विदेशनीतिको अभ्यास र व्यवस्थापन

uttam khanalडा.उत्तम खनाल




विश्व मानचित्रमा नेपालको भूगोल ज्यादै सानो देखिन्छ ।  भू–धरातल र हावापानीका दृृष्टिकोणले हेर्दा नेपालको शान एवं पहिचान अलग प्रकृतिको छ ।  जैविक विविधता, वातावरणीय सुन्दरताभित्रको विषम भौगोलिक वनावटका कारणले वेष्टित नेपाललाई फरक कोणबाट हेरिएन भने अन्याय हुन सक्छ ।  मौलिक पहिचान, संस्कृति र मूल्यमान्यताहरूले भरिएको नेपाल छिमेकीप्रतिको बुझाई यसै अनुरूप राख्ने गर्छ ।  परिवर्तित समय र सन्दर्भमा समेत जातीय विविधताभित्र लुकेर रहेको आत्मीयपनमा गाँसिएको एकताले गाँसिएको परम्परा छ ।  सीता, भृकुटी र गौतम बुद्धले दिएको संस्कार, त्यही रहनसहन र भेषभूषामा मौलाएका प्राचीन मौलिक संस्कृतिहरूले विगतदेखि छिमेकीसँग मित्रवत सम्बन्ध र परराष्ट्रनीतिको अभ्यासलाई प्रतिनिधित्व गर्दै आएका छन् ।  यिनै गहनाले भरिपूर्ण नेपालको पञ्चशीलमा आधारित विदेशनीतिले स्वावलम्बी नेपालको छवि संयुक्त राष्ट्रसङ्घसम्म ऐनाझैँ स्पष्ट भएको देखिन्छ ।
नेपालको राजनीतिक परिवर्तनका घटनाक्रमसँगसँगै विदेशीले नेपालप्रति राख्ने दृष्टिकोण र नेपालले खासगरी दुई छिमेकी शक्ति सम्पन्न राष्ट्र भारत र चीनबीच लिएको विदेशनीतिमा समान र असमान कोणबाट तुलना गरिने गरिएको छ ।  यी दुवै देश नेपालको नजरमा भिन्न प्रकृतिको, आफ्नै मौलिक विशेषताले भरिपूर्ण उदायमान अर्थतन्त्र एवं शक्तिशाली छिमेकी राष्ट्र भएकाले पनि नेपालले यिनीहरूसँग कूटनीतिक तवरबाट राख्ने औपचारिक वा अनौपचारिक वार्तालाप तथा सम्बन्धका बारेमा यो र त्यो बहानाबाजी बनाएर टीका टिप्पणी गरिनु स्वयं नेपालका लागि पनि हितकार मानिंँदैन ।  राणाकालीन समयमा तत्कालीन विश्वको शक्तिसम्पन्न राष्ट्र बेलायतसँगको विशेष कूटनीतिक सम्बन्ध स्थापना भएकै कारण अझैसम्म पनि नेपालको छविले विश्वमाझ छलकपटरहित मान्यताको विराशतलाई उँचो बनाउन पछि परेको छैन ।  समय र राजनीतिक घटनाक्रमहरू हिजो जे थियो आज अकवरी सुनझँै त्यही रहिरहनुपर्छ भन्ने मान्यतालाई आत्मसात गर्दै गइयो भने बुझाइ, भावना र विचारमा कहीँ न कहीँ खोट भेटाउन सकिन्छ तर कसले कहाँ कति कमजोरी गरेको रहेछ भनेर झगडा गर्दा त्यहाँसँगै रहेको छिमेकीको नजर पर्नु अस्वभाविक होइन ।  यसैलाई छलफलको विषय बनाएर एकले अर्काप्रति औँला तेस्र्याउने गर्नु राजनीतिकर्मीका लागि एकक्षण फाइदा त पुग्ला तर कदापि शोभनीय मानिँदैन ।  
अहिलेको विश्वपरिवेशमा आफ्नो पहिचान कायम राख्न नेपालले लिने विदेशनीति कस्तो हुनु वाञ्छनीय हुने हो ? यसप्रति साझा धारणा बनाएर अगाडि बढ्नु नेपालमा क्रियाशील सबै दलको दायित्व र कर्तव्य हुन आउँछ ।  हिजोका अभ्यासले उत्पन्न परिणाम र त्यसको असरलाई बुद्धिमत्तापूर्ण ढङ्गबाट विश्लेषण गरिएन भने भावी दिनमा निम्तिने सङ्कटको सामना गर्न तयार हुन सक्नुपर्छ ।  कुखुराको भाले बास्नु उसको नैतिक धर्म हो, कर्तव्य र दायित्व पनि हो तर विना समय बास्ने ग¥यो या त बास्दै बासेन भने किन ? भन्ने प्रश्न उठाउनु पर्ने हो ।  आफूकहाँ दुई महिनाको चल्ला पाल्ने अनि छिमेकीको दुई वर्षको भालेसँग तुलना गरेर मेरो घरमा पालेको कुखुरा नबासी अरूको घरमा बास्नु हुँदैन भन्ने प्रचलन गजबको बन्दै गयो ।  यो कस्तो खालको कूटनीतिक चरित्र हो ? यस्तो चरित्रले कसरी दर्शाउँला त विराशतमाथि थपिएका कर्तव्यहरू ? जसलाई नेपालका राजनीतिक दलहरूले आफ्नै तालमा बनाएको बाजाझै फुकिरहन पछाडि परेनन् अनि अरूलाई किन ननाचेको भनेर प्रश्न पनि गरे आफ्नै अनुकूलतामा रहेर ।  कुनै समय घर झगडा गर्दै रुवाबासी, मारपिट र हानाहान गर्ने, आफैँ छिमेकी बोलाउने र किन बोलाइस् भन्नु कहाँको इमानदारिता र कस्तो चारित्रिक नियम हो ?
सबैले महसुुस गरेको एउटा विषय हो, अब नेपालले अङ्गीकार गर्ने विदेशनीति राजनीतिक दल र उसको चरित्र अनुरूप हुनु उपयुक्त होइन न कि परराष्ट्र नीतिलाई आफू अनुकूल प्रयोगका लागि व्याख्या नै गरिनु उचित हो ।  उत्तर या दक्षिण दुवै देशले नेपाललाई हेर्ने आफ्नै मान्यताहरू विकास गराइसकेका छन् ।  ती विकसित अवस्थाबाट आएका दृष्टिकोणलाई संवादका माध्यमबाट विश्वासमा रूपान्तरण गराउँदै उपभोग गर्नु भू–राजनीतिक अवस्थाले पनि नेपालका लागि हितकर देखिन्छ ।  कूटनीतिक क्षेत्रमा दीर्घकालीन प्रभावका लागि चालिने कदमका बारेमा हमेशा सचेत र सजग रहनु लाभ प्राप्तिका लागि उपयोगी अस्त्र हुन सक्छ ।  हात लागेका वस्तुहरूमा मात लाग्दा उन्मादका कारण लात लाग्न गयो भने त्यसको जवाफदेही को हुने ? यस विषयमा ध्यान दिएर संयम अपनाउनु देश र जनताप्रतिको सच्चा पहरेदारी गरेको ठहर हुनेमा शङ्का गरिरहनु पर्दैन ।  अहिले यही वातावरण सिर्जना भएको अनुभूत गर्न थालिएको छ ।  दक्षिणमा रहेको तिक्तता अन्त्य भएकोमा चीनले खुलेर प्रशंसा गरेको विषय गौरवको विषय हो नेपालका लागि ।  छिमेकी मित्र जसको सुख दुःखमा साथ छ, यसलाई अन्यथा लिनु कूटनीतिक मर्यादाको उपहास गर्नु समान हो ।      
आफ्ना दलका कार्यकर्ताहरू फकाउन अर्थात् राजनीतिलाई क्षणिक अभीष्ट पूरा गर्ने खेलाडीको हतियारका रूपमा वक्तव्यवाजी गर्नु तत्कालका लागि उचित हुन सक्ला तर त्यसको नकारात्मक असरले पार्ने प्रभाव देश र जनताका लागि सबैभन्दा ठूलो घात सावित हुनसक्छ ।  नेपालका राजनीतिक दलहरूले चीन र भारतबीच स्थापित सम्बन्धलाई एकै दायरामा राखेर तुलना गरेको खण्डमा भृकुटी र सीताप्रति दर्शाइएको अपमान हुन सक्छ ।  भलै कूटनीतिक सम्मानका लागि प्रचारात्मक रूपमा दिइएका अभिव्यक्ति किन नहुन् ।  यी दुवै भिन्न संस्कृतिमा हुर्किएको छिमेकी, फरक पहिचानको भौगोलिक पृष्ठभूमि ः नुन, ऊन र सुन, रोटी र बेटीको सम्बन्ध गाँसिएका घनिष्ट मित्रहरू ।  मित्रताभित्र अविश्वासका नजरहरूले हेर्दा देखिने दरारहरू पैदा गरिंँदै जाने हो भने सम्बन्धमा राप र तापहरू थपिने निश्चित हुन्छ ।  यस प्रकारको तापले अन्ततः भित्रभित्रै धिप्धिपे ज्वालाहरू पैदा गर्ने र कुनै कालखण्डमा आफ्नै जीउ ढाकेको वस्त्रलाई समेत खरानी बनाउन समय लाग्दैन ।  यस प्रकारको बेविचारले न त सम्बन्धमा प्रगाढता कायम हुन सक्छ न परनिर्भरतामा पूर्णबिराम नै लाग्छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना