पर्यटकीय पर्वतको फलाम खानी

prem sharmaडा.प्रेम शर्मा

मुलुकका ७५ जिल्लामध्ये चौथो सानो पर्वत जिल्लामा पञ्चासे धुरी (कास्की, स्याङ्जा र पर्वतको साझा) देखि सेतीवेणीशिलासम्म अनेकौँ पर्यटकीय सम्भाव्यता छन् ।  फलामखानी र तामाखानी (मौकासिङ), ठूलो ढुङ्गा पहरे, कालीगण्डकीको अपार जलक्रिडाको सम्भाव्यता छ ।  चिसापानी र शङ्करपोखरी प्याराग्लाइडिङ, चौबीसे राजाको भग्नावेश पैञ्यूकोट, लण्डनबाट आयात गरी बनाइएका ५१ झ्याल ढोकाको भोगसिङ गाउँका तत्कालीन मुखिया सुवेदार धनसिङ गुरुङको जस्ताको घर, कुश्मा–ज्ञादी र कुश्मा–बलेवा जोड्ने अग्ला लामा झोलुङ्गे र यान्त्रिक पुलहरू, फलेबास–कुर्घा जोड्ने कृषक झोलुङ्गे पुल, कुश्मा बजार छेउको गुप्तेश्वर गुफा, मल्लाजस्थित चौबीसे राजाको दरवार, दुर्लुङको भगवती मन्दिर, जलपेश्वर गुफा, प्रसिद्ध धार्मिक तथा मृत्युपर्यन्त स्वर्ग प्रस्थान गर्ने मोदीवेनी (काली र मोदीको दोभान), डहरे लेक, जलजलाको गुराँसे धुरी अनि गुरुङ, मगर संस्कृतिको आकर्षणदेखि ठेट्नीगाउँ पैञ्यूखोले ब्राह्मण, क्षेत्री र ठकुरी, मल्लहरूको संस्कृति पर्वतका पर्यटकीय खानीका रूपमा लिन सकिन्छ ।   
हाइकिङका लागि प्रसिद्ध गन्तव्यहरू पञ्चासे धुरी, चिसापानी, गोल्र्याङ धुरी, पुर्खाले सञ्चालन गरेको भोक्सिङको तामाखानी र फलामखानी, धन्तरीको फलाम खानी, लोकदोहोरी हाट बजारका क्रियाकलाप, गुरुङ जातिको अर्घाे (पितृ कार्य), लोपोन्मुख ट्योटे (भेलौरे) पर्व, चैते दशँै, बालाचर्तुशीमा लाग्ने मेला, तीज माहलो गाड्नेमा लाग्ने मेला, केटीचौरमा कुस्ती लड्ने पुराना चलनहरू अस्ताए पनि पुनः जगाउन सकिने सम्भावनाहरू छन् ।  यो जिल्लाले छिमेकी जिल्लाहरूलाई सहजीकरण र सम्बन्ध जोड्ने ‘गेट वे’ को रूपमा काम गरेको छ ।  
फलामखानी
धवलागिरि अञ्चलका चार जिल्लाहरूमा नुनखानीदेखि सुनखानीसम्म रहेको कुरा कालीगण्डकीमा बालुवा चाल्ने स्थानीयबासीदेखि मुस्ताङको छुसाङबाट नुन बोक्नेहरू बताउँछन् ।  म्याग्दी जिल्लाका दुई तामाखानी (मच्छिम र छापखानी) र पाँच फलामखानी (कुइने, मंगले, मल्लकवाङ), पर्वत भोकसिङको तामाखानी र फलामखानी गाविसको फलामखानी र बाग्लुङ जिल्लाका एक दर्जन फलामखानी–लामेला, खुङखानी, नर्जाखानी, बोङखानी, भुस्कट, लेखानी, राङखानी, पाण्डवखानी, शिशाखानी, धौयाखानी,  दमेक र लुकुरवनखानीहरू विगतमा सञ्चालन भएका थिए ।  पर्वत जिल्ला निर्वाचन क्षेत्र–२ स्थित फलाम खानीको नामबाटै बनेको    गाविसको जनसङ्ख्यामा झण्डै ९० प्रतिशत (नेपालकै सबैभन्दा बढी कामी समुदाय÷जाती) कामी÷दलितहरूको बसोबास भएका कारण यो ठाउँको फलामखानी सम्भवतः नेपालकै प्रथम वा दोस्रो स्तरमा पर्दछ ।  फलामखानी गाविस तत्कालीन पश्चिम ४ नम्बर पैञ्यू नुवाकोटको धुवाँकोट भन्ने २४ से राज्यमा पर्दछ ।  विगतमा झण्डै दुई सय वर्षसम्म यहाँको खानी सञ्चालनमा रहेको अनुमान गरिन्छ ।  यो फलाम खानी २४ कि.मि. वर्ग क्षेत्रफल– लुंखु, ठाना मौला र पाखापानी गाविस क्षेत्रमा फैलिएको र २० लाख (२ मिलियन) टन फलामको धातु रहेको, जसमा ४० देखि ६० प्रतिशत फलामको मात्रा (अंश) रहेको कुरा एक अध्ययनबाट थाहा हुन आएको छ ।  भूगर्भशास्त्रीहरूका अनुसार ८० प्रतिशत वा सोभन्दा माथिको मात्रा रहेका फलामखानीहरू माात्र आर्थिक रूपले धनी मानिन्छन् ।  २०६७ पुसमा नवलपरासीको एउटा कम्पनीले खानी सञ्चालन गर्ने सम्झौता खानी तथा भूगर्भ विभाग, नेपाल सरकारसँग सम्पन्न गरेको थियो ।  यो खानी खासगरी घन्तरी गाउँको पाखा र लुंखु देउरालीको पूर्व उत्तर सीमा बतासेडाँडा धन्तरी गाउँको खोल्साभरि छरिएर रहेको छ ।  विगतमा त्यहाँका स्थानीय कामीहरूले सञ्चालन गरेका खानीका दुई दर्जनभन्दा बढी सुरुङहरू अहिले पनि देखिन्छन् ।  ती सुरुङ (खानी) हरूका आ–आफ्नै नाम (चरीमुन्टे, दमाह, बौसीफुला, बुढीखानी, रनेको खानी, आदि) छन् ।
धन्तरीपाखा र बतासे तथा फलामखानी डाँडा
(हलोगाडे)मा यत्रतत्र फलामका धातुहरू जमिनको सतह र चट्टानहरूमा सिधै आँखाले देख्न सकिन्छ ।  धन्तरीपाखा र खोल्साहरूमा झण्डै दुई दर्जन पहिले खानी निकालेका सुरुङहरू छन् ।  ती सुरुङहरू कुनै कुनै धेरै लामो ३०÷५० मिटरसम्म टाढा फैलिएका र केही १०÷२० मिटरसम्म ओडारका रूपमा भेटिन्छन् ।  खानीभित्र काम गर्न सजिलो र सुरक्षित अर्थात् जमिन नभास्सियोस् र कामदार नपुरिऊन् भन्ने उद्देश्यले खानीका सुरुङहरूमा ठाउँ ठाउँमा फलामको धाउकै खम्बाहरू सुरक्षित छन् ।  यो देख्दा कुनै घरको खाँबो (पिलर) ले दलिन (सिलिङ) थामेर राखेझँै लाग्दछ ।  खानीभित्र जताततै फलाम र तत्कने वा खिया (अक्साइड) भएका घाउ (चट्टानहरू) भेटिन्छन् ।  ती चट्टानहरू छिनो÷धनले (हाम्मर) ले हिर्काएर निकाल्दा निकै गाह्रो हुने र निकालिसकेपछि चट्टान गह्रौँ (ओजिलो) र प्रायः कालो वा खैरो रंगको भेटिन्छन् ।  खानीबाट केही फलामका धातुहरू निकालेर एउटा आफर (आरन) लगाई पैञ्यूको गोलमा पगाल्ने हो भने झण्डै चार घण्टामा धाउ पग्लेर फलाम र किट छुट्टिन्छ ।  
    सबैभन्दा बढी उमेरका स्थानीय कामीहरूको अनुभव सीप तथा साधनका आधारमा फलाम खार्न सकिन्छ ।  फलाम खार्ने परम्परागत खलाँती अझै पाइँन्छ ।  र हिजोआज स्थानीय रूपमा प्रयोग हुने पङ्खा पनि प्रयोग गर्न सकिन्छ ।  विगतमा सिङ्गो गाई वा गोरुको छालालाई तोरीको तेलले माडेर २ मुखे सोथे जसमा दुई खलाँतीहरू फिट गरिन्थ्यो र दुई तर्फबाट दुई व्यक्तिले दुवै हातबाट दुई खलाँतीहरू (दाया–बायाँ) गरी गीत गाउँदै ७÷८ घण्टासम्म निरन्तर चलाउने, गाउँमा मरभाग (मृत्यु) भए पनि रोकिन नहुने, एकजनाले गोल (अँगेरो, गुराँश पैञ्यू वा चिलाउनेको) बेलाबेलामा राख्नुपर्ने, एक पाथी धाउ बराबर चार पाथी गोल आवश्यक पर्ने र पाँच छ जनाको संलग्नतामा १०÷१२ घण्टासम्म काम गर्दा सप्रेमा १०÷१२ बिसौली (५÷६ धार्नी) फलाम निक्लने गरेको स्थानीय बुढापाका कामीहरू  बताउँछन् ।  उक्त फलाम तीन गुणस्तरको भेरिने–झर्रो, नरम र चोइटिने हुन्थ्यो ।  खानीबाट धाउ निकालेपछि सफा गरी ससाना टुक्राहरूमा कुट्नु पर्ने र घाम वा आगोमा सुकाउने र मात्र आफरमा राख्ने गरिन्थ्यो ।  
    उक्त खानीबाट उत्पादित फलाम ज्यादै नम्बरी
(उपल्लोस्तर) को हुनुका कारण स्थानीय र छिमेकी गाउँका बासिन्दाहरू अन्न (कोदो, मकै, धान) लिएर एक धार्नी बराबर तीन पाथी साट्ने गरेको बताइन्छ ।  पैसामा बिक्री गर्दा २००७ साल पहिले स्थानीय गाउँ–ठाउँमा प्रति धार्नी रु. ०÷५० पैसा र स्याङजा, बागलुङ पु¥याएमा रु १÷– सम्म पर्ने कुरा बताइन्छ ।  तर उनीहरूले निकालेको फलाम वागलुङ लैजाने वा प्यूठानमा पु¥याएर बेचिन्थ्यो ।  यो फलामबाट खुकुरी, बन्दुकको नाल लगायत अन्य हात हतियार र दैनिक उपभोग र प्रयोगका सामग्रीहरू– कुटो, कोदालो,  बन्चरो, घन, आँसी (हँसिया) र अन्य भाँडा वर्तनहरू बनाउने गरेको थियो ।  धातु निकालेर पगाल्नका लागि आ–आफ्नै आफर हुन्थे ।  हाल हलोगाडे अर्थात् फलामखानी डाँडामा झण्डै एक दर्जन आफर लगाएका भग्नावशेषहरू भेटिन्छन् जसका वरिपरि टुटेफुटेका सोथेहरू र किट छारस्ट भेटिन्छन् ।  विगतमा धेरै फलाम निकालेका कारण फलामखानी, लुंखु र भोगसिङका केही घर जग्गा, डाँडा पाखाहरू किटमय छन् जसका कारण खेतीपाती राम्रो नहुने र काम गर्न पनि गाह्रो भएको बुझिन्छ ।  उदाहरणका लागि २०६४÷०६५ मा हलोगाडे डाँडामा लगाइएको करीब २० हजार चियाका बिरुवाहरू राम्ररी सप्रन नसकी सुके ।  
    फलामखानीको धाउलाई खार्नका लागि फलामखानी, आरुचौर, पाखा–पानी र भँगरा गाविस क्षेत्रहरूमा जंगल सखाप भएपछि कामीहरू फलेबास, लुंख र भोगासिङ गाविससम्म गोलका कारण आफर लगाउन पुगेका तर पछि त्यहाँ पनि गोल उपलब्ध हुन नसकी टाढा–टाढा स्याङ्जा जिल्लासम्म पुगेर गोल ल्याएर धातु खारेको बताउँछन् ।  तर २००७ सालतिर मुखियाको तिरो÷झारा (रोयल्टी) रु. ६०÷७० बाट बढेर रु २÷३ सयसम्म पुगेको, भारतबाट सजिलो र सस्तोमा फलाम भित्रिन थालेको, वन जंगल मासिन गएको कारण खानी बन्द भएको उनीहरू बताउँछन् ।  आफ्ना बाजे÷बाबुहरूले एक खानी सञ्चालन  गरेबापत ६०२ धार्नी फलाम वार्षिक रूपमा मुखिया (स्थानीय सरकार) लाई बुझाउने गरेको अझ पहिले (२००७ पूर्व) आफ्ना बाजे÷जिजुहरूले स्याङ्जा नुवाकोट वा वागलुङ लगेर झारा बुझाउने  गरेको बताइन्छ ।  
फलामखानी बन्द भएपछि स्थानीय कामीहरू बेरोजगार भए ।  किनभने त्यस समय उनीहरू सधैँ खानीको काम मात्र गर्थे ।  श्रीसम्पति नै खानी रहेको, आफ्नो घरबास बाहेक कुनै जग्गाजमिन खेतीपाती र पशुपालन पनि थिएन ।  तत्कालीन श्री ५ को सरकारले जग्गा नापी गर्दा मात्र होस् आएको कारण आफूहरूले आफर लगाएका ठाउँहरू र घर वरिपरिको जग्गा नाप गरी बस्न थालेका कुरा ८८ वर्षे चन्द्रबहादुर वि.क. (हाल उनीहरू कामी लेख्न मन पराउँदैनन्) ले बताउनुभएको थियो ।  आफ्नो नाउँमा पर्याप्त जग्गा जमिन नभएका कारण गाउँमा अरुको हली (जमिन जोत्ने) काम गर्नु परेको र फुर्सतको समय गाउँमै अरु जात गुरुङ, ब्राह्मण, क्षेत्री र ठकुरीहरूको घर खेत–बारीमा काम गरी मुजुरी (वार्षिक), बुटवलबाट भारी बोक्ने र ज्यालादारी (दिनगन्ती) गर्नु परेको बताइन्छ ।  हालमा मोटरबाटो बनेको गाउँमै नुन, तेल, चामल आउने भएका कारण धेरै सुविधा पुग्न थालेको तर रोजगारीको अवसर गुम्न गएका कारण साथै जग्गा जमिन प्रशस्त नभएका कारण तराई र बजार÷सहर क्षेत्रमा बसाइँ सर्न र रोजगार खोज्न आफ्ना छोरा नातीहरू बाध्य भएको वृद्धहरू बताउँछन् ।  केहीले त जग्गा जमिन बेचेर खाडी मुलुक र मलेसियामा काम गर्न पुगेका र पैसा ल्याएपछि तराई, सहरबजारतर्फ क्रमशः बसाइँ सर्न थालेपछि गाउँ, घरबास छाड्न थालेको कुरा ९० वर्षीय भवे वि.क.ले बताउनुभएको थियो ।  
स्थानीय समुदायहरू यहाँ फलामखानी सञ्चालन भएमा लगानी गर्न र काम गर्न तत्पर रहेको बताउँछन् ।  त्यसैले नेपाल सरकारले यो ठाउँको खानीजन्य फलामको उत्खनन् गरी खानी सञ्चालन गरी स्थानीयबासीलाई रोजगारी र लगानीको अवसर सिर्जना गर्नतर्फ पहल गर्दा फलाममा आत्मनिर्भर हुने कदम हुन सक्छ ।  त्यसैले यस कार्यसँग सरोकार राख्ने अंशियारहरू (स्टेकहोल्डर) ले समयमै ध्यान दिई आवश्यक कदम अगाडि बढाउन प्रोत्सहान गरिन्छ ।  






थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना