सकसबाट आशातिर अर्थतन्त्र

Junar_babuजुनारबाबु बस्नेत


देशको अर्थतन्त्र अहिले पनि राम्रो छैन ।  धेरै परिसूचकले सकसमै रहेको भन्छ ।  नेपाल राष्ट्र बैङ्कले चालू आर्थिक वर्षको साउन र भदौमा आधारित भएर अर्थतन्त्रको मौजुदा अवस्थाको विश्लेषण भर्खरै सार्वजनिक गरेको छ ।  यो तथ्याङ्कमा आयात खुम्चँदै गएको छ र निर्यात अझ वृद्धि भई व्यापक व्यापार घाटा देखिनथालेको छ ।  विप्रेषण (रेमिट्यान्स) का आधारमा चल्दै गएको भनिएको नेपाली अर्थतन्त्रमा यो आयको दर घटेको छ ।  महँगीमा कमी आउन थालेको देखिनथाले पनि महŒवपूर्ण र दैनिक उपभोगमा आउने कतिपय वस्तुको मूल्य बढ्न गई उपभोक्ता झनै चर्को मार छन् तर पनि केही आशा पलाएका छन् ।  पर्यात मनसुनले कृषि उपज राम्रो हुन सक्ने देखिएको छ ।  पुँजी खर्चमा केही वृद्धि अनि पर्यटन अर्थतन्त्रमा देखिएको चहलपहलले अर्थतन्त्रमा आशाको ऊर्जा देखिनथालेका छन् ।
गत साउनमा ८ दशमलव ६ प्रतिशत रहेको मूल्य वृद्धि भदौमा ७ दशमलव ९ मा झ¥यो ।  गत आर्थिक वर्षभरमा झन्डै दोहोरो अङ्कमा पुगेको मूल्य वृद्धि साउन र भदौमा घटेको देखिनु सकारात्मक भए पनि अघिल्लो वर्षको सोही अवधिमा भने खासै सुधार आउन सकेको छैन ।
महँगीको सन्दर्भमा भने अझै मिहिन विश्लेषण आवश्यक हुन्छ ।  दाल तथा गेडागुडीमा १२ दशमलव ६ प्रतिशतको वृद्धि छ ।  फलफूल पनि महँगो नै छ, जुन १६ दशमलव ६ प्रतिशतले बढेको छ ।  विदेशबाट आउने लुगाकपडा र मसलाजस्ता वस्तुमा पनि दोहोरो अङ्कका वृद्धि छ ।  नेपालसित ठूलो व्यापार रहेको भारतमा मूल्य वृद्धि ४ प्रतिशत हाराहारी हुँदा नेपालमा तिनै वस्तुको मूल्य किन उच्च हुन्छ भन्ने विषयमा गहन विश्लेषण हुन सकेको छैन ।  
चालू आर्थिक वर्षको पहिलो दुई महिनामा रेमिट्यान्स आय ६ दशमलव ६ प्रतिशतले मात्र बढेर एक खर्ब १४ अर्ब रुपियाँ पुगेको छ ।  गत आर्थिक वर्षमा यस्तो आयमा २७ प्रतिशतको उच्च वृद्धि थियो ।  असोजमा दसैँका कारण पनि केही सुधार आएको भनिए पनि अन्तर्राष्ट्रिय अर्थतन्त्र मन्दीको चुनौतीमै रहेको छ ।  खासगरी अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटेपछि खाडी देशहरूमा आर्थिक गतिविधिमा प्रतिकूल असर परेको छ ।  त्यसले नेपाली कामदार जाने गन्तव्य मुलुकमा बिस्तारै श्रमिक आपूर्तिमा कमी आएको छ, थप आउने छ ।  अहिले नै शोधनान्तर स्थिति फरक परिसकेको छ ।  गत आर्थिक वर्षमा ३० करोड २५ लाख अमेरिकी डलर बचतमा थियो तर चालू आर्थिक वर्षको भदौ मसान्तमा तीन करोड २६ लाखले शोधनान्तर घाटा देखिएको छ, जुन राम्रो सङ्केत होइन ।  अब विकल्प नखोजी धर छैन ।
सबैभन्दा कमजोर पक्ष भनेको वैदेशिक व्यापार हो ।  यो दुई महिनामा निर्यात १३ अर्ब ३० करोड रुपियाँ रहेको छ ।  यो ७ दशमलव ७ प्रतिशतको वृद्धि हो तर यही अवधिमा आयात भने ४३ दशमलव ४ प्रतिशतले उच्च वृद्धि भएर एक खर्ब ४९ अर्ब रुपियाँ पुगेको छ ।  अमेरिकी डलर आयको आधारमा हेर्ने हो भने त निर्यात ० दशमलव ८ प्रतिशतले घटेको छ ।  आयात निरन्तर बढ्ने र निर्यात साँघुरिने कारणले आय, उत्पादन र रोजगारीमा त प्रतिकूल असर परेको छ नै व्यापार घाटा पनि उच्च दरमा बढेको छ ।  यो दुई महिनामा व्यापार घाटा ४८ दशमलव १ प्रतिशतले बढेर एक खर्ब ३५ अर्ब पुगेको छ ।  यो तीव्र सकस नै हो ।
आयात निरन्तर बढ्दै जाँदा विदेशका मालवस्तु किन्न विदेशी मुद्राको समस्या पर्दै जाने देखिन्छ ।  रेमिट्यान्सले धानेको डलरमा अब त्यो आय खस्कँदा वैकल्पिक नीति र कार्यक्रमको अविलम्ब आवश्यकता बोध हुँदै गएको छ ।  नेपाली जनशक्ति बाहिर जान बिराम जाग्दै जाँदा देशभित्रै काम गर्ने अवसर आवश्यक हुन्छ ।  तत्काल उद्योग र सेवा क्षेत्र विस्तार हुन सक्दैन ।  कृषि क्षेत्र नै चाँडो स्वरोजगार दिन सक्ने र सम्भावना भएको क्षेत्र हो ।  वैदेशिक रोजगारीको विस्तार र कृषिप्रतिको अनाकर्षणले नेपाली गाउँघर बिस्तारै कृषिबाट टाढा हुँदैछ ।  कृषि क्षेत्रले मात्रै तत्काल आयात प्रतिस्थापन गर्न सहयोग पु¥याउँछ ।  
कतिपय आर्थिक परिसूचक नकारात्मक हुँदाहुँदै पनि अघिल्लो वर्षजस्तो न्यून आर्थिक वृद्धिको चक्करबाट मुलुक माथि उठ्ने आधार भने सिर्जना भएको देखिन्छ ।  धान र कोदो लगायतका वर्षे बालीको बढ्न सक्ने छ र यसले खाद्यान्नमा सन्तुलन ल्याउन सहयोग गर्नेछ ।  अनुकूल मौसम, सहज आपूर्ति व्यवस्था र इन्धनको मूल्यमा समेत कमीले कृषि उपजमा लागत तुलनात्मक सहज छ तर कृषि श्रमिकको चर्को समस्या अहिलेको नेपाली कृषिले व्यहोरेको ठूलो जटिलता हो ।  बाह्य रोजगारी खुम्चँदै गएकोले फेरि एक पटक कृषितिर फर्कने अभियानको माग अर्थतन्त्रले गरेको छ ।
गत आर्थिक वर्षमा औद्योगिक उत्पादन ऋणात्मक अवस्थातिरै गएको थियो ।  ऊर्जा अभाव खेपिरहेकेको अवस्थामा नाकाबन्दीका कारण डिजेललगायतको औद्योगिक ऊर्जाको अभावले उद्योग थला बस्न बाध्य भएका थिए ।  अर्थतन्त्रमा अर्को आशलाग्दो क्षेत्र भनेको पर्यटन नै हो ।  कुनै बेला नेपालको डलर आयलाई पर्यटन अर्थतन्त्रले राम्ररी धानेको थियो ।  दशवर्षे आन्तरिक द्वन्द्व र त्यसपछिका राजनीतिक अस्थिरता, अराजकताले नेपालको पर्यटन अर्थतन्त्र धराशयी बन्यो ।  होटलका ठूलो लगानी खेर गयो ।  गत वर्षको भूकम्प र नाकाबन्दीले पनि पर्यटन अर्थतन्त्रलाई चौपट बनायो ।  यताका महिनामा भने यो क्षेत्रले बिस्तारै काँचुली फेर्दै गएको छ ।  होटलमा लगानी बढ्न पनि थालको छ ।  केन्द्रीय बैङ्कले पर्यटन अर्थतन्त्रको सन्दर्भमा भनेको छ, ‘पर्यटकीय होटलको बेड अकुपेन्सी दरमा सुधार आएकोले पर्यटन व्यवसायमा सकारात्मक प्रभाव देखिएको छ । ’ पर्यटन उद्योग क्रियाशील हुँदा रोजगारी र उत्पादनमा सकारात्मक प्रभाव पर्छ ।  खासगरी ग्रामीण र पदयात्रा पयर्टनलाई बढोत्तरी दिँदा आय गाउँ गाउँसम्म पुग्छ ।  घरबास अर्थात् होमस्टे विस्तारले पनि पर्यटन अर्थतन्त्रलाई सकारात्मक प्रभाव परिरहेको छ ।  अहिले आन्तरिक पर्यटनको पनि चहलपहलमा वृद्धि भएको छ ।  यो सकारात्मक पक्ष भए पनि प्रकृतिले नेपाललाई दिएका अनमोल उपहारमा राम्रो आय भएका र खर्च गर्न सक्ने पर्यटक (गुणस्तरीय पर्यटक) ल्याउनेतिर नीति र कार्यक्रम केन्द्रित गर्दा पर्यटन अर्थतन्त्रले गति लिनेछ ।
केही वर्षदेखि नेपालको अर्थतन्त्रको अँध्यारो पाटो भनेको सरकारले खर्च गर्न नसक्नु हो ।  सरकारको पुँजीगत खर्च न्यून हुँदा आर्थिक क्रियाकलाप शिथिल भई उत्पादन खस्कियो ।  रोजगारीमा नकारात्मक असर प¥यो ।  सरकारी विकास खर्चबाट सर्वसाधारणको आयमा अनुकूल प्रभाव पर्न सकेन तर चालू आर्थिक वर्षमा विकास खर्चमा केही आशलाग्दा पक्ष देखिनथालेका छन् ।  आर्थिक वर्षको पहिलो दुई महिनामा पुँजीगत खर्च एक अर्ब २९ करोड रुपियाँ पुगेको छ ।  यो पनि आशलाग्दो अवस्था त होइन तर अघिल्लो वर्षको ती दुई महिनामा ४४ करोड भएको हेर्ने भने चालू आर्थिक वर्षमा पुँजीगत खर्च बढ्न सक्ने र त्यसले अर्थतन्त्रलाई गतिशील बनाउने आशा गर्न सकिन्छ ।  सरकार र निजी क्षेत्रको सहकार्य अनि कठोर आर्थिक अनुशासनमा बाँधिन सके अर्थतन्त्र सुधारका आधार भने निर्माण हुँदै गएको स्पष्ट देख्न सकिन्छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना