धर्ममाथिको राजनीतिक रडाको

Pabitaपविता मुडभरी पुडासैनी


 

केही दिनअघि काठमाडांँैको वनकालीमा भएको विराट हिन्दु धर्म सम्मेलनलाई सम्बोधन गर्दै पूर्व राजा ज्ञानेन्द्र शाहले हिन्दुधर्मको महानता र आवश्यकता औँल्याए र धर्म निरपेक्षता विरुद्धको आफ्नो तृष्टि पनि ओकले  ।  तीन करोड नेपालीको मत र मान्यताको अवमूल्यन गर्दै गणतन्त्र स्थापनासँगै धर्मनिरपेक्षता अँगालेसँगै मुलुकमा धर्ममाथिको राजनीति रडाको चुलिएको छ ।  नेपालमा हिन्दु धर्मको बाहुल्यता रहे पनि धार्मिक सहिष्णुता भएको राष्ट्र हो ।  विविध धर्म मान्ने बीच कसिलो एकता र सद्भाव छ यहाँ ।  भनिन्छ धार्मिक आस्था अमर हुन्छ तर अनन्तसम्म भने स्थायी रहन सक्दैन ।  धर्म संस्कार समयानुकूल परिवर्तन हुन्छ र हुनुपर्छ पनि तर परिवर्तनका प्रहार कसैमाथि बलजफ्ती लादिनु हुँदैन ।  धर्मका नाउँमा स्थापित संस्कारमा परिमार्जन गर्दा सहजता र सुविधा हुन्छ भने यसलाई स्वीकार्न सबै तत्पर हुनुपर्छ तर आफ्नो धर्म नै त्यागेर अर्को धर्म अँगाल्नु धर्ममाथिको घृणित घात हो ।  
संविधानसभाबाट संविधान बनाएपछि मुलुकका सबै खाले समस्या समाधान हुने र विकास निर्माणका कार्यअघि बढ्ने सपना जनतालाई बाँडियो यतिसम्म कि जनताका समस्या छुमन्तरका भरमा समाधान भइजाने अभिव्यक्ति दिएका थिए नेताहरूले ।  संविधानसभाबाट संविधान बनेपछि सबैथोक मिल्छ भन्ने शैलीमा राजनीतिक दलहरूले सपना बाँडेका थिए तर संविधान बनी नसक्दै संविधान जलाइयो  ।  संविधान संशोधनको माग देश विदेशमा गुञ्जायमान भयो ।  संविधान आए लगत्तै तराईका जनता बन्दको मारमा पिल्सन प¥यो भने देशभरका जनता नाकाबन्दीको मारमा परे ।  संविधान बन्नु र नबन्नुमा जनताको समस्यामा कुनै फेरबदल छैन ।  बरु राजनीतिक अस्थिरता र मनोमानिताले जनताको दैनिकी निकै कष्टकर बनेको छ ।  महँगी, अभाव र अराजकताले जनता आजित छन् ।  राजनीतिक अन्योल र सङ्कट जनताका नियति बनेका छन् ।  संविधान संशोधनको विषयले लामो समयदेखि मुलुक ठप्प बन्न पुगेको छ ।  धर्म निरपेक्षता र गणतन्त्र जनताका नभई नेताका चाहना र विदेशीको दबाबका परिणति हुन् ।  नयाँ सविधानमा जनताका चाहना नसमेटिएकामा जनता निरास छन् तर निरासाको निकृष्टता जनताले प्रस्तुत गरेका छैनन् ।  मुलुक निर्माण गर्ने समय प्रधानमन्त्री बनाउने र फ्याक्ने कार्यमै व्यतीत भइरहेको छ ।  
जनताले चाहेको परिवर्तन अझै हुन सकेको छैन ।  जनताको नाउ भजाएर आफ्नै स्वार्थसिद्ध गर्न नेताहरू लागिरहे ।  राष्ट्रिय सवाल जोडिएका महŒवपूर्ण विषयमा समेत नेताहरू पैसा र पदमा विकेको देखियो ।  जनताले चाहेको परिवर्तन राष्ट्रिय विकास र समृद्धिको हो तर नेताहरू राष्ट्रिय चिह्न राष्ट्रिय गीत, राष्ट्रिय जनावर, झण्डा, धर्म आदि परिवर्तनतर्फ लागे र देशको स्वाभिमान र अस्तित्वमाथि मजाक गर्न थाले ।  पूर्व प्रधानमन्त्री केपी ओलीले जनतालाई मुलुकमा सम्भावित र आवश्यक सपना बाँडेका थिए तर वर्तमान प्रधानमन्त्री प्रचण्डले नेता नेतृ र सांसदहरूलाई सेवा सुविधाका नाउँमा रकम र सेवा सुविधा बाँडने काम गरिरहेका छन् ।  
संसदीय शासन प्रणालीमा सरकारको गठन र विघटन तथा सरकारलाई विश्वासको मत र अविश्वासको प्रस्ताव पेस गर्नु स्वाभाविक मानिन्छ तर राम्रो काम गर्दा गर्दै सरकार गिराउने खेलले साझा सरकार राष्ट्रका लागि अभिशाप बनेको छ ।  साझा सरकारको नियति मुलुकको दुर्गति बनेको छ  ।  दलबीचको विश्वास र सहकार्य टुट्दा साझा सरकारको असामयिक पतन हुन्छ र सरकार परिवर्तनको दुष्चक्रमा देश फस्न पुग्छ ।  बारम्बार परिवर्तन हुने सरकार राष्ट्रिय विकासमाभन्दा सत्ता टिकाउन र लम्ब्याउन सांसद रिझाउने र कार्यकता पोस्ने कुकार्यमा लागिरहन्छन् परिणति मुलुकले कहिल्यै स्थायित्व र समृद्धि पाउन सक्दैन ।  सत्तामुखी राजनीतिमा नेताहरू केन्द्रित भइदिँदा राज्यले विकास र निकास पाउन नसकेको हो ।  आर्थिक समृद्धि र गरिबी निवारणका क्षेत्रमा उल्लेख्य प्रगति हुन सकेन ।  संविधान संशोधन कार्यान्वयन तथा तीन वटा निर्वाचन सम्पन्न गराई मुलुकका स्थायित्व र समृद्धि ल्याउने विषयमा विवाद र विषम परिस्थिति चर्को छ  ।  
    २७ वर्षे संसदीय अभ्यासमा एउटा सरकारले पूरा कार्यकाल शासन गर्न पाएको छैन  ।  दुई पटक स्पष्ट बहुमत पाएको काँगे्रसले पनि पूरा कार्यकाल काम गर्न नपाएको दुःखद राजनीतिक परिस्थिति भोगेको छ ।  प्रजातन्त्र प्राप्तिको सत्ताईस वर्षयता अन्योलमय अस्थिर राजनीतिक परिस्थितिका बाबजुद पनि जनताको सपना मरिसकेको छैन ।  युवाको ठूलो जमातलाई सानो परिवर्तन गरेरै पनि पछि लगाउन सक्ने ताकत र अवस्था अझै राजनीतिक दलहरूमा छ ।  ८० प्रतिशतभन्दा बढी हिन्दु भएको मुलुकमा धर्मलाई अफिम मान्ने कम्युनिस्टहरू पटक–पटक सत्ता सम्हाल्छन् तर यसो भन्दैमा त्यस्ता दलका धर्म संस्कारप्रतिको दृष्टिकोण र व्यवहार जनताका लागि हुबहु स्वीकार्य हुन्छ भन्ने छैन ।  न त दलका नेता नेतृत्वले नै सिद्धान्तलाई व्यवहारमा पूर्ण पालना गरेका हुन्छन् ।  नेपालमा २०६३ मा धर्म निरपेक्ष मुलुक घोषणा गरिए यता धर्म परिवर्तनको लहर यति तीव्र रूपमा चलेको छ कि ग्रामीण महिला तथा गरिब विपन्न क्रिश्चियन धर्ममा खुलमखुला लागेका छन् ।  राजधानीकै बस्ती–बस्तीमा हिन्दुहरूको नाकैमा ठेस लाग्ने गरी रातारात असङ्ख्य चर्चको निर्माण भइरहेको छ ।  त्यसो त अरूलाई मात्र दोष लगाउनु भन्दा हिन्दु धर्मभित्रै केही परिवर्तन र परिमार्जनको खाँचो छ कि सचेतता अपनाउनै पर्छ ।  धर्मका नाउँमा महिला तथा अन्य केही जातजाति माथिको रीतिथिति र आडम्बर अर्घेल्याइबाट आजित वर्गलाई धर्म निरपेक्षता नै धर्म परिवर्तनको सहज मार्ग बन्यो भने मुलुकका लागि यो घातक ठहर्ने निश्चित छ ।  संविधान जारी गर्नु पूर्व बहुसङ्ख्यक जनताको हिन्दु धर्मको वकालत र चर्को आवाजलाई तिलाञ्जलि दिँदै अर्बाैं मूल्यका लोभमा धर्म निरपेक्षताप्रति नेतानेतृहरूको मन मोडिएसँगै दुई÷चार हजारको लोभमा हिन्दु धर्मप्रति यसैगरी निरन्तर नेपाली जनताको आस्था तोडिनु धर्ममाथि भइरहेको  राजनीतिक रडाकोको डरलाग्दो सङ्केत हो ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना