ्नो मन्दिर भएको स्थानमा फर्काइने गरिन्छ ।  
जात्राको समाप्ति भने आश्विन शुक्ल प्रतिपदाका दिन गोपालेश्वर महादेवको रथमा राखिने चतुर्मूर्तिलाई आँगछें अर्थात् देवता घरमा ल्याएर राखेपछि मात्र हुन्छ ।  सुरक्षाको दृष्टिकोणले गर्दा हाल देवताको आँगछेंमा चतुर्मूर्तिलाई नराखी सम्बन्धित बिसेटहरूको घरमा नै राख्ने गरिन्छ ।
हरिशङ्कर जात्रामा बोकिने खटहरूः
१. गोपालेश्वर
गोपालेश्वर महादेवको मन्दिर दक्षिणकाली नगरपालिका वडा नं. ९ मा पर्छ ।  गोपालेश्वर महादेवको रथ दक्षिणकाली न.पा. वडा नं. ८ स्थित कोटालटोलमा बनाइन्छ ।  यो रथमा राखिने चतुर्मूर्तिमा पूर्वमा गोपालेश्वर, पश्चिममा महेश्वरी, उत्तरमा हरिशङ्कर र दक्षिणमा भैरवको मूर्ति अङ्कित गरिएको छ ।  
२. श्री तिलविक्रमेश्वर
तिलविक्रमेश्वर रथलाई कुमारी र अजिमाको रथ पनि भन्ने गरिन्छ ।  तिलविक्रमेश्वर मन्दिर दक्षिणकाली नगरपालिका वडा नं. ८, कोछुटोलमा रहेको छ रहीं रथ बनाइन्छ ।  तिलविक्रमेश्वरको रथमा राखिने चतुर्मूर्तिमा पूर्वमा तिलविक्रमेश्वर, पश्चिममा कुमारी, उत्तरमा हरिशङ्कर र दक्षिणमा भैरवको मूर्ति अङ्कित छ ।  
३. कनकेश्वर
कनकेश्वरको रथलाई दक्षिणकालीको रथ पनि भन्ने गरिन्छ ।  कनकेश्वर मन्दिर दक्षिणकाली न.पा. वडा नं. १० सरस्वती डोलमा छ भनिन्थ्यो ।  टिपिटोलमा बनाइने यो रथमा पूर्वमा कनकेश्वर, पश्चिममा दक्षिणकाली, उत्तरमा हरिशङ्कर र दक्षिणमा भैरव अङ्कित मूर्ति हुन्छ ।  
४. अघोरेश्वर
अघोरेश्वर रथलाई नीलबाराहीको रथ पनि भन्ने गरिन्छ ।  अघोरेश्वरको मन्दिर थल्कुटोलमा छ ।  श्री अघोरेश्वरमा राखिने चतुर्मुर्तिमा पूर्वमा अघोरेश्वर, पश्चिममा नीलबाराही, उत्तरमा हरिशङ्कर र दक्षिणमा भैरवको मूर्ति अङ्कित गरिएको  छ ।  
५. नन्दिकेश्वर
नन्दिकेश्वरको रथलाई इन्द्रायणी पनि भन्ने गरिन्छ ।  नन्दिकेश्वर मन्दिर यल्खुटोलमा अवस्थित छ ।  यो रथमा राखिने चतुर्मूर्तिमा पूर्वमा नन्दिकेश्वर, पश्चिममा इन्द्रायणी, उत्तरमा हरिशङ्कर र दक्षिणमा भैरवको मूर्ति अङ्कित हुन्छ ।  
६. शिखरेश्वर
शिखरेश्वर अर्थात् शिखरनारायण
(शेषानारायण) मन्दिर दक्षिणकाली न.पा. वडा नं. ६ मा पर्छ ।  हरिशङ्कर जात्रामा श्री शिखरनारायण रथ फर्पिङ बजारको नारायणडबलीमा बनाइन्छ ।  शिखरनारायणको रथमा राखिने चतुर्मूर्तिमा पूर्वमा बैकुण्ठनारायण, पश्चिममा हरिशङ्कर, उत्तरमा नृसिंहनारायण र दक्षिणमा बराह राखिन्छ ।  
७.सिद्धिगणेश्वर
सिद्धिगणेश्वरको रथलाई महालक्ष्मीको रथ पनि भनिन्छ ।  सिद्धिगणेश्वरको मन्दिर दक्षिणकाली न.पा. वडा नं. ६ मा रहेको छ ।  यो रथ फर्पिङ बजार पूर्व कोठेपटोलमा बनाइन्छ ।  यसमा राखिने चतुर्मूर्तिमा पूर्वमा सिद्धिगणेश्वर, पश्चिममा महालक्ष्मी, उत्तरमा हरिशङ्कर र दक्षिणमा भैरवको मूर्ति अङ्कित हुन्छ ।   

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना