चेपाङ पहिले बाध्यताले गिठा भ्याकुर खान्थे, अहिले रहरले

रत्ननगर (चितवन), कात्तिक ७ गते । शिक्षक बन्ने धोको बोकेका यस जिल्लाकै विकट गाविस लोथरका १४ वर्षीय गणेश चेपाङ तीन वर्षअघिसम्म जङ्गलमा घाँस दाउरा गर्ने, गिठा भ्याकुर र च्याउ खोज्ने गर्थे ।

कहिले बुबाआमासँग त कहिले उनी एक्लै पनि जान्थे । कुनैबेला जङ्गली गिठा खोजेर नल्याए बेलुकी भोकै सुत्नु पथ्र्याे ।

विद्यालय छाडेर जङ्गल जानुपर्ने बाध्यता थियो उनीहरुलाई । फाँडेको खोरियामा हुने मकै, कोदो र फापरले छ महिना पनि खान पुग्दैनथ्यो । अहिले तीन–चार वर्षदेखि उनी बाध्यतावस जङ्गलमा गिठा टिप्न गएका छैनन् । पढ्न नियमित विद्यालय जान्छन् । तेक्वान्दो खेल्छन् । छात्रावासमा बसेर अध्ययन गर्दैछन् । “अहिले त गिथा तिप्न गा’थैन” – मलिन स्वरमा गणेशले भने ।

लोथर गाविसको विकट गाउँ कान्दामा कुमार बलराम स्मृति छात्रावासमा बसेर अध्ययन गर्न थालेका कोराक–४ दिवाङडाँडाका आकाश तामाङको पनि दैनिकी उस्तै छ । छ महिने अनिकालमा गिठा नखोजे उनको घरमा पनि आगो बल्थेन । त्यसबेला खानेकुरा नभएर भोकै बसेको अनुभव उनीसँग छ । “गिठा नखोज्दा एकदिन भोकै भाथ्यो, आकाशले विगत सम्झिए ।

भात, तरकारी जे भने पनि गिठा थियो । त्यही गिठा उसिनेर बाँडेर खान्थे । नभए गाउँबाट मागेर या ऋण काढेर अन्नको जोहो गर्नुपथ्र्यो । “गाउँमा होस्टेल नहुँदा गिठा खोज्न जान्थ्यो, अहिले छैन” – आकाशले भने ।

चितवनकै विकटमा रहेको कान्दा गाउँको कथा बेग्लै छ । विषालु च्याउ खाएर एकै परिवारका आठजनाको मृत्युपछि विगत र अहिले फेरिएको छ । गाउँमा अझै वर्षमा छ महिना अनिकाल व्यहोर्ने चेपाङ छन् । तर उनीहरुमा गिठा भ्याकुर खोजेर खानुपर्ने बाध्यता विस्तारै हट्दै गएको छ । स्थानीयवासी विभिन्न कृषिकर्ममा सक्रिय हुन थालेका छन् । कुनैबेला खान पुगेन भन्नेबित्तिकै यहाँ क्रियाशील लक्ष्मी प्रतिष्ठानले अन्न पठाइदिन्छ ।

प्रतिष्ठानका अध्यक्ष विष्णु गौतम भन्नुहुन्छ – “कान्दा हाँस्नु पर्छ, कान्दा हाँस्दा देश हाँस्छ । विकट हाँस्दा जुन सौन्दर्य जन्मिन्छ, त्यसले अन्तर्राष्ट्रिय रुपमा पर्यटनको माध्यमबाट पहिचान पाउँछ ।” अहिले कान्दा ‘यु टर्न भएको’ र पर्यटक भित्र्याउने अभियानमा लागेको गौतम बताउनुहुन्छ ।

यसपालिको दसैँमा पनि चामल, दाल, तेललगायत सामग्री प्रतिष्ठानबाट उपलब्ध भएको बताउने कान्दा गाउँका स्थानीयवासी ५० वर्षीय झ्याउँको लाल चेपाङ भन्छन् – “खान त खोरियाले अझै पुग्दैन, तै नि ज्याला गर्न पा’छ, अन्न पा’छ ।”

उहाँका अनुसार पनि गिठा टिप्न बाध्यताले जानुपर्ने अवस्था छैन । गाउँमा तरकारी खेती सुरु गरिएको छ । छात्रावास निर्माण, बाटो निर्माण तथा अन्य विभिन्न काममा गाउँले नै खटिनुपर्छ । छात्रावासमा चाहिने सामान बोकेर ल्याउने काम पनि स्थानीयवासीकै हो । त्यसैले गाउँमै ज्याला मजदुरीसमेत पाइने भएपछि पहिले जस्तो हातमा पैसा नपर्ने महिना छैन र जङ्गलमा कन्दमूल खोज्न जानै पर्ने बाध्यता छैन ।

तैपनि पुरानो लागेको बानी भएकाले गाउँका चेपाङ जङ्गली गिठा भ्याकुर, तरुल खोजेर खाने चलन भने हराएको छैन । रहरले भए पनि कन्दमूल खोजेर खाने बानी छ । “पहिले बाध्यताले गिठा भ्याकुर खाइन्थ्यो भने अहिले रहरले खाइन्छ” – कान्देश्वरी विद्यालयका प्रधानाध्यापक बालकृष्ण थपलिया भन्नुहुन्छ ।

थपलिया त्यो गाउँ बसेको १५ वर्ष भयो । उहाँका अनुसार कति दिनसम्म पनि मुखमा अन्न पर्दैनथ्यो स्थानीयवासीको । खान हुने जडीबुटीका मुन्टा खान्थे । जङ्गली गिठा भ्याकुर र च्याउले जीवन धानिन्थ्यो । आङ ढाक्ने एकसरो कपडा हुँदैन्थ्यो । मान्छे देख्दा डराउँथे । ओछ्याउने कुरा नभएर अँगेनुमा आगो बालेर छेउमा बसेर रात काट्थे । भात खान दसैँ नै कुर्नुपथ्र्याे ।

विद्यालयमा कक्षा १ देखि ५ सम्मका विद्यार्थी एउटै कोठामा हुन्थे । कान्दा रुपान्तरणमा लागेका सुरुका अभियन्ता मितेरी फाउन्डेसनका एकल सिलवाल रु ५० ले दसैँ मानेको तितो अनुभव सुनाउँछन् ।

तर अहिले विस्तारै परिवर्तन हँुदैछ । अधिकांशका नयाँ घर बने । उनीहरुले नयाँ संसार देख्न थालेका छन् । संसार बुझ्न थालेका छन् । एक अर्कामा सहयोगी भावना जाग्न थालेको छ । आत्मनिर्भर हुन थालेका छन् ।

पाँच वर्षको छोटो समयमै गरे के हुन्न र भन्ने उदाहरण पेस भएको छ कान्दा गाउँको परिवर्तनले । स्थानीय अगुवा चेपाङ सीताबहादुर गाउँमा नसोचेको परिवर्तन आउँदैगरेकामा खुसी छन् ।

चितवनको अति विकटमा पर्छ चेपाङ बस्ने कान्दा गाउँ । यहाँ जान सदरमुकाम भरतपुरबाट पूर्वी क्षेत्र हात्तीढापसम्म चार घन्टाको सवारी यात्रा हुन्छ । त्यहाँबाट उकालो छ घन्टा हिँडेपछि पहाडको टुप्पोसँगै जोडिएको खोपीमा पर्छ कान्दा ।

विसं २०६७ जेठ १४ गते जङ्गली कन्दमूल खोज्ने क्रममा स्थानीयवासी बाबुराम चेपाङको घरमा च्याउ आइपुग्यो । समय एकै भएन । सधैँ खाँदा केही नहुने च्याउ त्यसदिन फरक परेछ । विषालु भनेर चिनेनन् । उनीहरुले पकाएर भोको पेट भरे जसका कारण उनका परिवारका आठजनाकै मृत्यु भयो ।

बाबुरामसहित श्रीमती मतिमायाँ, छोराहरु पूर्णबहादुर र जितबहादुर, छोरी सानीमायाँ र डल्लीमायाँ, बुहारी सुमित्रा र सम्झना चेपाङको ज्यान गएको थियो । च्याउ खान नसक्ने भएकाले शम्शेरबहादुरलाई टुहुरो बनाएर सबै गए ।

सोही घटनाका कारण चितवनको अति विकट लोथर गाविसको कान्दा गाउँको मुहार परिवर्तन सम्भव भएको हो । भोकै र नाङ्गै बस्ने चेपाङ बालबालिका अहिले छात्रावासमा बस्छन् । विद्यालय जान थालेका छन् । सीप र प्रतिभा देखाउन थालेका छन् । बाहिरका जो कोही गए पनि ‘आहा ! कान्दा’ भन्ने गरेका छन् ।

गाउँमा १०२ घरका १२३ जना बालबालिका छात्रावासमा बसेर विद्यालय पढ्न थालेका छन् । लक्ष्मी प्रतिष्ठानले कान्दा रुपान्तरणका लागि काम गरिरहेको छ । “अब जङ्गलका गिठा, भ्याकुर र च्याउलाई भोको पेट भर्ने होइन त्यो देखाएर पर्यटन भित्र्याउनुपर्छ” –
गाउँ रुपान्तरणका अभियन्ता विष्णु थप्नुहुन्छ ।

गाउँका अगुवा चन्द्रबहादुर गुरुङ गाउँ फेरिएको देखेर दङ्ग हुनुहुन्छ । यहाँको विकासका लागि विदेशमा रहेका नेपालीको अथाह सहयोग छ । चितवनका स्थानीय विकास अधिकारी श्रवणकुमार पोखरेल कान्दाको नमुना कार्य अन्यत्र पनि प्रयोग गर्नुपर्ने खाँचो औँल्याउनुहुुन्छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना