महाअभियोगको पक्षमा माओवादी

काठमाडौँ, कात्तिक ७ गते ।  सत्तारुढ दल माओवादी केन्द्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध महाअभियोगको प्रस्तावको पक्षमा उभिने भएको छ ।  माओवादीको शनिबार बसेको पार्टी केन्द्रीय कार्यालय बैठकले कार्कीलाई बचाउनु जनताको विरुद्ध हुने निष्कर्षसहित प्रस्तावको पक्षमा उभिने निर्णय गरेको हो ।  
पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को निवास लाजिम्पाटमा बसेको बैठकले अन्य दलसँग समन्वय गर्दै महाअभियोगलाई पारित गराउन पहल गर्ने जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ ।  केन्द्रीय कार्यालय सदस्य मणि थापाले भन्नुभयो, ‘बैठकमा महाअभियोगको पक्षमा उभिने निर्णय भएको छ, यसका लागि आवश्यक प्रक्रिया पूरा गर्ने जिम्मा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डलाई दिएका छौँ । ’ ucpn maobadi
बैठकका एक अर्का सहभागीका अनुसार बैठकले लोकमानको पक्षमा लाग्दा जनताको मनोभावनाविपरीत हुने निष्कर्ष निकालेको छ ।  निर्णयबारे जानकारी दिँदै बैठकका एक सहभागीले भन्नुभयो, ‘लोकमानले अख्तियार प्रमुखको रूपमा जुन प्रकारको भूमिका निर्वाह गरेका छन् त्यो पदको दुरुपयोग हो ।  पछिल्लो पटक कार्कीको उठबस राजनीतिक रूपमा प्रतिगमनको पक्षधरसँग भइरहनुले पनि उहाँका गतिविधि शङ्कास्पद रहेको निष्कर्ष माओवादीले निकालेको छ ।  बैठकमा सहभागी नेताका अनुसार, लोकमानलाई बचाउन ठूला शक्ति केन्द्रहरू लागिरहेको विश्लेषणसमेत बैठकमा गरिएको थियो ।
माओवादीको पाँच घन्टा लामो बैठकमा उनलाई महाअभियोग लगाउनेबारे भएको गतिविधिबारे गम्भीर छलफल भएको थियो ।  त्यसपछि महाअभियोगको पक्षमा उभिने, संसद्भित्र र बाहिर त्यसको माहोल बनाउने निर्णय बैठकले गरेको हो ।
बैठकका निर्णयबारे जानकारी दिँदै पार्टी प्रवक्ता पम्फा भुसालले कार्कीविरुद्ध महाअभियोग प्रस्तावलाई विभिन्न पक्षसँग समन्वय गरी अगाडि बढाउने अधिकार पार्टी अध्यक्ष प्रचण्डलाई दिने निर्णय गरेको बताउनुभयो ।  माओवादीले यसबारे प्राविधिक निर्णय गर्न आइतबार बिहान संसदीय दलको बैठक बोलाएको छ ।  बैठकले महाअभियोगको पक्षमा मतदान गर्न सांसदहरूलाई निर्देशन दिने सम्भावना छ ।  कात्तिक ४ मा बसेको माओवादी हेडक्वार्टर बैठकले काँग्रेससँग सल्लाह गरेर अगाडि बढने निर्णय गरेको थियो ।  
कात्तिक ३ गते साँझ माओवादी केन्द्र र एमालेका १५७ सांसदले हस्ताक्षर गरी प्रमुख आयुक्त कार्कीविरुद्ध व्यवस्थापिका–संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गराएका थिए ।  प्रमुख प्रतिपक्षी दल एमाले यसअघि नै महाअभियोगको पक्षमा छ ।  काँग्रेस भने अझै औपचारिक निर्णयमा पुगेको छैन ।  माओवादीले काँग्रेसले पनि महाअभियोगको पक्षमा निर्णय गर्ने आकलन गरेको छ ।  काँग्रेस केन्द्रीय कार्य समिति बैठक सोमबारसम्मका लागि स्थगित भएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना