काष्ठमण्डपमा सामूहिक भाइटीका गरिने

काठमाडौँ, कात्तिक १० गते ।  विगतझैँ यसपल्ट पनि दिदी अञ्जली मास्केले दिदीबहिनी नहुने दाजुभाइलाई काष्ठमण्डपमा सामूहिक भाइटीका लगाइदिने हुनुभएको छ ।  टीका लगाउन आउने दाजुभाइका लागि सप्तरङ्गी टीका, मखमली माला र भाइ मसला, कटुस, ओखर, बिमिरो, तेल, दियो, कलशको तयारीमा दिदी अञ्जली हुनुहुन्छ ।  उहाँले वि.सं. २०५५ देखि नियमित रूपमा भाइटीका गर्दै आउनुभएको छ
वि.सं. २००१ पुस १४ गते जन्मनुभएकी दिदी अञ्जली आगामी पुसमा ७२ वर्षको उमेरमा प्रवेश गर्दै हुनुहुन्छ ।  दाजुभाइको निधार खाली हुन नपाओस्, चलिआएको परम्परा नमासियोस् र सबैमा भ्रातृत्व प्रेम रहोस् भन्ने कामनाका साथ उहाँले भाइटीका गर्दै आउनुभएको छ ।
 गतवर्षको भूकम्पले भत्काएको काष्ठमण्डपमा उहाँले सजिलोका लागि त्रिपाल राखेर मण्डप बनाउनुहुने भएको छ ।  उहाँले दाजुभाइलाई टीका लगाउन आउँदा दक्षिणा वा कोसेली नल्याउन आग्रह गर्नुभएको छ ।  
भाइटीका नजिकिने क्रमसँगै टीका लगाउन आउन नभ्याउने विदेशमा रहेका दाजुभाइले विद्युतीय सञ्चारमाध्यमबाट दिदी अञ्जलीसँग सम्पर्क राखिरहनुभएको छ भने काठमाडौँ उपत्यकामा रहनुभएकाले पनि यो दिनलाइ प्रतीक्षा गरिरहनुभएको छ ।
यसैबीच दाजुभाइ दिदीबहिनी नहुनेले दर्शन गर्ने रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर जीर्णोद्धारका क्रममा रहेकाले रानीपोखरीबाहिरै मन्दिरको तस्बिर राखेर दर्शन गर्ने व्यवस्था मिलाइँदैछ ।  यसैबीच दाजुभाइ दिदीबहिनी नहुनेले जयवागेश्वरीस्थित अमालकोट परिसरमा रहेको खञ्जनेश्वरमा अर्चना गर्ने परम्परालाई यो पल्ट पनि निरन्तरता दिइने अमालका द्वारे पूर्ण डङ्गोलले जानकारी दिनुभएको छ ।  भाइटीका कात्तिक १६ गते परेको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना