तराईमा बढ्दो डेंगू प्रकोप

mukesh kumar shahडा. मुकेशकुमार साह

 

नेपालको पूर्वी तथा मध्य तराईका विभिन्न भागमा मच्छड (लामखुट्टे) को टोकाइबाट मानिसमा सर्ने एक प्रकारको भाइरसको सङ्क्रमणबाट फैलने रोग डेंगु फैलिएको छ ।  झापाको दमक, पर्सा तथा चितवनमा डेंगु इपिडेमिक हुने खतरा बढ्दो छ ।  दमकका विभिन्न भागका करिब पाँच दर्जन बिरामी सम्बन्धित रोगले ग्रसित भएको परीक्षणबाट पुष्टि भएको छ, धेरैको परीक्षण बाँकी नै छ, चितवन र पर्सामा पनि धेरै बिरामी डेंगुसङ्क्रमित छन् ।  कुल तीन सयभन्दा बढी बिरामीहरू डेंगुरोगले ग्रसित भएको विभिन्न सञ्चारमाध्यममा उल्लेख भएको छ ।  धेरै बिरामीको उपचार स्थानीय स्तरमा नै भए पनि केही बिरामीलाई सघन उपचारका लागि बाहिर ‘रिफर’ गरिएको छ ।  रगत परीक्षण गर्दा उनीहरूमा ‘एनएसवानएजी’ प्रतिक्रियात्मक देखिएकोले बिरामी सम्बन्धित रोगको सुरुवाती अवस्थामा रहेको बुझिन्छ ।  कति बिरामीमा आईजीएम पनि प्रतिक्रियात्मक देखिएको छ ।  रोग ठीक हुन लागेको बिरामीमा वा रोग सुरु भएको चार–पाँच दिनमा ‘आईजीजी’ पनि प्रतिक्रियात्मक देखिन्छ ।
विश्वमा मच्छडको टोकाइबाट अति नै शीघ्र फैलने भाइरसको सङ्क्रमणबाट हुने रोगमध्येको रोग हो डेंगु ।  विश्वभर नै यस रोगको फैलावट भए पनि एसिया खासगरी भारत र नेपालमा पछिल्लो समयमा यो रोग ‘इन्डेमिक’ भएर एक समस्याको जड भएको छ ।  यो रोग ग्रसित भएको क्षेत्रका मानिसहरूको आर्थिक, शारीरिक र मानसिक बोझ हुने गरेका विश्व स्वास्थ्य सङ्गठनको प्रतिवेदनले जनाएको छ ।  नेपालीको जस्तो आर्थिक स्तर कम भएको समाजमा यो रोगको प्रकोपबाट धेरै प्रभाव पर्ने भएकोले सरकारले समयमा नै समाधान खोज्नु जरुरी छ ।
लक्षणहरू ः
बिरामीहरूमा सामान्य ज्वरो आउने, जिउ हात दुख्ने, जोर्नीहरू दुख्ने, टाउको दुख्ने र आलस्य हुनेजस्ता लक्षण भएको खण्डमा चिकित्सकहरूले अन्य रोगको पहिचानका लागि गरिने परीक्षणका अलावा डेंगु रोगको पनि परीक्षण गर्ने अवस्थाको सिर्जना भएको छ ।  गत वर्ष डेंगु रोगबाट नेपालको पूर्वी भाग काँकडभिट्टामा दुई बिरामीको मृत्यु भएको पुष्टि भएसँगै बिरामीहरू रोग पहिचान भएको थाहा पाएर आत्तिने गरेको पाइएको छ, तर त्यसो गरिनु हुन्न ।  तीन दिनको ज्वरोको चरण पार गरेपछि रगतमा पानीको मात्रा कम भएमा कमजोरी बढ्दै जाने र रक्तचाप कम हुने पनि हुन्छ ।  शरीरमा प्लेटलेटको सङ्ख्या कम भएमा रक्तनलीहरूबाट रगत शरीरका अन्य तन्तुमा जाने भएकोले शरीरमा डाबर आउने, बिरामी सिकिस्त हुने, रक्तचाप निकै कम हुने र शरीरमा आवश्यक रगतको अभावमा बिरामी सिकिस्त भई मृत्युसम्म हुनसक्ने भएकोले बेलामा नै उपचार गराउनु र चिकित्सकको निगरानीमा मात्र उपचार गराउनु बुद्धिमानी हुनेछ ।  
सामान्य ज्वरो वा भाइरल ज्वरो भए पनि सामान्यरूपमा नलिन र डेंगु प्रकोपित क्षेत्रका बासिन्दाले समयमा नै अस्पताल आउनुपर्छ ।  यो रोग लागिहाल्यो भनेर अत्तिने र त्रासमा बस्ने गर्नु हुँदैन किनकि अधिकांश रोगीको सामान्य उपचारपछि घर फर्काउन सकिन्छ ।  पाँच प्रतिशत बिरामीमा मात्र यो रोग विकराल रूपमा आउने गर्छ, जसको सघन उपचार आवश्यक हुन्छ ।  
रोगको पहिचान केही दुई दर्जन बिरामीमा गरिए पनि तर धेरै बिरामीको पहिचान हुन सकेको छैन किनकि सामान्य ज्वरो आएको बिरामीहरू औषधि पसलको सामान्य औषधि सेवन गर्ने परम्परा हाम्रो समाजमा स्थापित छ ।  डाक्टरको सल्लाह लिन रोगले थलिएपछि मात्र आउने वैचारिक तथा आर्थिकरूपको गरिबी पनि हाम्रो समाजमा नै छ ।  सरकारले चासो नदिने हो भने यस रोगले यस क्षेत्रमा विकराल रूप लिन सक्छ र धेरैको ज्यान खतरामा हुनेछ ।
बच्ने उपाय ः
विभिन्न मानिसको शरीरमा विभिन्न चार प्रकारको रूप धारण गर्न सक्ने डीइएन वान, टु, थ्री, र फोर (एक प्रकारको डेंगु) भाइरसको सङ्क्रमणबाट यो रोग मानिसमा स्थापित हुन्छ ।  यो रोग मुख्यतः स्त्रीजातिका एडिज मच्छडको टोकाइबाट मानिसमा सर्ने गर्छ ।  पानी जम्ने ठाँउ, एयर कन्डिसन, फूलका गमला, पुराना टायर, नारिवलका खोस्टा, साना खाल्डामा सफा पानी धेरै दिनदेखि जमेर बसेको भए यो रोग फैलने सम्भावना रहन्छ ।  उक्त प्रजातिका मच्छड मुख्यत सफा पानीमा फैलने भएकोेले फोहोर नालीहरू भएको ठाउँहरूभन्दा घर र घर आसपासका पानी जम्ने पुराना भाँडाकुँडामा बस्ने मच्छडहरूबाट यो रोग फैलने सम्भावना भएकोले मानिसलाई नै यो रोग फैलनुको बढी जिम्मेवार मानिएको छ ।  तसर्थ आफ्नो घर सफाइ गर्नु र घरमा पानी जम्ने ठाउँ हटाउनु नै यो रोगको उचित रोकथामको उपाय हो साथै मच्छडको टोकाइबाट बच्न झुलको प्रयोग गर्ने वा मच्छड धुप वा क्रिम प्रयोग गर्नु पनि उत्तिकै आवश्यक छ ।
यस रोगको उपचार सुरुमा चिकित्सकको निगरानीमा लक्षणअनुसार गरिने हुन्छ, शरीरमा पानीको मात्रा कम भए सोहीअनुसार पानीको मात्रा कम हुन नदिन स्लाइन चढाउनुपर्ने हुन्छ तर शरीरमा प्लेटलेटको मात्र कम भएमा कम्पोनेन्ट ब्लड (सेतो रगत) चढाउनुपर्ने हुन्छ ।  बिरामी शिकिस्त भएमा सघन उपचार कक्षमा चौबीसै घण्टा स्वास्थ्यकर्मीको निगरानीमा उपचार गरिनुपर्ने भएकोले सम्बन्धित स्वास्थ्यकर्मीले पनि यस रोगको उपचारको कुनै खास पद्धतिअनुसार उपचार गर्नुपर्छ ।
सरकारले यस प्रकारका रोगहरूको बारेमा जनचेतना दिनेदेखि उचित व्यवस्थापन गर्दै रोग नियन्त्रणमा चासो दिनुपर्ने र बिरामीको उपचारमा सरकारी सहयोगको व्यवस्था गर्दै रोग नियन्त्रणमा समेत तीव्र गतिमा कार्य गर्नु पर्नेमा कछुवा गतिमा अगाडि बढिरहेको छ ।  यस क्षेत्रका आम जनता दिनानुदिन रोगले ग्रसित हुँदैछन् ।  
कुनै खास क्षेत्रमा फैलिएको रोगको नियन्त्रणदेखि बिरामीको उपचारमा सरकार नै सक्रिय हुनुपर्ने हुन्छ ।  सरकारले यस प्रकारको रोगको रोकथामका लागि टोली खटाउनेदेखि सक्रिय भएर रोगको पहिचान तथा नियन्त्रण तथा रोगको कारणको उन्मुलनमा जोड दिनु आवश्यक छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना