भेडी गोठालो कामी मालिक बने



लिबाङ (रोल्पा), ११ कात्तिक । विगतका वर्षहरुमा तिहारका बेला सधैँ निराश र मलिन अनुहारमा देखिने ह्वामा–९ बाजाका तिलवीर कामी यसवर्ष भने निकै खुसी र उत्साहित बन्नुभएको छ । कुनै समयमा आयआर्जनको बाटो नहुँदा मुस्किलले एक छाक मात्रै खाएर जीवन गुजार्दै आउनुभएका कामीको जीवनमा छोटो समयमै ठूलो परिवर्तन आएको छ ।

साँझ बिहानको छाक टार्नकै लागि केहीवर्ष अगाडिसम्म अरुको बाख्रा चराउँदै वन वनमा विरहका गीत गाउँदै हिँड्नुहुन्थ्यो उहाँ । सम्पत्तिको नाउँमा एक त भिरालो जमिन त्यसमा पनि जङ्गलको बीचमा उहाँको सानो घर थियो । आयस्रोतका बाटाहरु नहुँदा आफूलाई दैनिक जीवनयापन गर्न हम्मे हम्मे पर्ने गरेको कामीको भनाइ छ ।

साँझ खायो बिहान के खाने, बिहान खायो साँझ के खाने भन्ने कुरा नै उहाँको सबैभन्दा ठूलो चिन्ताको विषय बनेको थियो त्यतिबेला । चाडपर्वका बेला होस् वा अन्य समयमा घरमा पाहुना आउँदा एकातिर आफूलाई खुसी लाग्ने भए पनि अर्काेतिर दुःखी हुने गरेको उहाँले बताउनुभयो । चोर्न मिल्दैन, पाहुनालाई भोकै राख्न पनि भएन भन्ने सोच राख्नुहुने उहाँको मन पाहुना आउँदा साह्रै पिरोलिन्थ्यो ।

सानो परिवार भएका कामीकी श्रीमतीको केही वर्ष पहिले मृत्यु भइसकेको थियो भने हाल उहाँको परिवारमा दुई छोरा, एक छोरी, उहाँकी वृद्ध भाउजू र उहाँमात्र हुनुहुन्छ । वृद्ध भाउजूले कुनै पनि काममा सघाउन नसक्ने उहाँको भनाइ छ । तर पनि सानै परिवार चलाउन गाह्रो भएका कामीलाई पाहुना आउँदा शिरमाथि पहाड खसेजस्तो हुन्थ्यो । यसरी दुःख सुखका बीच जीवन गुजार्दै आउनुभएका कामीले आजभन्दा केही वर्ष पहिले गाउँकै दिलै पुन मगरको तीन भेडा र चार बाख्रा गरी जम्मा सातवटा बस्तुभाउ अधियाँमा लिएर पाल्न सुरु गरेको स्मरण सुनाउनुभयो ।

त्यसै समयमा उहाँकोे गाविसमा गरिबी निवारण कोषको कार्यक्रम लागू भयो । उहाँले आफूलाई पनि कोषको बाजा सामुदायिक संस्थामा कोषाध्यक्षका रुपमा आबद्ध गराउनुभयो । त्यसपछि उहाँको जीवनमा विस्तारै सफलता र खुसीका रेखाहरु कोरिन थाले । कोषले उक्त समूहलाई आयआर्जनका लागि अनुदान दिएपछि उहाँले बाख्रापालनका लागि रु १८ हजार ऋण लिएर केही समयपछि अधियाँमा पालेका सातवटै भेडाबाख्रा आफ्नो बनाउनुभयो । त्यसपछिका दिनमा बिस्तारै बिस्तारै उहाँको जीवनस्तरमा सकारात्मक परिवर्तन आउन थालेको गरिबी निवारण कार्यक्रमका सामाजिक परिचालक मूलमान मगरले जानकारी दिनुभयो ।

कामीले हालसम्म दैनिक खर्च, छोराछोरीको विद्यालय खर्च, औषधि उपचार खर्चलगायत अन्य सम्पूर्ण खर्च कटाएर करिब ५० वटा जति भेडाबाख्राबाट रु चार लाख भन्दा बढी आम्दानी गरिसक्नुभएको छ भने अझै उहाँसँग केही भेडाबाख्रा बाँकी नै छन् । यसरी उहाँले सामुदायिक संस्थाबाट लिएको ऋण पनि सबै फिर्ता गरिसकेको जानकारी दिँदै भन्नुभयो – “गरिबकै लागि सञ्चालन भएको यो कार्यक्रमले मलाई मात्र नभई मजस्ता गरिबलाई साँच्चै ठूलो गुन लगाएको छ । यो कार्यक्रम हाम्रो जीवनमा मात्र होइन हाम्रा छोरानातिको पालासम्म पनि पुस्तौँ पुस्ता चलिरहोस् ।”

यसरी जिल्लामा २०६३ वैशाखदेखि सहयोगी संस्थामार्फत सञ्चालनमा रहेको कार्यक्रम हाल जिल्लामा पाँचवटा सहयोगी संस्था मार्फत ४२ गाविसमा विस्तार भइसकेको गरिबी निवारण कोषका कार्य प्रबन्धक दीपक केसीले जानकारी दिनुभयो । उहाँका अनुसार यसै आवभित्र यो कार्यक्रम जिल्लाका सबै गाविसमा सञ्चालनमा ल्याउने लक्ष्य लिइएको छ ।

यसले गरिबीको रेखामुनि रहेका गरिब घरधुरी पहिचान गरी उनीहरुको मागमा आधारित रहेर आयआर्जन र भौतिक पूर्वाधारका लागि कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । यसअन्तर्गत जिल्लामा आयआर्जनतर्फ पशुपालन, तरकारी खेती र किराना पसल सञ्चालन हुँदै आएको छ भने भौतिक पूर्वाधारतर्फ सिँचाइ, खानेपानी, साना लघुजलविद्युत्, विद्यालय भवन, बाटोघाटो, पुलपुलेसोको निर्माण कार्य भइआएको छ । यस कार्यक्रमबाट जिल्लामा हालसम्म ५४५ सामुदायिक संस्थामा आबद्ध १६ हजार २५७ घरधुरी लाभान्वित भइसकेको केसीले जानकारी दिनुभयो ।

भनिन्छ, मेहनतको फल जति मीठो हुन्छ मेहनत गर्न त्यति नै कठिन हुन्छ । तर लगनशील भएर आफ्नो काममा इमान्दारिताका साथ लागे अवश्य सफलता हात पार्न सकिन्छ भन्ने कुराको ज्वलन्त उदाहरण बन्नुभएको छ कामी । बर्सेनि घरपरिवार छोडेर खाडी मुलुकमा जाने युवा वर्गका लागि उहाँ गतिलो उदाहरण बनेको देख्न सकिन्छ । यसरी नै हरेक रोल्पालीले देशमै श्रम खर्चिन सकेमात्र नयाँ नेपालको परिकल्पना साकार हुनेमा दुई मत छैन । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना