अनुपम तिहारको मननीय सन्देश

nirmal acharyaनिर्मलकुमार आचार्य

  

 

 तिहारले मुलुकलाई ढपक्कै ढाकेको छ ।  सबैतिर भ्याइ नभ्याइ भएको छ ।  के सहर, के गाउँ सबैतिर विशेष चहलपहल छ ।  पाँच दिन धुमधामसाथ मनाइने तिहारको आज पहिलो दिन हो ।  कागतिहार, कुकुरतिहार, गाईतिहार, गोरुतिहार र भाइतिहारको आ–आफ्नै विशेषता छ ।  
दुनियाभरिका हिन्दू धर्मावलम्बीले मनाउने दीपावलीका तुलनामा नेपालका हिन्दूले मनाउने तिहारको पृथक् तथा मौलिक विशेषता पनि छ ।  देउसी र भैलोले यसको गरिमा उचालेको छ ।  म्हः पूजा, फाल्गुनन्द जयन्ती र नेपाल संवत् अनुसार नयाँ वर्ष थालनीले तिहारको सुनमा सुगन्ध थपेका छन् ।  यी सांस्कृतिक विविध छटाका कारण तिहारको रमझम मात्र बढेको छैन, नेपालीको छाती पनि गौरवले चौडिएको छ र सबैको आफ्नो प्यारो तिहार राष्ट्रिय चाड बनेको छ ।
सामाजिक सद्भाव बढाउने तिहारले नेपालीलाई पीडा भुल्ने वातावरण दिएको छ ।  अन्यथा मुलुकको अवस्था कसैबाट अविदित छैन ।  ठूला नेताहरू सधैँभरि ठूलै कुरामा अल्झिराखेकाले निरीह जनता ओझेलमा छन् ।  धनी र गरिबबीचको खाडल घट्दो छैन ।  आम नेपालीलाई रोग, भोक र शोकको सर्पले डसिरहेका छन् ।  फैलँदै गएको बेरोजगारीको खाडलप्रति कुनै दलको गाम्भीर्य छैन ।  विपे्रषण बढ्दा रमाएका अगुवाहरू घट्न थाल्दा पनि चिन्तित नहुनु उदेकको कुरो बनेको छ ।  आर्थिक सङ्कट गहिरिई खाडी क्षेत्रबाट स्वदेश फर्किएका युवा जमातमा अन्यत्रबाट समेत बढोत्तरी हुनथाल्यो भने विपे्रषणको मात्रा झनै कम हुनेछ ।  विपे्रषणको मात्रा घट्दै जाने र स्वदेशमा रोजगारीको वातावरण नबनेको अवस्थामा भयावह परिस्थिति सिर्जना हुनेछ ।  यस्ता विषयमा सरोकारी पक्षले गहिरिएर हेरेको र समयमै बुद्धिमत्तापूर्वक पाइला चालेको लक्षण पाइँदैन ।  
राजनीतिक नेतृत्वलाई ठूला काम गरेरै फुर्सत नभएको हुनाले जनसाधारणका ससाना समस्या थाती छन् ।  नेताका ठूला काम कहिले पूरा होलान् र जनताका मर्का समाधान होला ? प्रतीक्षाको विषय बनेको छ ।  ठूला काम गरिरहेका नेतासामु आफ्ना झिनामसिना समस्या प्रस्तुत गर्न नचाहने नेपालीको संयम, धैर्य र बफादारी बेजोडको छ ।  तब त जतिसुकै महँगी किन नबढोस्, कसैले चुइँक्क बोलेको पाइँदैन ।  मिसावटखोर, नाफाखोर र कालाबजारियाले जतिसुकै उधुम मच्चाए पनि नागरिक मौन रहनु बिछट्टकै उदाहरण हो ।  नजराना नटक्र्याई काम नहुने अड्डा, अदालतका परिपाटीलाई शिरोपर गर्नु नियतिको होइन, संस्कृतिको विषय बनेको छ ।  राजनीतिक भागबण्डाको परिपाटीले सबैथोक स्वाहा पार्दै लग्दा पनि औंला ठड्याउने कोही छैन ।
ठूला काममा लागेका नेतालाई रत्ती बाधा नदिने सोच रहेकाले हुनुपर्छ, यत्रतत्र, सर्वत्र अराजकता मच्चिँदा पनि टुलुटुलु हेरेर बस्नेको सङ्ख्या अधिक छ ।  नत्र संसारमा यस्तो बिरलै देश होला, जहाँ पेट्रोलमा मिसावट गर्न नपाएकामा अथवा कम परिमाण दिन नपाएकामा व्यवसायी हुँकार गर्छन्, तराजुमै मिलाई सुनमा ढ्याक्कै कमाउन पल्किएकाहरू आन्दोलित हुन्छन्, भेडाबाख्रा झैँ यात्रुलाई कोच्न नपाउँदा र बढी भाडा लिन नपाउँदा यातायात सेवा नै बन्द गरिदिने धम्की दिन्छन्, खबर नगरी अनुगमन गर्न आए ठीक नहुने चेतावनी व्यापारी, व्यवसायीको सुनिन्छ ।  अभिभावकको ढाडै भाँच्ने निजी विद्यालयका शुल्क तथा बिरामीको सातो लिने निजी अस्पतालका शुल्कको मात्रै कुरो होइन, जनसरोकारका हरेक पक्षमा मानौ लुटतन्त्र हाबी छ ।  तैपनि जनता मौन छन् किनभने नेतालाई निर्बाध काम गर्न दिने भाव यथावत् छ ।  
जनआन्दोलनपिच्छे जनताका उत्साह उर्लिएका छन् ।  आकाङ्क्षा पूरा भएको दृष्टान्त चाहिँ कमै छ ।  दोस्रोे जनान्दोलनपछि फेरि जनआकाङ्क्षा अकास्सियो ।  संविधानसभाको निर्वाचनपछि जनताका सारा आकाङ्क्षा साकार हुने सपनामा जनताले नेतालाई हरतरहले सघाए ।  द्वन्द्वकालको सास्ती र अन्तरिमकालको छटपटीलाई बेवास्ता गरी जनताले बडो भरोसासाथ पहिलो संविधानसभाको निर्वाचनमा सहभागिता मात्र जनाएनन्, अधीर भई फलको प्रतीक्षा गरे ।  नेताहरू संविधान निर्माणको ठूलो काममा लागेकाले जनताले आफ्ना पीर बिसाउनु उचित मानेनन्, भलै नेताले संविधान निर्माणका कामलाई एकातिर पन्छाई सत्तामोहको चरम रूप देखाए ।  पहिलो संविधानसभा आफ्नै कारणले विफल तुल्याएका नेतालाई जनताले फेरि ठूला कामका लागि अवसर दिए ।  दोस्रो संविधानसभा भुइँचालोपछि सार्थक बन्यो र संविधान जारी भयो ।  संविधान घोषणा भएपछि मुलुकमा विगतका विकृति अन्त्य भई सुख, शान्ति र समृद्धिको लहर चल्ने सपना दिन बितेसँगै हावामा उड्नथाले ।  संविधान मान्ने, नमान्ने नेताका अगाडि अर्को ठूलो काम तेर्सियो ।  आन्दोलन ठूलो काम बन्यो, भारत पनि यही मौकामा आफ्नो ठूलो काम गर्न चुकेन ।  आन्दोलनको राप र नाकाबन्दीको तापले जनतालाई झन् दुःखी बनायो ।  नेताका अगाडि आन्दोलनको शान्ति र नाकाबन्दीको समाप्ति ठूलो काम आइलाग्यो, जनताले अपूर्व साथ दिए ।  
संविधान जारी भएपछि पनि जनताले आफ्नो गुनासो गर्ने समय पाएका छन् र त्यस्तो समय छिट्टै आउने लक्षण पनि छैन ।  छठअगावै संविधान संशोधन हुने भरपर्दो सङ्केत छैन भने त्यसो नभए पुनः आन्दोलनमा जाने ठूलो काम नेताले औंल्याइसकेका छन् ।  संविधान संशोधन नभएसम्म निर्वाचनको सम्भावना छैन र आउँदो वर्षको माघ पहिलो साताभित्र स्थानीय, प्रादेशिक तथा केन्द्रीय चुनाव नभए संवैधानिक तथा राजनीतिक सङ्कट तेर्सिने अवस्था छ ।  नेताका लागि गर्नुपर्ने ठूला काम धेरै छन्, जनताका मर्का समाधान गर्ने, पिरलो मेटाउने, भोक शान्त गर्ने र सुस्वास्थ्यलाभ गराउने कुरो प्राथमिकतामा पर्न असम्भव छ ।  नेताका अगाडि त्यसपछि पनि कुनै न कुनै ठूलो काम तेर्सिनेमा दुईमत नहोला ।  नेतालाई कहिले ठूला कामबाट फुर्सत मिल्ला र विकास, निर्माणका काममा ध्यान देलान्, कानुनीशासनमा विचार पुग्ला र जनमुखी गतिविधि चम्कला ? अनुत्तरित प्रश्न बनेको छ ।
रनाहा कम छैन, तथापि परम्परागत चाडपर्व मनाउनुको मजा बेग्लै छ ।  नेताले बुझ्नखोजे तिहारको सन्देश गहकिलो छ ।  कागतिहार स्मरणीय बनेको छ ।  शुभसन्देश दिने काग जस्तै नेता बन्नुपर्छ ।  उदासीन जनतालाई शुभसन्देशले नवीन ऊर्जा भर्नसक्नेभएकाले नेतृत्व वर्ग मिली अब जनताका मर्कालाई प्राथमिकतामा राखिने भावना प्रवाह हुनु जरुरी छ ।  नेतृत्वमा काकचेष्टाको खाँचो टड्कारिएको छ ।  
    रक्षा, सुरक्षाको प्रतीक कुकुरले दिएको सन्देशलाई उपेक्षा गरिएकाले सबैथोक भताभुङ्ग हुँदै गएको छ ।  नेताहरू आफ्नो आदर्श, सिद्धान्त तथा निष्ठा समेत सुरक्षित राख्नसकिरहेका छैनन् ।  यसले गर्दा दल दलदलतुल्य बनेका छन् ।  राष्ट्र, राष्ट्रियता र राष्ट्रिय अखण्डताको सुरक्षाको प्रश्न संवेदनशील बनेको छ ।  सबै नेता एक भई सुरक्षा सोच बनाउन सफल भएका छैनन्, त्यतातिर प्रयास भइरहेको छनक पनि पाइँदैन ।  सङ्कुचित स्वार्थको कुम्भकर्णे निद्रामा मस्त रहेकालाई ‘श्वाननिद्रा’को सन्देश महŒवपूर्ण छ ।  
गाईतिहारको सन्देश अविस्मरणीय छ ।  गाई सम्पन्नताको प्रतीक हो ।  गाईले पवित्रताको परिचय दिएको छ ।  गाई हुनेकहाँ पञ्चगव्यको कमी हुँदैन ।  पञ्चगव्य अर्थात् दूध, दही, घिउ, गहुँत तथा गोबर अमूल्य निधि हुन् ।  पञ्चगव्यमा समेत कृषिप्रधान भनिने मुलुक आत्मनिर्भर नहुनु अर्को पीडादायी पक्ष हो ।  दूध, घिउ मात्रै होइन, गहुँत समेत आयात भइरहेको छ ।  कृषिक्रान्तिका लागि गाईरूपी लक्ष्मीको सेवा अपरिहार्य छ ।  मुलुकलाई सम्पन्न बनाउन गौपालनमा जोड दिनुपर्ने सन्देश गाईतिहारले दिएको छ ।  
    गोरुतिहारको सन्देश मननीय छ ।  गोरु चुटेर हलो अड्काएको उखान नेपाली राजनीतिमा बेसी नै चर्चित छ तर गोरुको भूमिकालाई आत्मसात् गरिएको छैन ।  परिश्रमी गोरुले आफू जस्तै परिश्रमी बन्न सन्देश दिएको छ ।  परिश्रम गर्नेको एकदिन पूजा हुने कुरो बखानेको छ ।  आफू परिश्रम गर्ने र परिश्रमीको कदर गर्ने प्रवृत्ति अत्यावश्यक रहेको सन्देश गोरुतिहारले दिएको छ ।  
समाजमा भ्रातृत्व र भगिनीत्वको महिमालाई भाइटीकाले उजागर गरेको छ ।  दाजुभाइ, दिदीबहिनीबीचको आपसी प्रेमको विस्तारमा यसले बल लगाएको छ ।  भाइचाराको भावनाले समाजमा सुख, शान्ति फैलने सन्देश यसमा छ ।  मुलुकमा नेतृत्व बढाउने दिशामा नेताले काम गरिरहेका छन् कि आपसमा वैरभाव बढाउन उद्यत छन् ? यसैमा समाजको भलो, कुभलो लुकेको छ ।  द्वेषमा होइन, प्रेममा जोड लगाउनुपर्ने सन्देश चाहिँ भाइटीकाले दिएको छ ।  
म्हः पूजाको विशेष महŒव छ ।  आत्मपूजाबाट स्वशक्ति नवीकरण हुन्छ ।  आत्मशक्ति विना कुनै कार्य सफल हुँदैन ।  आफैलाई पुज्नु भनेको आफ्नो सही पहिचान हुनु हो र यसलाई सक्दो पुजनीय बनाउनु हो ।  नेताले आफूलाई कति पुजनीय बनाएका छन् ? आत्मनिरीक्षण जरुरी छ ।  आत्ममूल्याङ्कन भएका खण्डमा मात्रै कमी, कमजोरीको ज्ञान हुन्छ ।  त्यही सच्चा, इमानदार र सक्षम नेता हो, जो आत्ममूल्याङ्कन गरी सदैव सही बाटोमा अग्रसर हुन्छ ।  बग्दो राजनीतिक प्रवाहमा बग्न जोकोहीलाई सहज हुन्छ तर सफल नेता तिनै ठहरिन्छन्, जसले गलत बाटामा हिँडिएको छ भने सच्याउने हिम्मत पनि गर्छन् र प्रतिकूल अवस्थामा समेत जनमुखी चरित्र अङ्गीकार गर्न चुक्दैनन् ।  
ठूला कामको बहानामा जनताका मन मार्ने चाला अब बन्द होस्, नेपाल र नेपालीको सर्वोत्तम भलो हुने काममा मात्र सबै नेताको हित, चित्त मिलोस्, तिहारका बखत यही हो शुभकामना ।  


थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना