सेयर बजारमा देखिएको शिथिलता

sarojसरोज अधिकारी



दसै पछिको सेयर बजार सुस्ताएको छ ।  मर्जर प्रक्रियामा गएर लामो समयपछि कारोबार भएका केही कम्पनीको बाहेक बजार मूल्यमा सामान्य गिरावट नै देखिएको छ ।  कारोबार रकम भने सन्तोषजनक नै देखिन्छ ।  सेयरमा लगानीकर्ताको सक्रियता तिहार र छठपछि मात्र हुने भएकोले पनि सेयर खरिदका लागि पर्याप्त मात्रामा माग नहुनुले पनि बजारलाई असर पारेको हो ।  बजारमा केही करेक्सन देखिएको र चाडबाडको ह्याङ्ओभर भएका बखतको मौका छोप्दै अनुभवी लगानीकर्ताहरू भने सस्तोमा चाडबाड अगावै राम्रा सेयरमा लगानी बढाउन तल्लीन देखिन्छन् ।  त्यसैले पनि नेप्सेमा गिरावट हुँदा पनि कारोबार भने केही सुधारोन्मुख नै छ ।  
तिहारपछि बजारले कुन मोड लिने हो भन्ने कुरा अनुमान लगाउन त्यति सहज नभए पनि बजारमा केही करेक्सन आउन सक्ने सम्भावनाहरू केलाउँदा निम्न आधारहरू पहिल्याउन सकिन्छ ।  बैङ्क वित्तीय संस्थाहरूले निक्षेपमा दिने ब्याजदरमा वृद्धि गर्ने क्रम सुरु भएको छ ।  निक्षेपमा संस्थागत निक्षेपको अनुपात उच्च हुन नहुने नेपाल राष्ट्र बैङ्कको निर्देशनपछि बैङ्कहरू ब्याजदर बढाएर जनताको निक्षेप आफ्नो संस्थामा भित्राउन प्रतिस्पर्धामा लागेको अवस्थाको फाइदा उठाउँदै केही लगानीकर्ता सेयर बजारबाट नाफा बुकिङ गर्दै बैङ्क उच्च ब्याजदरको निक्षेपतर्फ आकर्षित हुनसक्छन जुन बजार वृद्धिका लागि राम्रो सङ्केत नहुन सक्छ ।  हाल त्यस्तै अवस्थाले पनि बजारलाई घटाउन सघाउ पु¥याइरहेको देखिन्छ ।  बजार खस्कन सक्ने अर्को कारणमा भूकम्पपछि नयाँ घर निर्माणको क्रम बढ्दो छ ।  त्यसले पनि मुलुकभर घरजग्गाको मूल्यमा वृद्धि भएको पाइएको छ ।  दोस्रो चक्रपथको हल्लाले राजधानी वरपरको जग्गाको मूल्य आकाशिँदो छ ।  घरजग्गाको कारोबारमा भएको वृद्धिसँगै लगानीकर्ता सेयर बजारमा नाफा बुकिङ गर्दै त्यसतर्फ गएकोले पनि नेप्सेमा नकारात्मक असर परेको हो ।  बैङ्क तथा वित्तीय संस्थाहरूले नेपाल राष्ट्र बैङ्कले तोकेबमोजिमको चुक्ता पुँजी पु¥याउने सिलसिलामा बोनस र हकप्रद सेयर नै वितरण गरेका छन् र सो सिलसिला जारी नै छ ।  जसले गर्दा बजारमा सेयरको आपूर्ति उच्च मात्रामा बढ्दो छ ।  आपूर्तिमा देखिएको ह्वात्तै वृद्धिको अनुपातमा नयाँ लगानीकर्ता बढ्न नसक्नुले पनि नेप्सेको उचाइतर्फको यात्रामा अवरोध पुगेको देखिन्छ ।  सेयरमा नाफा गरेको रकमले नयाँ व्यापार सुरु गर्ने वा मोटरसाइकल र गाडीजस्ता विलासिताका सामान किन्ने, निजी खर्चमा विदेश घुम्न जानेजस्ता कुरालाई समेत कतिपय सेयर लगानीकर्ताले प्राथमिकतामा राखेको कारण पनि सेयर बजारबाट लगानी झिक्ने क्रम बढेको छ ।  त्यसले बजारमाथि जाने क्रम रोकिएको देखिन्छ ।  त्यसैगरी विगतमा एमाले नेतृत्वको सरकारले ल्याएको वितरणमुखी बजेटलाई वर्तमान सरकारले पनि निरन्तरता दिने र निजी क्षेत्रलाई साथ लिएर आर्थिक क्रियाकलाप वृद्धि हुने खालको कार्यक्रम खासै ल्याउन नसक्नुले पनि मुलुकमा आर्थिक चहलपहल खासै देख्न सकिएको छैन ।  नेपाल राष्ट्र बैङ्कले हालै सार्वजनिक गरेको आर्थिक प्रतिवेदनले पनि मुलुकको अर्थतन्त्रमा खासै सुधार नदेखाएकोले पनि लगानीकर्ता बजारतर्फ आकर्षित हुन नसकेको असर पनि बजारमा परेको हुनसक्छ तर अन्य जेजस्ता झिना मसिना कारणहरू भए पनि हाल बजारमा देखिएको समान्य करेक्सनमा नाफा बुकिङको प्रमुख भूमिका रहेको देखिएको छ ।  
मुलुकमा राजनीतिक सङ्क्रमण जारी रहनु, संविधान कार्यान्वयन र तीन तहको चुनावमा उत्साह नदेखिनु, संविधान संशोधनको कार्यले गति लिन नसक्नुजस्ता कारणले आगामी दिनमा मुलुकको राजनीतिले कहिले कस्तो मोड लिने हो त्यसै आकलन गर्न नसकिने अवस्था छ ।  त्यसको राजनीतिक अस्थिरताको माझ सेयर बजारमा एकाएक ठूलो लगानी भित्रिने सम्भावना पनि न्यून नै देखिन्छ ।  चुक्ता पुँजी वृद्धिको अनुपातमा बैङ्क वित्तीय संस्थाको लगानीको सम्भावना भने न्यून हुनुले समस्या देखिएको छ ।  
मुलुकको आर्थिक वृद्धिदर पनि गत वर्ष एक प्रतिशतभन्दा कम रहनु र यस वर्ष पनि तीन प्रतिशतको हाराहारीमा मात्र हुने अनुमानले पनि आगामी केही महिना समग्र सेयर बजारमा खासै रौनक देखिने सम्भावना न्यून नै देखिन्छ ।  
सकारात्मक पक्षहरू
सेयर बजारमा खासै वृद्धि सम्भावनाहरू नभए पनि बजारमा एकाएक गिरावट आउने सम्भावना पनि कम नै छ ।  आगामी दिनमा बजार केही अङ्कमाथि जाने आधारहरू केलाउँदा भने सेयर बजारमा बिमा र लघुवित्त समूहको रौनक अझै कायमै छ त्यसले बजारलाई सन्तुलित बनाउँदै उचाइतर्फको यात्रा तय गर्न सघाउ नै पु¥याउने देखिन्छ ।  सेयर बजारमा वर्चस्व कायम रहेको बैङ्क तथा वित्तीय क्षेत्रका संस्थाहरूले आर्थिक वर्ष ०७३–७४ को पहिलो त्रैमासिको प्रतिवेदन सार्वजनिक गर्न थालेको अवस्था छ ।  हालसम्म प्रकाशित प्रतिवेदनलाई आधार मान्ने हो भने प्रगति सन्तोषजनक नै रहेका अनुमानले पनि बजारमा राम्रो प्रगति हासिल गरेको कम्पनीहरूको बजारमूल्य वृद्धि हुने सम्भावना देखिन्छ ।  त्यसले समग्र नेप्सेलाई उकास्न मद्दत पुग्ने देखिन्छ ।  त्यसैगरी एनआईबीजस्ता कतिपय बैङ्क तथा वित्तीय संस्थाले नेपाल राष्ट्र बैङकले तोकेअनुसारको चुक्ता पुँजीभन्दा पनि बढी चुक्ता पुँजी पु¥याउने लक्षसहित कार्य गरिरहेका छन् भने एनआइसी एसियाजस्ता बैङ्कले चुक्ता पुँजी वृद्धिको अनुपातमा व्यापार विस्तार गर्ने सिलसिलामा ४० शाखा विस्तार गर्ने लक्ष्यसहित आक्रामक तरिकाले अघि बढेका छन् ।  त्यसले पनि बैङ्किङ क्षेत्रको प्रगति राम्रो हुने जसले सेयर बजारमा सकारात्मक प्रभाव पार्ने आशा गर्न सकिन्छ ।  कामका लागि मुुलुकका थुप्रै युवाहरू विश्वका विभिन्न मुलुकमा श्रम गर्दै रहेको वर्तमान अवस्थामा विप्रेषण (रेमिट्यान्स) आगमन झन्डै सात खर्ब पुगेको वर्तमान परिवेशमा मुलुक भित्रिएको रेमिट्यान्सको केही हिस्सा सेयर बजारमा लगानीको रूपमा अवश्य पनि भित्रने देखिन्छ त्यसले पनि बजारलाई सन्तुलित बनाइ राख्न सघाउ पुग्ने देखिन्छ ।  चाडबाडका बखत मुलुक भित्रिएको रकम दैनिक उपभोग्य वस्तुको खरिदमा खर्चिने अवस्था स्वभाविक भए पनि आगामी दिनमा भित्रने रकम सेयर बजारमा पनि आउने निश्चित छ ।  भूकम्प र भारतीय नाकाबन्दी झेलपछि हाल मुलुकका पर्यटकका आगमन उल्लेख्य मात्रामा बढ्नुले पर्यटन मार्फत हुने आर्थिक गतिविधि उच्च रहेको अवस्था, समयमा वर्षात् हुनुले कृिष क्षेत्रको उत्पादकत्व बढने अनुमान र भूकम्पपछिको भौतिक निर्माणबाट देखिएको आर्थिक क्रियाकलापको सकारात्मक प्रभाव मुलुकको समग्र आर्थिक वृद्धिमा पर्नेछ ।  त्यसको सकारात्मक असर नेपाली सेयर बजारमा पनि आगामी दिनमा देखिनसक्छ ।  
सेयर बजारको व्यवस्थित र सन्तुलित ढङ्गबाट अघि बढाउने सिलसिलामा धितोपत्र बोर्ड, सिडीएस, नेपाल राष्ट्र बैङ्क, बिमा समिति र नेप्सेलगायतका संस्थाहरूले बजार सुधारको दिशामा थुप्रै सकारात्मक कामहरू गर्न सफल भएका छन् ।  मोफसलबाट हुने कारोबार सहज बनाउँदै बढाउने, गैरआवसीय नेपालीलाई प्रत्यक्षरूपमा बजारमा छिराउनेजस्ता कार्यमा प्रगति भएका छन् ।  
यसले हाल भएका लगानीकर्तालाई कारोबार सजिलो बनाउने मात्र होइन नयाँ लगानीकर्तालाई पनि आगामी दिनमा सेयर बजारमा आकर्षित गर्न मद्दत पुग्ने देखिन्छ ।  मुलुकमा ठूलो राजनीतिक वा आर्थिक परिवर्तन नभएको अवस्थामा आगामी केही महिनासम्म बजारमा ठूलो गिरावट आउनसक्ने वा ठूलो मात्रामा वृद्धि हुने बलियो सम्भावना र सङ्केत भने देखिँदैन ।   

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना