यमपञ्चकका कर्म र मर्म

ratna basnetरत्नबहादुर बस्नेत


 

यमपञ्चक अर्थात् तिहार नेपालीहरूको दोस्रो ठूलो सांस्कृतिक तथा धार्भिक सद्भावको पर्व हो तर आजभोलि यो पर्व अनावश्यक तडकभडक वा भड्किलो र खर्चिलो ढङ्गले मनाउने गरेकाले व्यक्ति आनन्दित र उत्साहित हुनुको सट्टा अझ व्यथित र ग्रसित भएको पाइन्छ ।  अतः सबैले शिष्टता र सभ्यता कायम राखेर मनाएमा नै कुनै पनि पर्वोत्सवको सांस्कृतिक अस्तित्व जीवन्त राख्न सम्भव हुन्छ ।  
यमपञ्चकको पहिलो दिन काग तिहार हो ।  यसदिन यमराजको सन्देशवाहक कागको पूजा गरेर भोग्य पदार्थ अर्पण गरी यसप्रति आदर सम्मान प्रकट गरिन्छ ।  खासगरी मानिसहरूकै घनाबस्ती (सहर) मा बस्न रुचाउने कागको बोलीबाट सगुन अपसगुनको सङ्केत पाई व्यहार गर्ने गरिएको पाइन्छ ।  यसले फोहर पदार्थ खाएर मानिसहरूलाई सहयोग पनि पु¥याउँछ ।  शास्त्रोक्त कथनानुसार यसदिन आयुर्वेदका प्रवर्तक धन्वन्तरीको जन्मजयन्ती पर्छ ।  धन्वन्तरीलाई भगवत अवतार मानिन्छ ।  
यमपञ्चक अन्तर्गत दोस्रो दिन कुकुर तिहार पर्छ ।  यसदिनलाई नरक चतुर्दशी पनि भनिन्छ ।  कुकुर यमराजको पाले भएको अतीतकालीन कथनका आधारमा यस दिन कुकुरको पूजा गर्ने गरिन्छ ।  मानिसलाई चोरादिको भयबाट रक्षा गर्ने कुकुरलाई सधैँ नै आफ्नो भागबाट केही भाग छुट्याएर खाने गरे पनि यस दिन विशेष रूपमा फूलमाला लगाई पूजा गरेर खान दिएर मात्र मानिसहरूले भोजन गर्ने गर्छन् ।  धेरै खाने शक्ति भए पनि थोरैले सन्तुष्ट हुने, झट्पट जागा हुने, स्वामी भक्तिजस्ता राम्रा गूण भएको कुकुरप्रतिको श्रद्धा र सम्मानबाट मानवको हित हुने कुरामा सन्देह छैन ।  
कुकुर तिहारपछि गाईतिहार वा लक्ष्मी पूजा पर्छ ।  यमपञ्चकको पाँच दिनमध्ये यस दिन नै सबैभन्दा उज्यालो र आनन्ददायक मानिन्छ ।  यस दिनलाई दीपावली पनि भनिन्छ ।  यसैदिन बिहान गाईको र बेलुकी (साँझ) देवी महालक्ष्मीको विशेष पूजा गरिन्छ ।  बिहान सबेरै घरआँगन गोबरले लिपपोत गरी सफासुग्घर पारेर गाईलाई रङ्गीचङ्गी पारी फूलमाला लगाई श्रद्धाभक्तिपूर्वक मीठा परिकार खान दिइन्छ ।  हिन्दु धर्मशास्त्रअनुसार गाईमा सूर्य, चन्द्र आदि देवता निवास गर्ने भएकाले गाईलाई लक्ष्मीको प्रतीक मानी पूजा गर्ने प्रचलन छ ।  गोपालन र सेवाबाट हाम्रो समृद्धि, सुस्वास्थ्य तथा आरोग्यता प्राप्ति हुन्छ ।  यज्ञादिका लागि आवश्यक दूध, दही आदिको सम्मिश्रण पञ्चामृत र मानिसको स्वास्थ्य (पौष्टिकता) का लागि दूध, दही, ध्यू आदिको उत्पादकको रूपमा गाईलाई नै लिइन्छ ।  गाईको मलमूत्रमा किटनाशक क्षमता भएको कुरा विज्ञानले पनि प्रमाणित गरिसकेको छ ।  कृषि उत्पादनमा गाईको कम महŒव छैन ।
मानवजीवनमा लक्ष्मी प्राप्तिका निमित्त गाईप्रतिको श्रद्धा सम्मान आवश्यक छ भन्ने सन्देश यस दिनले दिएको पाइन्छ ।  यस दिनको अर्को कृत्य तथा यमपञ्चकको सर्वाधिक महŒवपूर्ण साँझ लक्ष्मीपूजा हो ।  यसअवसरमा घरका सबै कोठा चोटा सफा पारी दीपशिखा बालेर उज्यालो पारेर दीपावली गरिन्छ अनि धनकी अधिष्ठात्री देवी महालक्ष्मीको स्वागत गरी पूजा गरिन्छ ।  अँध्यारो स्थानमा लक्ष्मीको आगमन हुन्न भन्ने प्रचलनका आधारमा सर्वत्र उज्यालो पारेर महालक्ष्मीको प्रतिमा, तस्बिर सजाई श्रद्धाभक्तिपूर्वक सेल, धान, चामल, सुन, चाँदी, रुपियाँ पैसा, पुष्प, फलफूल अर्पण गरी वैदिक विधिअनुसार माता लक्ष्मीको विशेष पूजा गरिन्छ ।  यसबाट माता लक्ष्मी प्रशन्न भई यश–ऐश्वर्य प्राप्त हुने विश्वास गरिन्छ ।  साथै औँसीको अन्धकार रात्रिमा दीपशिखाको उज्यालो ज्योति बालेर लक्ष्मी पूजा गर्नुको साङ्केतिक अर्थ राग, द्वैषादि अज्ञानको अन्धकारमा चैतन्यको ज्योति जगाएर उन्नति प्रगति र समृद्धिको खोजी गर्न प्रेरित गर्नु हो ।  लक्ष्मीपूजापछि नेपाली महिला भैलो खेल्दै गाउँदै घरघर गई आशिर्वाद दिने र रमाइलो गर्ने गर्छन् ।
गाईतिहारको भोलिपल्ट गोरुतिहार वा गोबर्धन पूजा पर्छ ।  यसदिन कृषि कर्ममा सहयोग गर्ने बलशाली गोरुको साथै गोबरबाट गोबर्धन पर्वतको प्रतीक बनाई पूजा गर्ने परम्परा छ ।  धार्मिक परम्परा अनुसार प्राचीनकालमा घाँसपात र पानी प्रदान गरेर गोवंशको रक्षा र वृद्धि गर्न ठूलो मद्दत गरेकाले गोबर्धन पर्वतको पूजा गर्ने परम्पराको थालनी योगेश्वर भगवान् श्रीकृष्णबाट भएको हो ।  गोबर्धन पूजाबाट प्रकृतिप्रतिको सद्भाव व्यक्त गरिएको पनि हो ।
यमपञ्चकको पाँचौँ तथा अन्तिम दिन भातृपूजा अर्थात् भाइटीका हो ।  यसदिन दाजुभाइहरूलाई दिदीबहिनीहरूबाट दीर्घायु, सुख र समृद्धिको कामनाका साथ भाइटीका लगाइन्छ ।  टीका लगाउँदा दिदीबहिनीहरू धार्मिक परम्परा अनुसार मण्डप बनाई यमराज, यमुना र अष्टचिरञ्जीवीको पूजा गरेर कहिल्यै नसुक्ने तेलको घेरा हाली सयपत्री, मखमली र दुबोको माला लगाई चिरायु र सौभाग्यको कामना गर्छन् ।  त्यस्तै दाजुभाइहरूले पनि विभिन्न बस्त्र आभुषण प्रदान गरी दिदीबहिनीहरूप्रति सुस्वास्थ्य, दीर्घायु र समृद्धिको कामना गर्छन् ।  यसैदिनको सम्बन्ध मृत्युदेव यमराज र उनकी बहिनी यमुनाको स्नेह र सुसम्बन्धसँग जोडिएको छ ।  पौराणिक मान्यता अनुसार यसदिन यमराजलाई आफ्नी बहिनी यमुनाले विशेष सम्मान र पूजा गरी टीका लगाइदिएको हुँदा त्यसैको सम्झनामा भाइटीका लगाउने चलन चलेको हो ।  यसैकारण यसदिनलाई यमद्वितीया भनिएको हो ।  यमराज पाप पुण्यका दण्डाधिकारी धर्मराज हुन् ।  भनिन्छ, पाप पुण्यका साक्षी जल, आकाश, अग्नि आदि धर्मराजकै रूप हुन् ।
भाइटीका दाजुभाइ र दिदीबहिनीबीचको सम्बन्ध दिगो र सुमधुर बनाउने महŒवपूर्ण पर्वोत्सव हो ।  अत्यन्त माया, ममता र कोमलतायुक्त भावना भएका दिदी बहिनीलाई आमाबाबुको शेषपछि पनि टुहुरा अनुभव गर्न नदिन र कौटम्बिक सम्बन्ध सदा निकट तुल्याई राख्न यसदिनको विशेष महŒव छ ।  यसदिन गरिने कृत्यले दाजुभाइ र दिदीबहिनीबीचको प्रेम र सुसम्बन्ध दिगो र दृढ बनाउन प्रशस्त सन्देश दिएको छ ।
यमपञ्चक वा तिहारमा गरिने काग, कुकुर, गाईपूजाबाट प्रत्युपकारप्रतिको कृतज्ञताको भाव दर्शाउने सन्देश दिएको पाइन्छ भने लक्ष्मी, गोबर्धन, गोरु र भातृपूजाबाट प्रेम, स्नेह धर्मनिष्ठा, कर्मठता र प्रकृतिप्रतिको सद्भाव र संरक्षणबाटै प्राणीमात्रको कल्याण हुने र ईश्वर प्रशन्न बन्ने सन्देश दिएको पाइन्छ ।  यसबाट यो चाडलाई कृतज्ञता र सद्भावको पर्व मान्न सकिन्छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना