वनै खायो अफ्रिकाको झारले

लक्ष्मीप्रसाद उपाध्याय

काठमाडौैँ, कात्तिक ७ गते ।  अफ्रिकी मुलुकबाट भारत हुँदै भित्रिएका झारले नेपालका संरक्षित क्षेत्रमा रहेका दुर्लभ वनस्पती, वन्यजन्तुको वासस्थान, आहारलाई प्रतिकूल प्रभाव पार्न थालेपछि समग्र संरक्षण अभियानमा चुनौती थपिएको छ ।  
दक्षिण अफ्रिकाको जङ्गलमा पाइने माइकेनिया र उत्तर अमेरिकी जङ्गलमा पाइने पार्थेनियम नाम गरेका झार भारतको बाटो हुँदै नेपाल भित्रिएका छन् ।  यी झार संरक्षित क्षेत्रमा फैलिन थालेपछि संसारकै लागि दुर्लभ मानिएका वन्यजन्तु, वनस्पति र समग्र जैविक विविधताको विकास र संरक्षणमा चुनौती थपिएको हो ।  
भारतको आसाम हुँदै केही वर्ष पहिले इलामका जङ्गलमा देखिएको माइकेनिया झार हाल कोशी टप्पु वन्यजन्तु आरक्ष, पर्सा वन्यजन्तु, चितवन राष्ट्रिय निकुञ्ज हुँदै नवलपरासी, कपिलवस्तु, दाङ, बाँकेका जङ्गलसम्म फैलिएको छ ।  उत्तर अमेरिकी जङ्गलमा पाइने पार्थेनियम झार नेपालको पूर्वदेखि बर्दिया राष्ट्रिय निकुञ्जसम्म फैलिएको छ ।  
नेपालका संरक्षित क्षेत्रमा वनमारा झारले दुर्लभ वन्यजन्तु र वनस्पतिको संरक्षणमा पारेको असरमा शोध गर्नुभएका अशोककुमार रामका अनुसार निकुञ्ज र आरक्षभित्रको जैविक विविधताको विनाश गर्न यी झारको महत्वपूर्ण भूमिका छ ।  afrika jhar
कोसी टप्पुको जङ्गली भैँसी (अर्ना), पर्सा र चितवनमा गैँडा, बाघ र हात्तीका लागि र सिमसारमा बस्न र चर्न रुचाउने वन्यजन्तुको बासस्थान र आहार विनाश गर्न माइकेनियालगायत झारको फैलावट चुनौतीका रूपमा खडा भइरहेको छ ।  
गैँडा विशेषज्ञ डा. शान्तराज ज्ञवालीले माइकेनिया, वनमारालगायत झारका कारण चितवन राष्ट्रिय निकुञ्जमा विश्वमा दुर्लभ मानिने एक सिङ्गेलगायतका अन्य महìवपूर्ण वन्यजन्तुको वासस्थान र आहार विनाश भइरहेको बताउनुभयो ।  डा. ज्ञवालीले शाकाहारी प्रजातिका वन्यजन्तुले आहारको रूपमा प्रयोग गर्ने विभिन्न आहारलाई यी झारले विस्थापित गरिरहेका छन् ।  यसले नेपालका कतिपय रैथाने वनस्पतिसमेत लोप हुने अवस्थामा पुगेका छन् ।  
झार रूखमा झाँगिदै जाने र घाँसे मैदान, सिमसार क्षेत्र, नदी किनार ढाक्ने भएकाले साना बोटहरू मर्दै जाने र रूखमा झार झेलिँदा रूखहरूसमेत सुक्ने गरेका छन् ।  शोधकर्ता रामका अनुसार कोसी टप्पु क्षेत्रमा करिब सात सय हेक्टर बढी सिमसार तथा घाँसे मैदान, पर्सा र चितवनका अधिकांश घाँसे मैदानमा माइकेनिया फैलिँदा वन्यजन्तु, पन्छीको आहार तथा वासस्थानमा प्रभावित भइरहेको छ भने सिमसारजन्य
वनस्पति नाश हुँदै गइरहेका छन् ।  
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार चितवन राष्ट्रिय निकुञ्जमा माइकेनियाको समस्या गम्भीर रूपमा देखिएको छ ।  एक सिङ्गे गैँडा, हात्ती, बाघका लागि ख्याति प्राप्त चितवनमा सबैभन्दा बढी माइकेनियाको प्रभाव देखिन्छ ।  निकुञ्जभित्र बर्खामा माइकेनियाको बोटलाई सफा गर्ने गरिए पनि यसको उन्मूलन भने गर्न सकिएको छैन ।  
उता बर्दिया राष्ट्रिय निकुञ्जमा भने पार्थेनियमको प्रभाव बढ्दै गएको छ ।  निकुञ्जका प्रमुख संरक्षण अधिकृत रमेश थापाका अनुसार झारले बबई टापु र आसपासका सिमसार क्षेत्र र नदी किनारमा प्रभाव बढाउँदै गएको छ ।  यो झार खाँदा वन्यजन्तुको मुखमा एलर्जी हुने, घाउ आउने गर्छ र कतिपय वन्यजन्तु बिरामी पर्ने र कालान्तरमा मर्न सक्ने सम्भावना छ ।  
विभिन्न झारहरूको प्रभाव न्यूनीकरण गर्न विशेष कार्यक्रम नै सञ्चालन गर्नुपर्ने धारणा गैँडा विज्ञ डा. ज्ञवालीको छ ।  शोधकर्ता रामका अनुसार माइकेनिया फुल्नुअघि नै काटेर सफा गर्न सके यसको प्रभाव केही हदसम्म न्यून गर्न सकिने बताउनुहुन्छ ।  
माइकेनिया, पार्थेनियम, वनमारा लगायतका झारलाई वनजङ्गलबाट उन्मूलन गर्न नसकिए पनि यी झारबाट ब्रिकेट बनाउन सकिने र यसलाई कोइलाको विकल्पका रूपमा प्रयोग गर्न सकिने धारणा बायो इनर्जी परियोजनाका प्रमुख मुन श्रेष्ठले बताउनुभयो ।  प्रमुख श्रेष्ठले भन्नुभयो, यसको प्रभावलाई कम गरी वन्यजन्तु, वनस्पति माथिको प्रभाव पनि कम हुने
अर्काेतिर वैकल्पिक ऊर्जाको रूपमा पनि विकास गर्न सकिने भएकाले यी झारहरू काटेर आगो उपयोग गर्ने प्रविधि अवलम्बन गर्न जरुरी छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना